Hamro-Mobile-APP

गाउँपालिका अध्यक्ष खड्कालाई कारबाहीको सिफारिस

 बुधबार, साउन २९, २०७६ | onlinenews

रामेछाप– लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कालाई कारबाही गर्न नेकपा लिखु तामाकोसी गाउँपालिकाले माथिल्लो कमिटीलाई सिफारिस गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी लिखु तामाकाशी गाउँपालिका समस्या समाधान समितिको यही साउन २५ गते बसेको बैठकले खड्कालाई कारबाही गर्न जिल्ला समितिमा सिफारिस गरेको बुझिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी लिखु तामाकोशी गाउँपालिका समस्या समाधान समितिको संयोजक उद्धव प्रसाद कडरियाको अध्यक्षता तथा प्रदेश नम्बर ३ का सदस्य भोजराज कडरियाको प्रमुख आतिथ्यतामा बसेको बैठकले लिखु तामाकोशी गाउँपालिका भित्र समस्या उत्पन्न हुनुको मुख्य कारण गाउँपालिका अध्यक्ष खड्का भएको निष्कर्ष निकालेको छ ।
बैठकमा लिखु तामाकोशी गाउँपालिकाबाट नेकपा जिल्ला रामेछापमा प्रतिनिधित्व गर्ने सल्लाहकार सदस्य र जिल्ला समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकमा सहभागि सम्पूर्ण सदस्यहरु अध्यक्ष खड्कालाई कारबाही गर्नुपर्ने पक्षमा एकमत भएपछि खड्कालाई कारबाहीको लागि जिल्ला समितिमा सिफारिस गरिएको नेकपा रामेछापका एक जिल्ला समिति सदस्यले बताए ।
अध्यक्ष खड्काले ऐन, कानुन, विधि, प्रक्रिया मिचेर गाउँपालिकामा गतिविधि सञ्चालन गरेको, पार्टी नेतृत्वलाई अस्वीकार गरि आपूmखसी चलेको, स्थानीय सरकार संस्थागत रुपमा सञ्चालन हुनुपर्नेमा ब्यक्तिवादी चरित्र हावि भएको बैठकको निष्कर्ष छ ।
गाउँपालिका भित्र भएका घटनामा नेकपाका जिल्ला सदस्य समेत रहेका लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्का जिम्मेवारी रहेको भन्दै उनलाई कारबाहीको लागि नेकपा जिल्ला समितिमा सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।
समस्या समाधान समितिले गरेको निर्णयअनुसार खड्कालाई कारबाहीको लागि जिल्ला समितिलाई सिफारिस गरिएको र जिल्ला समितिको बैठक ७ दिनभित्र बोलाउन पनि अनुरोध गरिएको समितिका संंयोजक उवद्ध कडरियाले जानकारी दिए । संयोजक कडरियाका अनुसार कारबाही सिफारिसको बोधार्थ नेकपा प्रदेश नम्बर ३ मा पनि पेश गरिएको छ ।
साथै गाउँपालिका अध्यक्ष खड्काले यही साउन २४ गते लिखु तामाकोशि गाउँपालिका उपाध्यक्ष दिपशिखा दाहाल र वडा न ७ का अध्यक्ष सुभास बोहरामाथि लगाएको ज्यान मार्ने धम्कीको आरोप कपोकल्पित भ्रामक आरोप भएको निष्कर्ष निकालेको छ ।
गाउँपालिका अध्यक्ष खड्काले लगाएको घटनामा गाउँपालका उपाध्यक्ष र वडा नम्बर ७ का अध्यक्षको कुनै पनि सम्लग्न नरहेकोे पाइएकाले विनाप्रमाण निर्दोष ब्यक्तिमाथि लगाएको आरोपको घटनाप्रति नेकपा लिखु तामाकोशी विवाद समाधान समितिले घोर भत्सर्ना गरेको छ, एक सदस्यले भने ।

प्रतिकृया

Add