Hamro-Mobile-APP

निर्माण ब्यवसायिको लापर्बाही हुनुमा सरकार जिम्मेवार छः खड्का

 सोमवार, कार्तिक २५, २०७६ | onlinenews

२५ कार्तिक, रामेछाप- विकास तथा प्रविधि समितिको सभापति कल्याणी खड्काले निर्माण ब्यवसायिको लापर्बाही बढ्नुमा सरकार जिम्मेवार रहेको बताइन । निर्माण ब्यवसायिको लापर्बाहीको कारण विकासका कयौं योजनाहरु अलपत्र रहेको भन्दै निर्माण ब्यवसायिको लापर्बाही बढ्नुमा सरकार पनि जिम्मेवार रहेको समितिको सभापति खड्काले बताएकी हुन् ।
योजना तथा आयोजनाहरु आवश्यकता भन्दा पनि पहुँच र पावरको आधारमा सञ्चालन हुनु विकास निर्माणको क्षेत्रको बेथिति भएको बताइन । पहुँच र पावरको आधारमा योजना निर्माण गरिंदा आवश्यकता नै नभएको ठाउँमा पनि योजना जाने र आवश्यक भएको ठाउँमा योजना नै नपर्ने गरेको पनि खड्काले बताइन ।
त्यसैगरी विकास निर्माणमा अर्को बेथितिको रुपमा योजना तथा आयोजनाहरुले सरकारसँग समन्वय नगर्नु रहेको बताइन । सरकारसँग समन्वय नगरि योजना, आयोजनाहरु सञ्चालन गरिंदा योजनाहरु डुप्लिकेशन हुनगई सरकारको पैसाको दूरुपयोग भइरहेको बताइन ।
विकास निर्माणमा देखिएका यस्ताखाले बेथितिहरुलाई रोक्नको निम्ती विकास तथा प्रविधि समितिले सार्वजनिक खरिद ऐन संवोधनको लागि निर्देशन दिएको र संशोधनको प्रक्रियामा रहेको पनि जानकारी दिइन । सार्वजनिक खरिद ऐन संशोधन भएर आएपछि विकास निर्माणमा देखिएको बेथिति न्यूनकरण हुने पनि उनले बताइन ।


पूर्वतयारी विना योजना, आयोजनाहरु सञ्चालन गरिंद पनि कयौं योजनाहरु अलपत्र परेको भन्दै योजना निर्माण गर्नु पहिले छलफल गरेर ल्याउनको लागि पनि समितिले सरकारलाई निर्देशन दिइसकेको खड्काले बताइन ।
त्यसैगरी मध्य पहाडी लोकमार्गको २५ मिटरको सडक चौडाले पनि सडक निर्माणमा समस्या ल्याएको बताइन । सडकको चौडा २५ मिटरको भनिदा कतिपय सदरमुकामहरुको राम्रो जमिन सबै मासिले, कतिपय बस्तीहरु नै विस्थापित हुने र कतै सडकको चौडा नदीको बीचमा पुग्ने समस्या देखिएको बताइन । त्यसकारण कस्तो ठाउँमा सडकको चौडाई २५ मिटर लागू हुने त्यो विषयलाई सरकारले प्रष्ट पार्नुपर्ने उनको भनाई छ ।
विकास निर्माणमा देखिएको बेथितिलाई रोक्नको लागि समिति लागिरहेको र केही समय लागे पनि विकास निर्माणमा रहेको बेथितिको अन्त्य भने बताइन । प्रेस चौतारी रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा खड्काले यस्तो बताएकी हुन् । विकासका आयोजनाहरुको अनुगमनका लागि ओखलढुङ्गा जाने क्रममा विकास समितिको टोली मन्थलीमा झरेको थियो ।
सोही कार्यक्रममा विकास तथा प्रविधि समितिका सदस्य यज्ञराज सुनुवारले मध्य पहाडी लोकमार्गको रुट परिवर्तन गर्नुपर्ने बताए । मध्यपहाडी लोकमार्ग रामेछाप र ओखलढुङ्गाबासीका लागि “जुन गोरुको सिङ छैन उसको नाम तीखे र जुन गोरुको पुच्छर छैन उसको नाम फुर्के” भनेजस्तै भएको बताए ।
सडकको नाम मध्यपहाडी लोकमार्ग भनिए पनि मध्य पहाडमा पर्ने असली जिल्लाहरु रामेछाप र ओखलढुङ्गा जिल्लाको लागि अर्थहिन भएको बताए । मध्य पहाडी लोकमार्गको अर्को नामा पुष्पलाल मार्ग राखिए पनि पुष्पलालको जन्म भूमि रामेछापलाई बिर्सिए सुनकोसीको तिरैतिर लगिएको बताए ।
यदि त्यस सडकको नाम मध्यपहाडी लोकमार्ग वा पुष्पलाल मार्ग हो भने रुट परिवर्तन गर्नुपर्ने सुनुवारले बताए ।
त्यसैगरी रामेछाप प्रदेश ३ का सांसद शान्तिप्रसाद पौडेलले रामेछाप जिल्लाका विकासका योजनाहरुको पनि अनुगमन गरिदिन समितिलाई आग्रह गरे । रामेछाप जिल्लामा पनि कयौं योजनाहरु अलपत्र रहेको भन्दै सांसद पौडेलले अनुगमन गरेर, छिटो सम्पन्न हुने ब्यवस्था गरिदिन समितिलाई आग्रह गरे ।

प्रतिकृया

Add