हामीले बालेको दियोले परदेशमै ज्यान गुमाएकाको आत्माले शान्ति पायो होला त ?

 बिहिबार, पुस ५, २०७५ | onlinenews
Share this

सिर्जना बस्नेत

‘आत्मसम्मान सहितको आप्रवासन’ भन्ने मुल नाराका साथ यो वर्ष पनि आप्रवासी कामदार दिवस मनाइयो । रोजगारको सिलसिलामा परदेशमा मृत्यु भएका कामदारको सम्झनामा दियो बालेर आत्माले शान्ति पाओस भन्ने कामना गरियो । मृतकको नाममा हामीले गर्न सक्ने आखिर त्यति नै होला ।

जसका निम्ती दियो बालेर कामना गरियो उनीहरुको आत्माले शान्ति पाएको अनुभूति गर्‍यो कि गरेन होला रु भन्ने प्रश्नले मलाई रातभर निदाँउन दिएन । राहदानी बनाउन आउँदा जुन सपना संगालेर आएका हुन्छन् तिनै व्यक्ति परदेशमा पुगेपछि वास्तविकता देखेर आतिन्छन् ।

मैले विगत पाँच वर्षदेखि सपनामा रौसिएका र यथार्थमा पिल्सिएका कामदारहरुसँग भावना साट्ने मौका पाएको छु । वर्षभरी अरबमा पिल्सिएका जिउँदा दाजुभाइको आत्मा कति स्थिर र शान्त छ मलाई थाहा छैन ।

तर हामी परदेशमा सास फेर्न छाडेका आत्माको शान्ति खोजीरहेका छौं । परदेशमा भाग्य फेर्ने मेसिन भइदिएको भए सायद माइली काकीले सधै‌ आफ्नो भाग्यलाई धिक्कार्ने थिइनन् ।

माइली काकीको छोरो कतारमा सात तलाबाट लडेर मृत्यु भएदेखि नै उनले आफ्नै भाग्यको दोषले गर्दा छोरोले संसार छाड्यो भन्ने ठान्छिन् । मलाई बेलुका मृतकको सम्झनामामा दियो बालिरहँदा माइली काकीको मुटु जलिरहेको अनुभूति भयो ।

कुनै पनि आमाले सन्तान गुमाएको खबर सुन्दा कस्तो अनुभूति गर्छिन म शब्दमा व्यक्त गर्न सक्दिन । मलाई शब्दमा उतार्नै समेत मुस्किल पर्छ कि परदेशबाट शव नेपाल ल्याउँदा समेत उत्सव मनाउनु पर्ने स्थिती छ । यसलाई मैले नजिकबाट अनुभूति गरेको छु ।

हिलेदेवीका बमबहादुर तामाङको शव साउदीबाट पाँच वर्षपछि नेपाल ल्याउँदा हामी परिवारले किरिया गर्न पाएकोमा खुशी व्यक्त गरेका थियौं । परदेशमा एक पटक मुत्यु हुनेहरुका आफन्त घरदेशमा शवको पर्खाइमा दिनै मरिरहेको मैले भेटेको छु । अझै कहिले सम्म मृतकको सम्झनामा दियो बालिरहने रु

दैनिक मेरा उमेरका युवाहरु अरबमा भाग्य फेर्ने मेसिनको खोजीमा भौतारिँदै गर्दा मैले आफ्नै उमेरका युवाको मृत्युको सम्झनामा दियो बाल्नु पर्दा मुटु गाँठो परेर आउँछ । उनीहरुले जिवित हुँदा त शान्तिको सास फेर्न सकेनन् म कसरी विश्वास गरौँ कि उनीहरुको सास विनाको आत्माले शान्ति पाउला भनेर ।

आखिर कहिलेसम्म मृत्यु शोक मनाइरहने । एक जना साथीले मलाई भन्नु भयो मानिस जन्मिनु र मर्नु कुनै ठुलो कुरा होइन । त्यति मानिस त विदेश नगएका पनि दैनिक मरिरहेका छन नि रु भन्दै चित्त बुझाउन खोजे । मेरो चित्त उनले भनेका कुराले बुझेन ।

जन्म हाम्रो नियन्त्रणमा होला तर मृत्यु हाम्रो नियन्त्रण भन्दा बाहिर छ । प्राकृतिक मृत्यु कुनै ठूलो कुरा होइन । तर परदेशमा त बेलुका ठिकठाकै सुतेको मेरै उमेरको युवा बिहान उठ्न पाउँदैन ।

सेतै फुलेका बा आमाले पच्चीस वर्षको छोरोको लासको पर्खाइमा आँसुले प्यास मेट्न बाध्य छन । अनि म कसरी मानौं मृत्यु कुनै ठूलो कुरा होइन भनेर । तिनै माइली काकीलाई मैले चोकमा छोराको सम्झनामा दियो जलाउन बोलाएको थिएँ तर उहाँ आउनुभएन ।

‘उहाँले तिमीहरु त कहिले मान्छे मर्ला र चोकमा दिवस मनाउँला भनेर बसेका छौ’ भनेर झोक्किनु भयो । उहाँको आक्रोश स्वाभाविक लाग्यो । दैनिक परदेशमा मृत्युवरण गर्ने युवाहरु किन अकालमै मृत्युको सिकार भैरहेका छन रु अव यसको बारेमा बहस र अध्ययन गर्न आवश्यक छ ।

गाउँबाट राहादानी बनाउन आउँदा उमेर बढाएर आउने ती भाइबहिनीहरुले कहिल्यै सोचेका हँुदैनन कि परदेशमा कनै सम्भावित समस्याहरु भाग्नु पर्ला भनेर । विदेशमा लेवरको काममा जानेहरु तुलानात्मक रुपमा बढी जोखिममा रहेका हुन्छन् ।

सरकारले सीपयुक्त कामदारलाई मात्र विदेश पठाउन सके कार्यस्थलमा हुने सम्भावित दुर्घटनाबाट बचाउन सकिएला । गाउँबाट एजेण्डको भर परेर गगन छुने किसिमका भवनमा झुन्डिएर काम गर्नुपर्दा कसरी सुरक्षित हुने भन्ने ज्ञान समेत नभएका कामदार कसरी सुरक्षित हुन सक्छन रु सरकारले सीपयुक्त कामदारलाई मात्र विदेशमा काम गर्न जाने व्यवस्था गर्न सके सम्भावित जोखिमलाई न्यनिकरण गर्न सकिन्छ ।

आवश्यक सीप र परीक्षण गरेर पास भएका युवालाई मात्र परदेशमा पठाउन सके जोखिम न्युनिकरण गर्न सकिएला । होइन भने मेरै उमेरका युवाको मृत्युमा मैले नै दियो बाल्नु पर्दाको अनुभुति फेरी दोहोरिरहन्छ ।

(उज्यालो अनलाइनबाट)

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *