बदलिँदो परिस्थितिमा शिक्षक महासंघको चुनौति

 बिहिबार, असार ११, २०७७ | onlinenews
Share this

नेपाल शिक्षक महासंघ नेपालको संविधान अन्तर्गत रहि प्रचलित शिक्षा ऐन नियमावलीमा प्रवन्ध भएवमोजिम संचालित तत्कालीन नेपाल शिक्षक युनियनको वैधानिक जगमा नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र मधेसी शिक्षक युनियनमा आवद्ध–सम्बद्ध सस्थाहरुको एकीकरण, रुपान्तरण र विस्तार सहित नेपालका विद्यालयतहमा कार्यरत शिक्षक कर्मचारीहरुद्वारा गठित स्वतन्त्र, स्वायत्त र साझा संस्था हो ।
आज नेपाल शिक्षक महासंघ आमनेपाली शिक्षक–कर्मचारी समुदायको आस्था र विश्वासको केन्द्रमा रहनुका साथै शैक्षिक सरोकारवाला संस्थाहरुको पनि चासो र भरोसा योग्य सस्थाको रूपमा विकसित हुँदै छ । तैपनि समस्याहरु ज्युँ का त्युँ छन् ।
१. सैद्धान्तिक पक्षः शिक्षक कर्मचारीहरु नेपाल शिक्षक महासंघलाई नेपालमा सदियौं देखिको शिक्षा क्षेत्रमा भएको समस्या समाधानका साध्यको रूपमा अपेक्षा गर्छन् । अथवा शिक्षा प्रणालीको रुपान्तरण(शैक्षिक पुनर्संरचना, राजनैतिक अधिकार सहितको ट्रेड युनियन अधिकार, शैक्षिक विकास र समृद्धि)को नेतृत्वको अपेक्षा गर्छन् । सोही अनुसारको नेतृत्वमा दृढता, योजना, कर्तव्य र प्रतिफलको अपेक्षा गर्छन् तर, सामान्य उपलब्धिवाहेक परिणाम र प्रतिफल आएको छैन । सारतः संविधान जारी भएको ५ वर्ष बितिसक्दा पनि संघीय शिक्षा ऐन जारी हुन सकेको छैन यो गम्भीर विषय भएको छ ।
नेपाल शिक्षक महासंघ र शिक्षक कर्मचारी समुदायको मुख्य अन्तरविरोध यहि छ । यो अन्तरविरोधको पहिचान र सहि सामाधानको प्रक्रियामा महासंघको मूल नेतृत्वहरुको बिचमा बुझाइमा एकरुपता नआउँदा सम्म समस्या आइरहन्छ । विगतमा पनि तत्कालीन अवस्थामा राज्यले चिनेको नेपाल शिक्षक युनियन सञ्चालनको विधि, पद्धति र प्रक्रियामा जटिलताहरु आय, शिक्षक कर्मचारीहरु र युनियनको बिचमा केही खाडलहरु देखिए, थुप्रै अस्थायी प्रकृतिको शिक्षक कर्मचारीहरुको संस्थाहरु ६० को दशकमा देखिए, शैक्षिक आन्दोलन विकेन्द्रित भयो । राज्य फुटाउने र राज गर्ने नीतिमा गयो शैक्षिक र पेशागत उपलब्धि आंशिक उपलब्धिमा नै टुंगिन पुग्यो ।
२. नेतृत्व निर्माण सन्दर्भः विगतको सिमा कमजोरीको निर्मम समिक्षाका साथ नेपाल शिक्षक महासंघ निर्माण गरियो, विधान निर्माणका चरणमा धेरै बहस भए । नेतृत्व निर्माण पुर्ण समानुपातिक कि कार्यकारी पदमा प्रत्यक्ष निर्वाचन सहितको मिश्रित समानुपातिक ? महिनौं बहस भए । झण्डै महासंघ नबन्ने स्थिति आएपछि नेतृत्व निर्माणमा पुर्ण समानुपातिक विधिलाई स्वीकार्नुको विकल्प रहेन ।
आज शिक्षक महासंघको संगठन सञ्चालन परिचालनमा समस्या पैदा भएको छ, महासंघमा संघ र संगठनले पठाएको नेतृत्व स्वायत्त हुने कि आबद्ध–सम्बद्ध संगठन अधिनस्थ हुने ? अन्तरविरोधको थालनी यहीँबाट शुरूवात भएको देखिन्छ । जसले गर्दा महासंघ सञ्चालन विधानमा भएको द्वैध स्वामित्वको अर्थले समस्या पैदा भएको छ, संगठन सञ्चालन परिचालनमा महासंघलाई ठूला घटकहरुबाट नेतृत्व गर्ने नेतृत्वहरुले केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो घटक संस्थाको रूपमा परिचालन गर्न खोज्ने दम्भी र अहंकार प्रवृत्ति पनि यदाकदा देखा पर्ने गर्छ ।

यी प्रवृत्तिहरुको रुपान्तरण विना महासंघको संगठन सञ्चालन र परिचालनमा गति आउदैन, कार्यकाल समाप्त हुने अवधिसम्म पनि संगठन निर्माणले पूर्णता पाउँदैन हामी आफैं भित्रको अन्तरविरोधको गोलचक्कर फस्छौं ।
३. कार्यक्रमिक पक्षः पछिल्लो चरणमा महासंघ र सरकार बिचको सम्बन्धका सवालमा पनि नयाँ बहस शुरू भएको छ । right to collective bargaining को रूपमा सहकार्यको गतिविधि मात्र सञ्चालन कि ? आवश्यकतामा Right to rebel (विद्रोह) पनि हो ? प्रधान अन्तरविरोधको पहलु खुट्क्याउन ढिलो गरियो भने शिक्षा क्षेत्र भित्र अराजकता र टुक्रे आन्दोलनको भुल्काहरु देखिन्छन् । यसले लक्ष्य प्राप्ति नहुनूकासाथै निरास, कुन्ठाका साथ ट्रेड युनियन आन्दोलन रक्षात्मक बन्न सक्छ ।
अन्त्यमा संविधानले निर्देश गरेवमोजिम समाजवाद उन्मुख शिक्षा नीतिलाई महासंघले आफ्नो रणनीतिक लक्ष्यका साथ अगाडि बढ्ने हिम्मत गरिएन भने शिक्षक–कर्मचारीहरुलाई गम्भीर धोका हुनेछ । यस समयसम्म समय घर्की सकेको हुनेछ । नेपाल शिक्षक महासंघ बेलैमा गम्भीर बनोस् ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *