Hamro-Mobile-APP

घरघरमा पानीको धारा, खुसी छन् देसार गाउँबासी सारा

 शनिबार, पुस ७, २०७५ | onlinenews

तिलक कार्की

रामेछाप- जिल्लाको सुनापति गाउँपालिका–५ देसारगाउँको घरघरमा खानेपानीको धारा झरेपछि त्यहाँको स्थानीय खुसी भएका छन् । पिएसएफ लक्जेवर्गको आर्थिक सहयोग, टिडिएच जर्मनीको समन्वय तथा सामुदायिक विकास समाज मन्थलीको सहजिकरणमा ‘रानीभलायो खानेपानी आयोजना’ले खानेपानीको ब्यवस्था गरिदिएपछि देसारगाउँबासी खुसी भएका हुन् । घरघरमा खानेपानीको धारा झेरेपछि देसारगाउँबासी खोलामा बग्ने अशुद्ध पानी पिउनु पर्ने बाध्यताबाट समेत मुक्त भएका छन् । नेवार र मगर जातिको बसोवास रहेको देसारगाउँमा ‘रानीभलायो खानेपानी आयोजना’बाट ४६ घरधुरीका ३ सय १५ जना लाभान्वित भएका छन् । ‘रानीभलायो खानेपानी आयोजना’ अन्तर्गत १ वटा इन्टेक, स्टोन मेसिनरी ट्यांकी ६ घनमिटर, रिजर्भर ट्यांकी १६ घनमिटर, ब्रेकप्रेशर ट्याङ्की, धारा पोष्ट ४५ वटा, मुख्य पाइप लाइन १ हजार ९ सय १९ मिटर, वितरण लाइन ५ हजार ३ सय २४ मिटर र गेट सहित घेराबार लगायतका पूर्वाधार निर्माण गरिएको छ । खानेपानी आयोजना सम्पन्न गर्न परियोजनाको १७ लाख ५५ हजार ४ सय ५३ रुपैयाँ र उपभोक्ताको श्रमदान वापत ४ लाख ३८ हजार ८ सय ६३ रुपैयाँ गरी २१ लाख ९४ हजार ३ सय १६ रुपैयाँ लागेको छ । खनेपानीको समस्या झेल्दै आएका देसारगाउँबासीका लागि सामुदायिक विकास समाज मन्थली रामेछापद्वारा सञ्चालित महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाले खानेपानीको ब्यवस्था गरिदिएको हो । यस भन्दा पहिले देसारगाउँबासीको लागि २ घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउँनुपर्ने बाध्यता थियो । आर्थिक रुपमा सक्षम केही ब्यक्तिले पाइपबाट घरमै पानी ल्याउने गरेका भए पनि अधिकांश मानिसहरु गाग्रोमा पानी बोकेर खान बाध्य थिए । घरमा पानी आएसँगै देसार गाउँको घर आगन पनि सफा सुग्घर हुन थालेको छ । घर करेसाबारी पनि व्यवस्थित भएका छन् आयोजना सञ्चालन भएपछि उपभोक्ताहरुका लागि मुहान संरक्षण तथा सरसफाई तालिम, प्लम्बर तालिम, करेसाबारी प्रवद्र्धन तालिम, काम, कर्तव्य र अधिकार सम्बन्धि तालिम सञ्चालन गरी आयोजनाको दीगोपन र मर्मत संभारको नीति समेत तयार गरी लागू गरेका छन् । उपभोक्ताले मुहानदेखि मुखसम्म सफा र स्वच्छ पानी खाने, खेर गएको पानीको करेसाबारीमा सदुपयोग गर्ने गरेका छन् । शौचालय, घरआँगन तथा कपडा सफा प्रयोग गर्न थालेका छन् । पानीको ब्यवस्था भएपछि आफ्ना बालबालिकालाई विद्यालय समयमा पठाउनुका साथै सफा समेत देखिन थालेका छन् । प्रत्येक घरमा भाँडा सुकाउने चाङ, जुठान र फोहोर फाल्ने खाल्डो बनेका छन् । खानेपानीको ब्यवस्था भएपछि खेर गएको पानी प्रयोग गरी घरको आगनमा तरकारी तथा फलफूलको विरुवा रोपेर मौसमी, वेमौसमी तरकारी समेत लगाउँन थालेका छन् । “माग्ने पनि आफैँ, बनाउने पनि आफैँ र प्रयोग गर्ने आफैँ भए पछि माया बढ्दो रहेछ, रात बिहान नभनी खुब खटियो, योजना पूरा भए पछि प्रत्येक घरमा धारा झरे पछि त दुःख नै विर्सियो” टुलराम श्रेष्ठ खुसी ब्यक्त गरे । पहिला समुदायलाई बाटो देखाउने, त्यसपछि सघाउने र अघि लगाउने रणनीतिले कार्य सफल र दीगो हुने सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङको भनाई छ ।

प्रतिकृया

Add