Hamro-Mobile-APP

९ वर्षदेखि साउदीमा घाम नदेखेका रामहरी

 शनिबार, चैत्र ५, २०७३ | onlinenews

सिर्जना बस्नेत
काँधमा बोकेको झोला र निधारमा टल्किएको रातो टीका जस्तै मनभरि रंगिन सपना बोकेर हरेक दिन धेरै युवा विदेश जान्छन् । विदेश जाने मध्ये धेरैको रोजाइ वा बाध्यता दुवै खाडी देश नै बन्छ ।
विदेशिने धेरै नेपाली युवाले अरबको तातो घाममा पसिना बगाएको तर खुन जस्तो पसिनाको मूल्य नपाएको कथा दिनदिनै सुनिन्छ । धेरैको बुझाइमा अरब भनेको तातो घाममा दुःख गर्ने ठाउँ भन्ने छाप छ । विदेश गएर फर्केका अनुभवीहरुलाई नेपालीहरुको अवस्था कस्तो छ भनेर सोध्दा ? उनीहरुको जवाफ ‘नेपालीले गर्ने काम भनेको त्यही लेवर त हो नि । उड्दा उड्दैको चरा खस्ने घाममा पसिना बगाउने र बेल्चा चलाउने नै हो’ भनेको सुनिन्छ ।
तर रामेछापका रामहरि माझीको कथा भने फरक छ । माझी सन् २००७ मा ब्लु स्काइ म्यानपावर कम्पनीबाट १७ हजार ५ सय तिरेर साउदी अरबको जेद्दा जानु भएको थियो । नेपालमा १२ कक्षा पास गरेका माझी रक्सीको सेल्स गर्ने काम छाडेर अरबमा सेल्सकै लागि जानु भएको थियो । उहाँ अरबमा अजेजिया पान्डा सुमरमार्केटमा स्टकर (स्टोरकिपर जस्तै) को काममा गर्न जानु भएको थियो ।
त्यतिबेला मासिक ७ सय दिराम तलबमा गएका माझीले अहिले महिनाको ५ हजार दिराम अर्थात झण्डै १ लाख ५० हजार रुपैयाँसम्म थाप्नु हुन्छ । उहाँ गएदेखि नै अरबमा घाम लागेको थाहा छैन रे । सुपरमार्केटमा आएका ग्राहकसँग कुरा गर्दै बिहानी सुरु हुन्छ । अनि दिनभरको कमाइको हिसाब गर्दै रात परेको पत्तो हुँदैन रामहरिलाई । ‘बेलुका कम्पनीको गाडीले कोठा र्पुयाइदिन्छ अनि बिहान लिन आउने भएकाले घाम देख्न पाएको छैन’ रामहरि भन्नुहुन्छ ।

नेपालीहरुले पनि विदेशमा आरामदायी काम र राम्रो कमाइ गरेका छन भन्ने गतिलो उदाहरण बन्नुभएको छ रामहरि । मेहनत र खुबी हुने हो भने जहाँ गए नि सफल हुने कुरा उहाँले प्रमाणित गर्नु भएको छ । अहिले उहाँ सुपरमार्केटको म्यानेजर हुनुहुन्छ । तर त्यहाँसम्म पुग्न धेरै मेहनत गर्नुपरेको उहाँ सुनाउनुहुन्छ । सुपरमार्केटका साहुले बेला–बेलामा निक्कै कठिन परीक्षा लिने गरेका थिए । कत्तिको इमान्दार रहेछ भनेर जाँच्न साहुले आफैं पैसा हिनामिना गर्न समेत उकास्ने गरेको उहाँ बताउनु हुन्छ ।
तर ढाँटेर भन्दा पनि इमान्दार भएपछि जहाँ गए पनि सफल हुने उहाँको अनुभव छ । महिनाको डेढ लाख कमाइले उहाँले काठमाडौंको बालाजुमा ७५ लाखमा घर किन्नुभएको छ । साथी मार्फत चिनजान भएरु तनहुँकी मिना गुरुङसँग बिहे गरेको पनि ८ वर्ष पुगिसक्यो । तर न त श्रीमतीसँग घुम्न नै पाउनुभएको छ न त थोरै भएपनि समय बिताउन नै । त्यसैले श्रीमतीलाई पनि घुमाउन साउदी नै लान पासपोर्ट बनाउन रामहरि मन्थली पुग्नुभएको हो ।
‘हुन त कमाइसँगै सोख र लोभ पनि बढ्दै जाँदो रहेछ’ उहाँले कमाएको सँगै गुमाएको कुरा पनि सुनाउनुभयो । श्रीमानले राम्रो कमाएपछि श्रीमतीले अझै बढाउने लोभमा ढुकुटी खेलाउँदा ३० लाख रुपैयाँ डुबाउनुभएछ । ‘चोक्टा खान गकी बुडी झोलमा डुबेर मरी’ जस्तै भयो ।’
रामहरि भन्नुहुन्छ । त्यो घटनाले उहाँलाई निक्कै समय तनाव पनि दियो तर त्यसलाई एउटा गल्ति मान्दै गल्तिबाट पाठ सिक्ने भन्दै अघि बढ्नुभएको छ रामहरि ।
९ वर्ष साउदीमा बिताएका रामहरि अब ३र४ वर्षपछि नेपाल फर्किने योजनामा हुनुहुन्छ । तर विदेशबाट आएर बिना काम बस्ने गरी होइन नेपाल आएर आफूले काम गरे जस्तै सुपरमार्केट खोल्ने योजना सहित । भएको केही पैसा र सप्प नेपालमै लगानी गर्न जाने राम्रै होला भन्ने विश्वास रहेकोे उहाँ बताउनु हुन्छ । तर नेपालमा श्रमको सम्मान नभएकोले धेरै दुःख पाउनु परेको जस्तो लाग्छ उहाँलाई ।
के काम गर्छौ ? १० वर्षसम्म लेबर गरेर कति कमायौं ? हेर विदेशमा दुःख गरेर कमाएको पैसाले पनि कति महंगो मोवाइल, घडी जस्ता विलासी कुरामा खर्च गर्नु परेको होला ।
अर्काको देशमा पसिना बगाएर फर्किएका परदेशीलाई एयरपोर्टदेखि घर आइपुग्दासम्म गरिने यस्ता कुरा र प्रश्नले उहाँको मन कुँडिएको छ ।
‘सबै नेपाली विदेशमा बेल्चा मात्र चलाउदैनन् । सम्मानजनक काम पनि गरेर आएका हुन्छन ।’ श्रमको सम्मान गर्न जाने नेपालीलाई होच्याउने भन्दा पनि सम्मन गर्नु पर्ने उहाँको तर्क छ ।

प्रतिकृया

Add