Hamro-Mobile-APP

हुण्डी कारोबार गरेको आरोपमा सहकारीका अध्यक्ष सहित ३ पक्राउ

 आइतवार, पुस २९, २०७५ | onlinenews

मोरङ– विराटनगरको आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले हुण्डि कारोबार गरेको आरोपमा प्रहरीले संस्थाका अध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ । सहकारी संस्थाको आडमा हुण्डी कारोवार गर्ने गरेको खुलासा भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रोत नखुलेको ६८ लाख ५७ हजार ६ सय रुपैयाँ समेत प्रहरीले सहकारीबाट बरामद गरेको छ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा विराटनगर– ७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ३२ वर्षिय राजेश हेडा, व्यवस्थापक ४१ वर्षिय दिपक कुमार कर्ण र अर्का कर्मचारी २५ वर्र्षीय सुमित साहलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार अध्यक्ष हेडाको कार्यकक्षबाट स्रोत नखुलेको ५९ लाख ७ हजार ६ सय रुपैयाँ बरामद भएको हो । ‘विराटनगर ११ घर भएका सहकारीका कर्मचारी साहले अध्यक्ष हेडाबाट बुझेर लग्न लागेको अवस्थामा ९ लाख ५० हजार बरामद भएको थियो ।
अनुसन्धानका लागि विराटनगर १२ घर भएका सहकारीका व्यवस्थापक कर्णलाई नियन्त्रणमा लिएको उनले बताए । साहले उक्त रकम कहाँ लग्न लागेको बारेमा उनीहरुले अहिले केही नभनेकोले अनुसन्धानपछि भन्न सकिने प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा सहकारीका अध्यक्ष हेडाले बरामद भएको रकम हुण्डी कारोबारको रहेको स्वीकारेको प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
‘सहकारीको आडमा हुण्डी कारोबार गरेको देखियो, केसीले भने, ‘यहाँ अझै हुण्डी कारोबारको ठूलो सञ्जाल हुन सक्छ । पक्राउ परेका तीनै जनालाई रकम सहित कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add