Hamro-Mobile-APP

गोकुलगंगा गाउँपालिकालाई पाँच वर्षमा समृद्ध बनाउँछौंः अध्यक्ष सुनुवार

 बुधबार, कार्तिक १४, २०७५ | onlinenews

 प्रस्तुत छ : हाम्रो अनलाइन न्यूज डटकमले रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारसँग गरेको कुराकानीको संम्पादीत अंश

गोकुलगंगा गाउँपालिको आफ्ना गतिविधिलाई कसरी अगाडि बढाइरहेको छ ?

गोकुलगंगा गाउँपालिकाले हरेक कुरालाई एउटा पद्धतिमा ल्याउन चाहेको छ । त्यसैका आधारमा गाउँपालिकाले आफ्ना गतिविधिको थालनी गरेको छ । गाउँपालिकाले १७ वटा कानूनहरु निर्माण गरिसकेको छ । पाँच वर्षे परिकल्पना सहितको योजना निर्माण गरिसकेको छ । पाँच वर्षे परिकल्पना सहितको योजना गाउँकार्यपालिकाले पास गरेर सोही अनुरुपको काम भइरहेको छ । यही परिकल्पना अनुसारको काम मात्र पूरा गर्न सकियो भने पनि गोकुलगंगा गाउँपालिकालाई समृद्ध बनाउन सकिन्छ ।

नयाँ सिस्टममा सत्ता सञ्चालन गर्न कस्ता कठिनाईहरु आईपरेका छन् ?

लामो समयसम्म स्थानीय जनप्रतिनिधि नभएको अवस्था थियो र त्यसमा केही हदसम्म परिवर्तन गर्न र सिस्टममा ल्याउन गाउँपालिकालाई कठिनाई थियो । अहिले बिस्तारै बिस्तारै सबै कुरा सिस्टममा आउन थालेको छ । उदाहरणको रुपमा हिजो डोजर आतंक थियो त्यो अहिले सिस्टममा चलेको छ । गाउँपालिकामा अहिले काम गर्दा हरेक विकासे आयोजनाहरु सिस्टममा रहेर संञ्चालन गरिरहेका छौं । उदाहरणका रुपमा बिपद् व्यवस्थापन कार्य संञ्चालन केन्द्र स्थापना गरका छौं । एम्बुलेन्स पनि सिस्टम अनुसार चलेको छ, खानेपानी लगायतका थुप्रै उदारहरणहरु छन् । काम गर्नको लागि भएका अफ्ठेराहरुलाई सहजतामा रुपान्तरण गर्दै आएका छौं । गाउँपालिकाले पाँच वर्षको लागि बनाएको भिजन अनुसारको कामको सुरुवात गरिसकेका छौं । पाँच वर्षमा पूरा गरिने शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि आयोजना, पर्यटन लगायतका कुराहरुलाई स्पष्ट रुपमा लिपिबद्ध गरेका छौं ।

पालिकाको परिकल्पनामा पाँच वर्षपछि गोकुलगंगा गाउँपालिकाको मुहार कस्तो हुन्छ ?

गोकुलगंगा पाँच बर्षपछि सुचनामैत्री हुनेछ, ९ वटा सडकहरु स्तरोन्नत्ती गरेर हिँउद बर्खा नै यातायात संञ्चालन हुनेछ, सबै वडा कार्यालयमा सुविधा सम्पन्न भवनहरु निर्माण भइसकेका हुनेछन् । गोकुलगंगा गाउँपालिकामा अस्पताल सञ्चालन भएको हुनेछ । पाँच बर्षे योजनामा रहेका कृषिका १८ वटा योजनाहरु कार्यान्वययन भएर अरबौंको आम्दानी दिन सुरु गरेको हुनेछ । म एउटा उदाहरण पेश गर्न चाहान्छु, कृषि योजना अन्र्तगत गाउँपालिकामा एक लाख किबिको बिरुवा लगाउन कृषकलाई उत्प्रेरित गर्दै लगानी गर्नेछौं । पालिकाभित्र जुस र वाईन उद्योग संञ्चालन गर्नेछौं । वाइन उद्योग सञ्चालनको लागि नीजि कम्पनीहरुसँग छलफल गरिरहेका छौं । उत्पादित किबिको ग्रेडिङ गरी बजारसम्म पु¥याउन आवश्यक आर्थिक तथा व्यवस्थापकीय सहयोग गर्नेछौं । त्यस्तै यस गाउँपालिकाभित्र कफिको संम्भावना पनि उत्तिकै बलियो छ । हामीले वडा नंं ६ को फर्पूलाई कफि पकेट क्षेत्रको रुपमा अघि सारेका छौं । हावापानीको हिसावले पनि फर्पूमा गुणस्तरीय कफि उत्पादन हुनेछ । यो कार्यक्रम सफल पार्नको लागि हामीले स्थानीय जनतासँग भरपुर समन्वय र सहकार्य गर्नेछौं । हामीले बेतालीलाई कुखुराको पकेट क्षेत्र बनाएका छौं । अहिले कुखुराको मासु र अण्डा नबिक्ने हो कि भन्ने डर भइसकेको छ । गाउँपालिका यति छिटै कुखुराको मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको छ । त्यस्तै सडक तथा खानेपानी जस्ता पूर्वाधारहरु पनि जनताको आवश्यकताका आधारमा दिनेछौं । पूर्वाधार निर्माणका लागि आवश्यक निर्माण समाग्री उपलब्ध गराउनेछौं र पाँच बर्षभित्रमा प्रत्येक घरमा खानेपानीको धारा पुग्नेछ । पर्यटकीय क्षेत्र पाँच पोखरी र जटापोखरीलाई विषेश ध्यान केन्द्रित गरेका छौं । त्यसमा लगानी गर्न सम्भाव्यता अध्ययन गरिरहेका छौं । त्यसैगरी पर्यटनको संम्भावना रहेको तामेडाँडा छ । त्यहाँसम्म सहज रुपमा पुग्ने गरी सडक स्तरोन्नत्तीको काम पनि भइरहेको छ भने डाँडामा मन्दिर निर्माण गर्नेछौं । यसरी गाउँपालिकालाई हामीले योजना सहित सिस्टममा चलाउन चाहेका छौं । पाँच बर्षमा हामी यी सबै योजनाहरु पुरा गर्नेगरी लागिपरेका छौं । हामीले पालिकाभित्र ६ वटा फुटवल चौर र एउटा सुविधा सम्पन्न रंगशाला निर्माणको परिकल्पना गरेका छौं । पाँच बर्षमा ६ वटा फुटवल चौर र एक आधुनिक रंगशाला निर्माण गरिसक्ने छौं । त्यस्तै गाउँपालिका खुल्ला दिशामुक्त घोषणा भइसकेको छ । पाँच बर्षभित्रमा पालिकाको सबै वडाहरुको आवश्यक हुने स्थानमा सार्वजनिक शौचालय निर्माण भइसकेको हुनेछ । यसरी हामी अगाडि बढिरहेका छौं ।

निर्वाचित भएर पालिकाको जिम्मेवारी सम्हालेपछि अहिलेसम्म चाँहि के गर्नुभयो ?

अहिलेसम्म हामीले माथि उल्लेख गरेका योजना अनुसारको काम सुरु गरिसकेका छौं । जस्तै गाउँपालिकाको भवन निर्माण गर्ने कामको सुरुवात् भएको छ । अस्पतालको काम सुरुवात् भएको छ । ७ मिटर चौडाई रहने २३ र २५ किलोमिटरको दुईवटा सडक डिपीआर गरेर बोलपत्र आह्वान गरी सडक निर्माणको काम सुरु गरेका छौं । हामीले नयाँ सिस्टमसँगै कामलाई पनि सँगै अगाडि बढाएका छौं ।

भनेपछि पाँच बर्षे परिकल्पना अनुसारको सबै काम सुरु भइसकेको छ ?

सबै काम सुरु भइसकेको छ । पहिलो प्राथमिकता हामीले कृषिलाई दिएका छौं । कृषिलाई आधुनिकीकरण गर्न गाउँपालिका लागिपरेको छ । कृषकहरु पनि जागरुक भएका छन् । गाउँपालिकाले बिरुवा खरिद गरिदिन थालेको छ । यसै बर्ष १५ हजार किबीको बिरुवा खरिद गरी रोप्ने योजना सहित सुचना निकालेका छौं । किसानहरु पनि गाउँपालिकालाई समृद्ध बनाउनु पर्छ भनेर लागेका छन् । बाख्रापालन त्यत्तिकै राम्रो भइरहेको छ । चौंरी पालनलाई बजेट बिनियोजन गरेका छौं । चौंरी पालनलाई लोप हुन नदिन हामी लागिपरेका छौं । यी सबै योजनाहरुलाई गाउँपालिकाले व्यवस्थित गर्दै जानेछ । गाउँपालिकालाई आवश्यक कर्मचारीको अभाव छ । गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ तर कृषिसँग सम्वन्धित कर्मचारी पर्याप्त नहुँदा समस्या भएको छ । यो समस्याको समाधान छिटै होला भन्ने हामीले आशा गरेका छौं । र, केन्द्रिय सरकारलाई घच्घच्याई रहेका पनि छौं । सम्भावनाको हिसाबले यो गाउँपालिकामा ठोसे एक हजार मेघावाटको जलासययुक्त आयोजना निर्माण गर्न सकिन्छ । गर्जाङ्गदेखि चाइनासम्म २५ किलोमिटर सुरुङ्ग मार्गको विकास गर्न सकिन्छ । ठोसे देशकै दोस्रो ठूलो फलाम खानी हो । उत्खनन्को लागि पूर्वाधार पनि तयार छ । हाईड्रोट्रान्समिसन लाइनहरु निर्माण भइरहेको छ । मोटरबाटोहरुको स्तरोन्नत्ती भइहरहेको छ । गोकुलगंगालाई आलूको पकेट क्षेत्रको रुपमा बिकास गर्न सकिन्छ । पाँचपोखरी र जटापोखरी क्षेत्रमा सयौं प्रजातीका जडिबुटिहरु रहेका छन् । त्यसलाई रिसर्च सेन्टरको रुपमा बिकास गर्न सकिन्छ । व्यवसायिक रुपमा चौंरी पालन गरी चिज निर्यात गरेर पर्याप्त आम्दानी लिन सकिन्छ । प्रशोधित खानेपानीको दर्जनौं उद्योग सञ्चालन गर्न सकिन्छ । ति क्षेत्रको विकासका लागि हामीले नीजि कम्पनीहरुलाई पनि लागानीका लागि स्वागत गरिरहेका छौं । उद्योग सञ्चालन गरेर स्थानीयलाई रोजगारी दिन सकिने ठूलो सम्भावना रहेको छ ।

हामीले ठूला ठूला योजनाको कुरा गरिरहँदा यहाँले जनताको आधारभूत समस्यालाई चाँहि कसरी समाधान गर्नुभएको छ ?

जनताको आधारभूत समस्यालाई हामीले सम्बोधन गर्दै आएका छौं । चाडबाडको बेला यो रुटमा चल्ने सवारी साधनबाट व्यवसायीले चर्को भाडा असुल्ने गरेको पाइयो । रस्नालुबाट काठमाण्डौं सम्म जानको लागि २६ हजार सम्म भाडा लिएको पाईयो । चुचुरेबाट काठमाडौंको लागि एक जना व्यक्तिले ३ हजारसम्म तिरेको पाइयो । यसले स्थानीय उपभोक्ता मारमा परेका छन् । बजारमा मनलाग्दी भाउमा सामाग्री बेच्ने गरेको पाइएको छ । बालुवाको भाडा ४ हजार लाग्ने ठाँउमा १६ हजार लिएको पाइएको छ । यी सबैको कुराको मारमा स्थानीय जनता परेका छन् । र हामी स्थानीय सरकार भएको हुनाले यी गतिबिधिलाई नियन्त्रण गरी सिस्टममा ल्याउछौं । यो कुराको हामी विश्वास दिन चाहान्छौं ।

शुखी नेपाली समृद्ध नेपाल सरकारको राष्ट्रिय नारालाई सफल बनाउन स्थानीय सरकारले के गर्छ ?

नेपाल सरकारको राष्ट्रिय नारालाई सफल बनाउन ठोसे फलाम खानी, ठोसे जलासययुक्त आयोजना, चाइनासँगको व्यापार र सुरुङ्गमार्ग लगायतका पर्यटकीय क्षेत्र आम्दानीका श्रोतको रुपमा रहेको छ । यहाँ धरै प्रकारका जडिबुटिहरु पाइन्छ । धेरै प्रजातीका जीव जन्तुहरु पाईन्छ । यी सबै सम्भावनाहरुमा राज्यको आँखा पुग्नु प¥र्यो नि त । यी सबै कुराहरुमा राज्यले ध्यान दिन सकेमा सुखी नेपाली, समृद्ध नेपालको नारालाई गोकुलगंगाले पूरा गर्न सक्छ । त्यतिमात्र नभई हामीसँग विभिन्न प्राकृतिक खानीहरु छन् । गिटी, स्लेट, खरी, तामा तथा फलामका ठूलाठूला खानीहरुलाई सरकारले उत्खनन् गर्नुपर्छ । ठूला ठूला जलबिद्युत आयोजना निर्माण गर्नुपर्छ । फिल्मसिटिहरु स्थापना गर्नुपर्छ । पर्यटन विकासको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । त्यसै पनि पालिका समृद्ध भइहाल्छ नि । गोकुलगंगालाई समृद्ध बनाउन सके जिल्ला मात्र होईन राज्य नै समृद्ध हुन्छ ।

गोकुलगंगा गाउँपालिका जिल्लाको आठवटा पालिका मध्य श्रोत साधनमा धनी पालिका हो तर नीतिगत कुराले श्रोत परिचालनमा केहि बाधा छन् कि ?

श्रोत परिचालनका लागि त्यति धेरै कानुनतः समस्या छैन । यद्यपि हामीलाई आवश्यकता अनुसारको जनशक्ति छैन । हामीलाई चाहिएको कार्यालयहरु पालिका स्तरमा स्थापना हुन सकेको छैन । उदाहरणको रुपमा मालपोत, घरेलु, सहकारी व्यवस्थापनका लागि दक्ष जनशक्ति चाहियो नि त । आवश्यकता अनुसारको दक्ष जनशक्ति छैन । त्यसको परिपूर्ति प्रदेश र केन्द्रिय सरकारले गर्नु पर्छ । सरकारले उचित समयमा कर्मचारीको व्यवस्था गर्न नसके संघीयता समस्यामा पर्न सक्छ । जनताको असन्तुष्टि बढ्न सक्छ । जनताको असुन्तुष्टि बाहिर आउन नदिनको लागि छिटो कर्मचारीको व्यवस्था गरी सहज रुपमा सेवा प्रवाह गर्न सक्नु पर्छ । संघीय संरचना अनुसार तीन तहको सरकार छ । संघीयता गरीव, दुःखी, उत्पीडित, दलित, महिला र पिछडिएका सबै समुदायको हितमा छ ।

अन्य पालिकाहरुमा सडकहरुमा बढि बजेट बिनियोजन गरेको पाईन्छ । गोकुलगंगाले चाँहि बजेट बिनियोजन गर्दा कुन् क्षेत्रलाई प्राथमितामा दिएको छ ?

पालिकाको १५ करोड बजेट मध्य सडकमा हामीले ३ करोड बजेट बिनियोजन गरेका छौं । कुल बजेटलाई तुलना गर्दा सडकको लागि बिनियोजित बजेट धेरै होइन । सडक आवश्यकता छ तर हामीले सडकको मापदण्ड र कानुन बनाएका छौं । मापदण्ड अनुसार हामीले ९ वटा सडकको परिकल्पना गरेका छौं । ९ वटा सडक हामी ५ बर्षमा बाह्रै महिना सहज रुपमा यातायात सञ्चालन गर्न सकिने बनाउने छौं । त्यतिमात्र होइन हामी यो गाउँपालिका अन्तर्गत रहेका कार्यालयहरुमा ईन्टरनेटको सुविधा पु¥याउने छौं । इन्टरनेटको माध्ययमबाट सबै कार्यालयहरुको सेवा प्रवाहलाई हेर्न सकिने स्थानमा पु¥याउने छौैं ।

 गाउँपालिकाले पूर्वाधार निर्माणको कामलाई कसरी अगाडि बढाइरहेको छ ?

गाउँपालिकको पूर्वाधार निर्माणको काम सिस्टममा चलेको छ । हामीसँग आवश्यकता अनुसार इन्जीनियर र कर्मचारीहरु छन् । हामी जनप्रतिनिधिहरु निर्णय गर्ने तहमा छौं । हामीले निर्णय गर्ने हो । काम गर्ने कर्मचारीले हो निर्णय भएका योजनाहरु कार्यान्वययनको लागि निर्देशन गर्छौं । केहि समस्या आएमा जनप्रतिनिधि र कर्मचारीबीच छलफल गरेर उचित समाधान निकाल्दै काम अगाडि बढिरहेको छ ।

 अहिले धेरै कर लगायो भनेर चौतर्फी गुनासो आइरहेको छ । गोकुलगंगा गाउँपालिकाले चाँहि करलाई कसरी लिएको छ ?

सरकार सञ्चालनको लागि केहि हदसम्म कर लिनैपर्छ । नयाँ व्यवस्था अनुसार धेरै संरचना छन् र आर्थिक बोझ पनि धेरै छ । यद्यपि गोकुलगंगाले कर बढाएको नभई घटाएको छ । गत आर्थिक बर्षमा १ ट्याक्टर बालुवाको कर ४ सय १५ रुपैंया थियो । तर चालु आर्थिक बर्षमा १ ट्याक्टर बालुवाको कर हामीले २ सय रुपैंया मात्रै राखेका छौं । हामीले गत बर्षको तुलनामा चालु आर्थिक बर्षको करलाई आधा घटाएका छौं । यो कर आतंकको कुरा सरकारलाई असफल बनाउने नियतले प्रतिपक्षले गतल प्रचार गरेको रुपमा हामीले बुझेका छौं । स्थानीय तहले कर आतंक नै गरेजस्तो लाग्दैन । जनताले कर त तिर्नैपर्छ कर बिना बिकास हुन सक्दैन । तर कर आतंक नै हुने गरी हामीले कर लिएका छैंनौ । हिजो सिस्टम थिएन, आज हामीले सबै कुरालाई सिस्टममा लगेका छौं । जस्तो ट्याक्टरबाट ढुवानी गर्दा प्रतिकिलोमिटरको आधारमा भाडा निर्धारण गरेका छौं । त्यस्तै डोजरलाई पनि घण्टाको आधारमा भाडा निर्धारण गरेका छौं । बजार अनुगमन गरी अनियमितता हुन नदिने, सडकको अवस्थालाई चुस्त दुरुस्त राख्ने र पाँच बर्ष भित्रमा सबै कुराहरुलाई सिस्टममा ल्याइसक्ने गरी लागेका छौं ।

 दुई बर्षको कार्यकालमा गाउँपालिकाले प्रवाह गरेको सेवाबाट जनताहरु कत्तिको सन्तुष्ट पाउनु भएको छ ?

दुई बर्षको अवधि भनेको पालिकाको लागि पर्याप्त समय होइन यो छोटो अवधिमा भनेजति सबै काम पूरा हुने पनि भएन । त्यसैले परिवर्तन नै आयो भनेर म भन्न सक्दिन । तर, पहिलेको भन्दा सहज रुपमा सेवा पाएको जनताले महसुस भने पक्कै गरेका छन् । परिवर्तनका लागि आफैं लागि पर्नुपर्छ भन्ने पनि जनतामा जागरण आएको छ । व्यवसाय गर्ने जनताले हो हामीले त वातावरण बनाउने हो, आर्थिक ब्यवस्थापनको लागि योजना निर्माणमा सहयोग गर्ने हो । नाफा त आखिर कृषकले नै लिने हो । हामीले ठूलो परिमाणमा कृषि व्यवसायलाई विस्तार गरेर गाउँपालिकालाई समृद्ध बनाउने योजनामा लागेका छौं ।

कतिपय गाउँपालिकाको वडाहरुमा वडा सचिब कार्यालयमा नबस्ने भन्ने गुनासो पनि आउने गरेको छ । गोकुलगंगामा चाँहि यो समस्या छ कि छैन ?

गोकुलगंगा गाउँपालिकाको ६ वटा वडाहरुका लागि ३ जना सचिवहरु छन् । सबै वडामा सचिव नहँुदा जनतालाई भनेजस्तो सेवा दिन सकिएको छैन । तर, समस्यामा नै पर्न चाँहि दिएका छैनौं । सेवा प्रवाहमा जति सहज हुनु पर्ने हो, त्यो चाँहि हुन सकेको छैन । पञ्जिकरणका काम बाहेक सबै वडा अध्यक्षहरु आफैंले गर्ने गर्नुभएको छ । कर्मचारी ब्यवस्थापनका लागि हामी गुनासो सहित सिंहदरबार पटक पटक पुगका छौं । तर हाम्रो सुनुवाई हुन सकेको छैन, हामी आशावादी छौं अब छिटै कर्मचारीको व्यवस्थापन होला ।

गाउँकार्यपालिका र कर्मचारी सहितको टिमबीचको सहकार्य कस्तो छ ? टिमभित्र कुनै समस्या छ कि ?

हाम्रोमा त्यस्तो कुनै समस्या छैन । काम गर्नको लागि एकदमै सहज छ । हामी स्थानीय सरकार हौं । जुन पार्टीबाट जितेर आएको भएपनि हामीमा त्यो बैमनस्यता छैन । हामी सवको एउटै उद्देश्य गोकुलगंगाको समृद्धि भएको हुँदा एकजुट भएर लागेका छौं ।

 गाउँपालिकाले कार्यालयको आफ्नै भवन निर्माण गर्ने करा के भइरहेको छ ?

गाउँपालिकाको भवन निर्माणको लागि बोलपत्र आह्रवान गरेर टेन्डर भइसकेको छ । अब दुई हप्ताभित्रै निर्माणको काम अघि बढ्छ । हामी २०-२२ कोठे भवन निर्माण गर्न लागिरहका छौं । अबको २ महिनाभित्रै आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्ने गरी कामलाई गति दिनेछौं । त्यस्तै मंसिर २७ गते गाउँपालिका स्तरको अस्पताल निर्माणको लागि भवन निर्माणको शिलान्यास हुँदैछ । आगामी बर्षदेखि हामीलाई कार्यालय सञ्चालन गर्न सहज हुनेछ ।

गोकुलगंगा गाउँपालिकाले तत्कालै गर्नुपर्ने कामहरु के छ ?

बिपद्मा परेको बेला सहयोग गर्ने उद्देश्यले आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरेका छौं । स्थानीय तहमा यो देशकै पहिलो आपतकालिन कार्य सञ्चालन केन्द्र हो । कृषकहरुलाई फलपूmल नगदे बाली तथा तरकारीको विऊ तथा विरुवाहरु किनिदिएका छौं । शिक्षा सुधारको लागि विद्यालयहरुमा आवश्यकता अनुसारको बजेट ब्यवस्थापन गर्ने, विद्यार्थीलाई सहयोग र प्रोत्साहन स्वरुप छात्रबृत्ति प्रदान गर्ने काम पनि गरेका छौं ।

अन्तमा यहाँको भन्नै पर्ने केही छ ?

गाउँपालिकाको विकास र जनताको सेवाको लागि गाउँपालिकाको हाम्रो टिम रातदिन खटिरहेको छ र खट्ने छौं । गोकुलगंगा गाउँपालिलाई समृद्ध बनाउने हामीले पाँच वर्षे योजना बनाएका छौं । योजना कार्यान्वयनको लागि आआफ्नो ठाउँबाट सहयोग गरिदिन म गोकुलगंगा गाउँपालिकाबासी सबैमा आह्वान गर्न चाहन्छु ।

प्रतिकृया

Add