Hamro-Mobile-APP

दोरम्बा गाउँपालिकाको प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी र पर्यटन

 मङ्लबार, माघ १, २०७५ | onlinenews

गाउँपालिकाको समग्र विकास निर्माणको विषयमा केन्द्रित रहेर दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिं तामाङ (मोक्तान) सँग गरिएको कुराकानीको सम्पादीत अंशः

अध्यक्ष ज्यू अहिले दोरम्बा गाउँपालिकाले विकास निर्माणको गतिविधि कसरी अगाडि बढिइरहेको छ ?

गाउँपालिकाको विकास निर्माणको पहिलो र मुख्य पूर्वाधार सडक हो । चालू आर्थिक बर्ष २०७५÷०७६ मा नै हामीले गाउँपालिकाका सबै वडालाई सडक सञ्जालसँग जोडिसकेका छौं । अब भर्खरै निर्माण गरिएका सडकहरुको स्तरोन्नती गर्नुपर्ने छ । त्यसैगरी लामो दुरीको सडक स्तरोन्नती गर्दै कालोपत्रे गर्नका लागि संघलाई अनुरोध गर्नुपर्ने छ । अहिले गाउँपालिकाको कुनै पनि वडामा नयाँ सडक निर्माण गर्नुपर्ने अवस्था छैन । त्यसैले हामीले स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी र पर्यटनको क्षेत्रमा लगानी गर्नेगरी स्पष्ट योजना सहित लागिपरिरहेका छौं ।

 विकास निर्माणको लागि यहाँले सडकलाई पहिलो प्राथमिकता दिनुभएको छ । यसैगरी क्रम संख्या अनुसार योजनाको प्राथमिकीकरण गर्दा कुन कुन योजनालाई प्राथमिकता दिनुभएको छ ?

हाम्रो गाउँपालिकाको पहिलो प्राथमिकता सडक नै हो । दोस्रोमा शिक्षा, तेस्रोमा कृषि र चौथोमा पर्यटन र पाँचौ नम्बरमा स्वास्थ्यलाई प्राथमिकतामा राखी काम अगाडि बढाइरहेका छौं ।

यहाँको गाउँपालिकाको रणनैतिक तथा आवधिक योजनामा कुन कुन योजनाहरु प्राथमिकतामा राख्नु भएको छ ?

आवधिक योजनामा कृषि क्षेत्रको विकासको लागि जोड दिएका छौं । त्यसैगरी दोरम्बामा गाउँपालिका जडिबुट्टि र पर्यटनको उच्च सम्भावना भएको हुँदा यसको क्षेत्रको विकासको लागि योजना बनाएका छौं । त्यसैले आवधिक योजनामा हामीले कृषि, जडिबुट्टि र पर्यटन क्षेत्रको विकास गर्नेगरी प्राथमिकता निर्धारण गरेका छौं ।

यहाँहरुले कृषि र जडिबुट्टिको विषयलाई प्राथमिकता दिनु भएको छ । यस गाउँपालिकामा कुन कुन कृषिबालीहरु उत्पादन गर्न सकिन्छ ? र, कुन कुन जडिबुट्टिहरु पाइन्छ ? कुनै अध्ययन गर्नुभएको छ ?

तत्कालै कृषि र जडिबुट्टि उत्पादनको लागि विज्ञहरु झिकाई त्यसको डिपिआर तयार गर्ने योजना बनाएका छौं । कृषि उत्पादनका हिसाबले यस गाउँपालिकामा बिषेशगरी धान, मकै गँहु र आलू उत्पादन हुन्छ । त्यसैले परम्परागत रुपमा गरिने खेती प्रणालीलाई आधुनिकीकरण गर्नेगरी योजना बनाएका छौं । त्यसैगरी हाम्रो गाउँपालिकामा प्रशस्त मात्रामा आलू उत्पादन हुने भएकाले केहि भू–भागमा आलू पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना समेत बनाएका छौं । गाउँपालिकामा किबि र सुन्तलाको उत्पादन पनि राम्रोे छ । त्यसैले सुन्तला र किबिको उत्पादनको लागि पकेट क्षेत्र घोषणा गरीे कृषिलाई व्यवस्थित गर्दै लैजाने योजना बनाएका छौं । बिषेशगरी गाउँपालिकाको ४, ६ र ७ नम्बर वडाहरु सुन्तलाको लागि उपयुक्त वडाहरु हुन् । यी वडाहरुमा सुन्तला पकेट क्षेत्र बनाउने योजना अगाडि बढाएका छौं । पकेट क्षेत्र बनाउनको लागि हामीले प्रदेश सरकार र केन्द्र सरकारसँग पनि आर्थिक व्यवस्थापनका लागि अनुरोध गरिसकेका छौं । हाम्रो स्थानीय सरकारले पनि यी क्षेत्रको विकासको लागि केहि गर्नुपर्छ भनेर लागि परिरहेका छौं ।

कृषि क्षेत्रको विकासको लागि सरकारले पनि धेरै लगानी गरिसकेको छ । कृषकले उत्पादन गरेका कृषि उपजले बजार पाएन भन्ने गुनासो आएको छ । बजार व्यवस्थापनको लागि गाउँपालिकाले के सोचेको छ ?

हाम्रो गाउँपालिका राजधानीबाट धेरै टाढा छैन । भइरहेको सडक कालोपत्रे भयो भने मात्रै पनि यहाँको कृषि उपज सिधै काठमाडौंमा लगेर बिक्री वितरण गर्न सकिन्छ । हाम्रो गाउँपालिकालाई बिपि राजमार्ग र मध्यपहाडी राजमार्गले छोटो दूरीमा जोडेको छ । राजमार्गसँग जोडिएका कच्ची सडकहरुको स्तरबृद्धि गरी हिउँद बर्खा सवारी साधन चल्न सक्ने बनाउन सकियोे भने कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान र बिक्री वितरण गर्न सहज हुन्छ । त्यस्तै गाउँपालिकाभित्रका दोरम्बा, रिष्ठे, कुखुरेआहाल, टोकरपुर गाउँपालिकाको केन्द्र र शैलुङ्ग खोलाखर्कलाई बजार व्यवस्थापन गर्नका लागि हामीले यो बर्ष डिपिआर तयार गर्दै छौं । केहि क्षेत्रहरुको गत बर्ष नै डिपिआर तयार गरिसकेका छौं । त्यसको प्रतिवेदन आइसकेको छ । प्रतिवेदनलाई प्रदेश र केन्द्रमा पेश गर्न बाँकी रहेको अवस्था छ । त्यस्तै छीमेकी गाउँपालिकामा पनि बजारको लागि सम्भावना छ । जस्तै दोलखाको ढुङ्गे गाउँपालिका, मुडे, सुनापतिको सित्खा, खैरेनीघाट र काभ्रेको दुम्जा, कुखुरेआहाल, मन्थली, गाल्वा बजार यस गाउँपालिकाको लागि सम्भावित बजारहरु भएकाले हामीले अध्ययन गरिरहेका छौं । त्यसैगरी काठमाडौंको बजार पनि नजिक भएकाले सडकको स्तरोन्नती गर्न सकियो भने कृषि उपजहरु सिधै काठमाडौंमा निर्यात गर्न सकिन्छ । त्यसैले हामीले सडक सुधारको योजना बनाएका छौं । सडकको अवस्थामा सुधार गर्न सकियो भने काठमाडौं र बनेपाको बजारसम्म हाम्रो गाउँपालिकाको उत्पादीत सामाग्रीहरु बिक्री वितरणका लागि पुग्नेछन् ।

कृषि उपज बिक्रीको लागि गाउँपालिकाले कृषकलाई सहजीकरण वा सहयोग गर्छ ?

कृषकले उत्पादन गरेको वस्तु बजारसम्म लैजान र भण्डारण तथा व्यवस्थापनको लागि पनि गाउँपालिकाले कृषकलाई सहयोग गर्छ ।

गाउँपालिकाले गुरुयोजना निर्माण गर्नुभएको होला, ५ बर्षको अवधिमा यो काम पूरा गर्नेछौं भन्ने खास योजना केहि बनाउनु भएको छ ?

हामीले दोरम्बा गाउँपालिकालाई ५ देखि १० बर्षमा गाउँपालिकाभित्रको मुख्य मुख्य सडकको स्तरबृद्धि गर्ने योजना बनाएका छौं । जसमा सडक कालोपत्रे गर्ने सम्मको योजना छन् । त्यसैगरी शैलुङ्ग क्षेत्रलाई पर्यटकीय हिसाबले विकास गरि आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा जोड गर्ने योजना बनाएका छौं । त्यसैगरी गाउँपालिकाको क्षेत्रभित्र पर्ने अग्लेश्वरी, गुँरासेजस्ता ठाउँहरुलाई पनि व्यवस्थित पर्यटन क्षेत्रको रुपमा घोषणा गर्ने योजना पनि बनाएका छौं । त्यसैगरी सानो शैंलुङ्गजस्ता पर्यटनको उच्च सम्भावना रहेको ठाउँहरुमा उचित पूर्वाधारहरु निर्माण गरी पर्यटनको विकास गर्नेजस्ता योजनाहरु हामीले गुरुयोजनामा समावेश गरेका छौं ।

अहिले गाउँपालिकाको आन्तरिक आर्थिक श्रोत के हो ? र गाउँपालिकाले आफ्नै आन्तरिक श्रोतबाट कति आम्दानी गर्न सक्छ ?

हाम्रो गाउँपालिकाको हालको आम्दानी भनेको केन्द्र र प्रदेशबाट प्राप्त अनुदान बाहेक अरु त्यति धेरै छैन । आन्तरिक रुपमा गाउँपालिकाले आम्दानी लिन सक्ने अरु कुनै त्यस्तो आधार बनेको छैन । तर, हामीले गाउँपालिकाको आर्थिक श्रोत बृद्धि गर्नको लागि आधार तयार गर्दैछौं । हाम्रो गाउँपालिकामा आलू, किबि, र पर्यटन क्षेत्रको विकासको लागि योजना समेत बनाएका छौं । त्यसमा मालपोत अन्तर्गतको सामान्य आम्दानीलाई आन्तरिक श्रोतको रुपमा लिएका छौं । हामीले गाउँपालिकाको आन्तरिक आम्दानीको लक्ष्य ५ लाख राखेका थियौं । जसमा ७ लाख रुपैयाँ आम्दानी भएको छ । अहिले हामीले गाउँपालिकाको प्रोफाइल तयार गरिरहेका छौं । प्रोफाइलमा हामीले घर नम्बर राख्ने व्यवस्था गरेका छौं । घर नम्बर कायम गर्नको लागि हामीले प्रत्येक घरबाट २ सय रुपैयाँको दरले रकम उठाउने निर्णय गरेका छौं । हाम्रो गाउँपालिकामा लगभग ६ हजार घरधुरी रहेका छन् । त्यसैले ६ हजार घरधुरीबाट उठ्ने रकम मात्रै हाम्रो गाउँपालिकाको आन्तरिक श्रोत हो । र, अर्को कुरा एकीकृत सम्पत्ति कर वापत उठ्ने २५ देखि ३० लाख रुपैयाँ पनि हाम्रो गाउँपालिकाको आन्तरिक श्रोत हुन आउँछ । अब आउने योजनाहरुमा हाम्रो गाउँपालिकाभित्रको सम्भावनाहरु जस्तो जडिबुट्टि, लोकताबाट हुने आम्दानी र अन्य निकासी करसहित केहि रकम आन्तरिक श्रोतमा जम्मा गर्ने योजना समेत बनाएका छौं ।

यो गाउँपालिका पर्यटनको उच्च सम्भावना भएको गाउँपालिका हो । र, अहिले दोरम्बा गाउँपालिकालाई युद्ध पर्यटन क्षेत्र घोषणा गरिएको छ । कहिले कहि दोरम्बालाई हतारमा युद्ध पर्यटन क्षेत्र घोषणा गरियो भनेर विवादमा आउने गरेको पाइन्छ, यसबारे के भइरहेको छ ?

अहिले युद्ध पर्यटक क्षेत्र विकासको लागि गाउँपालिकाले पहल गरिरहेको छ । संघबाट पनि आर्थिक साझेदार गर्ने प्रतिबद्धता जाहेर भइसकेको छ । पोहोर दोरम्बामा आयोजित सहिद स्मृति सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले पनि प्रतिबद्धता जनाउनु भएको थियो । सोहि अनुसार हामी पनि योजनाबद्ध तरिकाले लागिपरिरहेका छौं । गुरिल्ला टे«ेल मार्गलाई पर्यटकीय हिसाबले विकास गर्न गाउँपालिका, प्रदेश सरकार र संघ एकैसाथ लागिरहेका छौं । त्यसैले तीनै तहको सरकार योजनाबद्ध तरिकाले लाग्यौं भने असम्भव भन्ने कुरा छैन । त्यसको सुरुवात गाउँपालिकाको लगानीबाट गर्नेछौं । अहिले सुरुको चरणमा सामान्य भौतिक पूर्वाधार निर्माण गर्ने गरी बजेट व्यवस्थापन गरेका छौं । प्रदेश सरकारबाट पनि २५ लाख प्राप्त भइसकेको छ ।

यहाँले युद्ध पर्यटन क्षेत्रलाई कस्तो बनाउने कल्पना गर्नुभएको छ ? युद्ध पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले के कुरा अध्ययन अवलोकन गर्न पाउँछन् ?

पहिलो कुरा त युद्ध पदमार्ग भौगोलिक दृष्टिले निकै सुन्दर छ । यसमा अग्लेश्वरी, सानो शैलुङ्ग, ठूलो शैलुङ्ग, ब्रम्हा, बिष्णु, भिमेश्वर, छायाँश्वरीजस्ता महत्वपूर्ण स्थानहरुको अवलोकन गर्न सकिन्छ । यी ठाउँहरुबाट अत्यन्तै सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । अर्को कुरा भनेको यस क्षेत्रभित्र विभिन्न जातजातिको बसोबास रहेको छ । विभिन्न जातिहरुको आफ्नै मौलिक संकृति रहेको हुँदा त्यसको अवलोकन गर्न सकिन्छ । अर्को कुरा शैलुङ्गको काखमा रहेको दोरम्बा आफैमा भौगोलिक हिसाबले निकै सुन्दर छ । वातावरणीय हिसाबले पनि निकै स्वच्छ छ । पर्यटकहरुले यस क्षेत्रको भ्रमण गर्दा मौलिक, प्राकृतिक दृष्यहरुको अवलोकन गर्न सक्नुहुन्छ । कृषि उत्पादनको हिसाबले पनि यस क्षेत्रमा विविधता रहेको छ । दोरम्बा गाउँपालिकामा सुन्तला, किबि, जुनार, अलैंची लगायतका वस्तुहरुको उत्पादन हुन्छ । त्यस्तै शैलुङ्गको काखमा विभिन्न जडिबुट्टिहरु पाइन्छ । पर्यटकहरुले त्यसको अवलोकन पनि गर्न सक्नेछन् ।

धार्मिक आस्था राखेर आउने धार्मिक पर्यटकहरुले दर्शन गर्ने धार्मिक स्थलहरु पनि छन् ?

हाम्रो गाउँपालिकामा त्यस्ता ठाउँहरु धेरै छन् । जसमा सानो शैंलुङ्ग प्रसिद्ध ठाउँ हो । शैलुङ्ग डाँडा निकै उचाइमा रहेको डाँडा हो, त्यहाँबाट नेपालको धेरै ठाउँहरुको दृष्यावलोकन गर्न सकिन्छ । त्यस्तै अग्लेश्वरी मन्दीर छ । त्यो पनि निकै उचाइमा रहेको छ । स्थानीय बुढापाकाहरु त्यहाँबाट काठमाडौंको धरहरा देखिने कुरा गर्थे । अहिले पनि काठमाडौंमा धरहरा भएको भए देखिन्थ्यो होला । अग्लेश्वरीबाट काभ्रेको साँगा, ललितपूरको फुल्चोकी, भक्तपुरको नगरकोट जस्ता ठाउँहरु प्रष्टसँग देख्न सकिन्छ ।

तपाईको कार्यकालमा गाउँपालिकामा यो काम गर्छौं भनेर परिकल्पना गर्नु भएको होला । तपाईको कार्यकालमा गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रको विकास गर्ने खास योजना चाँहि के छ ?

हाम्रो परिकल्पनामा धेरै योजनाहरु छन् । गाउँपालिकाभित्रका मुख्य सडकहरुलाई कालोपत्रे गर्ने, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा हाम्रो कार्यकालभित्र नै परिवर्तन देखिने गरी विकास गर्न सक्छौं भन्ने कुरामा हामी विश्वस्त छौं । त्यसका लागि हामीलाई सबै राजनैतिक दल र जनताले साथ दिएका छन् । हाम्रो गाउँपालिकाभित्रको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि प्रयत्नहरु पनि गरेका छौं । केहि विद्यालयहरुमा अझै पनि पुरानो सोच, चिन्तन यथावत नै छ । विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुमा पनि केहि समस्याहरु देखिन्छ । पूर्वाधारको हिसाबले हाम्रो गाउँपालिकामा भएका ९ वटा माध्यमिक विद्यालय मध्य ५ वटामा एडिबिको लगानीमा अत्याधुनिक र सुविधासम्पन्न भवनहरु निर्माण भएका छन् । अझै पनि एडिबिकै आर्थिक लगानीमा अन्य तीनवटा विद्यालयको भवन निर्माणको काम हुँदैछ । भारतीय राजदुताबासले पनि एउटा माध्यमिक विद्यालयमा भवन निर्माणको काम गर्दैै छ । विद्यालय भवन निर्माणको काम पनि हाम्रो प्रत्यक्ष निगरानीमा सम्पन्न भएका छन् । हामीले हाम्रो गाउँपालिकाभित्रको ४७ वटा विद्यालय मध्य ४ वटा विद्यालय गाभेका छौं । अहिले गाउँपालिकामा ४३ वटा विद्यालयहरु रहेका छन् । ४३ वटा विद्यालयमा भौतिक पूर्वाधार निर्माणको हिसाबले धेरै राम्रो भएको छ । शैक्षिक सुधारका निमित्त विद्यालयका शिक्षकको, विद्यार्थीको, अभिभावकको, विद्यालय व्यवस्थापन समितिको महत्वपूर्व भूमिका हुने गर्छ । तर, हाम्रो अपेक्षा अनुसार उहाँहरु दत्तचित्त भएर लाग्नु भएको छैन । अलि बेवास्ता गरेको हो कि, जस्तो देखिन्छ । त्यसैले गुणस्तरीय शिक्षाका लागि हामी बिषेश योजनाका साथ अघि बढिरहेका छौं । हामीले सामुदायिक विद्यालयमा प्रविधिको विकास गर्ने कुरालाई पनि प्राथमिकतामा राखेर काम अघि बढाएका छौं । गाउँपालिकाको ९ वटै माध्यमिक विद्यालयमा सिसि क्यामेरा, डिजिटल हाजिरी व्यवस्थापनको लागि आवश्यक सामग्रीहरु पनि ल्याइसकेका छौं । यसका लागि हामी आफैंले अभिभावक, शिक्षक, विद्यार्थी सबैपक्षसँग छलफल ग¥र्यौं । हामीले गरेको कामले विद्यालयसँग सम्बन्धित सबै पक्षहरु उत्साहित भएर लागिपर्नु भएको छ । परिवर्तनका लागि सबै एकैठाउँमा उभिन सक्यौं भने केहि गर्न सकिने रैछ भन्ने कुराको आशा पनि जागेको छ । र, अर्कोकुरा, हाम्रो देश कृषि प्रदान देश हो । दोरम्बा गाउँपालिका पनि कृषिमा आश्रित गाउँपालिका हो । कृषि क्षेत्रमा आमूल परिवर्तन गर्न र दक्ष जनशक्ति उत्पादनका लागि हामीले गाउँपालिकामा कृषि प्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने योजना पनि बनाएका छौं । आगामी बर्षको बजेटबाट हामीले शिक्षालयको लागि आवश्यक बजेटको व्यवस्थापन गर्नेछौं । र, हरेक विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउने गरी यसै बर्षको बजेटबाट व्यवस्था गरेका छौं । कक्षा १ देखि १० सम्म पठनपाठन हुने विद्यालयमा शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने र प्रयोगशालाको लागि आवश्यक पर्ने औजार तथा उपकरणको व्यवस्थापन गरिदिने योजना बनाएका छौं । विद्यालयका विद्यार्थीको व्यवहारिक ज्ञानलाई पनि प्राथमिकतामा राखेर सोहि अनुरुपको शिक्षा नीति अवलम्बन गर्न लगाउने योजना बनाएका छौं ।

दोरम्बा गाउँपालिकाले कति वटा कानूनहरु बनाएको छ । कानूनको कारणले पनि काम गर्न समस्या भएको छ कि ?

स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर हामीले कानून निर्माण गरेका छौं । भर्खरै पनि हामीले शिक्षाको विषयमा कानून पास गरेका छौं । एउटा कुरा के छ भने ब्यवसाय दर्ता गर्नको लागि घरेलुले पनि अड्काई राख्ने, जिल्लामा पनि गइराख्नु पर्ने ब्यवसायि पान नम्बर लगायतका दुई तीन वटा विषयको कारणले हामी अलमलमा छौं । हामीले केही बाहेक सबै कार्यविधिहरु बनाएका छौं ।

 विपद जोखिमको हिसाबले यो गाउँपालिकाको अवस्था के हो ? र अहिले पुनर्निर्माणको काम कहाँ पुग्यो ?

विपद ब्यवस्थापन सम्बन्धि हामी आफैले पनि बजेटिङ्ग गरेका छौं । त्यो बजेट कार्यान्वयनको लागि कार्यविधिको बारेमा माथिल्लो तहबाट ठोस मार्गनिर्देश छैन । रामेछाप जिल्ला विपद्को अतिजोखिम गाउँपालिका मध्य दोरम्बा गाउँपालिका पनि पर्छ । जोखिम न्यूनिकरणको निम्ती जनचेतना जगाउँने कार्यक्रम पनि हामीले सुरु गरेका छौं । विपद्को अवस्थामा तत्काल राहत पु¥याउनको लागि समिति पनि गठन गरेका छौं । गाउँपालिका स्तरमै मेरै अध्यक्षतामा समिति गठन भएको छ । यो समिति हामी वडा स्तरसम्म पनि गठन गर्नेछौं । तर, यसमा विपद् परेको बेला राहत सामाग्री खरिद गर्नको लागि खरिद ऐन स्पष्ट नहुँदा केही समस्या हुने देखिएको छ । पुनर्निर्माणको कुरा गर्दा हाम्रो गाउँपालिकामा धेरैजसो घरहरु निर्माण भइसकेका छन् । निर्माणको क्रममा रहेका घरहरु पनि तीव्र गतिमा निर्माण भइरहेका छन् । यस गाउँपालिकामा कर्मचारीको अभाव छ । पुनर्निर्माणसँग सम्बन्धित प्राविधिकहरुको कमीले गर्दा केही समस्याहरु आएको छ । जिल्लाबाट भवन डिभीजन कार्यालयले कर्मचारी पठाउँदा आवश्यकताको आधारमा भन्दा पनि आपूmखुसी ढंगले पठाउँने गरिरहेको छ । गाउँपालिकामा कर्मचारी खटाउने विषयमा हामीसँग समन्वय गर्नुभएको छैन । त्यसकारण जहाँ आवश्यक छ त्यहाँ कर्मचारी पुगेका छैनन्, जहाँ आवश्यक छैन त्यहाँ कर्मचारी पुगेका छन् । अहिले केही लाभग्राहीहरु के भन्न थालेका छन् भने– ‘म घर बनाउन सक्दिंन, बुबाले अंश दिनुभएन त्यसकारण पैसा फिर्ता गर्छु’ भनेर तीन जनाले त मलाई नै भने । उहाँहरुलाई मैले केही समय पर्खनुस् भनेको छु ।

पुनर्निर्माणको अधिकार पनि अहिले स्थानीय तहलाई नै दिएको छ । यसको कार्यविधि गाउँपालिकामा आइपुगेको छ कि छैन ?

केही प्राविधिकहरु सम्पर्कमा आएका छन् । तर कतिपय प्राविधिकहरु गाउँपालिकामा सम्पर्क नगर्ने वडामा गएर बस्ने गर्नुभएको छ । यसले पनि केही समस्या पारेको छ । भवन डिभीजन कार्यालयले तपाईको गाउँपालिकामा यो स्तरको र यो नाम गरेको प्राविधिक वा कर्मचारी आएको छ भनेर हामीलाई जानकारी गराएको छैन । कर्मचारीहरु सिधै वडामा आउछन् । प्राविधिक आएपछि वडा कार्यालयले प्राविधिकलाई हाजिर गराउँने हो कि हैन भनेर सम्पर्क गर्छ । भवन डिभीजनले हामीसँग समन्वय गरेको छैन ।

दोरम्बा गाउँपालिकामा पुनर्निर्माणसँग सम्बन्धित प्राविधिकहरु कति छन् ?

मेरो गणनामा यो गाउँपालिकामा प्राविधिकहरु ८ जना छन् । गाउँमा खटिएका प्राविधिहरुको गतिविधिको भवन डिभीजन कार्यालयबाट पनि अनुगमन हुनपर्छ । कतिपय प्राविधिकहरु आफ्नै डोजर ल्याएर चलाइराखेका छन् । प्राविधिकहरु आफ्नै ढंगले चलिरहेको मैले पाएको छु । जिल्ला समन्वय समितिको बैठकमा पनि म यो विषयको उठान गर्नेछु ।

 भनेपछि प्राविधिकहरु आफैले डोजर ल्याएर चलाउँछन् ?

हो, प्राविधिकहरु स्कूल, सडकको ठेक्कामा डोजरसँग पार्टनर गरेर काम गरेको कुरा म कहाँ आइरहेको छ ।

 केही समय अघि कर निकै ठूलो बहसको विषय पनि बनेको थियो । दोरम्बा गाउँपालिकाले करलाई कसरी ब्यवस्थापन गरेको छ ?

जनताको ढाड सेक्ने गरि कर लगाउनु हुन्न भनेर हामीले भनेका छौं । हामी पहिलादेखि नै सचेत छौं । हिजो पनि घोषित, अघोषीत रुपमा कर लाग्थ्यो । संघीय र प्रदेश सरकारले बनाएको कानूनको आधारमा स्थानीय तहले पनि कानून बनाउँछौं । जन्म दर्तामा पनि शूल्क लियो भनेर कुरा उठाएको पनि हामी सुन्छौं । बच्चा जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरेमा शूल्क लाग्दैन । एकीकृत सम्पत्ती र निकासी कर हामीले लिएका छैनौं । कर लगाएन भने जनताले अपनत्व लिदैंन त्यसैले हामीले सीमित कर लगाएका छौं । करको विषयमा अहिले जुन हुइँम फिजाइरहेका छन्, यो गाउँपालिकामा करको अवस्था त्यस्तो छैन ।

निर्वाचनको बेला पार्टी र उम्मेदवारहरुले स्वरोजगारका कुरालाई मुख्य चुनावि नाराको रुपमा अघि सारेका थिए । र, यहाँले पनि स्वरोजगारका कुरालाई महत्वका साथ उठाउँनु भएको थियो । अहिले गाउँपालिकाले स्वरोजगारको कार्यक्रम सञ्चालन गरेको छ ?

स्वरोजगारको निम्ती आधुनिक कृषि, फलपूmल, पशुपालन ब्यवसायमा युवाहरुलाई केन्द्रीत गर्नेगरी अनुदानको ब्यवस्था गरेका छौं । प्रदेश सरकारले पनि स्वरोजगार योजना ल्याएको छ । स्वरोजगार कार्यक्रम संघ र प्रदेश सरकारसँग पनि माग गर्ने र गाउँपालिकाले पनि कार्यक्रम बनाएर बजेटिङ्ग गर्ने र युवाहरुको समूह बनाएर कृषि, फलफुल, तरकारी र पशुपालन ब्यवसाय सञ्चालन गर्ने उद्देश्यले कृषि क्षेत्रमा बजेट विनियोजन गरेका छौं । यस वर्ष एक समूहमा २५ जनाका दरले ४५ वटा युवा समूहहरु गाउँपालिकामा दर्ता हुन आएका छन् । गाउँपालिकाले कृषि, मौरी, फलपूmल, तरकारी र पशुपालन ब्यवासयमा ५० प्रतिशत अनुदान दिने ब्यवस्था मिलाएको छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकाले कृषि क्षेत्रको लागि कति बजेट विनियोजन गरेको छ ?

यो वर्ष प्रदेश र गाउँपालिकाको गरि कृषि क्षेत्रमा एक करोड बजेट छ ।

 रोजगार अहिले राज्यकै लागि चुनौतिको विषय छ । नेपाली युवाहरु दैनिक १ हजारदेखि १ हजार पाँच सयसम्म दैनिक बैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक छ । धेरैजसो युवाहरु विनाजानकारी, विनासूचना र बिनासीप बैदेशिक रोजगारीमा जाँदा समस्या पर्ने गरेको पाइन्छ । बैदेशिक रोजगारीमा जानेहरुलाई सुरक्षित बनाउने विषयमा गाउँपालिकाले के सोचेको छ ?

रामेछाप जिल्लाको सन्दर्भमा हिजोका दिनमा हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालमार्फत सामी परियोजनाले सुरक्षित वैदेशिक रोजगार सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएको थियो । त्यो कार्यक्रम अहिले नेपाल सरकारकै मातहतमा ल्याइएको छ । सो कार्यक्रमको सहजीकरणको लागि हामीले सामी परियोजनासँगै सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिरहेका छौं । यो कार्यक्रम रामेछाप जिल्लाको ४ वटा गाउँपालिकाहरुमा सञ्चालनमा छ । त्यस मध्ये दोरम्बा गाउँपालिका पनि एक हो । बैदेशिक रोजगारीमा जानेहरु गैरकानूनी रुपमा नजाउन भनेर उनीहरुलाई चेतना फैलाउने र सीप, तालिम दिने उद्देश्यले हामीले बजेट पनि विनियोजन गरेका छौं । दोरम्बा गाउँपालिका आर्थिक क्षेत्रमा कम्जोर गाउँपालिका हो । त्यसकारण पनि यो गाउँपालिकाबाट धेरै युवाहरु बैदेशिक रोजगारीमा गएका छन् । धेरै युवाहरु गैरकानूनी रुपमा विदेश जाने र विदेशमा समस्या, झमेलामा पर्ने गरेका छन् । त्यस्ता ब्यक्तिहरुको उद्दारको लागि हामीले गाउँपालिका स्तरमा कार्यालय स्थापना गरेर कार्यक्रम सञ्चालन गर्ने भनेका छौं । बैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोक्नको लागि गाउँपालिकाले विशेष कार्यक्रम पनि ल्याउने छ । यो भन्ने मात्र हैन यो वर्षबाट गाउँपालिकाले युवाहरुलाई विभिन्न सीपमूलक तालिमहरु दिएर आयआर्जको लागि सहयोग गर्नेछ । अहिले केही युवाहरु पुनर्निर्माणको काममा लागेका छन् । पनर्निर्माणको काम सकिएपछि मान्छेले ताक्ने भनेको त विदेश नै हो । त्यसकारण वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई रोक्नको लागि रोजगारमूलक तालिम सञ्चालन गर्नको लागि हामीले यो वर्ष ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं । र, केही वडाहरुमा तालिम सञ्चालन भइरहेको पनि छ ।

अन्तिममा भन्नै पर्ने कुरा केही छ ?

जनप्रतिनिधिहरु कोही बुझेर कुदेका छन्, कसैलाई गर भने हुत्याउनु परेको छ । कोही नबुझिकन कुदेका छन् । हामीलाई यो ठीक छ र यो गलत छ भनेर सचेत गराउने काम मिडियाको हो । मेरो आफ्नो बुझाई, मेरो लक्ष्य र गाउँपालिकाले गरिरहेको र गरेको कामको बारेमा आम जनतासामु पु¥याउन सहयोग गरिदिएकोमा धन्यवाद दिन चाहन्छु ।

प्रतिकृया

Add