Hamro-Mobile-APP

राजनीतिक बिचौलिया हावि हुँदा इमान्दार कार्यकर्ता ओझेलमाः श्रेष्ठ

 शनिबार, पुस ७, २०७५ | onlinenews

समसामयिक राजनैतिक विषय र स्थानीय तह मार्फत गरिएका कार्यक्रमको विषयमा केन्द्रित भई रामेछाप जिल्लाका युवा नेता आनन्द श्रेष्ठसँग गरिएको संवादको सम्पादीत अंशः

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीय तहसम्म एकता गर्ने कुरा कहाँ पुग्यो ?

केन्द्रिय तहदेखि तल्लो तहसम्मको एकता प्रकृयालाई टुङ्ग्याउने विषयमा पार्टी केन्द्रित छ । केन्द्रमा एकता टुङ्गिसकेको छ । तल्लो तहमा एकताको प्रक्रिया अगाडि बढिरहेको छ ।
दुई ठूला कम्युनिष्ट पार्टीबिचको एकता भएको हिसाबले नेताहरुलाई उचित जिम्मेवारी सहित व्यवस्थापन गर्नुपर्ने छ । सांगठनिक संरचनाहरुलाई व्यवस्थापन गर्नु पर्नेछ । एकताको परिधिबाट कोही पनि नेता कार्यकर्ता बाहिर नरहने गरि सांगठनिक संरचना निर्माण गर्नुपर्ने छ । त्यसका लागि केन्द्रिय नेतृत्वले तल्लो तहसम्म मिहिन छलफललाई अगाडि बढाइरहेको छ । तल्लो तहबाट एकता प्रकृयालाई विवादरहित बनाउनका लागि कार्यदल बनाएर जिल्लाको नेतृत्वका बारेमा कार्यदल मार्फत सुझावहरु पेश गरिएको छ । जिल्लाको नेतृत्व सहित स्थानीय तह र वडासम्मको स्वरुप, जिम्मेवारी र नेतृत्व सहित पार्टी एकतालाई टुङ्ग्याउने गरि गृहकार्य भइरहेको छ ।

 केन्द्रमा पार्टी एकता भएको लामो समय भइसकेको छ । तल्ला कमिटी एकतामा किन ढिलाई भइरहेको छ ?

अहिलेको एकता नेपालको दुई ठूला पार्टीबीचको एकता हो । दुई ठूला पार्टी हुनुले पनि सांगठनिक संरचनाहरुको नेतृत्वमा रहने धेरै साथीहरु हुनुहुन्छ । नेतृत्वसँगै जिम्मेवारीलाई व्यवस्थापन गर्नका लागि छलफल र आवश्यक गृहकार्य गर्नुपर्ने छ । तल्लो तहमा पार्टी र सरकारले गरेका राम्रा कामको बारेमा जति प्रचार गरिनु पर्ने र जनतामा सूचना सम्प्रेषण गर्नुपर्ने हो, त्यो हुन नसक्दा हामीलाई खल्लो अनुभुति हुने गरेको छ । यद्यपि केन्द्रिय नेतृत्वलाई तल्लो तहको एकतालाई चाँडो निष्कर्षमा पु¥याउनका लागि हामीले दबाव सिर्जना गरिरहेकै छौं । केन्द्रिय नेतृत्वलाई पनि समायोजनको विषयले केहि समस्या सिर्जना गरेको छ । केही अन्र्तविरोध जस्तो पनि देखिने गरेको छ । तर यहि विषयले एकता प्रक्रियामा ढिलाई भएको जस्तो चाँही मलाई लाग्दैन । तर पनि हामीले एकतालाई चाँडो टुङ्ग्याउन केन्द्रिय नेतृत्वसँग माग गरिरहेका छौं । स्थानीय तहसम्म एकता प्रक्रिया नटुङ्गिँदा जनप्रतिनीधिहरुलाई जिम्मेवार भएर काम गराउन पनि समस्या भइरहेको छ । पार्टी एकता प्रक्रियामा केहि ढिलाई भएको भन्ने चाँहि पक्कै पनि हो । तर व्यवस्थित तवरले पार्टी एकताको प्रक्रिया टुङ्गिनेमा हामी ढुक्क छौं ।

 केन्द्रमा पार्टी एकता भए पनि तल्लो तहका कार्यकर्तामा भावनात्मक एकता नभएको हो ?

दुई पार्टीबीचको एकतापछि हामीले जिल्लामा पार्टी कार्यालय स्थापना गरिसकेका छौं । नेकपाका केन्द्रिय स्तरका नेता र जिल्लाको स्थानीय तहका प्रमुख÷उपप्रमुखको सहभागितामा हामीले पार्टी कार्यालयको स्थापना गरेका हौं । हामी हिजो दुई पार्टीको स्कूलिङबाट अगाडि बढिरहको थियो । तर अहिले घुलमिल नभएको अवस्था भने विल्कुलै छैन । जिल्लाका हरेक कार्यक्रममा एकताबद्ध भएर सहभागिता जनाउँदै आएका छौं । यद्यपि जनतालाई सकारात्मक सन्देश दिने किसिमले भने जान सकिरहेका छैनौं । सिन्धुली र रसुवा जिल्लामा पार्टी एकताको प्रक्रिया टुंगिसकेको छ । हाम्रो जिल्लाको सबालमा पनि तल्लो तहको नेतृत्व कसरी निर्धारण गर्ने र पार्टीको नियमित कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा आमसहमति भइसकेको छ । केबल दस्तावेजीकरण गर्न मात्र बाँकी छ । नेतृत्वको सवालमा दुबै पार्टीको साथीहरुलाई मिलाएर जिल्ला र स्थानीय तहको नेतृत्व क–कसले गर्ने भन्ने बिषय समेत टुंङ्ग्याइसकेका छौं । अब स्थानीय तहको नेतृत्व टुङ्ग्याएर व्यवस्थित गर्न लागिपरेका छौं ।

अझै पनि जिल्ला तहको नेतृत्व चयन गर्न बाँकी हो ?

जिल्ला तहको नेतृत्वको बिषयमा जिल्लामा छलफल पश्चात निर्णय गरी सिफारिस भइसकेको छ । यद्यपि केन्द्रबाट अनुमोदन भएर आइसकेको अवस्था छैन ।

जिल्लाको पार्टी नेतृत्वमा क–कसको नाम सिफारिस गर्नुभएको छ ?

तत्कालिन २ वटा पार्टीबाट कार्यदल बनाइएको छ । जिल्ला अध्यक्ष र इञ्चार्जको नेतृत्वमा कार्यदल बनेको थियो । सोही कार्यदलमार्फत सिफारिस भएको छ । तर, सिफारिस भएको नाममा पनि केही साथीहरुको असन्तुष्टि छ भन्ने सुनिएको छ । कार्यदलले यही नाम नै सिफारिस गरिएको छ भन्ने कुरा सार्वजनिक गरेको छैन । मिडियामा एक हिसाबले नाम आएको छ । आधिकारिक रुपमा कार्यदलले जानकारी गराएको छैन । जिल्लाको संरचनाको विषयमा हामी प्रष्ट छौं । अब जिल्ला तहमा १ सय ३५ सदस्यीय संरचना रहन्छ । तर नेतृत्वको सन्दर्भमा कार्यदलबाट औपचारिक रुपमा जानकारी आइसकेको अवस्था छैन ।

केन्द्रिय तहका नेताहरुको पनि असन्तुष्टि सार्वजनिक भएका छन् । कतै शीर्षस्थ नेताहरुमा भागबण्डा नमिल्दा पार्टी एकता प्रक्रियामा ढिलाई भएको त होइन ?

मिडियामा आएका कुराहरुले आशंका पैदा हुनु स्वभाविक हो । नेतृत्वको अन्तर्विरोधको कारणले पार्टी एकता प्रक्रियामा ढिलाई भएकोजस्तो मलाई लाग्दैन । नेतृत्व तहमा रहनु भएका नेता कमरेडहरुको बीचमा कुन विधिबाट अघि बढ्ने ? कुन् विधिलाई पछ्याउने ? वा एकतामा व्यवस्थापनको मोडल कस्तो किसिमको रहने ? भन्ने अन्यौलताको कारणले एकता प्रक्रियामा ढिलाई हुन गएको हो । तर, शीर्षस्थ नेताहरुको असहमतिको कारण भने अवश्य पनि होइन । देशभरीकै एकता प्रक्रियालाई एकैसाथ टुङ्ग्याउँने गरी केन्द्रबाट गृहकार्य भइरहेको छ । जिल्ला र प्रदेश स्तरबाट जिम्मेवारी सहितको एकता प्रक्रिया टुङ्याउँदै लगेको भए छिटै एकता प्रकृया समाप्त हुने थियो । तर देशभर नै एकैपटक एकता प्रक्रियालाई अगाडि बढाइएको र केहि जिल्लामा अन्र्तविरोध पनि आएका छन् । तर अन्र्तविरोधको समाधान निकालेर विवादरहित तवरले एकता गर्नेछौं । पार्टीभित्र अन्तर्विरोध हुन नदिन विधि तयार गरेर जानुपर्ने हुन्छ । विधि तयार गर्दा नेतृत्वको नजिकमा हुनेहरुलाई हेरेर जिम्मेवारी दिने किसिमले तयार गर्ने वा विधि तयार गरेर नेतृत्व स्थापित गर्ने? भन्ने स–साना कुराहरुमा समस्या देखिएको छ । केही ठाउँमा जटिलताहरु पनि छन् । दुई ठूला पार्टीको एकता भएकाले केही ढिलाई र केहि अन्तर्विरोध हुनु स्वभाविक हो ।

पार्टी एकता भएको छोटै समयमा गुटउपगुटहरु देखिन थालेको छ । त्यसैले शीर्षस्थ नेताहरुले केन्द्रमा पार्टी एकता हुँदा गरेका बाचाहरु भुलेका हुन् ?

पार्टीभित्र वैचारिक, राजनैतिक अन्तर्विरोध हुन स्वाभाविक हो । तर अन्तरर्विरोधलाई व्यवस्थापन कसरी गरिन्छ भन्ने कुरा ठूलो हो । हामी लेनिनवादी सिद्धान्त र माक्र्सवादी सिद्धान्तलाई आत्मसाथ गर्दै आगाडि बढिरहेका छौं । पार्टी कमिटिले निर्णय गरिसकेपछि वा बहुमतले निर्णय गर्नुपूर्व छलफल र बहस हुनु स्वभाविक नै हो । निर्णय गरिसकेपछि भने कार्यान्वयन गर्नै पर्छ । कम्युनिष्ट पार्टीभित्र विधि र प्रक्रिया छ । हामीले विधिलाई अंगिकार गरिरहेका छौं । एकाध ठाउँमा नेताहरुले बोल्ने कुरा अलग हो । तर, उहाँहरुले विधि र प्रक्रियालाई मान्दैनौं वा तोड्छौं भनेको जस्तो लाग्दैन । सचिवालयले गरेका कतिपय निर्णयहरुमा असन्तुष्टिहरु हुँदाहुँदै पनि सहमति र कार्यान्वयनमा लगिएको छ ।

पार्टी नेतृत्वको जुहारीले पार्टीको बैठक नै अनिर्णित हुने अवस्था पटकपटक दोहोरिइरहेको छ नि ?

स्वभावैले त्यो देखिन्छ । संसारको कम्युनिष्ट पार्टीको इतिहास हेर्दा कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनलाई सजिलो, सहज तरिकाले अगाडि बढ्ने, सत्ता सञ्चालन गर्ने, राज्य व्यवस्थालाई अगाडि बढाउन दिइएको इतिहास नै छैन । जुन कुनै देशमा वा क्षेत्रमा होस्, नेपालकै सन्दर्भमा पनि अहिले दुई ठूला कम्युनिष्ट पार्टी एकता एकता प्रक्रियामा गइरहेका छन् । तर एकतालाई देशभित्र वा बाहिरका दक्षिणपन्थी, प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरुले भाँड्न खोजिरहेका छन् । पार्टीभित्र पनि त्यसको छाँया प्रतिछाँया छ भनि शंका गर्ने प्रशस्तै ठाउँहरु छन् । नजानिँदो ढंगबाट पार्टी एकतालाई विवादैविवादको चंगोलमा पार्न लागिपरेका छन् । हाम्रा केन्द्रिय नेताहरु क.प्रचण्ड, क.वली, क.माधव कुमार नेपाल, क.नारायणकाजी, क.बामदेव, क.ईश्वर र सबै नेता कमरेडहरु यो विषयमा जानकार हुनुहुन्छ । एकता हुन नदिन अनेक किसिमले चलखेल भएपनि हामी निर्णय प्रक्रियालाई अगाडि बढाइरहेका छौं । अहिले नेपालका ठूला मिडिया हाउसहरु पनि एकता प्रक्रियाको विरुद्धमा नाङ्गो ढंगले लागिरहेका छन् । मिडिया मार्फत अनेकौ किसिमको हौवा फिजाँइएको छ । अनोकौं अनलाइनका नाउँमा खुलेका मिडियाहरुले पार्टी नेतृत्वबाट नआएका कुराहरु पनि बनावटि समाचारका रुपमा प्रकाशन गर्ने गरेका छन् । जसले नेता कार्यकर्ताहरुको बीचमा अन्यौलता पैदा गराउन खोजिरहेको छ । हरेक नेताहरुको जिल्लाका नेतृत्व र कार्यकर्तासँग दैनिक सम्पर्क हुँदैन । त्यसैले मिडियामा आएका कुराहरुले भ्रम पैदा गरिरहेका छन् । जसको कारण हाम्रो नेताहरुमा साँच्चिकै अन्तर्विरोध छ कि भन्ने आशंकाहरु पैदा हुने गरेको छ ।

भनेपछि तल्लो तहसम्मको पार्टी एकता ढिलाई हुनुमा देशी तथा विदेशी शक्तिको पनि चलखेल छ ?

प्रत्यक्ष रुपमा नदेखिएर चलखेल गरिरहेका छन् । स्थानीय तहमा, प्रदेश स्तरमा र केन्द्रिय स्तरमा वा न्यायलयको सन्दर्भमा पनि राज्यको वैचारिक नेतृत्व, विचारधारात्मक नेतृत्व नै हेरफेर भइसक्यो । तर पनि हालको व्यवस्थाले पुरानो विचारधारात्मक संरचनालाई ध्वस्त पार्न सकेका छैन । हामीले परिचालन गर्ने क्षेत्रहरु स्थानीय सरकार होस्, चाहे मिडियाको क्षेत्र, चाहे सुरक्षा निकाय, र न्यायलयमै पनि नजानिदो ढंगबाट वैदेशिक चलखेल छ ।

उसो भए नेपालका नेताहरु वैदेशिक चलखेलको चंगोलमा फसेका हुन् ?

हो, सही ढंगले व्यवस्थापन गर्न नसक्दा त्यो देखिन आएको छ । व्यवस्थापन गर्न नसक्नु त हाम्रो दोष हो नि । राजकीय सत्ता हामीसँग छ तर पनि हामीले उचित व्यवस्थापन गर्न सकेका छैनौं । यो हामीले समीक्षा गर्नुपर्ने, सोच्नु र छलफल चलाउनु पर्ने विषय हो । त्यो कुरालाई मात्र हामीले नजरअन्दाज गर्ने हो भने नेपालमा कम्युनिष्ट संगठनलाई बलियो, सुदृढ बनाउन सकिन्छ । कम्युनिष्ट पार्टी एकैठाउँमा उभिएको देख्न नचाहने तत्वहरुको अनेकौं प्रकारको चलखेल छ ।

 नेपालको फरक विचार र फरक सिद्धान्तको नाउँमा टुटिहाल्ने संस्कार छ । अहिले नेकपालाई पनि त्यहि रोग लागेको हो कि ?

मलाई त्यस्तो लाग्दैन । तर हामीले व्यवस्थापकीय पक्षलाई टुङ्ग्याउनु पर्ने हो, त्यो चाँहि हुन सकिरहेको छैन । जसको कारणले केहि आशंकाहरु जन्मिरहेको छ । नेतृत्वमा रहनुभएका सबै नेताहरु यी विषयहरुमा जानकार हुनुहुन्छ । हामीलाई समयले, परिस्थितिले नेपालको समृद्धिको लागि जुन दायित्व सुम्पिएको छ, यो दायित्वबाट भागेर जाने ठाउँ कही छैन । त्यसैले जनताको आकांक्षालाई छिटो भन्दा छिटो उद्देश्यमा पु¥याउने परिकल्पना गरेका छौं । त्यसका निम्ती पनि हामी एक ठाउँमा नउभिई सुखै छैन । जुन कुनै पक्षधरताको जुनै नेता होस्, हामी एकैठाउँमा बसेर एकै मतका साथ अगाडि बढ्नुको विकल्प छैन ।

यहाँले भन्नुभएको जस्तै पार्टी संगठनलाई मजबुद बनाउन र गुट उपगुटको अन्त्य गरी पार्टीलाई गति दिन नेताहरुमा कुशलता त देखिएन नि हैन ?

कतिपय अवस्थामा त्यस्तो देखिएता पनि दुवै धारका केन्द्रिय अध्यक्ष कमरेडहरुले यो मुलुकको राजनीतिक व्यवस्था, सामाजिक, आर्थिक, सास्कृतिक र धार्मिक अवस्थाहरुलाई राम्रोसँग बुझ्नु भएको छ । हिजोको दिनमा उहाँहरुले फरक फरक आन्दोलनको नेतृत्व गरेर आउनु भएको छ । यद्यपि हालको परिवेशमा थुप्रै जटिलता र अन्तर्विरोधहरु छन् । माक्र्सवादी सिद्धान्त अनुरुप हामीले सिद्धान्तलाई केन्द्रिय भागमा राखेर अगाडि बढ्यौं भने सबै किसिमका समस्याहरु हल हुँदै जान्छन् । तर हामीले सिद्धान्तलाई मुल कुरा हैन, व्यक्ति व्यवस्थापन र नेताहरुलाई खुसी पार्नुपर्छ भन्ने मानसिकताबाट अगाडि बढ्न खोज्यौं भने हामी सही ठाउँमा पुग्ने बाटो बिराउँछौं । त्यसैले हामीले सिद्धान्तलाई नै केन्द्रबिन्दुमा राखेर एकता प्रक्रियालाई अगाडि बढाउँदै छौं ।

अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा ब्यक्ति ब्यवस्थापनको समस्या छ । नेकपाले बनाउन चाहेको पार्टी चाहिँ कस्तो हो ?

हामी समाजवाद हुँदै साम्यवादमा पुग्न चाहन्छौं । त्यसका निम्ती हाम्रो आर्थिक, सामाजिक, राजनीतिक परिवेश र राज्यको समग्र विचारधारात्मक संरचना राज्य ब्यवस्थापनको उपल्लो संरचना सरकार, न्यायलय, सुरक्षा अंङ्ग लगायत सबै उपरी संरचनाको हामीले परिवर्तन ग¥यौ तर तल्लो तहको समाज जसलाई आर्थिक, सांस्कृतिक परम्पराले नेतृत्व गरिरहेको हुन्छ त्यसलाई परिवर्तन गर्न सकेका छैनौं । उपरी संरचनाको परिवर्तनले मात्रै राज्यको सम्पूर्ण संरचनाको परिवर्तन गर्न सकिंदैन । हामीले सरकार निर्माण गरेर सञ्चालन गरेको एक वर्षमात्रै भएको छ । एक वर्षमा सबै संरचनाहरु परिवर्तन गर्न सकिदैन । सदियौंदेखि बनेको राज्यको नीति, नियम कानूनलाई हाम्रो अनुकुलतामा निर्माण गरेर अघि बढ्ने कोषिस गरिरहेका छौं । त्यसको लागि केही समय लाग्छ । यी पूराना संरचनाहरु अहिले तत्कालै भत्काउन सकिंदैन । कानून नयाँ बनेर सरकार नयाँ ढंगले सञ्चालन भएको छ । हामीले राष्ट्रिय पूँजिको विकास, ग्रामिण अर्थतन्त्र, ग्रामिण कलकारखानाको विकास कुन रुपमा गर्छौ भन्ने कुराले राज्यको चरित्र निर्धारण गर्छ । हामी स्वाधिन अर्थतन्त्रको विकास गर्न चाहन्छौं । नेपालमा अहिले दलाल पूँजिवादी अर्थतन्त्र हावि छ । हामी यसलाई अन्त्य गरेर प्रगतिशील पूँजिवादतर्फ जान चाहन्छौं । त्यसका लागि हामीले थुप्रै पेचिला अन्तरर्विरोध र संघर्षहरुको सामना गर्नुपर्ने छ, सजिलै परिवर्तन हुनेवाला छैन ।

अब नेकपाको आर्थिक ब्यवस्था के हुन्छ ?

अहिले दलाल पूँजिवादी ब्यवस्था छ । त्यसको अन्त्य गरेर हामी अगाडि जान चाहन्छौं । त्यसका निम्ती स्वाधिन अर्थतन्त्र निर्माण गर्न हाम्रा कार्यकर्ताहरु उत्पादनको क्षेत्रमा लाग्ने छन् । पार्टीले त्यही खालको योजना निर्माण गर्ने छ । अब हामीले फरक ढंगले सोच्नु जरुरी छ । पार्टी कमिटी निर्माण गर्दा पनि कमिटी कति सदस्यीय बनाउने, अल्पकालीन कार्यकर्ता कति बनाउने र पूर्णकालिक कार्यकर्ता कति बनाउने भन्ने विषयमा पनि छलफल गर्नु आवश्यक छ । जनतालाई कुन्–कुन् उत्पादन क्षेत्रमा लगाउने, कस्ता खालका कलकारखाना स्थापना गर्ने, ग्रामिण उद्योग धन्दाको विकास कसरी गर्ने र राष्ट्रिय अर्थतन्त्रको विकासमा कसरी अगाडि बढ्ने ? राष्ट्रिय उद्योग धन्दा ध्वस्त पार्ने जुन दलाल पूँजिवादी अर्थतन्त्र छ, बहुराष्ट्रिय कम्पनीको सामान हामीले बेच्नु पर्ने, लगानी नगरी उत्पादन गर्नुपर्ने अनि हाम्रो श्रमिकहरु चाँही वैदेशिक रोजगारीमा जानुपर्ने जुन खालको दलाल पूँजिवादी अर्थतन्त्रको ब्यवस्था छ, यसलाई हामीले परिवर्तन गर्नुपर्ने छ । सिंहदरबारमा आज पनि एउटा एलिटहरु वा एउटा निश्चित वर्गको राँइदाई छ । त्यो दलाल पूँजिवादी चरित्रको एउटा उदाहरण हो । त्यसलाई ध्वस्त गरि विस्थापन गरेर अगाडि जानु नै आजको हाम्रो मुख्य चुनौती हो । त्यतिमात्र हैन केन्द्रदेखि तल्लो तहसम्म राजनीतिमा पनि विचौलियाहरुको रजाँई छ । हामी त्यो संरचनालाई तोडेर नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्न चाहन्छौं । जुन कम्युनिष्ट पार्टीका कार्यकर्ता उत्पादनमा लाग्ने छन् । राज्यलाई कर तिर्ने छन् र राज्यलाई सोध्ने छन् हामीले तिरेको कर तिमीले कहाँ उपयोग ग¥यौ ? हामीले तिरेको करले शिक्षा, स्वास्थ्य, रोजगार पूर्वाधार निर्माण र कृषिमा लगानी गरेर उत्पादनमा विकास गर्ने ब्यवस्था चाहन्छांै र त्यही अनुसारको कम्युनिष्ट पार्टी निर्माण गर्न चाहन्छौं ।

 राजनीतिक विचौलियाहरु हावि हुँदा इमान्दार कार्यकर्ताहरु पछि परेका हुन् ?

पक्कै पनि हो । हामीले कस्ता–कस्ता मान्छेहरुलाई नीति निर्माण गर्ने ठाउँमा पु¥यायौँ । राजनीतिमा पूँजिवादी र धनाढ्य मानिसहरु पनि चाहिन्छ भनेर कस्ता–कस्ता मान्छेहरुलाई सांसद बनायौं । ‘क’ वर्गका निर्माण ब्यवसायिहरु नीति निर्माण गर्ने ठाउँमा भएकै कारण आज सार्वजनिक खरिद ऐन पारित हुन सकिरहेको छैन । उनले आफ्ना हित प्रतिकुल नीति कहिल्यै बनाउँन दिंदैनन् । हामी निजी विद्यालयका सञ्चालकलाई नीति निर्माण गर्ने ठाउँमा पु¥याउँछौं अनि सामुदायिक विद्यालय सुधारको कुरा गर्छौ । निजी विद्यालयको सञ्चालकले सामुदायिक विद्यालयको हित हुने गरि नीति निर्माण गर्छ ? गर्दैन । त्यसकारण नीति निर्माण तहमा कस्ता ब्यक्तिहरुलाई पु¥याउने, कस्ता ब्यक्तिहरुलाई नेतृत्व दिने भन्ने कुरामा वेथिति रह्यो । पूँजीवादी पार्टीको कार्यशैलीलाई कम्युनिष्ट पार्टीले अपनाउँदा यो बेथिति आयो । उनीहरुलाई परास्त गर्ने नाउँमा हामीलाई जस्तोसुकै कुराहरु पनि ग्राह्य भयो । त्यसलाई हामीतर्फ रुपान्तरण गर्नुपर्ने तर हाम्रा नीतिहरु उनीहरुतर्फ रुपान्तरण भए ।

 पैसा भएकाहरुलाई टिकट दिंदा चुनाव जितिन्छ भन्ने पार्टीको मानसिकताको कारण यो अवस्था आएको हो ?

हो, म के भन्न चाहन्छु भने नीति निर्माणको ठाउँमा, नीति निर्माण गर्ने तहमा पठाउँनमा कस्ता मान्छेलाई पठाउँने भन्ने कुराको निक्र्याैल हुनुपर्छ । हामी समृद्धिको कुरा गरिरहेका छौं । पार्टी कार्यकर्ता उत्पादनमा लाग्नुपर्छ भनिरहेका छौं । तर, कस्तो उत्पादनमा लाग्ने दलाल पूँजिवादलाई विकास गर्ने उत्पादनमा लाग्ने वा राष्ट्रिय पूँजिको विकास गर्ने उत्पादनमा लाग्ने । राज्यलाई कर तिर्ने गरि ब्यवसायमा लाग्ने कि जस्तोसुकै हर्कत गरेर भए पनि पैसा कमाउने पेसामा लाग्ने । पार्टी नेता कार्यकर्ताहरु कुन् खालको उत्पादनमा लाग्ने ? कुन् उत्पादन प्रणालीको विकास गर्ने ? त्यो पार्टीले निक्र्यौल गर्नु जरुरी छ । पार्टी कार्यकर्तालाई उत्पादनमा लाग भनेर मात्रै हुँदैन । कुन् खालको विकासको लागि कुन् खालको उत्पादनमा लाग्ने भन्ने कुराको वर्गिकरण पार्टीले गर्नुपर्छ । जबसम्म पार्टीले यस्तो नीति ल्याउँदैन तबसम्म दलाल पूँजिवादी हावि भइरहन्छ र हामीले सोचेकोजस्तो समाजवादमा हामी पुग्न सक्दैनौं ।

अहिले कतिपय कानून र नीतिहरु बन्न सकिरहेको छैन । नीति निर्माण तहमा पार्टीले गलत मान्छेलाई पु¥याएको कारण यो अवस्था आएको हो ?

मूलतः पार्टीले सही तरिकाले नसोच्दा सरकार सञ्चालकहरुले अन्धाधुन्ध अन्तर्राष्ट्रिय कानूनहरुमा सहमति ग¥यो । सन्धीहरुमा हस्ताक्षर ग¥यो । हाम्रो मूलुका निम्ती के हित हो र के अहित हो भन्नेतर्फ छलफल चलाइएन । अन्तर्राष्ट्रिय सन्धी, अभिसन्धीहरुमा हस्ताक्षर गर्दा राष्ट्रिय हितका कुराहरु के–के हो त ? सन्धी, अभिसन्धीहरुमा हस्ताक्षर गर्दा हाम्रो राष्ट्रलाई कति फाइदा हुन्छ भनेर हामीले गहन ढंगले छलफल नै गरेनौं । अहिले हामीले निर्माण गर्ने कानूनहरु, मानव अधिकारका कुराहरु त्यहीबाट निर्देशित छ । हामीले कानून अन्तर्राष्ट्रिय स्तरको बनायौं तर हाम्रो जनचेतना, कार्यान्वयनको हिसाबले कहाँ छौ भनेर ख्याल गरेनौं । जसको कारण अनेकन समस्याहरु आइरहेका छन् ।

 अरुको प्रभावमा परेर शासक पक्षधर कानून निर्माण गर्दा अहिलेको समस्या आएको हो ?

जनप्रतिनिधिहरु नागरिकताको सिफारिस र सरकारले तोकिदिएको काम गर्नका लागि मात्र निर्वाचित भएका होइनन् । सिफारिस गर्नकै लागि वडामा ५ जना र पालिकामा सय÷डेढसय मानिस पाल्नु आवश्यक छैन । एउटा कर्मचारीलाई जिम्मा दिए भइहाल्थ्यो । तर, हामी यो समाज र राज्य ब्यवस्थालाई बदल्न चाहन्छौं । जनताको आधारभूत समस्याहरु गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र मानव अधिकारका कुरालाई नयाँ ढंगबाट ब्यवस्थापन गर्न लागिरहेका छौं । तर आज बडा अध्यक्ष ज्यूहरु र कतिपय नगरपालिका र गाउँपालिका प्रमुख उप–प्रमुख ज्यूहरु हिजोका राज्य संरचना सञ्चालनका लागि मात्र निर्वाचित भएको हो कि भन्ने भान भइरहेको छ । त्यसकारण नयाँ ढंगले जान जरुरी छ ।

 भनेपछि अहिले जनप्रतिनिधिहरु पनि समयको माग अनुसार चल्न सकेनन् ?

हाम्रा कर्महरुले त्यही भन्छ । निर्णयहरुले त्यही भन्छ । जनप्रतिनिधिहरु जागिरेजस्तो देखियो । त्यो जानेर या नजानेर । त्यो शैलीलाई फेर्न जरुरी छ । जनप्रतिनिधिहरु सिफारिस गर्न र राज्यको माथिल्लो तहले पठाएको नीति कार्यान्वयन गर्न मात्रै निर्वाचित भएका होइनन् । जनताको आधारभूत समस्यालाई सहज रुपमा हल गर्दै समाज बदल्नका निम्ती हो । हामी समाजवादतर्फ उन्मुख छांै भन्छौं तर हाम्रा काम ठीक उल्टो भइरहेको छ ।

 राजनीतिक दल र सरकारले अहिले जे नियति भोगिरहेको छ यसबाट आगामी दिनमा के सिक्नुपर्ला ?

हामीले नयाँ संविधान मार्फत जनताको अधिकारहरु मूल कानूनमा लेखेका छांै । गणतन्त्रात्मक राज्य ब्यवस्थालाई संस्थागत विकास गर्ने भनिरहेका छौं । राज्यको उपरीसंरचना परिवर्तन भयो तर राज्यको संरचना विचारधारात्मक रुपले परिवर्तन हुन सकेन । चिन्तन, चरित्र, कार्यशैली र योजना निर्माणका हिसाबले परिवर्तन हुन आवश्यक छ । राज्य ब्यवस्थाको सम्पूर्ण संरचनालाई विचारधारात्मक रुपमा परिवर्तन गर्नुपर्छ । त्यसका निम्ती माक्र्सवादको आलोकमा समीक्षा र छलफल गर्नुपर्ने छ । त्यसको निम्ती पार्टीको सांगठनिक संरचनामात्र होइन सरकारको पनि सिंगो संरचनालाई बदल्ने हिम्मत गर्नुपर्ने छ । त्यसलाई बदल्ने र संरक्षण गर्ने हिसावले कम्युनिष्ट पार्टी अगाडि बढ्नुपर्छ ।

प्रतिकृया

Add