Hamro-Mobile-APP

नागरिकको गुनासो सुन्न वडा–वडामा सिडिओ

 आइतवार, साउन ५, २०७६ | onlinenews

रामेछाप– रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी (पाण्डे) जिल्लाका जनताको गुनासो सुनुवाई गर्न वडाहरुमा पुगेर स्थानीय जनतासँग अन्तरक्रिया गर्दै जिल्ला दौडाह अभियानमा निस्किएकी छन् ।
नगरपालिका तथा गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरुले सेवाग्राहीलाई सेवा कसरी दिइरहेको छ, विकास निर्माणको अवस्था के छ, स्थानीय जनताले सहज रुपमा सेवा पाएका छन् कि छैनन्, जनप्रतिनिधिहरुले सेवा प्रवाहमा पक्षपात गरेका छन् कि छैनन् लगायका विषयमा वडामै पुगेर जनतासँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम सञ्चाल गरिएको छ ।
त्यसैगरी वडा कार्यालय, नगरपालिका तथा गाउँपालिका र जिल्ला प्रशासन कार्यालयसँगै जोडिएका स्थानीय जनताको गुनासोहरुको बारेमा पनि अन्तरक्रिया कार्यक्रममा छलफल गर्ने गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
रामेछाप जिल्लाको २ नगरपालिका र ६ गाउँपालिकाका ६४ वटै वडामा पुगेर प्रमुख जिल्ला अधिकारीले नागरिकका गुनासो सुन्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिए ।
जिल्लाका सबै वडामा पुगि नागरिकका गुनासो सुन्ने र समस्या समाधानको लागि पहल गर्ने तीन महिने कार्ययोजना बनाई प्रमुख जिल्ला अधिकारी गाउँ गाउँ निस्किएकी हुन् ।
सोही क्रममा शुक्रबार रामेछाप नगरपालिका–५ रामपुर पुगेर स्थानीयको गुनासो सुन्नुका साथै सुझावहरु संकलन गरेकी छिन् ।
अन्तरक्रिया कार्यक्रममा वडाअध्यक्ष भिमबहादुर तामाडले वडा कार्यालयले पारदर्शिता र सुशासन कायम गर्दे गुणस्तरीय सेवा प्रवाहको प्रयत्न गरिरहेको बताए । अध्यक्ष तामाङ वडामा प्रहरी चौकी, एम्बुलेन्स, गुणस्तरी स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्य संस्था लगायतको आवश्यकता रहेकाले त्यसका लागि समन्वय गरिदिन प्रमुख जिल्ला अधिकारी केसीलाई आग्रह गरेका थिए ।
लिखु कोरीडोर सडकले सडक निर्माण स्थानीयको खेतमा लगाउने कुलो पुरिदिएको, खानेपानी तान्नको लागि तिर्नु पर्ने विद्युतको महसुल महंगो भएको, बाल बिबाह रोक्न नसकिएको, स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन भत्ता लगायतको सुविधान नभएको अन्तरक्रिया कार्यक्रममा स्थानीयले गुनासो गरेका थिए ।
स्थानीयको गुनासो गरेको समस्या समाधानको लागि आफूले सक्नेसम्म तत्कालै पहल गर्ने बताएका छन् । विकास निर्माणको काममा गुणस्तरमा जोड दिन प्रजिअ केसीले जनप्रतिनिधिलाई आग्रह गरिन । साथै वडाबाट जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राही वडाबाट ल्याउनु पर्ने कागजपत्र अपुरो लिएर आउने गरेको भन्दै सेवाको प्रकृतिअनुसार आवश्यक पर्ने कागजपत्र र प्रक्रियाको बारेमा समेत जानकारी गराएकी थिइन ।

प्रतिकृया

Add