शिक्षक शैक्षिक क्षेत्रको कमजोरी बोक्ने भरिया होईन

 मङ्लबार, असार १६, २०७७ | onlinenews
Share this

हरिप्रसाद पौडेल


विद्यालयमा पढाउने काम त अलिक पहिले देखि नै गरियो, तर २०७१ सालमा शिक्षक सेवा आयोगको परीक्षा पास गरेर शिक्षक भए यताका दिनमा मनमा उब्जेको एउटा प्रश्नले निरन्तर लखेटिरहेको छ !
म शिक्षक हो वा फुटबल ?
प्रश्न सुन्ने वित्तिकै तपाईलाई अलि अतिशयोक्ति पूर्ण महशुस हुन सक्छ !
तर पछिल्लो समय संसारलाई आक्रान्त पारेको कोरोना भाईरस कोभिड – १९ महामारीले उक्त प्रश्न अझै पेचिलो बनाएको अनुभव भईरहेछ ।
शिक्षकलाई दिईने अनेकन प्रकारका सुझावले सामुदायिक विद्यालयमा कार्यरत हरेक शिक्षक आफूँलाई फुटबल भएको महशुस गर्दै छ ।
कुनै शिक्षकलाई सुझाव आवश्यक छ छैन ? प्राप्त सुझाव परिवेश अनुकुल व्यवहारिक छ छैन ? आधुनिक शिक्षण पद्धतिको मर्म अनुरुपको हो होईन ? कमैले हेक्का राखेको देखिन्छ, विडम्वना ती सुझावलाई कुनै प्रतिकृया विना कार्यान्वयन गर्न शिक्षक अभिसप्त छ ।
स्वभाविक हो संघीय शिक्षा मन्त्रालय र मातहतका निकायका, प्रदेशका सामाजिक विकास मन्त्रालय र मातहतका निकायका, स्थानीय सरकारका, शिक्षाविद्का, विद्यालय व्यवस्थापन समितिका, प्रधानाध्यापकका तथा अभिभावकका सुझाव सुन्नु आवश्यक हुन्छ नै । तर पछिल्लो समय माहामारीको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको अवधिमा घरमै वस्न वाध्य ‘शिक्षाविद्’हरु किसिम किसिमका सुझाव दिन व्यस्त देखिन्छन् ! आज सम्म कतै नाम नसुनिएका, आफ्नै प्रयोग र अनुभवले शिक्षा क्षेत्रमा योगदान नगरेका अनेकौं व्यक्ति यही हुलमा ‘शिक्षाविद्’ भईरहेका छन् ! उनीहरुका ‘सुझाव’ धरातल र व्यवहारिक प्रयोगको अवस्था भन्दा विल्कुल फरक, कुण्ठा र रोषपूर्ण देखिन्छन् ।
यो सन्दर्भमा भारतीय नेता जवाहरलाल नेहरुको एउटा भनाई उदृत गर्न सान्दर्भिक छ – तपाई कसैलाई धेरै सुझाव नदिनुहोस्, सो कार्य आफै गर्नुहोस् । तपाईले अरुलाई दिन सक्ने सुझाव भनेको त्यति हो । तपाई सुझाव अनुसारको कार्य आफै गर्नुहोस् ताकि अरुले तपाईको अनुशरण गर्न सकुन ।
संसारमा सबै व्यक्ति निपूर्ण हुन्छन्, उनीहरुलाई कसैको सुझावको आवश्यकता नै पर्दैन भन्ने कुरा एकाँकी तर्क हो । त्यस माथि नयाँ पुस्ता तयार पार्ने महत्वपूर्ण जिम्मेवारी पाएको शिक्षकलाई त झन् समयानुकुल सुझावको खाँचो पर्छ नै । तर हाम्रा सन्दर्भमा व्यक्त हुने सुझावहरुका बारेमा बेलैमा समिक्षा गरिएन भने हामी थप निराश हुने खतरा बढ्दो देखिन्छ । शिक्षकलाई सुझाव दिनु अघि कार्यान्वयन हुन सक्ने वस्तुगत विश्लेषण गर्नु जरुरी छ ।
तालुकदार निकाय र शिक्षाविद्का सुझावः शिक्षकलाई दिइने सुझावको महत्वपूर्ण पक्ष भनेको समय अनुरुप अपडेट हुनु पर्छ भन्ने नै हो । विद्यार्थीको रुची अनुसार सिकाउने हो पढाउने हैन । विश्वमा सजिलै विक्ने जनशक्ति तयार पार्ने जिम्मा शिक्षकले लिनु पर्ने सुझाव यी निकाय र व्यक्तिबाट प्राप्त हुन्छ । पक्कै पनि यी सुझावमा विमती राख्नु पर्ने कुने कारण छैन । तर, त्यसलाई व्यवहारिकताको कसीमा उपयुक्त र अनुपयुक्त छुट्याउन भने विर्सनु हुन्न । वातावरण र परिवेशको विश्लेशण नगरी, विश्वका अन्य देशको सन्दर्भ ल्याएर सुझाव मात्रै दिदैं जाने हो भने शिक्षकको कार्य सम्पादन दुविधामा फस्छ ।
शिक्षाविद्को शिक्षक प्रतिको आलोचना के छ भने शिक्षकले समयको पदचाप पछ्याउन सकेनन् । यसलाई दुई पक्षबाट हेर्नु पर्छ । पहिलो त अहिलेका शिक्षकहरु उहाँहरुले नै विश्वविद्यालयमा सिकाएर तयार पारेका जनशक्तिहरु हुन् भन्ने विर्सनु हुँदैन । उहाँहरुले स्वयं कुन रुपले सिकाउनु भएको रहेछ त ? उहाँहरुको शिक्षणमा कति नियमितता थियो र कति व्यवहारिकता अनि कति सैद्धान्तिकता थियो ? यस कुरालाई विश्लेषण नगरी वेपरवाह रोष व्यक्त गर्नु केवल आफ्नो कमजोरी लुकाउने उपाय मात्र हो ।
दोस्रो कुरा, शिक्षकको पेशागत विकासका सवालमा उहाँहरुले के आवज उठाउनु भएको छ ? शिक्षकलाई पेशागत विकासका पक्षमा कुन हद सम्मको लाहपरवाही गरिएको छ सो विषयमा किन उहाँहरु बोल्नु हुन्न ? बदलिँदो ज्ञान र विश्वपरिवेशसंग परिचित हुन शिक्षकलाई के र कत्तिको मौका दिइएको छ ? शिक्षकले आधुनिकता वा उत्तरआधुनिकता पछ्याउने हुन् । गाउँको दुर कतै कुनामा रुमल्एिको शिक्षकलाई आधुनिकता कसले र कसरी भरिदिने ? उनीहरुमा राजधानीका उत्तर आधुनिकताको एकांश सुविधा पनि छैन । यी सबै कुराको जिम्मा शिक्षकले मात्र लिन सक्छ ? शिक्षकलाई सहायता र प्रेरित गनर््ु पदैन ? यी पेचिला सवाल हुन् ।
जहाँ सम्म तालुक निकायले दिने वैयक्तिक र व्यवहारिक शिक्षाको प्रश्न छ यसमा पहिलो त उहीनेहरुको भनाई लागु हुन्छ । व्यवहारिक र वैयक्तिक शिक्षा आजको आवश्यकता हो भन्नेमा कुनै दुई मत छैन । तर पहिला पाठ्यक्रम र मूल्यांकन प्रणालीमा सोही अनुरुपको परिवर्तन गर्न तालुकदार निकायलाई कसले रोकेको छ ? नियम कानुन त २० को दशकका छन् नै यसका अलवा पाठ्यवस्तु र विषय समेत उही जमानाका कायम राखिएको छ । यस्तो धरातलीय यथार्थतामा शिक्षकले व्यवहारिक र वैयक्तिक शिक्षा दिनस केनन भन्नु त केवल आलोचनाका लागि आलोचना मात्र हुँदैन र ?
अभिभावक र प्रधानाध्यापकका सुझावः शिक्षक भनेको सबै शैक्षिक निकायको कमजोरी बोक्ने भरिया भएको छ । अझ प्रधानाध्यापकको कमजोरी लुकाउने अचुक अस्त्र भनेको शिक्षकको लाहपरवाहीले भन्ने वाक्यांश हो । जस आफ्नो र अपजस शिक्षकको भन्ने सिद्धान्तबाट बाहिर निस्कन कति प्रधानाध्यापक तया छन् ?
अभिभावकले समेत गृहकार्य दिने विषयमा, कसरी पढाउने वा सिकाउने विषयमा, भाषानुवाद गर्ने विषयमा, दण्ड दिने विषयमा शिक्षकलाई विचित्रका सुझाव दिन्छन् । अझ निजी विद्यालयमा काम गर्ने शिक्षकको स्वविवेकीय रुपमा विधीको छनौट गर्न पाउने छुट कस्तो होला ? शिक्षकले गृहकार्य समेत स्वविकेक प्रयोग गरेर दिन नसक्ने गरी आउने सुझावले कता लैजान्छ ?
सुझाव दिनु गतल हो त ?
प्रायः शिक्षकलाई प्राप्त हुने सुझाव सैद्धान्तिक रुपमा नै गलत त नहोलान् तर तिनको व्यवहारिकता भने अनिश्चित प्रकारको हुन्छ । यसरी प्राप्त हुने कतिपय सुझाव शिक्षकले चाहेर पनि लागु गर्न संभव छैन । जस्तो कि शिक्षाविद्ले दिने वैयक्तिक रुची अनुसारको शिक्षण नेपालमा कसरी संभव छ ? जब कि पाठ्यक्रम र पाठ्यवस्तु शिक्षकले छनौट गर्न सक्दैन (पाठ्यवस्तु र पाठ्यक्रमको छनौट गर्न सक्ने सुविधा विकसित मुलुकमा शिक्षकलाई दिइन्छ) ।

समान आकांक्षा भएका विद्यार्थीलाई मात्र कक्षामा लिएर सिकाउने संभावना पनि छैन । प्रति विद्यार्थी शिक्षक अनुपात कक्षागत रुपमा न्यूनतमा २० देखि ३२ भएको तथ्यांक शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको सन् २०१७ को रिपोर्ट ूभ्मगअबतष्यल ष्ल ँष्नगचभ द्दण्ज्ञठू ले नै देखाएको छ । जबकी फिनल्याण्डमा यो संख्या १३.६७, बेलायतमा १६.४, अमेरिका मा १६ छ । यसरी एउटा कक्षामा जति धेरै विद्यार्थी संख्या रहन्छ उतै नै मात्रामा शिक्षकले विद्यार्थीलाई कम समय प्रदान गर्छ । यसका अलवा एउटा शिक्षकले एउटा कक्षामा ४५ मिनेट सम्म शिक्षण गर्न मिल्ने गरी कार्यसमय छुट्याइएको हुन्छ । यस्तो समयमा विद्यार्थीको रुची अनुसारको शिक्षण भनेको कति व्यवहारिक छ ? यसका अलवा मूल्यांकन र प्रमाणिकरण पद्धतिले शिक्षण प्रकृयामा सोझो असर पार्ने कुरा त शिक्षाविद् नै दावी गर्छन् ।
यसर्थ शिक्षाविद्ले शिक्षकलाई व्यवहारिक शिक्षणको कुरा गर्नु अघि मूल्यांकन प्रणालीमा रहेको कागज र कलम पद्धतिलाई व्यवहारिक प्रणालीले प्रतिस्थापन गर्नुपर्ने सुझाव किन नदिने ? यदि मूल्यांकनमा व्यवहार परिक्षण भयो भने शिक्षकले विद्यार्थीलाई व्यवहार नसिकाएर सुख छ र ?
समाधान के हो ?
विश्व प्रसिद्ध दार्शनिक सिसरोले भनेका छन्– “तपाईलाई तपाई आफैले जति सुझवुझ पूर्ण सुझाव अरु कसैले दिन सक्दैन ।”
शिक्षा क्षेत्रलाई बर्तमान निराशाजनक अवस्थाबाट माथि उकास्न शिक्षक आफैले आफ्ना सफल र व्यवहारिक अनुभव साटासाट गर्नुपर्छ । अशिक्षकका सुझाव व्यवहारिक रुपमा खारिएका भन्दा विचार प्रवाहको परिणाम स्वरुप देखा परेका उपज हुन् । जुन कुरामा शिक्षक अधिक अलमलिनु हुन्न । आफ्नो परिवेश, विद्यार्थीको अवस्था र उपलब्ध साधन स्रोतको उचित मूल्यांकन गरेर शिक्षक आफैले आफैलाई सुधार्नु पर्छ । गैह्र शिक्षकहरुबाट प्राप्त नीतिगत र कतिपय सान्दर्भिक सुझाव शिक्षकले ग्रहण गर्नैपर्छ ।
तर सामाजिक सञ्जालमा आए जति सबै सुझाव सुन्ने र त्यसलाई व्यवहारिक रुप दिन खोज्ने हो भने शिक्षक एउटा फुटवल बनेर कुहिरोको काग झै हराउँछ । आवश्यक सुझाव पढाँै र सुनाँै र असल व्यवहारिक रुपान्तरणमा लागौँ । एउटा फुटबलको रुपमा हैन सवल पेशाकर्मीको रुपमा स्थापित बनौँ । अन्य सम्वद्ध पक्षले आलोचना हैन शिक्षक बन्न सकारात्मक उर्जा प्रदान गरौँ । शिक्षकलाई शिक्षक नै बन्न दिउँ ।

Share this

प्रतिकृया

Add

Add