Hamro-Mobile-APP

दुई करोड नदिए छोरी मारिदिन्छु भनि गाउँपालिका अध्यक्षलाई धम्की दिने गुण्डा पक्राउ

 शुक्रबार, साउन २४, २०७६ | onlinenews

काठमाडौं– गाउँपालिका अध्यक्षसँग दुई करोड रुपैयाँ माग गर्दै पैसा नदिए छोरी अपहरण गरेर मारिदिन्छु भनि धम्की दिने गुण्डा नाइके लोप्साङ भनिने मिलन लामालाई काठमाडौंको स्वयम्भूबाट प्रहरीले पक्राउ गरेको छ ।
दुई करोड रुपैयाँ नदिए गाउँपालिका अध्यक्षको छोरी अपहरण गरि मारिदने धम्की दिएको अभियोगमा लामालाई प्रहरीले खोजी गरिरहेको थियो ।
स्वयम्भू स्थित विजेश्वरी हाउजिङ नजिकै मिलन भएको सूचना पाएपछि प्रहरी टोली गएको थियो । सो स्थानमा प्रहरी पुग्दा प्रहरी टोलीलाई देख्नासाथ मिलन र मिलनसँगै रहेका अमृत तामाङ भागेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको बुझिएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका मिलन लामालाई दुई गोली लागेको छ । घुडामुनी दुई गोली लागेको उनको बीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मिलनको साथमा रहेका अमृत तामाङ पनि पक्राउ परेका छन् । अमृत र मिलन दुवैजना लिखु तामाकोशी गाउँपालिकाका बासिन्दा भएको प्रहरीले जानकारी दिएको छ ।
अपराध महाशाखाका एसएसपी सहकुल थापाले दिएको जानकारी अनुसार रामेछापकै लिखु–तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कालाई मिलनको टोलीले धम्की दिएको थियो । दुई करोड रुपैयाँ नदिए ‘छोरी अपहरण गरेर गोली हानिदिने’ धम्की मिलनले बारम्बार दिएको बताइएको छ ।
पैसा नदिए अध्यक्षको छोरी अपहरण गरेर मारिदिने धम्की आएपछि खड्काले प्रहरीलाई खबर गरेका थिए । एसएसपी थापाका अनुसार ‘पक्राउ गर्न खोज्दा भागेपछि गोली हानेर उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू गुण्डागर्दी र लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add