Hamro-Mobile-APP

नारी दिवसको १०७ औं वर्ष

 सोमवार, फाल्गुन ३०, २०७३ | onlinenews

– जीवन श्रेष्ठ
जेण्डर मास्टर प्रशिक्षक

हरेक वर्षको मार्च ८ मा मनाउने गरिएको नारी दिवस यस वर्ष पनि यहि फागुन २५ गतेका दिन १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ मनाउने तयारी भई रहेको छ । यस वर्षको अन्तर्राष्ट्रिय नारा “ओमन इन द चेन्जिङ वर्ड अफ ओर्क ः प्लानेट ५०–५० वाई २०३०” रहेको छ । यसैगरी राष्ट्रिय नारा “महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार” रहेको छ भने सहायक नारा “बदलिँदो परिवेशमा कामकाजी महिलाः सन् २०३० सम्ममा बराबरी पाइला” रहेको छ । एक शताब्दी अघिदेखि समानता, न्याय, शान्ति र विकासका लागि प्रारम्भ भएको अभियानको स्मरण गर्दै समयको गतिसँगै अन्य अधिकारको लागि शंखनाद गर्ने अवसरको रुपमा अन्तर्राष्ट्रिय नारी दिवसलाई लिईने गरिएको छ । फ्रान्सको राज्य क्रान्ति ताका ग्रिसकी महिला लाईसिसट्राटले युद्ध अन्त्यका लागि प्रारम्भ गरेको पहिलो महिला हडतालबाट सुरु भएको आन्दोलन पश्चात् सन् १९०९ मा अमेरिकी समाजवादी पार्टीले पहिलो नारी दिवस मनाए पछि संयुक्त राष्ट्रसंघले सन् १९७५–८५ लाई अन्तर्राष्ट्रिय महिला दशकको रुपमा घोषणा गरी सन् १९७७ मा महासभाले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवस मनाउने घोषणा ग¥यो । त्यसपछि सो दिनलाई विश्व नारी दिवसको रुपमा मनाउने विश्वव्यापी प्रचलन बन्दै आएको छ ।
विश्वभर नारी दिवस मनाउने क्रममा नेपालमा पनि अन्य देशहरुमा झैं नारी दिवस मनाईदै आएको छ । यद्यपि नारी दिवसलाई महिलाको मात्रै दिवसको रुपमा लिने गरिएको छ । महिलाको विषयसँग सम्बन्धित वैठक, तालिम, गोष्ठी, जुलुस आदि कार्यक्रमहरुमा पुरुषको अत्यन्त कम मात्र सहभागिता हुने गरेको छ । महिला सम्बन्धी कार्यक्रममा कतिपयः पुरुषहरु नाक खुम्च्याउँदै महिलाको कार्यक्रममा महिला पो जाने हो त भनी तर्कने गर्दछन् । दलित, जनजाति र गरीव जस्ता जातीय र वर्गीय मुक्तिको वकालत गर्ने पुरुष अधिकारकर्मी, राजनीतिज्ञ, समाजसेवी, सामाजिक कार्यकर्ताहरु महिला अधिकारको व्यवहारिक कार्यन्वयनको कुरा चल्दा आफ्नो अधिकार खोसिने भयले ग्रसित भई पन्छिने वहाना गर्दछन् । जातीय वा वर्गीय सवाल भन्दा आधा जनसंख्या ओगटेको महिलाहरुको लैङ्गिक सवालले वृहत क्षेत्र ओगट्दछ । यद्यपि जातीय र वर्गीय समानताको वकालत गर्ने अधिकारकर्मीहरु लैङ्गिक समानताको विषयमा किन मौन रहन्छन् ? जातीय, वर्गीय वा धार्मिक लगायत जुनसुकै विषय उठान गरेतापनि त्यहा महिला अनिवार्य हुन्छन् । जहाँ पुरुष छन् त्यहाँ महिला हुन्छन् र जहाँ महिला छन् त्यहाँ अनिवार्य पुरुष हुन्छन् । तसर्थ महिलाको सवाल जातीय, वर्गीय सवाल भन्दा पृथक हुन्छ । महिला कुनै वर्गीय शत्रु होइनन् । हरेक पुरुषको जीवन पर्यन्त सम्मको साझेदार महिला भएको हुँदा महिलाको सवालमा कुनै पनि पुरुष अलग्गिन मिल्दैन ।
ऐतिहासिक कालदेखि पितृसत्तात्मक समाजमा धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक शक्तिको असमान बाँडफाँडका कारण महिलालाई पछाडि पारिएको छ । तर पनि लैङ्गिक असमानताको समस्याको जड महिलामा नै रहेको देखाईने गरिन्छ । वास्तवमा लैङ्गिक समानताका लागि समस्या महिलामा होईन, पुरुषमा छ । समाजमा हत्यारा, चोर, शोषकहरुलाई सभ्य नागरिकमा रुपान्तरण गर्न सकेमा राज्यमा प्रहरीको आवश्यकता नै पर्दैन । विभेद गर्ने पक्ष प्रायः पुरुष र विभेदमा पर्ने पक्ष महिला भएको हुँदा त्यो विभेद गर्ने पक्षमा सुध्रिने हो भने विभेदमा पर्ने पक्ष महिलाहरु स्वतः अन्याय, असमानता, विभेदबाट मुक्त हुनेछन् ।
गाँउ गाँउमा बाख्रा खान आउने बाघलाई खुल्ला छोडेर सुरक्षाका लागि बाख्रालाई घरमा बाँधेर राख्ने की त्यो बाख्रा खाने बाघलाई नियन्त्रणमा लिएर खोरमा थुन्ने ? तर, हाम्रो तरिका उल्टो भएको छ कि बाघलाई स्वतन्त्रका साथ घुम्न दिने अनि बाख्रालाई भने खोर भित्र नै बाँधेर राख्ने । विभेदको प्रमुख अर्थात् पीडक पक्षलाई नियन्त्रणको साटो पीडितको सुरक्षाको लागि भन्दै झन् बन्धनमा राख्ने गरिन्छ । जसको कारण नेपाली महिलाहरु अझ चुलोचौका, घर र समुदायको घेरा भित्र रहन बाध्य छन् । यसर्थ लैङ्गिक सचेतना महिलालाई भन्दा पुरुषलाई बढी आवश्यक छ । शक्ति सम्बन्धको आधारलाई विश्लेषण गर्दा महिला पुरुषबीच असमान शक्ति सम्बन्ध रहेको सन्दर्भमा लैङ्गिक समानताको लक्ष्यमा पुग्न पुरुषद्वारा आफूसँग भएको शक्तिका स्रोतहरु पुनर्वितरण गर्नुपर्दछ । शक्तिको स्रोतहरुमा महिलाहरुको पहुँच र नियन्त्रणले मात्र सारभूत समानता प्राप्ति हुन सक्दछ ।
विश्वभरका करोडौं महिलाहरुले एकै दिन एकै साथ समग्र महिला मुक्तिका लागि दिवस मनाउनु आफैंमा महत्वपूर्ण कुरा हो । तर, यसलाई केवल दिवस मनाउने घटनासँग मात्र केन्द्रित नगरी ग्रामिण भेगका कुनाकाप्चामा रहेका रोग, भोक, गरीवी र हिंसाले पिल्सिएका महिलाहरुको मुक्ति र अधिकारको लागि सुसूचित गर्ने, संगठित र सशक्तिकरण गर्दै लैङ्गिक समानताको आन्दोलनमा लाग्न प्रेरित गर्नु पर्दछ भने महिलालाई विद्यमान अन्याय, असमानता, विभेदको अवस्थामा नै रहन बाध्य पार्ने तिनै बुवा, दाजु, भाई, श्रीमान् अर्थात पितृसत्तालाई टिकाई राख्न चाहने सम्पूर्ण पुरुष वर्गहरुमा एक्काईसौं शताब्दीको युगसम्म आई पुग्दा पनि आफ्नै आमा, दिदी, बहिनी, श्रीमतिप्रति सहअस्तित्व स्विकार्दै समानतामूलक व्यवहार गर्न सन्देश दिनुपर्दछ । आर्थिक रुपमा सीपयुक्त र स्वरोजगार बनाउँदै सामाजिक रुपमा सम्मानित हुँदै सन् २०३० सम्म महिला पुरुष समानताको लक्ष्यमा पुग्नु पर्ने विषयलाई अन्तर्राष्ट्रिय नारी दिवसको यस वर्षको नाराले अंगिकार गरेको छ ।
महिला हिंसा विरुद्धको कुरा मात्र गर्ने परिपाटीलाई त्यागेर महिला हिंसा विरुद्ध बोल्न थालेर, हिंसा नगरेर र हिंसा पीडितलाई न्याय दिलाउन सहयोग गर्ने काम गरेर यस वर्षको नारी दिवसमा सहभागी होऔं । नारी दिवसको ¥यालीमा प्लेकार्ड, व्यानर बोक्ने, नारा लगाउने महिला मात्र होइन पुरुषको साथ, स्वर र सकृयताको आवश्यकता महसुस गरिएको छ । नारी दिवसमा महिला मात्र होइन घर घरका सम्पूर्ण पुरुषहरु कुनै न कुनै रुपमा सहभागी बनेमा दिवसले उल्लेखनीय सार्थकता पाउनेछ ।

प्रतिकृया

Add