Hamro-Mobile-APP

रामेछापलाई समृद्ध बनाउने उम्मेदवार श्यामकुमार श्रेष्ठको दस एजेण्डा

 मङ्लबार, मंसिर ५, २०७४ | onlinenews

रामेछापको प्रतिनिधिसभाका लागि बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा रामेछापको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । अहिले पुनः बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । ०७० सालमा संविधान निर्माणको लागि भोट मागेका उम्मेदवार श्रेष्ठले यस पटक भने रामेछापको विकास र समृद्धिको लागि बाम गठन्धनलाई जिताउन मतदाताहरुसँग भोट मागेका छन् । उम्मेदवार श्रेष्ठले विगतमा रामेछापका जनतासँग गरेको प्रतिबद्धता अनुसार संविधानसभाबाट संविधान जारी गर्न भूमिका खेलेको बताउदै जिल्लाको विकास निर्माणको काममा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

रामेछाप जिल्लाको विकासका मुख्य आधार सडक, विद्युतिकरण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र पर्यटन क्षेत्रको विकासमा भूमिका खेल्दै आएको बताउदै श्रेष्ठले आगामी निर्वाचनमा विजयी भएपछि पाँच बर्ष रामेछापको समृद्धिको लागि मन बचन र कर्मबाट प्रतिबद्ध भएर काम गर्ने बताए । रामेछाप जिल्लाले विकासमा गति लिन नसक्नुको कारण, आगामी दिनमा विकास निर्माणको काम कसरी अगाडि बढछ र कहिलेसम्म रामेछाप समृद्ध बन्छ ? भन्ने विषयमा केन्द्रीत भएर उम्मेदवार श्यामकुमार श्रेष्ठसँग चुनावी एजेण्डाको बारेमा केन्द्रीत भएर  गरेको कुराकानीः–

निर्वाचनमा गरेको प्रतिबद्धता अनुसारको काम
मैले संविधान सभा निर्वाचनको क्रममा गरेको प्रतिद्धता अनुसार काम गरेको छु । संविधानसभाबाट संविधान जारी गर्न भूमिका निर्वाह गरे । संविधानसभाको सदस्य एवं रुपान्तरित सांसदको भूमिकामा रहेर रामेछापको विकासको लागि सबै गाविसमा विद्युतीकरण, व्यवस्थित सडक, विभिन्न स्थानमा रामेछापलाई जोडने पक्की पुलको निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार, कृषि पर्यटन क्षेत्रको विकास गर्न भूमिका निर्वाह गरेको छु । चार बर्षको अवधिमा मैले जिल्लाको विकास निर्माणको लागि सक्दो काम गरे । केही महत्पूवर्ण विकासका काम सम्पन्न भएका छन भने केही सम्पन्न हुने चरणमा छन् ।
निर्माण हुन बाँकी पक्की पुल निर्माणमा भूमिका खेल्छु
निर्वाचनमा विजयी भएपछि मेरो पहलमा नै जिल्लामा पाँच वटा पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । निर्माण भएर पनि गति लिन नसकेको योजना अगाडि बढाउन मैले भूमिका निर्वाह गरेको छु । केही पक्की पुलहरु निर्माण हुने चरणमा छन् । जिल्लालाई राजधानी र तराईसँग जोडने गरी विभिन्न स्थानमा पुल निर्माणको सर्भे पनि भएको छ । सदरमुकाम मन्थलीसँग जोडने तामाकोसीको पुल निर्माणसँगै भटौली खोलामा पनि पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । यो पुल निर्मार्णसँगै रामेछाप पश्चिम क्षेत्रका बासिन्दालाई आवतजावत गर्न निकै सहज भएको छ । सुनकोसीको सित्खामा पनि पुल निर्माण भएर सञ्चालनमा आएको छ । त्यसैगरी खैरेखोला र खानीखोलामा पनि पुल सम्पन्न भएको छ । अहिले निर्माणाधिन अवस्थामा चौरीखोला पुडिटार, लखनपुरको चौरीखोला पुल काम सम्पन्न हुने चरणमा छ । रामेछाप काभ्रे र सिन्धुलीको संगमस्थल सुनकोसीको खैरेनीघाटको पक्की पुल यसै बषभित्र सम्पन्न गराउन पहल गरेको छु । निर्माण सुरु भएको लामो समय वितिसक्दा समेत खैरेनीघाटको पुल निर्माण हुन सकेको छैन् । ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने चेनावनी दिएपछि अहिले निर्माण कामले गति लिएको छ । यो पुल सञ्चालनमा आएपछि रामेछापवासीलाई राजधानी काठमाडौं आवतजावत गर्न सहज हुन्छ ।

रामेछापका मुख्य सडक प्राथमिकतामा
जिल्लाको महत्वपूर्ण सडकको वर्गीकरण गरिएको छ । मन्थली–गेलु–फुलासी–डडुवा हुँदै दोरम्बासम्म कालोपत्रेको गरेर जनताको दैनिक जनजीवन सहज बनाउन भूमिका खेल्ने छु । खैरेनीघाट–बेथान हिलेदेवी–दिपीपोखरी–गाल्वा हुँदै सैलुङसम्म कालोपत्रे गर्नको लागि डिपिआरको काम अगाडि बढेको छ । मन्थली–पकरपावास–गाल्वा–रजमन्टार–गुरासे चौरीसम्म कालोपत्रेको लागि डिपिआरको निम्ति मेरो पहलमा नै प्रक्रिया अगाडि बढाएको छु । लुभुघाट–डहु भलायखर्क गुन्सी मावि लखनपुर–डोल्ला ढुङगाखानी सानो सैलुङ–ठूलो सैलुङ ताम्चेत हुँदै देउरालीसम्मको लागि उत्तर–दक्षिण मार्गको रुपमा जोडेर कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले सहितको सडक निर्माणको लागि पनि डिपिआर तयारीको क्रममा छ । बुहबर्षिय ठेक्कामा गएको मन्थली दोरम्बा–सैलुङ सडक एक बर्ष अघि नै पाँच करोड रुपैयाँमा निर्माण हुन लागेको छ । बाँकी तीन वटा सडक निर्माणका लागि डिपिआर अगाडि बढाइएको छ । यि सडक रणनैतिक सडकको रुपमा पर्छन । चार वटा सडक कालोपत्रे हुने वित्तिकै रामेछापका बासिन्दाका जीवनमा ठुलै परिर्वतन आउछ । खिम्ती धावी ढाँडे सडकको स्तरउन्नतीको काम पनि भइरहेको छ । मन्थली वाम्ती हुदै ल्याछ्योरसम्मको सडकलाई कालोपत्रे गर्ने काममा भूमिका निर्वाह गर्नेछु ।

सैलुङ र चुचुरेलाई पर्यटकीय गन्तव्य बनाउछौं
रामेछाप जिल्ला पुरातात्कि, ऐतिहासिक, धार्मिक सांस्कृतिक रुपमा निकै धनी छ । राजधानी नजिकै रहेर पनि विकास निर्माणमा पछाडि परेको जिल्ला हो । अब जिल्लाले विकासले गति लिएको छ । जिल्लामा पयर्टकीय गन्तव्यको रुपमा धेरै स्थान रहेका छन् । क्षेत्र नम्बर २ मा सिन्धुली जिल्लाको नेपालथोक, लुभ–बेथान सुनापति–गाल्वा–अग्लेश्वरी– दोरम्बा हुँदै सैलुङलाई पद मार्गको रुपमा विकास गर्ने योजना अगाडि सारिसको छ । यसलाई सार्थक बनाउन भूमिका खेल्छु ।
पर्यटनको विकासको लागि आवश्यक पर्ने आधारभूत विकास निर्माणको कामलाई अगाडि बढाउन पहल गरेको छु । यहाँबाट देखिने हिमाली श्रृङखला, प्राकृतिक सौन्दर्य आकर्षणका केन्द्र हुन । जिल्लालाई कृषि पर्यटनको रुपमा पनि विकास गर्न सकिन्छ । यो योजना पनि अगाडि सारेको छौ । सैलुङ भ्यु टावर निर्माण कार्य भइरहेको छ भने स्थानीयवासीको सहयोगमा भ्यु प्वाइन्टको निर्माण पनि भइरहेको छ । सैलुङलाई पर्यटनकीय क्षेत्रको रुपमा विकास गर्न सक्दा रामेछापवासीको आर्थिक जीवनस्तरमा ठुलै परिवर्तन आउँछ । प्रदेशसभा क्षेत्र नम्बर १ मा धोवी बासे भित्तरी तामेडाँडा वाम्ती हुँदै चुचुरेसम्म पदमार्गको रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ । वाम्तीमा रहेको चिया बगानलाई पर्यटकीय गन्तव्य बनाइने छ । त्यसैगरी महालंगुर हिमाललाई आधार बनाए पनि पर्यटकीय गन्तव्य बनाउने विषयमालाई प्राथमिकताको साथ अगाडि बढाउछौ ।
रामेछापलाई जुनार पकेट क्षेत्रको रुपमा विकास गछौं
रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ को सुकाजोर, भलुवाजोर, सालु, देउराली लगायतका क्षेत्रलाई जुनार पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ । प्रदेशसभा क्षेत्र नम्बर २ का फुलासी, दिपीपोखरी, बेथान, हिलेदेवी लगायतका गाविसलाई पनि जुनार पकेट क्षेत्रको रुपमा विकास गर्न योजना अगाडि सारेका छौं । अहिले परम्परागत रुपमा भन्दा पनि व्यवसायिक रुपमा जुनार खेती अगाडि बढाउनु पर्ने आवश्यकता छ । अहिले किसानहरुले जिल्लामा किबी खेती पनि व्यवसायिक रुपमा सुरु गरेका छन् । चिया खेतीको पनि राम्रो सम्भावना रहेको छ । गाल्वा, अग्लेश्वरी लगायतको स्थानमा चिया खेती गर्न सकिन्छ । सुनापाति गाउँपालिकामा चिया बगानको लागि अध्याय कार्य सम्पन्न भएको छ । सबै बर्षबाट नै चिया बगानको कार्यक्रम अगाडि बढछ ्। रामेछाप जिल्ला कृषि उत्पादनको लागि बलियो सम्भवना भएको क्षेत्र हो । रामेछापमा अनार खेतीको पनि राम्रो सम्भावना रहेको छ । अब परम्पारगत रुपमा भन्दा पनि कृषिमा आनुधिकरणको आवश्यकता छ ।
अबको एक बर्षभित्र ‘उज्यालो रामेछाप’
रामेछापमा विद्युतीकरण हुन बाँकी क्षेत्रमा अबको एक बर्षभित्र सबै स्थानमा विद्युतीकरणको कार्य सम्पन्न हुन्छ । मेरो पहलमा नै बजेटको तर्जुमा भएर काम अगाडि बढेको छ । रामेछापको दुई वटै प्रदेशसभाका कुनै पनि क्षेत्र अब विजुलीबाट बञ्चित हुने छैनन् । संविधासभा निर्वाचनमा मैले उज्यालो रामेछाप बनाउने प्रतिबद्धता गरेको थिए । अहिले पूरा गरेर पुनः प्रतिनिधिसभाको उम्मेवार भएर आएको छु । अब रामेछापको गौश्वसरादेखि गुम्देलसम्मका रामेछापवासीले बिजुली बाल्न पाउछन ।

सवै रामेछापवासीलाई जलविद्युत आयोजनामा शेयर
रामेछाप जिल्ला जलविद्युत उत्पादनको दृष्टिकोणले महत्वपूर्ण क्षेत्र मानिन्छ । करिब पन्ध्र सय मेगावाट भन्दा विद्युत रामेछापका सुनकोसी, तामाकोसी, लिखु, खिम्ती लगायतका नदी र खोलाबाट उत्पादन हुन्छ । खिम्ती–२ जलविद्युत आयोजनाको काम अगाडि बढेको छ । यसमा रामेछापवासीलाई पहिलो प्राथमिकतामा राखिएको छ । लिखु खोलमा यस अघि नै काम अगाडि बढाउने भनेपनि निर्माण गर्ने कम्पनीले ढिलासुस्ती गर्दै आएको छ । प्राइभेट कम्पनीले खोला दर्ता गर्ने र लाइसेन्स झोलामा हालेर बस्ने गरेका छन् । अब यो परम्पराको अन्त्य गर्न भुमिका निर्वाह गर्छु । रामेछापवासीको समृद्ध बनाउन सुनकोसी दोस्रो ५ सय ५६ मेगावाट जलविद्युत आयोजना निर्माणको लागि परामर्शदाता नियुक्त गरेर काम अगाडि बढाइएको छ । रामेछापवासीलाई सबै जनविद्युत आयोजनहरुमा धेरै भन्दा धेरै शेयर हाल्न व्यवस्था गरिनेछ ।
खानेपानीको समस्या समाधान गर्न लाग्छु
जिल्लाका दुई जर्दन भन्दा बढी साविकका गाविसलाई सुख्खग्रस्त गाविस घोषणा गरिसकेको छ । दुई बर्ष अघि गएको विनाशकारी भुकम्पको कारण जिल्लाका अधिकाशं खानेपानीको मुहानसुक्दा समस्यामाथि समस्या थपिएको छ । अहिले नागरिकहरुको दैनिक जनजीवनसँग जोडिएको खानेपानी उपलब्ध गराउनको लागि जिल्लामा सानाठूलो आयोजना सञ्चालन भएका छन् । रामेछापको क्षेत्र नम्बर १ को उत्तरी क्षेत्रका १७ वटा गाविसका बासिन्दालाई सेवा दिने उदेश्यले अगाडि सारिएको रामेछाप वृहत्त खानेपानी आयोजना अगाडि बढाउन सकिएको छैन् । सदरमुकामा मन्थलीमा पनि लिफ्ट सिस्टम मार्फत तामोकोशीको नदीबाट पम्प गरेर पानी वितरण हुँदै आएको छ । खानेपानीको स्रोत नहुँदा सुनकोसी र तामाकोसी नदीबाट नै लिफ्ट गरेर खानेपानी वितरण गर्ने योजना अगाडि सारिएको छ । पकरवास र भीरपानी गाविसमा लिफ्ट सिस्टम मार्फत खानेपानी आयोजनाको काम अगाडि बढेको छ । खानेपानी आयोजनाको लागि न्युन बजेट हुँदा समस्यमा नै सम्पन्न गर्न कठिनाई भएको छ । खानेपानीको आयोजना सम्पन्न गर्न बजेट उपलब्ध गराउने कार्यमा भूमिका खेल्छु ।

पुननिर्माणको कामलाई प्राथमिकता
भुकम्पपछि जिल्लाका बासिन्दाको अवस्था निकै दर्दनाक छ । अझै पनि अस्थायी टहरोमा नै बस्न बाँध्य छन् । भुकम्पले पीडित अधिकाशंले पहिलो किस्ता लिएर घर निर्माणनको काम अगाडि बढाएका छन् । तर अपेक्षा अनुसार दोस्रो किस्ता लिन भुकम्प पीडित नआएको तथ्याङक रहेको छ । घर निर्माणमा रहेको समस्या घर निर्माणको मापदण्डको बारमा सहजीकरण भूमिका खेल्छु । सरकारले कर्मचारी र प्राविधिक जनशक्तिको कमी छ भनेर सुख पाउदैन । यो कुरामा हम गम्भीर छु ।

रामेछापमा ८ वटै स्थानीय तहमा प्राविधिक शिक्षा र माइक्रोसिटी
रामेछापको दुई नगरपालिका सहित आठवटा स्थानीय तहका मुकामहरुलाई माइक्रोसिटिको अवधारणाको आधारमा आगामी पाँच वर्षमा साना मोडेल शहरको रुपमा स्थापित गराउने कार्यक्रम प्रक्षेपण गरेका छौँ । गुणस्तरीय शिक्षाका लागि आठवटै स्थानीय तहमा प्राविधिक शिक्षा सहितको गुणस्तरीय शिक्षा र कलेजहरु सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य रहेको छ । जिल्लाका आठवटै स्थानीय तहमा तीस शैष्यासम्मको स्वास्थ्य केन्द्रको स्थापना गरेर अघि बढ्ने लक्ष्य अनुरुप अघि बढेका छौ र त्यसलाई पनि हामी पूरा गर्नेर्छौ । रामेछापमा सु–शाशन र भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने अभियानलाई पनि तीब्रता दिनेछौं । (रामेछाप न्यूजबाट)

प्रतिकृया

Add