Hamro-Mobile-APP

तपाईंलाई लाज लाग्दैन प्रधानमन्त्रीज्यु ?

 बुधबार, पुस ४, २०७५ | onlinenews

 निरोज खड्का

नेपालीमा एउटा उखान छ ‘नमच्चिने पिङको सय झड्का ।’ यतिबेला केपी ओली नेतृत्वमा रहेको सरकारको तामझाम, प्रस्तुति, अभिव्यक्ति र चर्तीकला हेर्दा प्रचलित उखान चरितार्थ भएको छ । जनताले महसुस गर्ने गरि प्रशंसाको लायक परिणाम केहि नदेखिए पनि सरकारको चर्चा यति भएको छ कि संचारमाध्यम कथित मन्त्रीहरूका मन्द मुस्कान सहितका तस्वीरले भरिएका छन् , बरु मुस्कानलाई पुष्ट्याइ गर्ने शब्दहरु भेटिएका छैनन् । श्रव्य, दृश्य र छापा मात्रै होइन, बिजुलीका पोल र भित्ताहरुमा समेत ओली सरकारको गर्विलो उपस्थिति देखिन्छ । पोस्टर, पम्प्लेट संगै उखान टुक्का मिश्रित भासणहरुले भरिएका आत्म प्रशंसाका मोटा मोटा पुस्तकहरु छ्यापछ्याप्ती आउन थालेका छन् । आफ्ना यस्तै हँसिला तस्वीर प्रचारको बलमा ओली सरकार नयाँ युग प्रारम्भ भएको उद्घोष गर्दैछ । तामझाम सहित सानदार ढंगले सरकारले सहर देखि गाउँसम्म युग परिवर्तन भएको झ्याली पिटिरहदाँ यथार्थमा मात्रै रमाउन जान्ने नेपाली जनतामा भने सरकारी नौटंकीले लज्जाबोध हुन थालेको छ, लाजले शीर उठाउन पनि गाह्रो भइसकेको छ ।

तथ्यांक हेर्यो भने कुनैपनि मानकले देश समृद्ध बनेको देखाउदैन । नयाँ युग प्रारम्भ हुनु त धेरै परको कुरा हो । ओली आगमनको झन्डै एक बर्ष पुग्न लाग्दा कुनै एउटा क्षेत्रमा पनि देशले गति लिएको सुचक भेटिएको छैन । आजपनि मुलुक एसियाको दोस्रो गरिबको सुचीबाट माथि उठ्न सकेको छैन । संसारको भ्रष्ट मुलुकको लिस्टमा नेपालको अग्रता कायमै छ । प्रधानमन्त्रीले ‘सुशासन र नेतृत्वको’ अवार्ड लिदै गर्दा दिनदहाडै बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तहरुको न्यायका लागि देशैभरका नागरिक सडकमा ओर्लिनु परेको तीतो यथार्थ घाम झै छर्लङ्ग छदैछ । प्रधानमन्त्री नागरिकको पसिनाबाट संकलित करबाट आफ्नो हँसिलो तस्वीर छापेर यत्रतत्र सर्बत्र फैलाउछन् । तर तीन करोड नागरिकको आशुले छापिएको निर्मला पन्तको न्याय माग्ने तस्वीर टाँस्न बन्देज लगाउदैछन् । केपी ओलीले खुशी बाड्न पाउछन्, उनका जनताले दु:ख बाड्न पाउदैनन् । पीडितका पक्षमा न्याय माग्न, बोल्न, लेख्न पाइन्न, गिरफ्तारमा परिन्छ । बलात्कार, हत्या, महँगी, कालोबजारी, भ्रष्टाचारसंगै सुन काण्ड, अर्बौं घोटाला भएको वाइडवडी काण्ड आदिले प्रधानमन्त्री ओलीको दक्षता, क्षमता र विशिष्टता प्रष्ट देखाइरहेको छ । कुनैपनि क्षेत्रमा विकासले आशातित गति लिएको छैन । यातायात क्षेत्रको सिन्डिकेट तोड्ने कुरा होस् कि समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्ने कुरा होस् या भ्रष्टाचारमा शुन्य सहनशीलताको कुरानै किन नहोस् यी सबै ओली सरकारका फजुल गफमा मात्रै सिमित रहे । सरकारले कौडी बिकास र सुशासनको अनुभुति दिलाउन सकेको छैन । तर सरकार कहाँ छ भन्नेलाई देखाउन प्रचार गरेको भन्दै वेतुकका तर्क, उखान टुक्का, हाँसीमजाक, ख्यालठट्टा गर्दै दुइचार थान तालीका खातिर छुद्र, पेचिला र उत्ताउला अभिव्यक्ति संगै अनावश्यक सस्तो प्रचारमा देशका प्रधानमन्त्री स्वयं रमाइरहेका छन्, रुमल्लिरहेका छन् ।

गत हप्ताबाट लागु सामाजिक सुरक्षा कोषले नयाँ युग बदलेको भन्दै राज्यको करोडौं खर्च गरेर सडकका खम्बा देखि श्रव्यदृश्य र छापाका संचारमाध्यमहरुमा ओलीले आत्मप्रशंसाको लाजमर्दो बिज्ञापन गरे । यो कार्यक्रम ओली सरकारको एजेन्डा थिएन न त सामाजिक सुरक्षा कोषका प्रतिपादक केपी ओलीनै थिए । यो कार्यक्रम लागु गर्न पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पनि छुट्टै योगदान छ भने कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री सेरबहादुर देउवाको पालामा गत साल सम्बन्धित सबैखाले ऐन बनेर तयारी पुरा गरिएको हो । भलै कार्यक्रमको कार्यान्वयन चरणको सुरुवात ओलीकै पालामा भयो । कार्यक्रम सफल कार्यान्वयनका थुप्रै जटिलता र चुनौतीहरु छदैछन् । लोककल्याणकारी राज्यमा एउटा सानो मौजुदा कार्यक्रम आफ्ना पालामा लागु मात्रै हुँदा कसरी युगै परिवर्तन भयो प्रधानमन्त्रीज्यु ? रातारात सडकका खम्बाहरुमा चढ्नै पर्ने गरि देशमा अभुतपुर्व चमत्कार भएकै हो त ? राम्रो कामको व्यवस्थित प्रचारले सडकका खम्बाहरुमा मात्रै होइन सगरमाथा भन्दा नि अग्लो उचाईमा पुर्याउछ तर आत्मप्रशंसाले ग्रसित सस्तो प्रचारले आफैलाई रसातलमा पुर्याउछ भन्ने कुरा पनि हेक्का राख्ने हो कि ?

 कठिन भन्दा कठिन परिस्थितिका बाबजुद पनि ओलीले भन्दा धेरै ठुलाठुला परिवर्तन हिजोका थुप्रै अग्रजहरुले गरेका छन् । सानो काम थालनी हुँदा युग बदलिँयो भन्ने ओलीले यति अवसर पाएको भए सायद अर्कै संसारमा प्रवेश गरियो भनेर प्रचार हुन्थ्यो होला । बीपीले त्यो कालखण्डमा १०४ बर्षे जहाँनिया राणा शासन ढालेर प्रजातन्त्रको उज्यालो युग आरम्भ गरे । आफु प्रधानमन्त्री हुँदा एउटा दुइटा होइन दर्जनौं क्रान्तिकारी र सुधारवादी कार्यक्रम लागु गरे बीपीले । गणेशमानले ३० बर्षे पंचायती ब्यबस्था ढालेर बहुदलीय ब्यबस्था भित्र्याउने ऐतिहासिक जनआन्दोलनको सफल नेतृत्व गरे । उनले आफ्ना अगाडि निर्विरोध आएको प्रधानमन्त्री पद अस्वीकार गरेर दुर्लभ त्यागको इतिहास पनि लेखाए । कृष्णप्रसाद भट्टराईले ०४७ को संबिधान तोकिएकै समयमा जारी गरे, केहि महिनामा काठमाडौं आउदै गरेको बहुप्रतिष्ठित मेलम्चीको खानेपानी उनकै सपना थियो । मनमोहन अधिकारीले ‘आफ्नो गाउँ आफैं बनाऔं’ र ‘सामाजिक सुरक्षा भत्ता’ जस्ता लोकप्रिय कार्यक्रम लागु गरे । गिरिजाप्रसाद कोइराला र प्रचण्डले २४० बर्ष राज गरेको निरंकुश राजसंस्थाको समुल अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याए । देशलाई संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक ब्यबस्था आदिको बाटोमा कोइराला र प्रचण्डकै सुझबुझ सहितको नेतृत्वले डोर्‍याउन सफल भयो । सुशील कोइरालाले सफलतापुर्वक गणतन्त्र नेपालको संबिधान घोषणा गरे । सेरबहादुर देउवाले कमैया मुक्त गरे, दलित, महिला, जनजाती लगायत विभिन्न आयोग बनाए । हुम्ला, जुम्ला, दार्चुला जस्ता विकट ठाउँमा बाटो पुर्याए, देशमा असन्तुष्टिको आगो बलिरहदाँ सबैलाई समेटेर गणतन्त्रलाई कार्यान्वयन गर्ने निर्वाचन गराए । तर खै कतै ‘म’ केन्द्रित प्रचार सुनिएन, देखिएन । कसैले आफुलाई आफैले महान घोषणा गरेनन् । नसुहाउदो आत्म प्रशंसा गरेनन् । मेरो कारण युग बदलियो पनि भनेनन् । सरकारी ढुकुटीबाट सक्दो प्रचार गरेनन् । पोस्टर, पम्प्लेट, ब्यानर, होडिङ बोर्ड आदि छपाएनन्  । पत्रपत्रिका रंगाएनन् । उत्तेजना फैलाएनन् । घृणा, द्वेष र अहंकार पनि देखाएनन्  । प्रधानमन्त्रीज्यु, मुलुकले धेरै जटिल घुम्ती र मोडहरु पार गरिसकेपछि दुई तिहाई बहुमतको सहज अवस्थामा मुलुकको नेतृत्व गर्ने सौभाग्य पाउनु भएको हो तपाईंले । तपाईंका अगाडि हिजोको कठिन कालखण्डको जस्तो बाधा, ब्यवधान र चुनौतीका पर्खालहरु छैनन् । छन् त केवल बहाना छन् , भ्रम छन्, अफवाह छन् । आफुलाई केन्द्रमा राखेर चर्को बिज्ञापन गर्नु पुर्व एउटा मात्रै यस्तो काम देखाउनुस कि हिजोका ती नेताले भन्दा ऐतिहासिक, क्रान्तिकारी र महान काम तपाईंको नेतृत्वमा सम्पन्न भयो । टुक्के जवाफ होइन, तीन करोड नेपालीलाई साक्षी राखेर इमानदार साथ भन्नुस् त तपाईंको नेतृत्वमा आजसम्म देखाउन लायक कुनै युगान्तकारी चमत्कार भएको छ ?

हाम्रा प्रधानमन्त्री कुन आँकडा हेरेर भन्दै हुनुहुन्छ अहिलेनै नयाँ युग आयो भनेर । यहाँ कस्को बहकाउमा यथार्थ धरातल बिर्सेर नयाँ युगको झ्याली पिटिदैछ ? देशको अविकास, परनिर्भरता, गरीबी, बेरोजगारी, भोकमरी, पछौटेपन, असुरक्षा, सामाजिक विभेद सबै सकिएकै हो त ? २/२ पटक प्रधानमन्त्री भैसक्दा तपाईंको कुन चाहिँ एजेन्डामा मुलुकले छलाङ मार्यो भन्नुहोस् त ! रेल चल्यो ? पानीजहाज चल्यो ? भान्सामा पाइपलाइनको ग्यास पुग्यो ? हावाबाट बिजुली बल्यो ? अशक्तहरुको ओछ्यानमा खाना पुग्यो ? बेरोजगारहरुले भत्ता पाए ? देशमा प्रतिब्यक्ति आय बढ्यो ? औसत आयु बढ्यो ? कुल ग्राहस्त उत्पादन बढ्यो ? आयतमुखी ब्यापार प्रणाली घट्यो ? ब्यापार घाटा घट्यो ? सार्बजनिक संस्थानहरु नाफामा गए ? पेट्रोलियम पदार्थको उत्खनन गरियो ? आफ्नै ग्यास उत्पादन गरियो ? बन्द उधोगधन्दा कलकारखाना खुले ? देश कृषिमा आत्मनिर्भर भयो ? वैदेशिक ब्यापार, पारवहन सहज भयो ? युवाको विदेश पलायन रोकियो ? बेरोजगारी समस्या समाधान भयो ? सुकुम्बासीहरुले घरजग्गा पाए ? दस हजार मेगावाट बिजुली बल्यो ? फास्ट ट्र्याक र सुरुङ्गमार्ग बनिसक्यो ? न्युनतम आवश्यक बाटोघाटो, पुल पुलेसा, शिक्षा, स्वास्थ्य, सिंचाइका योजनाहरु सम्पन्न भए ? भ्रष्टाचार शुन्यमा झर्यो ? अपराध घट्यो ? आदि आदि थुप्रै प्रश्न छन् जनतासंग । हो, हामीलाई यो पनि राम्रोसँग थाहा छ कि अहिलेनै प्रश्नको चाङ लगाउने बेला भएको छैन । यदि प्रश्न सोध्ने बेला नै भएको छैन भने परिणाम नआउदै हर्षले गदगद भएर तडकभडक देखाएर, बाजा बजाएर, भित्तो रंगाएर, रंगीचंगी झिलिमिली, उत्तेजक प्रचार गर्न के को हतारो हो प्रधानमन्त्रीज्यु ? आत्मा प्रशंसामा किन यति धेरै मरिहत्ते गर्नुहुन्छ ? आफुलाई महान र सफल घोषणा गर्न त त्यस्तै महान काम गर्नुपर्छ होईन र ? अवस्य पनि राम्रो कामको प्रचार र जयजयकारको चिन्ता तपाईंले लिनुपर्दैन, त्यो काम नेपाली जनतालाई छाडिदिनुस, उनैले गर्छन् । पानीजहाज, मोनोरेल, चुच्चेरेल, मेट्रोरेल, हरेकको भान्सामा ग्यासको पाइपलाइन, दसहजार मेघावाट बिजुली, फास्ट ट्र्याक लगायत राष्ट्रिय गौरवका अन्य आयोजना सम्पन्न भएको दिन तपाईंको तस्वीरमा पुजा गर्दै भव्य दिपावली गरौंला । तर सडकका पोल र भित्ताहरुमा भन्दा पहिलेअसल कर्म गरेर तीन करोड नेपालीको मनमा छाउनुपर्ने होइन र ?

हिजो सत्ता बाहिर हुँदा तपाईंले थोरै राष्ट्रवादी छवि बनाउनु भएको थियो । प्रधानमन्त्री भए लगत्तै त्यो छवि हात्तीको देखाउने दाँत जस्तै उदाङ्गो भइसकेको छ । अहिले त्यतातिर नजाऔ । केहि दिन अगाडि मात्रै बेलायत, जापान लगायतका देशले प्रवेश निषेध गरेका, अमेरिका र उत्तर कोरियाले जासुसी भन्दै जेल हालेको अत्यन्तै विवादित खृस्टियन धार्मिक नेता सन म्याङ्ग मुनको धार्मिक संस्था (आइएनजीओ) युनिभर्सल पीस फेडरेसन (युपीएफ)को कार्यक्रममा एउटा एनजीओको ब्यानर मुनि बसेर सह आयोजक बन्न तयार हुनुभो । के नेपाल सरकारको हैसियत यहीँ हो ? कार्यक्रममा सुशासनको भासण छाट्नुभो, अवार्ड पनि पाउनु भो तर यत्रो सुशासन भएको मुलुकमा न्याय माग्दै सडकमा टाँगिएकि एउटी बलात्कृत अबोध बालिका निर्मला पन्तको तस्वीर च्यात्दै बिदेशीको स्कटिङ गर्नुपरेको घटनाले तपाईंको सुशासनलाई गिज्ज्याएन प्रधानमन्त्री ज्यु ? आफ्नै पार्टीको तिव्र असन्तुष्टिका बीच देशको प्रधानमन्त्री जस्तो मर्यादित ब्यक्ति तिन दिन सोल्टी होटेलमै बसेर, एनजीओको भोज खाएर, दिलो ज्यानले खटेर, त्यहीँ कार्यक्रम मार्फत आफ्नो मन्त्री परिषदको समेत आँखा छल्दै, प्रचलित कुटनैतिक मर्यादा र संबैधानिक प्रक्रिया नै भुलेर एक लाख डलरको ‘लिडरसिप एण्ड गभर्नेन्स अवार्ड’ लिने सफलता त पाउनुभो तर त्यसैले आफ्नो कद होचो बनाएको चाहिँ कत्तिपनि हेक्का राख्नु भएन है ? तपाईंले त ठिकै गर्नु भएको होला तर जगतले ठिक भन्दैछैन । हामीजस्ता नागरिकको गुनासो केपी ओली वा नेकपाको अध्यक्षसंग होइन, यो देशको प्रधानमन्त्रीसंग हो । त्यो ओहोदा, पदीय मर्यादा, संस्कार र संस्कृति, संबैधानिक ब्यबस्थाको पालना तपाईंले चाहिँ गर्नु पर्दैन ? एक पछी अर्को आलोचना गर्ने ठाउँ प्रशस्त छन् तर दुखको कुरा सरकारको जयजयकार गर्ने बिषय न भेटिएको छ, न त अहिलेसम्म कुनै शुभ लक्षणनै देखिएको छ । शायद त्यहीँ भएर होला जनताले गर्नुपर्ने सरकारको प्रचार लाज नमानी सरकार आफैंले गर्नु परेको छ । सडकमा ओर्लेर देश, जनता र जनजीविकाको पक्षमा माखो मार्न नसकेको ओली सरकारको – जिन्दावाद ! भन्दै तामझामले दिपावली गर्न हामीलाई त लाज लाग्छ । तपाईंलाई आफ्नो प्रचार आफैं गर्दै हिड्न अलिकति पनि लाज लाग्दैन प्रधानमन्त्रीज्यु ?

प्रतिकृया

Add