Hamro-Mobile-APP

पार्टी शुद्धीकरण, सवलीकरण र सुदृढीकरणका लागि नेपाली कांग्रेसले आफुभित्र सुधार गर्नुपर्ने एकदर्जन नीति र प्रवृत्ति…

 सोमवार, असार ४, २०७५ | onlinenews

 (कांग्रेसको अबको बाटो, बिधान र संरचनाको बारेमा प्रस्तावित सुझावहरु)

             नेपा ली कांग्रेस र नेपाली जनताका बीचमा सात दशक लामो सम्बन्ध छ । सिंगो नेपालको राजनैतिक अध्ययन नेपाली कांग्रेसको अध्ययन बिना पुर्ण हुँदैन । अहिलेसम्मका राजनैतिक परिवर्तनका सबै आन्दोलनमा मुख्य नेतृत्वकर्ता बन्ने सौभाग्य पाएको कांग्रेसलाई कहिले क्रान्ति, कहिले शान्ति त कहिले संसारले पत्याएको समन्वयकर्ताको भुमिकामा भेट्न, अनुभव गर्न र अध्ययन गर्न सकिन्छ । कांग्रेसले अंगिकार गरेको राष्ट्रियता, लोकतन्त्र, समाजवादनै यस्को जीवन पद्धतिको मुख्य आधारशीला हो । कांग्रेसको गौरव भन्नुनै यस्को नेतृत्वदायी भुमिका, गहुँङ्गो इतिहास र यो पार्टीले लिएको समय सुहाउँदो समाजवादको विश्वब्यापी बाटो हो । विभिन्न आरोह अवरोहका बीच नेपाली कांग्रेस पुरानै ढड्डाको विधि, पद्धति र संस्कारबाट आजको अवस्थासम्म आइपुगेको छ । कांग्रेसको अगाडिको बाटो राजनैतिक, बैचारिक, सैद्धान्तिक, रणनीतिक र एजेन्डाको हिसाबले नयाँ प्रारुपमा तय गर्दै पार्टी संगठन सुढृढ, सबल र शक्तिशाली बनाउन मद्दत पुग्ने विधि र विकल्प अख्तियार गर्नुपर्ने अवस्था आएको छ । यस्का लागि नेतृत्वको चरीत्र, पार्टीको वर्तमान संरचना, विधि बिधान, उद्देश्य र एजेन्डामा व्यापक हेरफेर, संशोधन र परिमार्जन आवश्यक ठानी सुधारका लागि निम्नलिखित बुँदामा प्रस्ताव पेश गरेको छु ।

१. पार्टी रुपान्तरण माथि देखि तल

     पार्टी संगठनको आधार र जग तल्लो तहका कार्यकर्ता हुन् । नेतृत्वमा बस्ने जिम्मेवार नेताको प्रस्तुति, अभिव्यक्ति, भुमिका, रणनीति वा कार्यक्रमले पार्टी संरचनाको तल्लो तहमा बसेर काम गर्ने नेताकार्यकर्तालाई प्रत्यक्ष वा परोक्ष प्रभाव पारीरहेको हुन्छ । अहिले सबैतिर सूचना प्रबिधिको सहज पहुँच भएकोले नेतृत्वको राम्रो निर्णयले हौसला अनि गलत निर्णयले क्षण भरमै नेताकार्यकर्तामा बिचलन र नैराश्यता जन्माउछ । नेतृत्वमा बस्नेहरुले तत्काल यो तथ्यको अनुभुति गर्दैनन् । न त आफ्ना कुनैपनी निर्णयको प्रभाव तल्लो तहसम्म कस्तो हुदैछ भन्ने कुराको जनमत सर्बेक्षण गर्ने परिपाटी नै कांग्रेस भित्र छ । चाहे सार्बजनिक पद धारण गर्दा होस् चाहे अभिव्यक्ति, अन्तरवार्ता वा अन्य कुनै अभियानमा सामेल हुँदा होस् नेतृत्वले आफ्ना कार्यकर्ताको मनोबिज्ञान र मनोबलमा आघात पुग्ने ढंगले प्रस्तुत हुनु किन्चित वान्छनीय हुँदैन । पार्टी प्रति जनमानसमा कस्तो छाप बस्छ भन्ने कुरा उपल्लो तहमा बस्नेहरूको व्यबहार र तिनले संप्रेषण गर्ने सन्देशले निर्धारण गर्दछ । कार्यकर्तामा उर्जा, जोस, जागरको रक्तसञ्चार गराउने कि नैराश्यताको बिजारोपण गराउने त्यसमा नेतृत्व नै मुख्य कर्ता वा जिम्मेवार रहन्छ । तल्लोतहमा बसेर पार्टी संगठनमा दिनरात तल्लीन हुने नेताकार्यकर्तालाई निराश र हतोत्साहित गराउने ढंगले नेतृत्व प्रस्तुत भयो भने त्यस्ले पार्टी संगठनलाई रसातलमा पुर्याउछ । नेतृत्व वा उपल्लो तहमा जिम्मेवारी बहन गरिरहेकाहरुबाट कार्यकर्ताको मनोभावना माथि खेलवाड नगरौं । पार्टी रुपान्तरणका लागि शुद्धीकरण, सुदृढीकरण र सबलिकरणको अभियान bottom to top होइन, top to bottom हुँदै गरौं । सुधार माथिबाटै गरौं, प्रतिज्ञा र अठोट माथिबाटै गरौं, उचित पहल, प्रयत्न र प्रस्तुति माथिबाटै गर्न जरुरी छ ।

२. एकै प्रकारको पार्टी सदस्यता

      नेपाली कांग्रेस पार्टी स्थापना भएको लगभग सात दशक पुग्न लाग्यो । करिब ७० बर्ष अगाडि पार्टीले तय गरेको साधारण र कृयाशिल सदस्य गरि २ थरी सदस्यताको ब्यबस्था आजपनि बिधमान छ । यो ढंगले नेता कार्यकर्ताको वर्गीकरण आबश्यक छ कि छैन ? २ थरी सदस्यता प्रणालीले पार्टीलाई कति फाइदा कति बेफाइदा ? सदस्यता बितरण न्यायोचित छ कि छैन ? सदस्यता वितरणमा पहुँचवालाको मानोमानी चल्छ कि चल्दैन ? अब यी बिषयमा बहस चलाउन जरुरी छ । सदस्यताको बिषयमा गहन छलफल गरि पुनर्बिचार गर्नु पर्दछ । जहाँसम्म लाग्छ पार्टी संरचनामा कार्यकर्ताको वर्गीकरण गरेर फरकफरक सदस्यता उपलब्ध गराउनु न्यायसंगत होइन । बरु उचित बिधि तय गरेर एकैथरी सदस्यता बनाउनु पर्दछ ।

क) एकैथरी सदस्यता किन ?
नेताकार्यकर्तामा साधारण सदस्यता केहि पनि होइन र कृयाशिल सदस्यता चाहिँ केके न भए जस्तो गलत बुझाइ छ । सदस्यता भन्दा पनि ठुलो कुरा सदस्य बन्नेको भुमिका हो । साधारण सदस्यताको अवमूल्यन गरिएको छ । पहुँचवालाहरुले आफ्ना आसेपासेहरुलाई एकैपटक कृयाशिल सदस्यको हकदार बनाएर आफ्नो शक्ति संचय गर्ने जस्तो गलत नियतले प्रशय पाएको छ । नेतृत्व पंतिमा आउन तयार भै सकेको एउटा कार्यकर्ताको उर्जा प्रतिस्पर्धीको आंकलन गरेर अर्को पहुँचवालाले मारिरहेको छ कृयाशिलबाट बन्चित गरेर । कसैले आफ्ना परिवार, नातागोता, आफन्तलाई मात्रै कृयाशिल सदस्यता दिलाएर त्यस्लाई केवल आफू माथि जाने भर्याङ्ग बनाएका छन् भने कति यहि कृयाशिल नपाए बापत पलायन भएका उदाहरण छन् । यो पार्टीमा आस्था र बिश्व्वास राखेर अनबरत पसिना बगाउने सबैले समान सदस्यको हकदार बन्न पाउने कि नपाउने ? सदस्यकै नाउँमा कार्यकर्ताको वर्गीकरण र विभेद आबश्यक हो कि होइन ? बहस चलाऔं । सकिन्छ, सदस्यतामा एकरूपता कायम गरौं । साधारण/क्रियाशिल/ संगठित/ कर्मठ/विशेष वा अरु जुनसुकै नामको सदस्यता भएपनि उचित विधि र विकल्प मार्फत एकरुपता सिर्जना गरेर सबै नेताकार्यकर्तालाई पार्टी सदस्यको समान हकदार बनाऔं !

ख) विधि कस्तो बनाउने ?
* प्रत्येक बर्ष वडा समितिले आफ्ना सक्रिय कार्यकर्ताको अनिवार्य अभिलेख राख्ने ।
* वडामा अभिलेख राखेको २ बर्ष पछी निजले सदस्यता दावी गरे वडा समितिको कम्तीमा २ जना सदस्यको सिफारिसमा गाउँपालिका/नगरपालिका समन्वय समितिले निजलाई सदस्यता दिलाउन सक्ने ।
* प्रत्येक ५ बर्षमा आफ्नो सदस्यता नवीकरण गर्न सकिने ।
* आबश्यकता हेरि एकाघरको बढीमा २ जनालाई यस्तो सदस्यता दिन सकिने ।
* पार्टी हित विपरीतको कुनैपनि गतिविधिमा संलग्न भएको पाइए अनुशासन समिति/ गाउँ/नगर समितिले निजको सदस्यता खारेज गर्न सक्ने ।

३. पार्टीको संरचना कस्तो बनाउने ?

     वर्तमान सन्दर्भमा निम्न ६ तहको पार्टी संरचना उपयुक्त हुनेछ:-

१. वडा समिति (११ सदस्यीय – समावेशी सहित)
२. गाउँ/नगर समिति (१५ सदस्यीय- समावेशी सहित)
३. प्रदेश समिति (२१ सदस्यीय – समावेशी सहित )
४. जिल्ला समिति (निर्वाचन क्षेत्रका आधारमा)
५. प्रान्तीय/ संघीय समिति (५१ सदस्यीय – समावेशी सहित)
६. केन्द्रीय समिति (१०१ सदस्यीय – समावेशी सहित)
(सबै पदमा प्रत्यक्ष निर्वाचन मार्फत निर्बाचित हुने ब्यबस्था)

क) वडा समितिको गठन
* पार्टीको गाउँ/नगर समितिले खटाएको प्रतिनिधिको रोहवरमा वडा समिति गठन हुने ।
* सर्वसहमती वा सदस्यहरुको आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चुनिने ।
* राज्यले लिएको समावेशी/समानुपातिक प्रणालीको नीति अनुरुपको प्रतिनिधित्व हुने गरि समिति गठन हुनुपर्ने ।
* वडा समितिले गाउँ/नगर/प्रदेशको अधिवेशनका लागि प्रतिनिधिको छनौट गर्ने ।
* प्रत्येक बर्ष वडा समितिको सम्मेलन/भेला हुने ।
* प्रत्येक दुई बर्षमा समिति हेरफेर गर्न सकिने ।
* एक ब्यक्ति एउटै पदमा बढीमा दुई बर्ष मात्र बस्न पाउने ।

ख) गाउँपालिका/नगरपालिका समितिको गठन
* प्रदेश समितिको प्रतिनिधिको रोहवरमा गाउँ/नगर समिति गठन हुने ।
* वडाबाट छनौट भएर आएका प्रतिनिधि मध्येबाट गाउँ/नगर समितिको गठन हुने ।
* नेतृत्व चयन गर्दा सर्वसहमती वा मतदान प्रक्रियाबाट गरिने ।
* गाउँ/नगर सभाले वडाबाट छनौट भएर आएका प्रतिनिधि मध्येबाट जिल्ला अधिबेशनका लागि प्रतिनिधिको टुङ्गो लगाउने ।
* गाउँ/नगर समितिको सभापति स्वत: प्रदेश/जिल्ला र प्रान्तीय अधिबेशनको प्रतिनिधि हुने ।
* प्रत्येक बर्ष गाउँ/नगर भेला वा सम्मेलन र प्रत्येक ३ बर्षमा गाउँ/नगर अधिबेशन हुने ।
* एक ब्यक्ति बढीमा २ कार्यकाल मात्रै एउटै पदमा रहन सक्ने ।

ग) प्रदेश समितिको गठन
* जिल्ला समिति वा उस्ले खटाएको प्रतिनिधिको रोहवरमा प्रदेश अधिबेशन हुने ।
* वडा तहबाट छनौट भएर आएका प्रतिनिधि प्रदेश अधिबेशनका प्रतिनिधि हुनेछन् ।
* सर्वसहमती वा प्रतिनिधिको मतदानबाट प्रदेश समिति गठन हुनेछ ।
* प्रदेश समितिको निर्वाचन समाबेशी/ समानुपातिक प्रतिनिधित्व गर्ने ढंगको हुने ।
* ९०% निर्वाचन बाट र १०% मात्र मनोनीत कोटा राख्ने ।
* सबै भातृ तथा बर्गिय संगठनका प्रदेश प्रमुखहरु प्रदेश समितिका आमन्त्रित सदस्य हुने ।
* प्रदेश अधिवेशनबाट प्रान्तीय अधिवेशन र केन्द्रिय महाधिवेशनका प्रतिनिधि निर्बाचित हुने ।
* प्रत्येक बर्ष प्रदेश सम्मेलन वा भेला अनिवार्य गर्नु पर्ने ।
* प्रत्येक ३ बर्षमा प्रदेश अधिबेशन हुने ।
* एक ब्यक्ति एउटै पदमा बढीमा २ कार्यकाल मात्रै उम्मेदवार बन्न सक्ने ।

घ) जिल्ला समितिको गठन
* प्रान्तीय समितिको प्रतिनिधिको रोहवरमा जिल्ला अधिबेशन भइ जिल्ला समितिको गठन हुने ।
*जिल्ला अधिबेशनका प्रतिनिधि गाउँ/नगरबाट छनौट भएर आएका प्रतिनिधि हुने ।
* जिल्ला सभापति, पदाधिकारी, महासमिति सदस्य र सदस्यहरुको निर्वाचन एकै चरणमा हुने ।
* सदस्यहरुको समावेशी र समानुपातिक प्रतिनिधित्व हुनेगरी जिल्ला समितिको ९०% प्रत्यक्ष निर्वाचनबाट र १०% मनोनीतबाट ल्याउन सकिने ।
* जिल्ला समितिले निश्चित कोटा राखेर मानार्थ महाधिवेशन प्रतिनिधि/ सल्लाहकार सदस्य वा विशिष्ट सदस्य नियुक्त गर्न सक्ने ।
* सबै भातृ तथा बर्गिय संगठनका जिल्ला सभापतिहरु जिल्ला समितिको आमन्त्रित सदस्य हुने ।
* प्रत्येक बर्ष जिल्ला भेला वा सम्मेलन र प्रत्येक ३ बर्षमा अनिवार्य जिल्ला अधिबेशन सम्पन्न गर्नु पर्ने ।
* एक ब्यक्ति एउटै पदमा बढीमा २ कार्यकाल मात्रै उम्मेदवार बन्न सक्ने ।

ङ) प्रान्तीय समितिको गठन
* केन्द्रिय समितिले खटाएको प्रतिनिधिको रोहवरमा प्रान्तीय समितिको अधिवेशन हुने ।
* गाउँ/नगर तथा प्रदेशबाट निर्वाचित भएर आएका प्रतिनिधिहरु प्रान्तीय अधिवेशनका प्रतिनिधि हुने ।
* गाउँ, नगर, प्रदेश तथा जिल्ला सभापतिहरु स्वत: प्रान्तीय अधिवेशन प्रतिनिधि हुने ।
* सर्वसहमती वा निर्वाचनबाट प्रदेश कार्यसमितिको चयन हुने ।
* समावेशी तथा समानुपातिक प्रतिनिधित्व हुनेगरी ९०% प्रत्यक्ष निर्वाचन बाट र १०% मनोनीत प्रान्तीय समिति गठनहुने ।
* सबै भातृ तथा बर्गिय संगठनका प्रान्तीय सभापतिहरु प्रान्तीय समितिका आमन्त्रित सदस्य हुने ।
* प्रत्येक २ बर्षमा प्रान्तीय भेला वा सम्मेलन र प्रत्येक ४ बर्षमा अधिबेशन सम्पन्न गर्नु पर्ने ।
* एक ब्यक्ति एउटै पदमा बढीमा २ कार्यकाल मात्रै उम्मेदवार बन्न सक्ने।

च) केन्द्रिय समितिको गठन
* जिल्ला अधिवेशनबाट निर्बाचित भएर आएका प्रतिनिधिहरु महाधिवेशन प्रतिनिधि हुने ।
* प्रदेश सभापति, जिल्ला सभापति तथा प्रान्तीय सभापति स्वत: महाधिवेशन प्रतिनिधि हुने ।
* विदेश बिभाग, सम्पर्क समिति तथा भातृ एवं बर्गिय संगठनबाट पनि निश्चित कोटा राखेर महाधिवेशन प्रतिनिधि बनाउने ।
* खुला, समावेशी र प्रदेश स्तरीय गरेर ३ प्रकारका केन्द्रिय सदस्यको निर्वाचन हुने ।
* खुला केन्द्रिय सदस्यका लागि देशै भरिबाट, समावेशीका लागि सम्बन्धित समुदायबाट र प्रदेश सदस्यका लागि सम्बन्धित प्रदेश भित्रबाट मात्र मतदान गर्ने ब्यबस्था गर्ने ।
* केन्द्रिय समितिमा ९०% प्रत्यक्ष निर्वाचनबाट र १०% मनोनीतबाट सदस्य ल्याउन सकिने ।
* निश्चित कोटा राखेर केन्द्रिय समितिमा मानार्थ सल्लाहकार सदस्य वा विशिष्ट सदस्य मनोनीत गर्न सकिने ।
* सबै भातृ तथा बर्गिय संगठनका केन्द्रिय सभापतिहरु केन्द्रिय समितिका आमन्त्रित सदस्य हुने ।
* प्रत्येक बर्ष महासमिति भेला, प्रत्येक २ बर्षमा केन्द्रिय सम्मेलन वा भेला र प्रत्येक ४ बर्षमा केन्द्रिय महाधिवेशन अनिवार्य सम्पन्न गर्नु पर्ने ।
* एक ब्यक्ति एउटै पदमा बढीमा २ कार्यकाल मात्र उम्मेदवार बन्न सक्ने ।

४. भातृ संस्था सम्बन्धमा

      नेपाली कांग्रेसका भातृ संगठन आशातित रूपमा गतिशील देखिदैनन । उचित भुमिका संगै नीति, कार्यक्रम र सांगठनिक गतिविधिमा ध्यान केन्द्रित नहुदा धेरै भातृ संस्थामा आवद्ध नेताकार्यकर्तामा ब्यक्तित्व र नेतृत्वको सामान्य विकास समेत हुन सकेको छैन । बलियो पार्टी निर्माणका विभिन्न अवयबका रूपमा रहेका भातृ संस्थाको भुमिकाले पार्टीको भविस्य निर्धारण गर्दछ । तसर्थ, सबै भातृ/भगिनी एवं सुभेछुक संस्थालाई चलायमान, गतिशील, र उर्जावान बनाउन न्युनतम सर्तका रूपमा यी ब्यबस्थाको नीतिगत र ब्यबहारिक कार्यान्वयन गर्नु पर्दछ ।

* प्रत्येक १ बर्षमा सबै भातृ संस्थाको वडा, गाउँ, नगर, प्रदेश, जिल्ला अधिवेशन सम्पन्न गराउने ।
* प्रत्येक २ बर्षमा सबै भातृ संस्थाको प्रान्तीय र केन्द्रिय महाधिवेशन सम्पन्न गर्ने ।
* पार्टीको सबै तहमा तततत तहका सबै भातृ संस्थाका प्रमुखहरुलाई आमन्त्रित सदस्य बनाउने ।
* सबै भातृ संस्था हेर्ने गरि सबै तहमा पार्टीले आधिकारिक प्रतिनिधि खटाउने ।
* भातृ संस्थालाई बैचारिक, सिर्जनशील र उत्पादनको क्षेत्रमा बढी कृयाशिल गराउने ।
* तदर्थवादबाट चल्दै आएका भातृ संस्था विघटन गरि अविलम्ब अधिबेशन गराउने ।

५. सम्पर्क समिति कस्तो बनाउने ?

     सम्पर्क समितिको आफ्नै विशिष्ट भुमिका हुँदाहुँदै पनि नेपाली कांग्रेसले यसलाई खासै महत्त्व दिन सकेको छैन । स्वाबलम्बी, स्वनिर्भर भै व्यावसायिक ढंगले राजधानीमा बसेका नेता कार्यकर्ताको ठुलो जमातलाई पार्टीले कुनै भुमिका दिन सकेको छैन ।कम्युनिस्टहरुले तिनै सम्पर्क समितिको बलमा धेरै ठाउँमा चुनाव जित्छन । पार्टीलाई चुनाव खर्च उठाउने देखि गाडीका गाडी मतदातालाई गाउँ सम्म पुर्याउन उनीहरु सफल भएका छन् । तर हाम्रा सम्पर्क समितिहरु किन निष्प्रभावी छन् ? चुनावी माहोल तयार गर्न होस् वा मतदाता संकलन गर्न होस् अर्थात् अन्य सामाजिक सेवाकै क्षेत्रमा पनि तुलनात्मक रूपमा हाम्रा सम्पर्क समितिको भुमिका त्यति सन्तोषजनक देखिदैन । पार्टीले उचित लेखाजोखा गरेर सम्पर्क समितिलाई कृयाशिल बनाउने मात्रै होइन यस्लाई सर्वाधिक महत्त्वको समिति बनाउन सक्नुपर्छ । निम्न केहि ब्यबस्था गरेर सम्पर्क समितिलाई गतिशील बनाउन सकिन्छ ।

– पार्टीका सबै तहमा सम्पर्क समितिबाट अधिवेशन प्रतिनिधि हुने ब्यबस्था गर्ने ।
– सम्पर्क समितिको छुट्टै बिधान बनाउने ।
– प्रत्येक तहको निर्वाचनमा सम्पर्क समितिको राय, सुझाव तथा प्रतिवेदन लिने अनिवार्य ब्यबस्था गर्ने ।
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्पर्क समितिहरुको छुट्टै महाधिवेशन गराउने ब्यबस्था गर्ने ।
– प्रत्येक ३/४ बर्षमा अनिवार्य अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने ।
– एक ब्यक्ति एक कार्यकाल मात्र एक पदमा बहाल रहन पाउने ।
– सम्पर्क समितिको सभापति जिल्ला समितिको आमन्त्रित सदस्य रहने ।

६. मनोनीत ब्यबस्था हटाइ सामुहिक नेतृत्वको परिपाटी

      कांग्रेस भित्र मनोनीतको ब्यबस्थाले पार्टी सभापतिलाई स्वेच्छाचारी, निरंकुश र मनोमानी बनाएको छ । सभापतिको सहजताको लागि भन्दै यसरी बैधानिक रूपमा नै मनोमानी गर्न दिने परिपाटीले कांग्रेसको हित गर्दैन । यो ब्यबस्थाले राम्रालाई भन्दा हाम्रालाई अनि सक्षमलाई भन्दा चाकरीवाजलाई अवसर दिएको छ । सकेसम्म सबै पदमा प्रतिस्पर्धाबाट निर्बाचित हुने ब्यबस्था गर्नु पर्दछ । निर्वाचित भएर आएका मध्येबाट बहुमत पुर्याएर निर्णय लिने कुराले सभापतिको दक्षता दर्शाउछ । यदि आफ्नै मातहतका सदस्यहरुलाई सभापतिले विश्वासमा लिन सक्दैनन् भने यत्रो पार्टी संचालन गर्ने दक्षता कसरी विश्वसनीय हुन सक्छ ? पार्टी भुमिगत वा मिलिटरी फोर्सका रुपमा रहदा मात्र एउटा बलियो कमान्डरको आवश्यकता पर्ने हो । तर अहिले त्यस्तो अवस्था होइन । तसर्थ कुनै पदलाई शक्तिशाली बनाउने भन्दा पद्धतिलाई शक्तिशाली बनाउनु आजको आवश्यकता हो । अब शक्ति पृथकिकरणको सिद्धान्त अनुसार सामुहिक नेतृत्वको अभ्यासमा जानू बढी उपयुक्त हुन्छ । पार्टी प्रवेश गरेका नयाँ साथी देखि केहि समेट्नै पर्ने नेताहरुको जिम्मेवारी ब्यबस्थापनका लागि बढीमा १०% सम्म मात्रै मनोनीत कोटा सुरक्षित गर्नुपर्छ । सभापतिलाई धेरैको संख्यामा मनोनीतको मनोमानी गर्ने छुट दिएर ब्यतिथिको दलदलमा डुवाइ राख्ने हो भने अवस्था दिनदिनै अझै विकराल बन्नेछ । यदि बैठक र निर्णय प्रक्रियामा बहुमतकै डर हो भने जिल्ला सभापति वा केन्द्रिय सभापतिको चयन खुला रूपमा प्रतिनिधिबाट होइन, निर्वाचित सदस्यको बहुमतबाट गराउने नयाँ ब्यबस्था गर्नुपर्छ ।

७. निर्वाचन मार्फत अनुशासन तथा न्यायीक समिति

      पार्टीको जिल्ला तहदेखि प्रदेश तथा केन्द्रसम्म छुट्टाछुट्टै अनुशासन तथा न्यायीक समितिको निर्वाचन गर्नु आवश्यक देखिन्छ । पार्टी नेतृत्वले मनोनीत गरेको अनुशासन समिति नेतृत्व प्रति मात्रै बफादार हुने तथा नेता कार्यकर्ता प्रति पुर्वाग्रह पाल्ने र कतिपय अवस्थामा कामै नगर्ने नाममात्रको देखिएकाले यस्तो समितिले प्रभावकारी भुमिका निभाउन सक्दैन । पार्टीमा यतिबेला नेता कार्यकर्ताका लागि मात्रै होइन सबै तहको नेतृत्वलाई समेत अनुशासनको दायरामा राख्न सक्ने न्यायीक समिति चाहिएको छ । यस्तो समितिमा समग्र कार्यकर्ताको मन र मत जितेर आउने ब्यबस्था गरेर त्यो समितिलाई पार्टीले कुनै हस्तक्षेप नगरी स्वायत्त ढंगले चल्न दिने हो भने पार्टी भित्रका तमाम गतिविधिको लेखाजोखा र छिनोफानो यहीँ समितिले गर्नेछ । कार्यकर्ताको न्याय, निसाफ, अनुशासन, अन्तर्घात सबैको निश्पक्ष फैसला गर्ने बलियो संयन्त्र कांग्रेस पार्टीमा आवश्यक छ । समितिले दोषी ठहर्‍याएका नेताकार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने, निलम्बन गर्ने, निर्वाचनमा उम्मेदवार बन्न नपाउने जस्ता अधिकार यो समितिलाई दिएर स्वच्छ, निष्पक्ष र मर्यादित ढंगले काम गर्ने बाताबरण बनाउने हो भने एकातिर यस्ले पार्टीभित्रको अन्तरघात, असहयोग र उदण्ड गतिविधिलाई निरुत्साहित गर्नेछ भने अर्कोतिर पहुँचकै भरमा पटकपटक गल्ती गर्नेहरूलाई नै बारम्बार अवसर दिने र नेतृत्वमा पुर्याउने गलत परिपाटीको पनि केहि हदसम्म अन्त्य हुनेछ ।

८. एक ब्यक्ति, एक संगठन, एक पद

       पार्टीभित्र कहिलेकाही प्रसंग उठ्नेगर्छ पार्टीका सदस्य यति लाख छन् भनेर । यस्तै भातृ संगठनले पनि आफ्ना सदस्य यति लाख भन्छन् । तर एउटै ब्यक्ति धेरै तिर आवद्ध भएको हुन्छ । एउटै ब्यक्ति धेरै तिर गणना हुन्छ अनि सबै संगठनमा आबद्धको संख्या जोड्दा धेरै हुन आउछ । तर यसरी यथार्थमा आधारित आंकडा निस्किदैन । नेपाली कांग्रेसको पार्टी संगठनमा मात्रै क्रियाशिल नेता कार्यकर्ता कति हुन् भन्ने कुराको एकिन छैन । एउटै ब्यक्ति एकै समय धेरै संगठनमा सदस्य भएर फरकफरक भुमिकाका राजनीति गर्नुपर्ने अवस्था किन आउछ ? यस्तो खुला संस्कारले पार्टी संगठनमा प्रगति हुन्छ कि ब्यक्तिमा असीमित पद लोलुपता बढाउछ ? पहुँचले भ्याएसम्म जतासुकै पद ओगट्ने यस्तो मनपरि शैलीले कांग्रेस कति दिन चल्न सक्छ ? अवस्य पनि यस्तो संकारले संगठनलाई कुनै गति दिन सक्दैन । तसर्थ, अब एउटा ब्यक्ति एउटा समयमा एउटा संगठन र एउटा पदमा मात्र रहन सक्ने विधि बनाउनु पर्छ र कडाइका साथ व्यबहारमा लागू गर्नुपर्छ । पुनः भातृ वा सुभेछुक संस्थाको राजनीतिमा नफर्किने भए मात्र पार्टीको नेतृत्व तहमा प्रतिस्पर्धी हुन पाउने ब्यबस्था गर्न जरुरी छ । यो ब्यबस्थाले विभिन्न तह र क्षेत्रमा आबद्द कांग्रेसका नेताकार्यकर्ताको एकिन तथ्यांक निकाल्न समेत सहज हुनेछ । साथसाथै सिस्टमेटिक ढंगले नेता कार्यकर्ताको आवश्यक ठाउँमा समायोजन गर्न पनि सजिलो हुनेछ ।

९. मानार्थ, विशिष्ट वा सल्लाहकार सदस्यको ब्यबस्था

       नेपाली कांग्रेसमा २००७ सालको क्रान्ति भोगेका देखि २०७४ मा पहिलोपटक मतदानमा भाग लिएका सम्मका नेता कार्यकर्ता हेर्दा झन्डै ३/४ पुस्ता राजनीतिमा सक्रिय छन् । राजनैतिक परिवर्तनका थुप्रै आन्दोलनहरुमा अनवरत रूपमा पार्टीको झन्डा बोक्ने देखि लामो समय जेलनेल भोगेका, विस्थापित भएका, सम्पत्ति जफत भएकाहरु पार्टीमा कुनै अवसर नपाउदा पनि कहिल्यै विचलित नभएका थुप्रै इमानदार र त्यागी नेता कार्यकर्ताको रगत, पसिना र सपनाले यो पार्टी आजको अवस्थासम्म आइपुगेको छ । कैयनले यो पार्टीका लागि आफ्नो जीवनको आहुती दिए, कत्तिले निश्वार्थ पुरै जीवन पार्टीमै समर्पण गरे, दु:ख, कष्ट, जेलनेल, यातना सबै सहे तर पनि कुनै लाभको पद लिन सकेनन् , पार्टीको कुनैपनी स्थानमा अवसर पाएनन् हो तिनै पार्टीका लागि दुख सहेका योद्धाहरुलाई पार्टीले अमुल्य सम्पत्तिको रूपमा ग्रहण गर्नुपर्दछ । उनीहरुको योगदानलाई अवमूल्यन गर्ने अधिकार कसैमा छैन । तसर्थ, त्यस्ता योद्धाको सम्मान र सत्कारमा पार्टीले कुनैपनी कन्जुस्याइँ गर्नु हुँदैन । अग्रजको योगदानको उचित मुल्यांकन गर्दै पार्टीको विभिन्न तह र संरचनामा उनीहरुलाई विशिष्ट ढंगको मानार्थ सदस्य वा सल्लाहकार सदस्यको उपाधी दिनुपर्दछ । जुन तहमा त्यस्तो सम्मानित सदस्यता पाएको हो, बिना प्रतिस्पर्धा आजिवन त्यो तहको अधिवेशन वा महाधिवेशन प्रतिनिधि रहिरहने प्रबन्ध मिलाएर ऐतिहासिक योद्धा एवं अग्रजको उच्च सम्मान गर्नु पर्दछ ।

१०. टिकट वितरणमा सम्बन्धित तहमा अधिकार प्रत्यायोजन

      कांग्रेसले पार्टीलाई कार्यकर्ताको पार्टी बनाउन बिना हस्तक्षेप सम्बन्धित तहमा अधिकारको प्रत्यायोजन गर्नुपर्दछ । विभिन्न निर्वाचनहरुमा उम्मेदवारको चयन गर्न सम्बन्धित तहको संगठनमा खट्ने नेता कार्यकर्तालाई जिम्मेवारीको बोध र अपनत्वको अनुभुति हुने गरि निर्णय गर्ने अधिकार दिनुपर्दछ । तसर्थ,
– वडा तहको टिकट वडा समितिको सहमति वा बहुमतबाट वितरण गरिने ।
– गाउँ/नगरको टिकट सम्बन्धित समितिको सहमति वा बहुमतबाट वितरण गरिने ।
– प्रदेशको टिकट प्रदेश समितिको सहमति वा बहुमतबाट वितरण गरिने
– प्रतिनिधिसभाको टिकट जिल्ला समितिको सहमति वा बहुमतबाट वितरण गरिने ।
(पुनश्च: सम्बन्धित तह टिकट वितरण गर्न असमर्थ भए सो भन्दा एक तह माथिको समितिले अन्तिम निर्णय गर्ने ब्यबस्था गरिनुपर्दछ ।)

११. कांग्रेसको बाटो अब वाद होइन, बिकासे एजेन्डा

      महामानव वीपी कोइरालाले अगाडि सार्नु भएको विधिको शासन सहितको प्रजातन्त्रसंगै आर्थिक सामाजिक उत्थान, न्याय र समानताको मार्ग भनिएको समाजवादको पुरानो रटानबाट मात्रै अब पार्टी अगाडि बढ्न सक्दैन । नेपाली कांग्रेसले अंगिकार गरेको बहुलवादमा आधारित लोकतन्त्र र पुजीवाद उन्मुख समाजवादलाई आज कम्युनिस्टहरुले एकछत्र कब्जा गरेर निर्वाचन मार्फत आफुलाई जनताबाट अनुमोदन गराइसके । हामीले समयानुकूल आफ्नो बारेमा जनमानसमा प्रष्ट्याउन सकेनौं वा कम्युनिस्टका बारे भ्रम चिर्न सकेनौं, जसको कारण हामीले तयार गरेको मैदानमा सहायक खेलाडी बनेर प्रवेश गरेका कम्युनिस्टहरुले हाम्रै विरुद्ध भारी गोलको बर्षा गराए । वाद, बाटो र एजेन्डा कांग्रेसको तर चुनावी नतिजा कम्युनिस्टको, यो कसरी सम्भव भयो ? अब कमजोरी पत्ता लगाउने र त्यस्को उपचार गर्ने खालको गम्भीर समिक्षा जरुरी छ । बीपीले अगाडि सार्नु भएको स्वीडेनको समाजवादी मोडल र उहाँको समयको एउटा दुहुनो गाई, एकहल गोरु, औसधि उपचार गर्न सक्ने आर्थिक हैसियत भन्ने समाजवादले त्यहीँ रूपमा आजको पुस्तालाई समेट्न सक्छ ? तसर्थ अब समय सन्दर्भ र समाज सापेक्ष भएर हामीले अगाल्दै आएको वाद र बाटोलाई पनि परिमार्जन र परिस्कृत गर्नुपर्दछ । त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा त अब कुनै वाद प्रधान कुरा हो कि होइन त्यस्को बहस गरौं ! लोकतन्त्रका आधारभुत मुल्य र मान्यतामा नेपाली जनताहरु अभ्यस्त भैसकेका छन् । आर्थिक उदारीकरणसंगै पुजीवाद उन्मुख अर्थतन्त्र कम्युनिस्टहरुले नै अंगिकार गरिसके । यो अवस्थामा नेपाली कांग्रेसले वाद भन्दा बढी बिकास र जनजीविकाको सवाल उठान गर्न सक्नुपर्छ । आर्थिक समृद्धि, समुन्नति र सुबिधा उन्मुख जीवन पद्धतिका उत्कृष्ट एजेन्डालाई केन्द्रमा राखेर जनतामा जान कांग्रेस हमेशा तयार रहनुपर्छ । कांग्रेसले जनतामा विकास र समृद्धिको नयाँ क्षितिज उघार्ने एजेन्डा र तागत केवल आफुसंग मात्रै छ भन्ने विश्वास हर हालतमा सिर्जना गर्न सक्नुपर्छ ।

१२. अतिरिक्त पदको ब्यबस्थापन- बृद्दलाई सम्मान, नयाँलाई काम

क) स्थानीय तह देखि केन्द्रिय समिति सम्म हेर्दा हाल नेपाली कांग्रेसमा ३ तहका उमेर समुहका नेता कार्यकर्ता नेतृत्व पंक्तिमा छन् ।
१.   ३० देखि ४५,
२.   ४५ देखि ६० र
३.   ६० देखि माथिका ।
नेता ब्यबस्थापमा कांग्रेसलाई ठुलो चुनौती पनि छ । पार्टी सैद्धान्तिक, बैचारिक एवं एजेन्डाको हिसाबले दिनदिनै बोधो हुँदै गएको छ । अहिलेको मुख्य चुनौती भनेको कांग्रेसमा जुझारु युवा पिढीको आकर्षक कसरी बढाउने र भएकाहरुको कसरी उचित ब्यबस्थापन गर्ने भन्ने नै हो । अर्कोतिर अग्रजको योगदान र ब्यबस्थापनलाई पनि नजरअन्दाज गर्न मिल्दैन । नेपाली कांग्रेसको भविस्य लोकतन्त्र र देशको भविस्यसंग पनि जोडिएको हुनाले बढी से बढी युवा पंतिलाई यो पार्टीमा आकर्षक गर्नु र बुद्धिमतापुर्वक तिनिहरुको ब्यबस्थापन गर्न सक्नु अहिलेको अपरिहार्य आवश्यकता हो । तसर्थ अब एउटा अग्रज पुस्ताले निश्वार्थ त्याग र समर्पणको उदाहरण बन्दै नेतृत्वमा पुस्तान्तरणको अवसर सुम्पने साहस देखाउन सक्नुपर्छ । उमेरले ६० नाघेका अग्रज नेताले पार्टीको मुख्य नेतृत्वको भुमिकामा आफुलाई स्थापित गराउने दौडबाट एक कदम माथी उठेर सम्मानित ढंगको जेष्ठ समिति, सल्लाहकार समिति वा अविभावक समितिमा रहेर यो पार्टीलाई मार्ग निर्देश गर्ने भुमिकामा बहाल रहनुपर्ने अवस्था आएको छ । त्यसको लागि पार्टीले आवश्यक अग्रज नेताहरुलाई सम्मानित र मर्यादित ढंगको अतिरिक्त पद नीतिगत तवरले नै सिर्जना गरेर ब्यवस्थापन गर्ने संकल्प गर्नुपर्छ । अग्रजको अनुभव, युवाको जोस र प्रौढको आकर्षणको त्रिपक्षीय शक्ति संयोजनबाट मात्रै पार्टी, लोकतन्त्र र देशको भविस्य कल्पना गर्न सकिन्छ ।

ख) नेपाली कांग्रेस भित्र अर्को समस्या छ, नव प्रवेशीको ब्यबस्थापनको । सिमित कोटाको ब्यबस्थाले यो पार्टीमा अन्यपार्टी परित्याग गरि जुनसुकै तहको नेता प्रवेश गर्दा पनि उसलाई तत्काल पदीय जिम्मेवार दिन सकिदैन । उस्ले पार्टीमा भुमिका पाउन अर्को अधिवेशन कुर्नु पर्ने हुन्छ । यो दुर्भाग्य हो । यो पार्टी मार्फत नेता बन्ने आशा अभिलाषा बोकेर आएको एउटा नयाँ योद्धाको जोस र सपना अर्को अधिबेशन कुर्दासम्म धेरै मरिसकेको हुन्छ । समयमै उस्को ब्यबस्थापन गर्न नसक्नु भनेको उस्को शक्तिलाई ग्रहण गर्न चुक्नु हो । नयाँलाई भुमिका दिन नसक्ने तर चुनावमा मात्रै उपयोग गर्ने उपयोगितावादले पार्टी सुदृढ हुँदैन । चुनाव जित्न मात्रै पार्टी प्रवेश गराएर कसैलाई हैसियत विहिन बनाउनुले अन्ततः स्वयं संगठन र नव प्रवेशी कसैको हित गर्दैन । कांग्रेस खुला पार्टी हो, यहाँ जस्लाई पनि प्रवेशको ढोका खुला छ । तसर्थ जो प्रवेश गर्छ उस्ले प्रवेश गरेकै दिनबाट यो पार्टी मेरो हो भनेर गर्व गर्ने बाताबरण बनाउनु पर्छ । कुनै पनि नव प्रवेशीमा हीनताबोध र नैराश्यता जन्मन दिनुहुँदैन । प्रवेशीको क्षमता, दक्षता र हैसियत हेरेर उसलाई उपयुक्त भुमिकामा रहेर काम गर्ने जिम्मेवारी दिन सक्नुपर्छ । त्यस्का लागि पार्टीले सबै तहमा आवश्यकताका आधारमा तत्काल पद सिर्जना गर्न सक्ने र उचित भुमिकामा नयाँ पात्रलाई समायोजन गर्न सक्ने नीतिगत ब्यबस्था मिलाउनु पर्छ ।

१३. सबै तहको वर्तमान समिति विघटन

       गएको प्रतिनिधि सभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनबाट प्राप्त नतिजा नेपाली कांग्रेसका लागि सुखद रहेन । पार्टीले प्राप्त गरेको मत सन्तोषजनक रहेपनी सिट संख्या भने कांग्रेसको अहिलेसम्मको इतिहासकै सबैभन्दा कमजोर हो । चुनावमा हारका विविध कारण होलान् तर सबैभन्दा जिम्मेवार कारण भने पार्टी नेतृत्वको असफल रणनीति र अदुरदर्शी दृष्टि नै हो । पार्टी नेतृत्व रणनीतिक ढंगले सबैतिर पुर्णतः असफल र अयोग्य सिद्ध भएको छ । तथापि हारको कारण नेतृत्व मात्रै होइन । पदिय जिम्मेवारी र दायित्वका हिसाबले मातहतका सबै इकाई र अवयबहरुले पनि हारको धेरथोर  जिम्मा लिनुपर्छ । पार्टीमा अहिले हारको कारण सुक्ष्म ढंगले विश्लेषण गर्नुको सट्टा माथि देखि तल सम्म नै एक अर्कामा सत्तोसराप र दोषारोपणको खेती चलिरहेको छ । विपक्षीले सबै प्रदेश र केन्द्रमा दुइतिहाईको सहुलियतपूर्ण सरकार चलाइरहेको अवस्थामा कमजोर बनेको कांग्रेसभित्र भने एक अर्कालाई खुइल्याउने धन्दा मात्रै चलाउने हो भने यस्ले पार्टीको भविस्य कुन अवस्थामा पुर्याउला ? हारजित, जस अपजसको भागिदार सबैतहका नेताकार्यकर्ता हुन् । जिम्मेवारीका आधारमा थोरै वा धेरै भन्ने मात्रै हो । आत्मरत्ती, आत्मग्लानी, आपसी तिक्तता र चरम मतभेदले कांग्रेसलाई बलियो बनाउदैन । निर्मम ढंगले विगतको समीक्षा गर्दै आत्मआलोचित हुँदै फ़ेरि जुट्ने संकल्प गरौं, इतिहासबाट पाठ सिकौं र  फ़ेरि संगठित हुँदै जीतका लागि जुटौं । चौर्तर्फी रूपमा तल्लो तहसम्म नेतृत्वका प्रति नैतिकताको प्रश्न उठिरहेको वर्तमान सन्दर्भमा ईमान र नैतिकता पनि अहिलेको संस्थापन समितिले देखाउने साहस गर्न सक्नुपर्छ । जिम्मेवार पदमा आसिन हुँदा पनि ईमान र नैतिकताको कसिमा जोखिन नपर्ने संस्कृति हामी भित्रको विकृति हो । यस्तो गैरजिम्मेवार प्रवृत्तिले नेतृत्वका प्रति चरम अविश्वास र अनादर जन्माउछ । तर्सथ, हिजो कस्ले नैतिकता देखायो वा देखाएन त्यो छाडौं । नेपाली कांग्रेस पार्टी इतिहासकै सबैभन्दा लज्जास्पद हारको सिकार बनेको यो अवस्थामा पार्टीका सबै तहमा पुनर्संरचना जरुरी छ । पार्टीलाई पुनर्जीवन दिन र नयाँ तवरले कार्यकर्तामा जोश जागर र उर्जा भर्ने अभिप्राय राखेर एकैपटक केन्द्र देखि वडा तहसम्मका सबै समितिहरु विघटन गरौं । सबै तहमा ६ महिनाभित्र अनिवार्य अधिबेशन सम्पन्न गरिसक्ने गरि तयारीमा जुटौं । यसो गर्न सक्दा पार्टी संगठन चलायमान हुने, आलोचित नेतृत्वको ईमान र नैतिकता पनि देखिने अनि नयाँ जोश जागर भएका, कार्यकर्ताले आशा विश्वास गरेका पात्र नेतृत्वमा आउन सक्नेछन् । यसो हुन सक्दा निर्वाचनको परिणामले पार्टी, नेतृत्व, लोकतान्त्रिक मुल्य र मान्यताका प्रति संशय पालेर बसेका आम नेताकार्यकर्तामा नवीन आशा, विश्वास र आत्मबलको नयाँ अध्याय पनि सिर्जना गर्न सकिनेछ ।

          अन्तमा, कुनैपनि राजनीतिक पार्टीको आफ्नै जीवन हुन्छ । छुट्टै जीवनपद्दती हुन्छ । पार्टीलाई जिवन्त राख्ने र गतिशील बनाउने धर्म त्यसमा आवद्ध सबै नेताकार्यकर्ताको हो । आपसमा विचार मिल्नेहरुको सामुहिक प्रयत्न, सामुहिक भावना, योगदान र संकल्पबाट मात्रै पार्टीले स्वच्छ जीवनयापन गर्न सक्दछ । गुट उपगुटका नाउँमा आपसका सानातिना मनभेद र मतभेदहरुलाई पार्टीभित्र संस्थागत ढंगले हुर्कन दिनुहुँदैन । बाँस रहे मात्र बाँसुरी बज्छ भन्नेझैँ पार्टी रहेमात्र हामी रहन्छौं अर्थात हामी रहेमात्र पार्टी रहन्छ । कांग्रेस कार्यकर्ताले हीनताबोध पालेर वा हतोत्साहित भएर बस्नुपर्ने अवस्था आइसकेको छैन । सबैले आआफ्नो ठाँउबाट नवीन जोस, जाँगर र उर्जाका साथ इतिहास रच्ने साहस र संकल्प गरौं । हरेक परिवर्तनको अगुवाइ गरेको, देशभक्त, लोकतान्त्रिक र परिवर्तनकामी जनताको पार्टी नेपाली कांग्रेसलाई पुनः २००७ सालको जस्तो जुझारु र संगठित, २०१५ सालको जस्तो शक्तिशाली एवं ०४६ र ०६२/६३ को जस्तो अभिभाकिय भुमिकाका स्थापित गराउन सकिनेछ । संगठित, सुदृढ, जुझारु र क्रान्तिकारी पार्टी निर्माणको महाभियानमा कांग्रेसका लाखौं इमानदार नेता कार्यकर्ताले दिलो ज्यान दिएर खट्नुपर्ने अवस्था आएको छ । आफ्नो कर्तव्यबाट किन्चित बिमुख नभई अगाडि बढौं । कांग्रेसले आंगिकार गरेको बाटो, विधि र विधानमा समय सन्दर्भ एवं आवश्यकता आधारमा परिमार्जन, हेरफेर र सुधार गरौं । यसैमा सबैको भलाइ खोजौं।

  जय नेपाल !

प्रतिकृया

Add