Hamro-Mobile-APP

परिवर्तन मात्र होइन, रुपान्तरण आवश्यक

 बिहिबार, फाल्गुन २४, २०७४ | onlinenews

         जीवन श्रेष्ठ
जेण्डर मास्टर प्रशिक्षक


शाताब्दीआंैदेखि मनाईदै आएको अन्तर्राष्ट्रिय नारी दिवसले आज पनि निरन्तरता पाएको छ । १०८औं पटकको रुपमा आज अर्थात ८ मार्चका दिन “टाइम इज नाउ ः रुरल एण्ड आरवन एक्टिभिष्ट ट्रान्सफर्मिङ ओमन्स लाइभस्” भन्ने अन्तर्राष्ट्रिय नारा र “ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण ः आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण” भन्ने राष्ट्रिय नाराका साथ अन्तराष्ट्रिय नारी दिवस आज मनाइँदैछ । एक शताब्दी अघिदेखि समानता, न्याय, शान्ति र विकासका लागि प्रारम्भ भएको अभियानको स्मरण गर्दै समयको गतिसँगै अन्य अधिकारको लागि शंखनाद गर्ने अवसरको रुपमा अन्तर्राष्ट्रिय नारी दिवसलाई लिने गरिएको छ । फ्रान्सको राज्य क्रान्ति ताका ग्रिसकी महिला लाईसिसट्राटले युद्ध अन्त्यका लागि प्रारम्भ गरेको पहिलो महिला हडतालबाट शुरु भएको आन्दोलन पश्चात् सन् १९०९ फेबु्रअरी २८ मा अमेरिकी समाजवादी पार्टीले पहिलो नारी दिवस मनाए पछि नारी दिवसले निरन्तरता पाएको हो । संयुक्त राष्ट्रसंघले सन् १९७५–८५ लाई अन्तर्राष्ट्रिय महिला दशक घोषणा गरी सन् १९७७ मा महासभाले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवस मनाउने घोषणा ग¥यो । त्यसपछि सो दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउने विश्वव्यापी प्रचलन बन्दै आएको हो ।
विश्वभर नारी दिवस मनाउने क्रममा नेपालमा पनि अन्य देशहरुमा झैं नारी दिवस मनाईदै आएको छ । यद्यपि नारी दिवसलाई महिलाको मात्रै दिवसको रुपमा लिने गरिएको छ । श्रमजिवि, मजदुर महिला, आर्थिक रुपमा गरिव अनि संस्कारको नामबाट शोषित, घरेलु हिंसा पिडित एवम बाध्यात्मक परिस्थितिबाट गुज्रिरहेका महिलाहरुलाई यस्ता दिवसले छुन सकेको छैन । जातिय वा वर्गीय सवाल भन्दा आधा जनसंख्या ओगटेको महिलाहरुको लैङ्गिक सवालले व्यापकता ओगट्दछ । यद्यपि जातीय र वर्गीय समानताको वकालत गर्ने अधिकारकर्मीहरु लैङ्गिक समानताको विषयमा किन मौन रहन्छन् ? जातीय, वर्गीय वा धार्मिक लगायत जुनसुकै विषय उठान गर्दा त्याँहा महिला अनिवार्य हुन्छन् । जहाँ पुरुष छन् त्याहाँ महिला हुन्छन् र जहाँ महिला छन् त्याँहा अनिवार्य पुरुष हुन्छन् । तसर्थ महिलाको सवाल जातीय, वर्गीय सवाल भन्दा पृथक एवम् सर्वव्यापी हुन्छ । महिला कुनै वर्गिय शत्र होइनन् । हरेक पुरुषको जीवन पर्यन्तसम्मको साझेदार महिला भएको हुँदा महिलाको सवालमा कुनै पनि पुरुष अलग्गिन मिल्दैन ।
ऐतिहासिक कालदेखि पितृसत्तात्मक समाजमा धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक शक्तिको असमान बाँडफाँड गरी महिलालाई पछाडि पारिएको छ । तर पनि लैङ्गिक असमानताको समस्या महिलामा नै देखाईने गरिन्छ । वास्तवमा लैङ्गिक समानताका लागि समस्या महिलामा होईन, पुरुषमा छ । तर आज पनि हाम्रा विकासे कायकर्ता, अगुवा, समाजसेवी, योजनाविद्हरु समस्या महिलामा मात्रै देख्दछन् । पिडक पक्ष प्रायः पुरुष र पिडत पक्ष महिला भएको हुँदा पिडक पक्षमा सुधार हुने हो भने पिडित पक्ष महिलाहरु स्वतः अन्याय, असमानता, विभेदबाट मुक्त हुनेछन् । उदाहरणका लागि गाँउ गाँउमा बाख्रा खान बाघ आउने गर्नाले बाख्राको सुरक्षाका लागि बाख्रालाई खोरमा नै थुनेर राखिन्छ अनि बाघलाई भने निस्फिक्री गाँउ डुल्न दिइन्छ । यस अवस्थामा एउटा बाघलाई थुनेर सयौं बाख्रालाई खुल्ला गर्नु पर्नेमा सयौं बाख्रालाई थुनेर एउटा बाघलाई खुल्ला रुपमा छोडिन्छ । पीडक पक्षलाई नियन्त्रणको साटो पीडितलाई नै बन्धनमा राख्ने गरिएको छ । यसर्थ लैङ्गिक सचेतना महिलालाई भन्दा पुरुषलाई बढि आवश्यक छ । शक्ति सम्बन्धको आधारलाई विश्लेषण गर्दा महिला पुरुष विच असमान शक्ति सम्बन्ध वितरण भएको सन्दर्भमा लैङ्गिक समानताको लक्ष्यमा पुग्न पुरुषद्वारा आफूसँग भएको शक्तिका स्रोतहरु पुनर्वितरण गर्नु पर्दछ । शक्तिको स्रोतहरुमा महिलाहरुको पहुँच र नियन्त्रणले मात्र सारभूत समानता प्राप्ती हुन सक्दछ ।
नेपालमा ठूलो राजनीतिक परिवर्तन भयो । राज्यको प्रमूख तहहरु राष्ट्र प्रमूख, व्यवस्थापिका प्रमूख, न्यायपालिका प्रमूखमा महिलाहरु पुगिसकेका छन् । राजनीतिक परिवर्तन त भए तर सोचाइ र व्यवहारमा रुपान्तरण हुन सकेन । रक्सीको बोतल फेरिए तर बोतल भित्रको रक्सी भने फेरिएन । यस वर्षको नाराले पनि समग्र महिलाहरुको आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ल्याई ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरणको विषयलाई उठाएकोछ ।
विश्वभरका करोडौं महिलाहरुले एकै दिन एकै साथ समग्र महिला मुक्तिका लागि दिवस मनाउनु आफैमा महत्वपूर्ण कुरा हो । तर यसलाई केवल दिवस मनाउने घटनासँग मात्र केन्द्रित नगरी ग्रामीण भेगका कुना काप्चामा रहेका रोग, भोक, गरीवी र हिंसाले पिल्सिएका महिलाहरुको मुक्ति र अधिकारको लागि सुसूचित गर्ने, संगठित र सशक्तिकरण गर्दै र लैङ्गिक समानताको आन्दोलनमा लाग्न प्रेरित गर्नु पर्दछ भने महिलालाई विद्यमान अन्याय, असमानता, विभेदको अवस्थामा नै रहन बाध्य पार्ने तिनै बुवा, दाजु, भाई, श्रीमान अर्थात पितृसत्तालाई टिकाई राख्न चाहने सम्पूर्ण पुरुष वर्गहरुमा एक्काईसौं शताब्दीको युगसम्म आई पुग्दा पनि आफ्नै आमा, दिदी, बहिनी, श्रीमति प्रति सहअस्तित्व स्विकार्दै समानतामूलक व्यवहार गर्न सन्देश दिनु पर्छ । नेपालको लामो राजनीतिक संक्रमण पश्चात् आम नेपाली नागरिकहरुले प्राप्त गरेको प्रगितिशील संविधान कार्यन्वयन गर्न संघ, प्रदेश र स्थानीय तहमा उपयुक्त कानुनको निर्माण एवम् त्यसको हुबहु कार्यन्वयन आजको प्रमुख आवश्यकता हो ।
महिला प्रति भई रहेको अन्याय, असमानता र विभेदको कुरा मात्र गर्ने परिपाटीलाई त्यागेर न्याय, समानता र विभेदरहित समाज निर्माण गर्न हरेक महिला पुरुषको सोच र व्यवहार रुपान्तरण हुनु पर्दछ । नारी दिवसमा सहभागी हुने, ¥यालीमा प्लेकार्ड, व्यानर बोक्ने, नारा लगाउने महिला मात्र होइन पुरुषको साथ, स्वर र सकृयताको आवश्यकता महसुस गरिएको छ । नारी दिवसमा महिला मात्र होइन घर घरका सम्पूर्ण पुरुषहरु कुनै न कुनै रुपमा सहभागी भएमा दिवसले उल्लेखनीय सार्थकता पाउनेछ । १०८औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण दिदिबहिनी दाजुभाईहरुमा हार्दिक शुभकामना ।

प्रतिकृया

Add