Hamro-Mobile-APP

आज महाबडा दशैँको नवौ दिन विशेष पूजाआज गरि मनाइदै

 सोमवार, अशोज २०, २०७६ | onlinenews

आज बडा दशैको नवौं दिन दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरेर मनाइदै छ । आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नले सम्पूर्ण संसारनै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता छ ।
नवरात्रिको नवौं दिन शक्तिस्वरुपा दुर्गा भवानी (महालक्ष्मी देवी) को पूजाआजा गरिन्छ । महा अष्टमिमा झैं कतिपय ठाउँमा भने नवमीमा समेत कलपूर्जा, हातहतियारहरूको पूजा गरिन्छ । कन्याहरूको पूजा गरी भोजन पनि गराइन्छ । पूजाआजाका लागि काठमाडौँको तलेजु भवानीको मन्दिर आजको दिन सर्वसाधारणको लागि खुल्ला गरिएको छ । घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा महा नवमिका दिन देवी मन्दिर तथा अन्य शक्तिपीठहरुमा चढाउने गरिन्छ ।
आज घरघरमा विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ । महा नवमिमा दुर्गा भवानीलाई जति धेरै बली दिन सक्यो त्यति धेरै पुण्य लाभ हुने धार्मिक विश्वास छ । नवदुर्गा भवानिले असुरहरूको निर्मूल गरेको दिन महा नवमिलाई मानिन्छ ।
नवरात्रिको नवौ दिनमा सिद्धिद्धात्री देवीको पूजाआजा गरिन्छ । दुर्गा भगवतिले असुरहरु नास गर्ने क्रममा उनीहरुको सैन्य शक्ति तहसनहस बनाउँदा प्राण बचाउन असुरहरु भेष बदलेर खसी, बोका, भेडा, हाँस, कुखुराको रुप धारण गरेकाले नवमिका दिन मौलामा यी पशुको बली दिने चलन चलेको बताइन्छ । शाकाहारीहरूले भने आज कुभिन्डो, घिरौंला र मूला आदि बलिका रुपमा देवी भगवती सामु अर्पण गर्ने गर्दछन् ।
महा नवमिमा चामुण्डादेवीले रक्तबिज नामक असुरको संहार गरी देवत्व र सत्यको रक्षा गर्नु भएकोले नवमिमा कोतहरूमा हर्षबढाईं गरी कोतपूजा र निशानपूजा पनि गर्ने चलन छ । आज उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवति, भद्रकाली, शोभा भगवति, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका शक्तिपीठमा बलि चढाउनेहरुको घुइँचो लाग्ने गर्दछ । बलिको अर्थ त्याग, बलि दिनु अर्थात त्यागिदिनु भन्ने हुन्छ । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छलकपट गरी दस प्रकारका विकारको त्यागका लागि पनि महा नवमि पूजा गर्ने चलन रहेको छ ।
कामको प्रतिक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्ति स्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कार तथा दुर्भावना उत्पन्न हुने हुँदा यी सवैको अन्त्यका लागि प्रतिकात्मक रुपमा बलि पूजा गर्ने गरिएको बताइन्छ ।
नवमी

प्रतिकृया

Add