उमाकुण्ड गाउँपालिका समृद्धिको आधार जल, कृषि र पर्यटन :अध्यक्ष सुनुवार

 बुधबार, मंसिर २५, २०७६ | onlinenews
Share this

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारसँग गरिएको कुराकानीको सम्पादीत अंशः

गाउँपालिकाले अहिले कुनकुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ?

निर्वाचन घोषणा पत्रमा उल्लेख भएका र जनतासँग प्रतिवद्धता जनाएका कुराहरुलाई नै प्राथमिकतामा राखेका छौं । उमाकुण्ड गाउँपालिका भौगोलिक रुपमा विकटता भए पनि श्रोतसाधनले सम्पन्न गाउँपालिका हो । भौगोलिक विकटताको कारण सडक यहाँको महत्वपूर्ण पक्ष भएकाले हामीले बजेट पनि धेरै सडकमा नै विनियोजन गरेका छौं । मैले भन्दै आएको पनि छु, तीन वर्षभित्र हामी भौतिक पूर्वाधारको काम सम्पन्न गर्नेछौं । पिच नभए पनि सडकलाई सोलिङ गरेर गाडीको टायरमा हिलो नलाग्ने गरि प्रत्येक वडामा गाडी पु¥याउँछु भन्ने प्रतिवद्धता गरेको थिए, सोही अनुरुप आगामी ६ महिनाभित्र गाउँपालिकाको सबै वडाहरुमा बाहै्र महिना सडक सञ्चालन हुने गरि सम्पन्न गर्नेछौं । सडकपछि शिक्षामा हामीले दोब्बर बजेट विनियोजन गरेका छौं । विद्यालयको भौतिक पूर्वाधार निर्माणको काम पुनर्निर्माणले गरिसकेको अवस्था छ भने हामीले शिक्षाको गुणस्तर बृद्धि गर्नको लागि काम गरिरहेका छौं । त्यसैगरी आगामी ६ महिनाभित्र गाउँपालिकाको सबै वडाहरुमा विद्युतीकरण सम्पन्न गर्नेगरी काम भइरहेको छ । अन्य विकास योजनाहरु कृषि, पर्यटन, गाउँपालिकाको कार्यालय निर्माणको कामहरु अगाडि बढाइरहेका छौं ।

हिजो नभएको र अहिले यहाँको साँढे दुई वर्षको कार्यकालमा भएको नयाँ काम चाँही के छ ?

हिजो हामीले प्रतिवद्धता जनाएका कामहरुलाई नै अगाडि बढाएको अवस्था छ । अन्य कुराहरु हामीले गरेका छैनौं । विषेशगरी यो गाउँपालिकामा कर्मचारी अभावको कारण अपेक्षा गरे अनुसारको काम अगाडि बढाउन सकिएको छैन । हिजो संरचना निर्माण हुँदै गर्दा आएको कर्मचारीहरु पनि फर्केर गएको अवस्था छ । यहाँको भौगोलिक अवस्थाले हो वा किन हो, मलाई थाहाँ छैन तर यहाँ कर्मचारीहरु आउन मान्दैनन् । त्यसकारण हामीले अपेक्षा गरेका कामहरु गर्न गाह्रो भएको अवस्था छ ।

यहाँले भन्नुभयो अब ६ महिनामा सबै वडामा बाह्रै महिना गाडी चल्ने सडक बनाउँछौं । अहिले चाहिँ बाह्रै महिना गाडी चल्ने सडक कति छन् ?

ग्राभेल गर्न गुम्देलमा केही भाग बाँकी छ । भूजीमा दुई वटा बाटोहरु एउटा लेकबाट आउने र अर्को बेसीबाट आउने सडक छ । बेसीबाट आउने सडक सम्पन्न भएर गाडी चलिसकेको छ । गुम्तेश्वरमा चाहिँ बेसीबाट आउनलाई अहिल कठिन हुने भएकाले लेकबाट जोड्ने हिसाबले बजेट विनियोजन गरिएको छ । त्यसको लागि ४५ लाख बजेट छुट्याएका छौं । प्रितीका दुई वटा सकड सञ्चालनमै रहेको छ । कुभुकास्थली पनि केही भाग बाँकी छ । त्यसलाई पनि बाम्तीबाट जोड्ने गरि यसैपाली सोलिङ्ग हुँदै छ । कुभुकास्थली भौगोलिक हिसाबले लामो दूरी भएकाले सडकको लागि गाउँपालिका र समपुरक गरि १ करोड बजेट छुट्याएका छौं ।

यो पालिकालाई आलू पकेट क्षेत्र घोषणा गरिएको छ, आलू पकेट क्षेत्र अन्तर्गत के–के काम भइरहेका छन् ।

मैले चुनावि घोषणा पत्रमा पनि उल्लेख गरेको थिएँ र मैले भन्दै पनि आएको छु, उमाकुण्ड प्राकृतिक श्रोतसाधान, जल, जमिन, जडिबुट्टि र कृषिको हिसाबले पनि धेरै सम्भावना भएको ठाउँ हो । आलूलाई हामीले बजारीकरण र ब्यवसायिक रुपमा अगाडि बढाउन नसकेको अवस्था हो । यहाँको आलू गत आर्थिक वर्षमा २ करोड बराबराको बिक्री भएको छ । तर त्यसको प्रचार छैन । अन्य कृषिको एक लाख रुपैयाँको ब्यापार भयो भने त्यसको कुरा ग¥यौं तर आलूको कुरा गरेनौं । आलू सदावहार जस्तो भयो । आलूको तथ्यांक कसैले राखेनन् । आलू ब्यापारीहरुसँग बुझ्दा यस वर्ष २ करोड हाराहारीको आलू बिक्री भएको अनुमान मैले पाएँ । अलँैची, चिया लगायत बेसीमा हुने खेतीपातीमा हामीलाई भुगोलले साथ नदिएको अवस्था छ । हुन त हाम्रो भूगोल बेसीदेखि लेकसम्मको छ । तर, पनि कृषिमा भौगोलिक अवस्थाले साथ नदिएको हुनाले, माछा, कुखुरा र पशुपालनमा जोडदिनु पर्छ भन्नेमा हामी छौं । लेकमा बढि जडिबुट्टी हुन्छ । एउटा वडा हिमालसँग जोडिएको छ । त्यस वडालाई जडिबुट्टि पकेट क्षेत्र बनाउने र जडिबुट्टी प्रशोधन केन्द्र स्थापनाको गर्ने निर्णय गरेर प्रदेश र संघमा पनि पठाएका छौं । बाम्तीमा जडिबुट्टी प्रशोधन केन्द्र राख्न सक्यांै भने जडिबुट्टिको सदुपयोग गरेर आयश्रोत बढाउन सकिन्छ । निर्वाहमुखी रुपमा चलिरहेको कृषिको अब सम्भावना कम छ । किनभने यस भन्दा अघि अलैँचिको मूल्य २ हजार ४ सय देखि २ हजार ५ सय रुपौयाँसम्म थियो । अहिले मूल्य घटेर ५ सय ७ सयमा झरेको छ । किबिले पनि अहिले बजार पाएको अवस्था छैन । एक पटक बोधिचित्तले करोडौं रुपैयाँ कमायो भन्ने कुरा आएको थियो अहिले त्यसको पनि भाऊ छैन । यी खेतीहरु धरापमा परिरहेको अवस्था छ । हाम्रो गाउँपालिकाले पर्यटन, जल र जडिबुट्टीलाई जोड दिएको छ । यी तीन वटा कुरालाई हामीले विषेश जोड दिन सक्यौं भने सरकारले कल्पना गरेको ‘सुखी नेपाली र समृद्ध नेपाल’को सपना साकार हुन सक्छ । समृद्ध उमाकुण्ड र सुखी उमाकुण्ड सम्भव छ । हैन भने निर्वाहमुखी खेती गरेर अब समृद्धि सम्भव छैन ।

गौरीशंकर संरक्षण क्षेत्रले यस पालिकालाई पनि छोएको छ । संरक्षण क्षेत्र अन्तर्गत अहिले काम भएका छन् कि छैनन् ?

संरक्षण क्षेत्रको काम केहीपनि भएको छैन । हामी निर्वाचित भइसकेपछि गाउँपालिकाभित्र रहेका गैरसरकारी संस्थालगायत अन्य संघसंस्थाहरुलाई हामीले आह्वान ग¥यौं, योजना आयोजनाहरुको बारेमा । अहिलेसम्म गौरीशंकर संरक्षण क्षेत्रसँग सम्बन्धित रहेर कुनै पनि संघसंस्थाहरुले समन्वय गरेको छैन । अहिले ६ वटा हाइड्रोपावरहरु हाम्रो गाउँपालिकामा सञ्चालीत छ । ती हाइड्रोपावरहरुले पनि समन्वय गरेर काम गरेको अवस्था छैन । त्यसकारण हाइड्रोपावर सञ्चालन र प्रमोटरहरुलाई पनि मैले केही कुरा राखेको छु । यहाँको स्थानीय श्रोतसाधान परिचालन गर्ने तर यहाँकै जनतालाई चाहिँ बाइपास गरेर काम अगाडि बढ्न सक्दैन । हामी निर्वाचित भएको साढे दुई वर्ष भयो अहिलेसम्म हामीले धैर्यता गरेर काम अगाडि बढाउन दिएको हो । अब यहाँको जनताको इच्छा चाहना बामोजिम काम भएन भने पुनर्विचार गर्नुपर्छ भनेर पनि मैले कुरा राखेको छु । हामीसँग प्रसस्त हाइड्रोपावरहरु छन् । हाइड्रोपावरले यहाँका स्थानीयलाई अग्राधिकार शेयर दिनुपर्छ हामीलाई साधारण शेयर भएर हुँदैन । श्रोतसाधन उमाकुण्डको जनताको हो । त्यसैले साधारण शेयर हैन अग्राधिकारको शेयर दिनुपर्छ भनेर मैले कुरा राखेको छु । यहाँका जनताले अग्राधिकारको शेयर पाए भने मालिक त भयो नि उ पनि, आम्दानीको सुनिश्चितता भयो । पर्यटन र धार्मिक पर्यटनको हिसाबले पनि सम्भावना भएको ठाउँ हो उमाकुण्ड गाउँपालिका । ताबे डाँडाको विषयमा पनि छिमेकी गाउँपालिका गोकुलगंगासँग हाम्रो धेरै कुरा भइरहेको छ । कुरा भएअनुसार काम अगाडि बढेको अवस्था छैन । मलाई थाहा छैन के छ त्यहाँ । ताबे डाँडाको विकासको विषयमा डिपिआर तयार गरेर प्रदेश हुँदै संघीय सरकार समक्ष पनि पेश गरिसकेको अवस्था छ । ताबेको योजना उत्कृष्ट छ । ताबे डाँडालाई फोकस गरेर हामीले केही बजेट पनि विनियोजन गरेका छौं । अहिले बनेको योजना अनुसारको काम भयो भने ताबेडाँडा ३ नम्बर प्रदेशकै उदाहरणीय ठाउँ बन्ने छ । धार्मिक हिसाबले पनि उमातिर्थ छ, उमाकुण्ड छ । हिजोको दिनमा के भयो म जान्दिन तर हामीले अहिलेको बस्तुस्थितिको विवरण बनाइरहँदा यो पालिकाको नाम उमाकुण्ड भनिएको छ । यो बस्तुस्थित गलत बनिरहेको छ । यो उमाकुण्ड हैन, उमातिर्थ हो, उमाकुण्ड कसरी भयो । त्यस विषयमा पनि गम्भीर रुपमा छलफल गरेर गाउँपालिकाको नामको बारेमा निक्र्यौल गर्नुपर्ने स्थिति छ । उमातिर्थ धार्मिक हिसाबले ऐतिहासिक महत्व राखेको मन्दीर र अर्को प्राकृतिक रुपले जोडिएको कावा गुम्बा पनि हाम्रै गाउँपालिकामा रहेको हुनाले धार्मिक र पर्यटकी दुई हिसाबले सम्भावना रहेको छ । त्यसैगरी हिमालसँग जोडिएको गाउँपालिका हो यो । त्यसकारण विभिन्न जातको बोटविरुवा, बनस्पती र जडिबुट्टिहरु भएको र जडिबुट्टिको माध्यमबाट औषधीहरु बन्ने भएकाले यी तीन वटा क्षेत्रको विकास गर्न सकियो भने उमाकुण्ड गाउँपालिकाको विकासले फड्को मार्नेछ भन्ने हिसाबले हामीले केही कार्यक्रमहरु पनि बनाएका छौं ।

यहाँले हाइड्रोपावरको कुरा गर्नुभयो । स्थानीयले पहिलेदेखि उठाउँदै आएको समस्याको संवोधन भएको छैन ?

पटक्कै संवोधन भएको छैन । लिखु नेप्चे भन्ने ७२ मेघावाट एउटा प्रोजेक्ट छ । अर्को ग्लोबल हाइड्रोपावर भने ७० मेघावाटको छ । पानमा हाइड्रोपावर ५५ मेघावाटको छ । नम्बुर हाइड्रोपावर २९ मेघावाट, लिखु पिके ३० मेघावाट र लिखु चार भने ५४.२ मेघावाटको हाइड्रोपावर रहेका छन् । हाइड्रोपावर दर्ता गर्दा स्थानीयको लागि जेजे गर्छौ भनेर लिखित गर्नुभएको छ, ती कामहरु गरिदिनुस् भनेर हामीले पटक–पटक आग्रह गर्दा पनि त्यो कामहरु भएको छैन । अब नीतिगत रुपमा स्थानीय जनताले जेजे पाउँने हो त्यो नभईकन हाइड्रोपावर अगाडि बढ्दैन । गाउँपालिकासँग समन्वय गर्न हामीले पटक–पटक आग्रह ग¥यौ । चिठी पनि लेखेर पठाइसकेका छौं । स्थानीय सरकारको माध्यमबाट प्रोजेक्ट चल्नुपर्छ भन्ने कुरा उहाँहरुले बुझ्नु पर्ने हो । उहाँहरु गाउँपालिकासँग समन्वय गर्न आउनुभएको छैन । अब गाउँपालिकाले त्यही ढंगले कदम चाल्छ ।

यहाँले पनि भन्नुयभो यो पालिका पर्यटनको हिसाबले प्रसस्तै सम्भावना भएको पालिका हो । पर्यटन विकासको लागि चाहिँ पालिकाले गरेको छ ?

पर्यटन विकासको लागि ताबे महोत्सव भनेर चालू आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट छुट्याएका छौं । प्रदेश सरकारले पनि ३० लाख बजेट छुट्याएको छ । गोकुलगंगा गाउँपालिकाले मन्दीर निर्माण गरेको छ । प्रदेशको ३० लाख बजेटको काम सुरु हुँदैछ । उमातिर्थको विकासको लागि विज्ञहरुसँग बसेर छलफल गरिरहेका छौं । उमातिर्थले धेरै पौराणिक महत्व बोकेको छ । हामीले केही अध्ययन पनि गरेका छौं । धेरै मानिसहरु अस्तु सेलाउन त्यही जाने चलन छ । उमातिर्थमा गरेर अस्तु सेलाउने गर्दछन् । उमातिर्थको विकासको लागि विगतका वर्षहरुमा पनि केही बजेट छुट्याएर काम भएको छ भने यो आर्थिक वर्षमा १२ लाख बजेट विनियोजन गरेका छौं । यो बजेटबाट त्यहाँ आवश्यक पर्ने संरचनाहरु निर्माण भइसकेपछि पर्यटकीय र धार्मिक हिसाबले पनि त्यहाँ धेरै मानिसहरुको आकर्षण बढ्ने छ । त्यहाँ बुद्धको प्राकृति गुम्बा रहेको छ । त्यसलाई कावा गुम्बा भनिन्छ । कावा गुम्बासम्म पुग्ने बाटो निर्माणको लागि पनि हामीले बजेट विनियोजन गरेका छौं । पर्यटन विकासकोे काम अगाडि बढाएको अवस्था छ ।

नुम्बर चिज सर्किट पनि यही पालिकामा पर्छ त्यसको अवस्था के छ ?

त्यहाँको अध्यक्ष र बुद्धिजीवि साथीहरुसँग मैले छलफल रहेको छु । हामीले त्यसलाई निरन्तरता दिनुपर्ने छ । विगत वर्षहरुमा पनि धेरै कामहरु भएको छ । त्यसलाई कावा गुम्बा हुँदै सोलु र सगरमाथा जोड्ने हिसाबले बनाएको मैले पाएँ । समितिलाई मैले थप योजना बनाएर ल्याउँनुस् त्यसको लागि गाउँपालिकाले सहयोग गर्छ भनेको छु ।

यो पालिकामा भिर मैरी र तिते माछाको पनि सम्भावन देखिएको छ । त्यसको लागि गाउँपालिकाले केही सोचेको छ ?

वडा अध्यक्ष ज्यूहरुले बैठकमा त्यो कुरा पटक–पटक उठाउने गर्नुहुन्छ । तिते माछा चाहिँ गुम्देलमा आउँछ । गाविस हुँदा त्यहाँबाट वर्षमा चार लाख पाँच लाखसम्म उठाएको अवस्था रहेछ । हाइड्रोपावरहरु आएपछि त्यसको संरचना ध्वस्त भएर अहिले जिर्ण अवस्थामा छ । माछाहरु हिजो जसरी आउथ्यो त्यसरी आउँदैन । भिरमौरीको सन्दर्भमा जिक्याप, गौरीशंकर संरक्षण क्षेत्रभित्र गुम्देलमा बढी पाइन्छ । तर त्यहाँ गाउँपालिकाले छुनै पाइदैन । सबै कामहरु जिक्याप मार्फत नै हुनुपर्ने संघीय सरकारले नीति बनाएको हुनाले उमाकुण्ड गाउँपालिकाले केहीपनि गर्न पाएको छैन । अन्य केही ठाउँहरुमा थोरथोरै पाइन्छ तर त्यसको लागि गाउँपालिकाले बजेट छुट्याएर काम गरेको छैन ।

जातीय हिसाबले सुनुवार जातिको नेपालमै धेरै जनसंख्या भएको पालिका पनि हो यो । यहाँको स्थानीय भाषा, संस्कृति संरक्षण र लक्षित समुदायको लागि गाउँपालिकाले के गरेको छ ?

गाउँपालिकाले सबै भाषा, संस्कार संस्कृति एउटै हो भनेर लिएको छ । त्यस अन्तर्गत लक्षित वर्ग भनेर बजेट छुट्याएका छौं । दलित भनेर १५ लाख बजेट छ । त्यसरी कुनै गाउँपालिकाले छुट्याएकोजस्तो मलाई लाग्दैन । महिलालाई भनेर बजेट छुट्याएका छौं । नयाँ कुरा के छ भने बृद्धबृद्धा, अपाङ्गता र एकल महिलालाई दशैँ तिहारमा दुई हजारका दरले नगद दिएका छौं । यो बजेटलाई हामी वार्षिक रुपमा बृद्धि गर्दै जाने छौं । हिजो बृद्धबृद्धाको नाममा एउटा जाकेट, लौरो, रेडियो वा मण्डी किनिदिने अनि बीचमा कमिशन खाइदिने चलन थियो । आपूmलाई आवश्यक परेको सामान जति मूल्य पर्ने हो त्यतिमै किन्छ र आत्मसन्तुष्टि हुन्छ भन्ने हिसाबले हामीले पैसानै दिएका हौं ।

नेपालकै पहिलो जिच उद्योग पनि यही क्षेत्रमै पर्छ, २०७२ सालको भूकम्पले त्यो ध्वस्त भएको थियो, त्यसको पुनर्निर्माण भएको छ कि छैन, उद्योग संरक्षणको लागि गाउँपालिकाले के गरिरहेको छ ?

यो पालिकामा पशुको सम्भावना छ । पुश पालनको सम्भावना भएकै कारण हामीले चौरी महोत्सव पनि ग¥यौं । गुम्देलमा २० वटा कृषि समूहहरु छन् । एउटा महोत्सव गर्न सकियो भने त्यहाँको सबै कुराको पहिचान हुन्छ । चौरी चरण, खर्कहरुको काँडाहरु छाँटकाँटको लागि पनि हामीले बजेट विनियोजन गरेका छौं । उनीहरुको प्रोत्साहनको लागि जंगजजंगलमै खानेपानीको ब्यवस्था गरेका छौं । मैले दुई तीन वटा चिज फ्याक्ट्रीहरुको अवलोकन गरेको छु । लेकको ठाउँमा यातायात सुविधा नहँुदा दूध बोकेर ल्याउनु पर्ने भएकाले कृषकहरु अलिपछि हटेको जस्तो महसुस मैले गरे । चिज फ्याक्ट्रीको तीन चार वटा कम्पनीहरु काठमाडौंमा रहेछ । काठमाडौंमा हैन यही सञ्चालन गर्नुपर्छ त्यसको लागि आवश्यक पर्ने सहयोग र सुरक्षाको ब्यवस्था गाउँपालिकाले गर्छ भनेर मैले चिज फ्याक्ट्रीका साथीहरुलाई भनेको छु । जंगलको बीचमा छ, त्यहाँ धेरै चिजबीजहरु हुन्छ सुरक्षा छैन । त्यो त्यसैले फ्याक्ट्रीहरु काठमाडौं गएको हो जस्तो लाग्छ । फ्याक्ट्रीको साथीहरुसँग एक चरण कुरा भइसकेको छ । त्यसको ब्यवस्थापन र प्रवद्र्धको लागि गाउँपालिका लाग्छ ।

यो गाउँपालिकाको विद्युतीकरणका अवस्था चाहिँ के छ ?

भुजी र गुप्तेश्वरमा पेल्टीसेटबाट बत्ती बालिरहेको अवस्था थियो । त्यहाँ अहिले पोलहरु गाड्ने काम भएको छ । आगामी ६ महिनाभित्र काम सम्पन्न गर्ने गरि विश्व बैंक र नेपाल विद्युत प्राधिकरणसँग कुरा भएको छ र त्यही अनुसार काम पनि भएको छ । प्रितीमा तार तान्ने बाहेक सबै काम सकिएको छ । भुजी र गुप्तेश्वरमा पोल गाड्ने काम जारी छ । बाम्तीमा केही काम बाँकी छ । गुम्देलमा ७ सय पोल आएर बसेको छ तर विभिन्न कारणले काम रोकिएको अवस्था छ । जनप्रतिनिधि र राजनीतिक पार्टीहरुलाई मैले भनेको छु विकास निर्माणको काममा तपाईहरुले सहयोग गर्नुप¥यो । अरु ठाउँमा ६ महिनाभित्र सम्पन्न हुन्छ । गुम्देलमा चाहिँ केही समय लाग्छ कि, ढिलोमा अबको एक वर्षभित्र उज्ज्यालो उमाकुण्ड हुन्छ ।

गाउँपालिकाले दोश्रो प्राथमिकालाई शिक्षा क्षेत्रलाई राखेको छ भन्नुभयो, अहिले शैक्षिक क्षेत्रमा के सुधार आयो त ?

हाम्रो गाउँपालिकामा ४५ वटा विद्यालयहरु छन् । ती सबै विद्यालयहरुमा म पुग्ने गरेको छु । विद्यालय सुधार गर्नको लागि पहिलो जिम्मेवारी विद्यालयको प्रधानाध्यापकको हुन्छ । शिक्षाको क्षेत्रमा करोडौं बजेट छुट्याउँदा पनि शिक्षामा सुधार भएको मैले देखिन । पहिलो कुरा शिक्षाको गुणस्तर भनेको के हो भन्ने हो । ‘क’ बाट ‘ज्ञ’ र ‘ए’ बाट ‘जेट’ पढाउनु शिक्षाको गुणस्तर होइन । नेपाली पढिरहेका छौं अंग्रेजी फरर… बोल्नु शिक्षामा सुधार होइन । शिक्षा लिइसकेपछि उसले समाजका लागि केही दिनु प¥यो । उसले आर्जन गरेको शिक्षा समाजमा लागू हुनुप¥यो, अनिमात्रै शिक्षाको सुधार हुन्छ । त्यसकारण अहिले हामीले प्राविधिक शिक्षालाई जोड दिंदैछौं । सरकारको नीति पनि छ, एक गाउँपालिका एक प्राविधिक शिक्षालय भनेर । बाम्तीमा हामी सव–ओभरसिएरको कक्षा सञ्चालन गरिएको छ । उसले पढिसकेपछि रोजगार पनि पाउँछ र समाजलाई केही दिन पनि सक्छ । राम्रो गर्ने विद्यालयलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डीत भन्ने नीति पनि हामीले सुरु गरेका छौं । यसपालको बजेटबाट भौतिक पूर्वाधार नपुगेको ठाउँमा भौतिक पूर्वाधार बनाउने, शिक्षाको गुणस्तर नभएको ठाउँमा गुणस्तर दिने कार्यक्रम लैजाने र दरबन्दी अनुसार शिक्षक नभएको ठाउँमा शिक्षक ब्यवस्था गर्ने भनेका छौं । त्यही हिसाबले बजेट छुट्याएका छौं । सबै सुविधा दिएपछि पनि अपेक्षा अनुसारको गुणस्तर नदिने विद्यालयलाई दण्डीत गर्नेछौं । विगतमा भन्दा अहिले शिक्षामा केही न केही परिवर्तन भएको अवस्था चाहिँ छ ।

पालिकामा कर्मचारीको अवस्था के छ, बरदन्दी अनुसारको कर्मचारी छ या के छ ?

हामी जतिपनि सेवा सुविधार विकास निर्माणका कुरा गर्छौ । त्यो एकजना मान्य गाउँपालिका अध्यक्षले गर्ने होइन । त्यसको लागि जनप्रतिनिध, कर्मचारी र नागरिक सबैको अपनत्व हुने गरि सबै लाग्यो भने सम्भव हुन्छ । होइन भने सम्भव छैन । मैले जुन रफ्तारमा काम गर्न खोजिरहेको छु, मेरो भिजनले मात्रै त नहुने रहेछ । त्यसको कार्यान्वयन गर्नको लागि त कर्मचारी चाहियो नि । अहिले धेरै कुरा सुन्नमा आएको छ, भ्रष्ट्राचार भयो अनियमितता भयो । मैले जनता, सबै राजनीतिक दल र बृद्धिजीविलाई भनेको छु, तपाईको घर अगाडी सडक खन्दै गर्दा डोजरले कति घण्टा काम ग¥यो । सडक सोलिङ्ग गर्दा कस्तो गरेको छ, मलाई भनिदिनुस्, विकासको काममा साथ दिनुस् । हामीले बजेट विनियोजन गरेका छौं, बजेट अनुसारको काम भयो कि भएन निगरानी गर्नुस् । कस्तो काम भइरहेको छ कम्तीमा औल्याई दिनुस् भनेको छु । जतिसुकै राम्रो योजना भए पनि कर्मचारीले कार्यान्वयन गरेन भने नहुदोरहेछ नि त । यो देश ९९ प्रतिशत कर्मचारीले चलाएको छ । १ प्रतिशतमात्रै राजनीतिले चलाएको छ । हैन भने जनप्रतिनिधिले भिजन सहित ल्याएको काम फटाफट गर्नुपर्छ कि पर्दैन ? त्यही रोकिदियो भने के हुन्छ । कर्मचारीलाई यो गाउँपालिका आएर बस्ने वातावरण बनाइदिउँ भनेर मासिक ५ सय रुपैयाँ प्रोत्साहन भत्ता पनि दिएको छु । उहाँहरुलाई खान बस्नको पनि ब्यवस्था गरिदिएको छु मैले । २० जना कर्मचारीले भात र खाजा खाएर कति पैसा सकिन्छ र, एउटा योजनामा लाखौ भ्रष्ट्राचार भयो भने त त्यसको अर्थ आउँदैन । त्यो हिसाबले पनि उहाँको खाने बस्ने सबै ब्यवस्थापन पालिकाले मिलाएको छ । अहिले त्यो पनि सम्भावना देखिरहेको छैन । काम गर्ने मान्छे नै छैन अनि कसरी काम हुन्छ । एकजना प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । उहाँ पनि मन्थलीमा बस्नु हुन्छ, यहाँ कहिलेकही आउनु हुन्छ । अहिले गाउँपालिकामा यति समस्या भएको छ कि काम नै हुँदैन ।

अहिले कर्मचारहरु कति छन् ?

अहिले हामीसँग प्रमुख प्रशासकीय अधिकृत हुनुुहुन्छ । गाउँपालिकामा लेखापाल नै छैन । विकास निर्माणको लागि प्राविधिकहरु चाहिन्छ । इन्जीनियर, सव इन्जिनियरहरु एक जना पनि छैनन् । अनि कसरी हुन्छ यहाँको विकास, यो सबैले कल्पना गर्न सक्ने कुरा हो ।

वडा सचिवहरु सबै वडामा छन् के छ ?

अहिलेसम्म वडा सचिवहरु दुई जना हुनुहुन्छ । उहाँहरु पनि वडामा नबसकेको वडा अध्यक्ष ज्यूहरुको गुनासो छ । गाउँपालिकामा रहेका कर्मचारी साथीहरुले चाहिँ अहिलेसम्म सल्लाह अनुसार नै काम अगाडि बढाइरहनु भएको छ । कर्मचारीबाट अहयोग भएको छैन । मुख्य समस्या भनेको कर्मचारी अभाव नै हो । कर्मचारी नै नभएको अवस्थामा के गर्नु ?

अन्य धेरै ठाउँहरुमा स्थानीयले सार्वजनिक जग्गा कब्जा गरेरे बसेको भन्ने कुराहरु आइरहेको छ । यो पालिकामा के छ ?

हामीले नीति बनाइसकेको अवस्था छैन । छलफल गरिरहेका छौं । हाम्रो गाउँपालिकामा धेरै जमिन सार्वजनिक छ । त्यसलाई कसरी सरकारको स्वामित्वमा ल्याउने भन्ने छलफल चलिरहेको छ । यो सानो कुरा हैन, ठूलो कुरा हो । कतिपय सुकुम्बासीहरु पनि हुनुहुन्छ । उहाँहरुलाई कसरी सम्बोधन गर्ने भन्ने कुरा पनि छ । यसलाई ब्यवस्थित गर्नुपर्छ भने हामीले छलफल चलाएका छौं तर अहिलेसम्म नीति बनिसकेको अवस्था छैन । दुरुपयोग भएको चिजलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा हामी गम्भीर छौं ।

यो पालिकामा सूचना सञ्चारको पहुँच कस्तो छ ?

लेक उच्च भूगोल भएकोले यहाँ समस्या छ । भूगोलले प्राविधिक रुपमा साथ दिएको छैन् । अहिले एक दुई वटा टेलीफोनका टावरहरु छन् । सामान्य इन्टरनेट चलाइरहेका छौं । त्यो पनि बत्तिको कारण समस्या भएको छ । यहाँका जनताले सहज रुपमा सञ्चार सुविधा पाउँन सकेको अवस्था छैन । जनतालाई सूचना सञ्चारमा सहज पहुँच पु¥याउन हामी लागिरहेका छौं । जनतालाई गाउँपालिका र वडाहरुले प्रवाह गरेको सेवा सुविधादेखि विकास निर्माणसम्मको कामको जानकारीको लागि सार्वजनिक सुनुवाई गर्दै आएका छौं । टेलीफोन र इन्टरनेटको समस्या छ । सम्बन्धित निकायको ध्यानाकर्षण गरेर सहज बनाउने कुरामा हामी पहल गर्नेछौं ।

गाउँपालिकाको आम्दानीको मुख्य श्रोत चाहिँ के हो ?

उमाकुण्डा गाउँपालिकाको आम्दानीको स्रोत भनेको जल नै हो । कृषिमा जडिबुट्टी, पर्यटन र भूगोल पनि हो । तर, भूगोललाई हामीले प्रयोग गर्न सकिरहेका छैनौं । खेर गएको जमिनलाई सरकारको स्वामित्वमा लिएर विरुवा, जडिबुट्टी वा फलपूmल खेती लगाएर पनि पालिकाको आम्दानीको श्रोतमा बृद्धि गर्न सकिने अवस्था हुन्छ । मुख्यतय यहाँको आम्दानीको श्रोत यही नै हो ।

 गाउँपालिकामा आवश्यक पर्ने कानूनहरु सबै बनिसकेको छ के छ ?

हामीले अहिले धेरै कानूनहरु बनाएको अवस्था छैन । कानून बनाएर मात्रै सबै कुरा सम्भव पनि छैन । जेजे कुराहरुको आवश्यकता पर्छ त्यसको कार्यविधि, ऐन बनाएर काम गरिरहेका छौं । हामीले धेरै कानूनहरु बनाएका छैन ।

  यहाँ रहेको बैंकले पनि राम्रो काम गरे भन्ने गुनासोहरु आइरहेको छ । यहाँले के बुझ्नु भएको छ ?

बैंकको विषयमा चाहिँ त्यस्तै छ । पहिला बैंक बाम्तीमा थियो । गाउँपालिका एकातिर बैंक अर्कोतिर भएपछि हामीले धेरै संघर्ष ग¥यौं । त्यसपछि बैंक स्थापना भयो । अहिले हामीले धेरै गाउँपालिकाहरुसँग समन्वय गरेर पैसाको कारोबार गर्नुपर्छ । आर्थिक कारोबारको हिसाबले सहज रुपमा चलिरहेको अवस्था छैन । वर्षिक रुपमा हामी पचासौं करोड रुपैयाँको कारोबार गर्छौ । बंैकले राम्रो सुविधा दिन सकेको छैन । एक पटक छलफल गर्छौ । यो बैकले हामीसँग कारोबार गर्न सक्दैन भने अर्को ब्यवस्था गर्नुपर्छ भने बैंककै कर्मचारी साथीहरुसँग पनि कुरा गरेको छु । कि काम गरिदिनु प¥यो हैन भने त्यसको कारण दिनुप¥यो । यो बंैकबाट कारोबार राम्रो भएन भने गाउँपालिकाले अर्को पहल गर्छ ।

 सोलुखुम्बु र यो पालिकाको बीचमा सीमा विवाद पनि छ, विवाद समाधानको लागि पहल के भइरहेको छ ?

हामी निर्वाचित भएर आइसकेपछि सीमाको बारेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने काम ग¥यौं । गाउँपालिकाले निर्णय गरेर पत्र पठाएको पनि हो । त्यो मौन रहेको अवस्था छ । जिल्ला समन्वय समितिको समन्वयमा पनि एउटा समिति बनेको छ । त्यो समितिले पनि काम अगाडि बढाएको अवस्था छैन । यो सीमा विवाद भन्ने कुरा छ । सीमा विवाद छँदैछैन । २०३१ सालमा जो नापी भयो । त्यो नापीको कुरा २०३४÷०३५ सालमा राजपत्रका प्रकाशित भएको छ । नापी गरिसकेको जमिनको लालपूर्जा मालपोत कार्यालयले तत्काल जारी गर्नुप¥यो । हाम्रो माग यति नै हो । विवाद भन्ने कुरा हल्ला मात्रै हो । विवाद छँदैछैन । विवाद छ भने नीति, कानून मान्नु भएन । त्यो क्षेत्रमा अहिले हाइड्रोपावर सञ्चालनमा छ । हाइड्रोपावरलाई पनि हामीले भनेका छौं, सरकारले यहाँको नागरिकलाई लाजपूर्जा नदिएसम्म हाइड्रोपावर सञ्चालन हुन दिंदैनौं ।

पर्यटकीय क्षेत्र भएकाले सोलुखुम्बुले आफ्नो स्वामित्वमा लिन खोजेको होकीजस्तो देखिन्छ हैन र ?

नियम कानून ऐन त सबैले मान्नु प¥यो नि । नियम कानून रामेछापलाई छुट्टै सोलुलाई छुट्टै हुन्छ र ? राज्यको पुनःसंरचनान अहिले तत्काल भएको हो नि । धेरै टाढा त गएको छैन । राज्यको सीमा विवादको कुरा त टुङ्गिएर राज्य संघीय संरचनामा आएको हो नि । त्यो बेला उहाँहरु कहाँ जानुभयो ? उहाँहरुले सीमाको बारेमा विवाद गर्ने हो भने त्यही बेलामा सीमा निर्धारण गर्नु पथ्र्यो नि त । त्यसैले सीमाको विवाद नै छैन । जहाँ छ सीमाना त्यही सीमाना हो । लिुख खोलालाई सीमाना मानेको हो । अहिले आएर मेरो जग्गा यतिपर्छ उतिपर्छ भन्न कहाँ पाइन्छ । लिखु खोलाले काट्दा उता पनि हुनसक्छ नापी भएर रामेछाप जिल्लामा आइसकेपछि सोलु भन्न पाइदैन नि । म उहाँहरुलाई पनि के आग्रह गर्न चाहन्छु भने तपाईहरुले पनि कम्तीमा नीति, नियम र कानूनलाई मानिदिनु प¥यो । के मैले चाहिँ गोकुलगंगाको खिम्ती खोला मेरो हो भन्न पाउँछु ? पाउँदिन नि । त्यो कानून विपरीत कुरा हो । त्यसकारण उहाँहरुले नियम कानूनलाई स्वीकार गर्नुपर्छ । हाइड्रोपावर सञ्चालन भएपछि हामीले त्यहाँबाट केही कुरा पाउँछौ भनेर होइन । नियम, कानून, नीतिको फलो गरेको मात्रै हो । जिग्राई गरेर, बलजफ्ती गरे हुन्छ ? अर्काको जमिनमा मेरो सीमाना यहाँ भनेर भन्न पाइन्छ ? अहिले लिपुलेकको कुरा चलिरहेको छ, त्यसो भए त हामीले भारतसँग किन झगडा गरिबस्नु, छाड्दे भइहाल्यो नि । पूर्जामा जे छ त्यही हुनुप¥यो हाम्रो भनाई यही हो ।

धेरै युवाहरु विदेश पलायन भएको अवस्था छ । युवा स्वरोजगरको कुरा पनि चर्को रुपमा उठ्ने गरेको छ । गाउँपालिकाले युवाहरुको लागि के कार्यक्रम ल्याएको छ ?

युवाहरु विदेश जानु रहर होइन बाध्यता हो । युवाहरुले के कुरा पनि बुझ्नु प¥यो भने सबै कुराहरु सरकारले गर्नुपर्छ भन्ने पनि छैन । सरकारले वातावरण तयार गरिदिने हो । संघीय सरकारको श्रम मन्त्रालय मार्फत पनि युवाहरुको लागि धेरै राम्रो कार्यक्रमहरु आएको छ । गाउँपालिकाहरुमा पनि रोजगार संयोजक भनेर पठाएको छ । गाउँपालिकामा सूचिकृत भएका बेरोजगारहरु सबैलाई राखेर सम्बन्धित वडामा चेतनामूखी कार्यक्रम गरेर उनीहरुको जे सीप छ त्यही सीप प्रयोग गरेर उनीहरुको आत्मसन्तुष्टि होस् र उनीको जिविको चलोस भन्ने हिसाबले हामी काम गर्दैछौं । यो सानो कुराजस्तो हुन सक्छ । तर कुरा सानैबाट सुरु गर्ने हो । हामी धेरै ठूला–ठूला कुरा गर्छौ । सबै मान्छे एउटा खालको हुन्छ भन्ने पनि छैन । युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम हामी तत्काल अगाडि बढाउँदै छौं । पालिका अन्तर्गत विभिन्न परियोजनाहरु सञ्चालन हुँदैछ । त्यसमा सीप अनुसारको काम दिने गरि योजना बनाइरहेका छौं ।

यो पालिकामा केन्द्रीय सरकारले पनि वैदेशिक रोजगार सम्बन्धि कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रम कसरी चलिरहेको छ ?

धेरै मानिस सुधार भएर आउँछ भन्ने छैन । वैदेशिक रोजगार सम्बन्धि सञ्चालन गरिएको चेतनामूलक कार्यक्रमहरु प्रभावकारी भएको छ । सडक, बत्ती बनाएर मात्रै विकासको अनुभूति हुने त होइन । बत्ती बालेर उज्ज्यालो पार्नेमात्रै होइन, सडकमा हिड्ने मात्रै होइन । त्यसबाट प्रतिफल प्राप्त गर्नु प्रमुख कुरा हो । वैदेशिक रोजगार सम्बन्धि चेतनामूलक कार्यक्रमबाट धेरै मानिसहरु परिवर्तन भएका छन् र राम्रो काम गरेका पनि छन् । वैदेशिक राजेगार सम्बन्धि कार्यक्रमले गाउँमा परिवर्तन ल्याएको छ ।

यो पालिकाले गाडी किनेन्, मोटरसाइलक थियो त्यो पनि त्यागिदिनु भयो, भूगोलको हिसाबले यो पालिका ठूलो पनि छ, अहिले काम कसरी भ्याइरहनु भएको छ ?

पटक–पटक यो कुरा किन भनिराख्नु । मानिसलाई फेरि दिक्क पनि लाग्छ । त्यो कुरा म भन्न चाहन्न । हामी जनताको गोठालो हौं । म आपूmलाई त्यही ठान्छु । कस्तो काम भएको छ यहाँको जनताले राम्रेसँग बुझेका छन् । त्यसैले यो गाडीको बारेमा म धेरै बोल्न चाहन्न ।

अन्तमा यहाँको भन्नुपर्ने कुरा केही छ ?

जनताले हामीलाई जे म्याण्डेट दिएको छ त्यसलाई पुरा गर्नको लागि सबैले पाप नगरौं धर्म गरौं भन्न चाहन्छु । किनभने सबै राजनीतिक पार्टीहरुको पनि मलाई सहयोग चाहिन्छ । नागरिकको पनि सहयोग चाहिन्छ । हामी अहिले कठिन अवस्थामा छौं । हामी संविधान कार्यान्वय गर्ने अवस्थामा छौं । त्यो चानचुने कुरा होइन । हामी सबैले अपनत्व महसुुस हुने गरि उमाकुण्ड गाउँपालिकाको सबै राजनीतिक पार्टी, जनताहरु र कर्मचारी साथीहरुले मलाई सहयोग गर्नुभयो भने धेरै नसके पनि हामी केहीनकेही परिवर्तन गर्न सक्र्छौ । सहयोगको लागि सबैमा म आह्वान पनि गर्न चाहन्छु ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *