Hamro-Mobile-APP

गाउँपालिका अध्यक्षबाटै असुरक्षित भएको भन्दै जनप्रतिनिधि र कर्मचारी सुरक्षा खोज्दै सदरमुकाममा

 आइतवार, साउन १९, २०७६ | onlinenews

रामेछाप-  लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काबाट असुरक्षित भएको भन्दै गाउँपालिका उपाध्यक्ष, गाउँकार्यपालिका सदस्य, वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सुरक्षाको माग गर्दै सदरमुकाम मन्थली आएका छन् ।
७ वटा वडा रहेको लिखु तामाकोसी गाउँपालिकाका ६ जना वडाअध्यक्ष, गाउँपालिका उपाध्यक्ष सहित कार्यपालिका सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृत सुरक्षाको माग गर्दै सदरमुकाम झरेका हुन् । गाउँपालिकाको वडा नम्बर १ दुरागाउँमा विद्युत लाइन विस्तारको क्रममा गाउँपालिका अध्यक्षले आर्थिक अनियमितता गरेको गाउँपालिका उपाध्यक्ष सहित ६ जना वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुद्धारा संयुक्त जारी गरिएको प्रेस विज्ञाप्तिमा उल्लेख छ ।
अनियमितता रोक्न खोज्दा गाउँपालिका अध्यक्षबाट आक्रमण भएको अन्य जनप्रतिनिधिहरुको आरोप छ । गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राई, गाउँपालिका उपाध्यक्ष र कार्यपालिका सदस्यहरुमाथि आक्रण गरेको आरोप छ ।
गाउँ कार्यपालिका बैठकमा गाउँपालिका अध्यक्ष खड्काले दुरागाउँमा विद्युतीकरणको लागि थप ६ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन नगरि नयाँ बजेट पारित नुहँने अडान राख्दै आउनु भएको थियो गाउँपालिका उपाध्यक्ष दिपशीखा दाहालले भनिन् ।
विद्युतीकरणको काम एकलौटी रुपमा गाउँपालिका अध्यक्षले उपभोक्ता समितिलाई समेत थाहा निदिई विना प्रतिस्पर्धा विद्युत सामान खरिदमा अध्यक्ष आफै सम्लग्न रहेको, विद्युतिकरणको क्रममा भएका लागत विवरण समेत अध्यक्षले गुपचुप राखेपछि सो कामको अनुगमन गराई यथार्थ खर्च अनुसारको रकम विनियोजन गर्नु पर्ने भनाई राख्दा आपूmहरुमाथि आक्रमण भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष दाहालले बताइन् ।
कार्यपालिका बैठकमा निर्णय गराएर कामको अनुगमन गरि पारदर्शी रुपमा बजेट विनियोजन गरौं भन्ने प्रस्ताव राख्न साथ अध्यक्षले प्रशासकीय अधिकृत भुपेन्द्र राई र कार्यपालिका सदस्यहरुलाई कुर्सीले आक्रमण गरेपछि थप शंका उब्जिएको गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ७ का अध्यक्ष शुवास बोहोराले बताए ।
दुरागाउँ विद्युतिकरणको लागि गत आर्थिक वर्षमा २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा विभिन्न शीर्षकको बजेट रकामान्तर गरेर ५ करोड १० लाख रुपैयाँ भुक्तानी भइसकेको पनि बोहोरा जानकारी दिए । सैपुमा विद्युतिकरणको लागि विनियोजन गरिएको १ करोड ७५ लाख रुपैयाँ समेत रकामान्तर गरेर दुरागाउँमा हालिएको पनि बोहोराले बताए । ५ करोड १० लाख रुपैयाँको अनुगमन नै नगरि थप ६ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने गाउँपालिकाको अध्यक्षले प्रस्ताव ल्याएको र खर्च भएको बजेटको छनविन गरि थप बजेट विनियोजन गरौं भन्दा “मैले गरेको कामको अनुगमन गर्ने तिमीहरु को हौं” भन्दै आफूहरुमाथि आक्रम गरेको उनले बताए । दुरागाउँमा बत्ति बाल्नको लागि ७ वटै वडाहरुको बजेट हाल्न पनि आपूmहरु तयार रहेको तर काम पारदर्शी हुनु पर्ने आपूmहरुको माग रहेको बोहोराको भनाई छ ।
दुरागाउँमा गत वर्ष विद्युतिकरणमा भुक्तानी भएको ५ करोड १० लाख रुपैयाँ रकमबाट के कति रकम खर्च भयो भन्ने बारेमा आफूलाई समेत कुनै जानकारी नदिएको दुरागाउँका वडाअध्यक्ष निङ्मर तामाडले बताए ।
विज्ञप्तिमा गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल तथा वडा नं १ का अध्यक्ष निङ्मर तामाड, २ का पदमबहादुर तामाड्, ४ का लिलाबहादुर बस्नेत, ५ का सोमबहादुर तामाड्, ६ का शिवप्रसाद न्यौपाने र ७ का वडाअध्यक्ष शुवास बोहोरा तथा कार्यपालिका सदस्यहरु वृद्धिबहादुर बिक, सुशिला थापा र रजिना बुढाथोकीले हस्ताक्षर गरेका छन् ।
यसैबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले आफू गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काबाट असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा सुरक्षाको माग गर्दै निवेदन दिएका छन् ।
गाउँपालिका अध्यक्ष खड्काले दुरागाउँको विद्युतिकरणमा भुक्तानी गरिएको बजेटको अनुगमन गर्न नपाइने र थप ६ करोड ९५ लाख रुपैयाँ बजेट विनयोजन गर्नुपर्ने प्रस्ताव गरि ६ करोड ९५ लाख बजेट विनियोजन नभएसम्म नयाँ बजेट नल्याउने अडान राखेपछि आर्थिक वर्ष २०६६÷७७ को बजेट समेत पास हुन सकेको छैन ।

प्रतिकृया

Add