Hamro-Mobile-APP

नेकपा मिलेर मात्रै जनता, वर्ग र राष्ट्रको सेवा गर्न सकिन्छः श्रेष्ठ

 शनिबार, बैशाख २०, २०७७ | onlinenews

कोरोना भाइरसको रोकथामका लागि रामेछाप जिल्लामा भइरहेका प्रयासहरु तथा अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको विवादको विषयमा केन्द्रीत रहेर संविधान सभा सदस्य तथा नेकपाका नेता तारानारायण श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादीत अंशः

रामेछाप जिल्लामा कोरोना भाइरस रोकथामको लागि के प्रयास भइरहेका छन् ?

क्वारेन्टाइनको कुरालाई कडाइपूर्वक लागू गर्ने । उपचारको लागि सबै पालिकाहरुमा ब्यवस्थापन गर्ने । हातमुख नै जोड्न समस्या भएका जनताहरुको ब्यवस्थापनको ग्यारेन्टी गर्ने र सतर्कता अपनाउने कुरा छ । जिल्ला प्रशासन कार्यालयमा संघीय माननीय सहित पालिका अध्यक्षहरु र प्रशासनी निकायहरु बसेर हामीले छलफल गरेका छौं । पटक–पटक मिटिङहरु बस्दै आएका छौं । आवश्यक सतर्कता सहित अगाडि बढ्ने र मुलभूत रुपमा अवार्डनेशलाई अगाडि लिएर जानुपर्छ । जसले कोरोनाबाट जनता र हामी सबै सुरक्षित रहन सक्छौ भन्ने विषयलाई केन्द्रीय गरेर दृढतापूर्वक लागू गरेर जाने कुरा भएको छ ।

लकडाउनको अवधिमा काठमाडौं लगायतका ठाउँहरुबाट मानिसहरु गाउँ आएको र यसले गाउँमा एकखालको त्रास पैदा गरेको छ भनिन्छ नि ?

त्यो कुरा सँगसंग आएको छ । गाउँका मान्छे शहर गएर बसेका थिए । ती मानिसहरु शहरमै बसिरहँदा खानपान लगायतका धेरै किसिमको असुविधा हुने, आम्दानीको पनि समस्या हुने भएकाले रामेछापका करिब १५ हजार मानिस जिल्ला फर्कनु भएको छ । गाउँमा आएका मानिसलाई सर्तक रहन र सेल्फ क्वारेन्टाइनमा बस्नको लागि आह्वान गरिएको छ । उहाँहरु आफै पनि सतर्क हुनुहन्छ । वल्लोपल्लो टोलका मानिसहरु भेला नुहन भनेका छौं । आंशिक रुपमा आफन्त भेटघाट गरेको पाइए पनि धेरै मानिसहरु सचेत भइसक्नु भएको छ । सामान्य भेटघाट चाहिँ भइरहेको छ तर मानिसहरु आफै सजक भइसकेका छन् ।

भनेपछि लकडाउनको बेला बाहिरबाट आएका मानिसहरु होम क्वारेन्टाइनमा बसेका छन् ?

पूर्ण पालना भएको छ भन्न त मिल्दैन । तर पनि गाउँमा आएका मानिसहरुले उच्च सतर्कता अवलम्बन गरेको पाइन्छ । जुन ढंगले क्वारेन्टाइनको पालना हुनुपर्ने थियो, त्यस्तो चाहिँ देखिदैन । तर मानिसहरु निकै सचेत भएको भने पाइन्छ ।

केहीदिन अघिमात्रै जिल्ला विपद् ब्यवस्थापन समितिको बैठक बसेको छ । त्यो बैठकले चाहिँ के निर्णय ग¥यो बताइदिनुस् न ?

मधेसका जिल्लाहरुमा कोरोनाको संक्रमण अलि बढि देखिएको हुनाले मधेसबाट आउने तरकारीहरुलाई वैशाख २५ गतेसम्म पूर्ण प्रतिबन्ध लगाउने । आवतजावतलाई पूर्ण प्रतिबन्ध लगाउने । अत्यावश्यक बाहेकका सवारी साधनलाई हिड्न नदिने कुरालाई कडापूर्वक लागू गर्ने । एक जिल्लाबाट अर्को जिल्लाको आवतजावतलाई पनि रोक्नुपर्छ भन्ने छलफल भएको छ । खानपिन समास्या भएको जनताहरुको लागि सम्बन्धि पालिकाको सम्बन्धित वडाले ब्यवस्थापन गर्ने कुरा भएको छ । सदरमुकामका पसलहरुको सन्दर्भमा उच्च सतर्कताका साथ बिहान ६ बजेदेखि ९ बजेसम्म खुलाउने र जनतालाई सेवा सुविधा दिने कुरा भएको छ ।

कोरोना भाइरसको कारण विकास निर्माणका कामहरु पनि रोकिएको अवस्था छ । स्थानीय तहहरुमा सञ्चालीत योजना, आयोजनाहरु सञ्चालन हुनसक्ने अवस्था छ या छैन, के छ ?

त्यो विषयमा पनि गम्भीरतापूर्वक छलफल भएको छ । ठूला परियोजनाहरुको लागि जिल्ला प्रशासन कार्यालयले सामान ल्याउन अनुमति दिने र उच्च सतर्कताका साथ काम गर्न दिने कुरा भएको छ । स्थानीय तहका साना योजनाहरुमा त्यहीका स्थानीयले सम्पन्न गर्न सक्छन् भने स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने भन्ने विषयमा कतिपय औपचारिक र कतिपय अनौपचारिक कुराहरु भएका छन् । अलि ब्यवहारिक बनेर अगाडि बढ्ने कुरामा जिल्लाको सिंगो टिम निष्कर्षमा पुगेका छौं ।

यहाँ नेकपाको नेता पनि हुनुहुन्छ, अहिले नेकपाभित्रको विवादले चरम रुप लिएको छ, खासमा यो विवाद के हो ?

हरेक जिवित पार्टीभित्र अन्तरविरोध हुनु स्वभाविक हो । अन्तरविरोध नै पार्टी जिवन हो । अन्तरविरोधलाई सही ढंगले ब्यवस्थापन गर्न सकियो भने पार्टीले एकपछि अर्को श्रेष्टता हासिल गर्दै जिवन्त रहिरहने र जनताको पक्षमा अजय किल्लाको रुपमा खडा भइरहने हुन्छ । पार्टीभित्र उठान भएको अन्तरविरोधलाई सहि ढंगले ब्यवस्थापन गर्न र विधिमा रहेर छलफललाई अगाडि बढाउन नसक्दा पार्टी  दुर्घटनातिर गएको इतिहास पनि हामीले देखेका छौं । हाम्रो नेपालको सन्दर्भमा अन्तरविरोधलाई सहि ढंगले ब्यवस्थापन गर्दा गुणात्मक उचाई हासिल गर्दै जनताको समर्थन पाएको पनि देखेका छौं । अहिले नेकपाभित्र चलेको छलफल र बहसहरु चाहिँ अहि ब्यवस्थित देखिन्न । कोहीले कस्को कोहीले कस्को पच्छुर समातेर आफ्नो पक्षलाई उच्च सम्मान दिने, मिडियामा पार्टी मर्यादा भन्दा बाहिर गएर बोलिदिने, यो कुरा त जनताले पनि मिडियाबाट सुनिरहेकै कुरा हो । तर नेकपाभित्रको अहिलेको बहस भनेको पार्टीलाई विधिमा चलाउनु पर्छ,, नीतिमा, मर्यादामा चलाउनु पर्छ, सामूहिक निर्णय गर्नुपर्छ, जनवादी केन्द्रीयतालाई पालना गर्नुपर्छ भनेर पार्टीभित्र ठूलो संख्याले उठाइरहेको स्थित छ । त्यसरि अगाडि बढ्ने कुरामा कही न कही गाँठो परिरहेको चाहिँ देखिन्छ । त्यो गाँठो पूmकाउनु आवश्यक छ । प्रचण्ड कमरेडले मान्छेलाई उचालिदिएर यस्तो भएको भनेर कतिपय साथीहरुले मिडियाहरुमा लेखाएको देखिन्छ । त्यहाँ प्रचण्ड कमरेडले मात्रै विषय बस्तु उठान गर्नु भएको छैन । पूर्व माओवादीले मात्रै यो विषय उठान गरेको हो त ? फेरि पूर्व एमालेको साथीहरुले मात्रै यो विषय उठान गरेको हो त ? दुईवटै कुरा होइन । पार्टी एकल ढंगले स्वेच्छाचारी ढंगले चल्नु हुन्न, विधिमा चलाउनु पर्छ भनेर पार्टीको स्थायी कमिटी, सचिवालय र केन्द्री समितिका नेताहरुले कुरा उठाउनु भएको छ । त्यो कुरालाई कतिपय साथीहरुले पूर्वमाओवादीले गर्दा, प्रचण्डले गर्दा भनेर मिडियामा ल्याइदिने गरेको छ । के यो बहस पूर्व माओवादीमा मात्रै केन्द्रीत भएर उठेको हो त ? माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम के उहाँहरु प्रचण्डको बहकाउमा पर्नु भएको हो त ? यो कुरा हुनसक्दैन । कामकुरा एकातिर कुम्लोबोकी ठिमीतिर भनेजस्तै जसले पार्टीलाई विधि र प्रक्रियामा चलाउनु पर्छ भन्छ, उनीहरुको विरुद्धमा कतिपय साथीहरुले अनैतिक ढंगले मिडियाकरण गर्नु त्यो राम्रो कुरा होइन । मूलभूत कुरा के हो भने पार्टीलाई विधिमा चलाउनु पर्छ, मर्यादाम चलाउनु पर्छ र अनुशासनमा राख्नु पर्छ । नीति लागू गरेर जान सकियो भने मात्रै पार्टी सतिसालको रुपमा खडा हुन्छ भन्ने कुरा संसारको अनुभवले पनि जनाउछ र नेपालकै अनुभवले पनि त्यही जनाउछ । नेपालका पार्टीहरु यहाँसम्म जसरी सञ्चालन हुँदै आयो, हरेक पार्टीको सन्दर्भमा नेतृत्व स्वेच्छाचारी, एकांकी, मनोकांक्षी र आफ्ना कुराहरुलाई मात्रै लादेर जान खोज्दा पार्टी दुर्घटना र विभाजनतिर गएको इतिहास हामीसँग छ । नेकपाको संस्कारमा राम्रोसँग सुधारिकरण आइसकेको देखिन्न । तर सुधार आउनै पर्छ । नेकपाभित्रको अहिलेको छलफल र बहस के हो भने पार्टीलाई विधि र मर्यादित बनाउनुपर्छ भन्ने ठूलो कित्ता एकातिर रहेको देखिन्छ । आदरणीय अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीप्रति विषय बस्तुहरु अलिबढी लक्षित भएर आएको, र उहाँप्रति गम्भीरतापूर्व विषय उठेको देखिन्छ । आधिकारिक रुपमा निर्णय नभई सबै कुरा हामीले तल थाहा पाउने कुरा त भएन । तर एउटा तहको जिम्मेवार कार्यकर्ता भएर सोच्दा के बुझिन्छि भने सल्लाह र छलफल गरेर अगाडि बढेमा पार्टीले क्षति ब्यहोर्नु पर्दैन भन्ने नै हो । जस्तै गुठी विधेक ल्याइयो । पार्टीभित्र होमवर्क र छलफल गरेर ल्याएको भए पछि हट्नु पर्ने थिएन । जनतालाई स्पष्ट पार्न नसक्दा आपूmलाई भोट दिएको मान्छे आफ्नै विरुद्रमा आयो । त्यहाँभित्र कतिपय राम्रा कुरा थिए र छन् पनि । तर स्पष्ट पार्न नसक्दा सरकारको विरुद्धमा जनता ओर्लिए । अहिलेको अध्यादेशकै कुरा गरौं, कतिपय राजनीतिक नियुक्तिका कुरा गरौं, पार्टीका नेताहरुले नियुक्ति दिने अनि नियुक्ति भएको साता नवित्दै आफ्नै साथीहरुले बेइमान मान्छेलाई ल्यायो भनेर मिडियामा बोलीरहेको देखिन्छ । यहाँ पूर्व एमाले र पूर्व माओवादीको कुरा होइन । कुरा क–कसले उठायो, कुरा सच्चाइबाट उठायो कि बेठिक ढंगबाट उठायो या गलत गरेको हुनाले पार्टीले कुरा उठायो कि जनताले प्रश्न उठायो भनि आत्मसमीक्षा गर्ने र आलोचनालाई सहज ढंगले ग्रहण गर्ने भन्दा पनि निषेधात्मक ढंगले अगाडी बढ्ने र मनोगत ढंगले कुरा बुझिदिदा पार्टीभित्र अस्वस्थ बहस र अस्वस्थ प्रतिपर्धा सिर्जना हुने, जसको कारण आन्तरिक एकता कम्जोर हुने र ध्रुविकरणको प्रक्रिया बलियो हुँदै जाने देखिन्छ । वास्तवमा ध्रविकरण हुन जरुरत पनि छैन । पार्टी कसैको पेवा पनि होइन । राजनीतिमा लागेका पार्टी कार्यकर्ता त्यहाँ तलब भत्ता खान्छु भनेर जाने पनि होइन, जनताको सेवा गर्न जान्छु भन्ने हो । निस्वार्थ जनताको सेवा गर्न जान्छु भन्ने मान्छे कोही पनि दाश भएर बस्दैन । सबैको स्वाभिमान र इज्जत हुन्छ । राष्ट्र र जनताको सेवा गर्छु भनेर गएको हुँनाले कसैको मनोगत कुरामा कोही पनि अट्न सक्दैन । घरपरिवार चलाउन सरसल्लाह गरेर अगाडि बढिएन भने घरपरिवार विभाजन भएको पनि त देखेका छौं । टोलटोलमा सल्लाह नहुँदा टोल विभाजन भएको पनि देखेका छौं । पार्टीलाई विधि र पदत्तीमा चलाउनु पर्छ भन्दा मेरो आलोचना भयो, साथीहरुले सहयोग गरेनन् भनेजस्तो गरि आलोचनालाई सहज ढंगले पचाउन नसकेको अवस्था छ । मिडियामा नेताहरुको भर्सन सुन्दा त्यो आभाष हुन्छ ।

माननीय ज्यू यहाँले भनेको जस्तो गाँठो परेको कुरा चाहिँ के हो त ?

भित्री कुरा त के छ मलाई पनि थाहा छैन । पार्टीको कार्यकर्ता भएर पार्टीको आधिकारी कुरा नआइकन बोल्नु हुँदैन । भित्री कुरा के हो त्यो त थाहाँ छैन तर समस्या के हो र यसको समाधान के हुन् भन्ने विषयमा केन्द्रीत भएर बहसहरु भएका छन् । नेताहरुले असरल्ल रुपमा बहसहरु बाहिर ल्याएको देखिन्छ । यो महाधिवेशनको बहस पनि होइन । महाधिवेशनको बेला पार्टीभित्र बहस हुदा पनि यसरी असरल्ल आउँदैन । अहिले त त्यो भन्दा चर्कै भएको छ । मलाई लागेको कुरा के हो भने सरकारमा रहेका नेताहरुले अलि बढी मर्यादा र विधिमा चल्नुपर्छ । नीतिगत रुपमा छलफल गर्नुपर्छ । योे कुरा पुगेन जस्तो मलाई लाग्छ । त्यसैको प्रतिकात्मक रुपमा बहसहरु बाहिर आएको जस्तो मलाई लाग्छ । भित्री कुरा त नेतृत्वमा रहेका नेता कमरेडहरुको इन्टेन्सनका कुराहरु के–के छन्, त्यो त भोलीपर्सी बाहिर आउला नै । तर मलाई लाग्ने कुरा चाहिँ के हो त भन्दा पार्टीलाई दायाँबाँया र विभक्त गर्नु हुदैन । पार्टीका हरेक तहका नेताहरुले आलोचना किन आयो त भनेर गम्भीरतापूर्वक बोध गर्न जरुरत छ । आलोचना नविग्रियोस, नभत्कियो भन्ने समर्थक र शुभचिन्तकले गर्छन् । आलोचना गर्ने भनेको आफ्नो प्रिय मान्छले नै हो । आलोचना पनि सुधारको लागि हो कि, ध्वंसात्मक र निषेधात्मक हो, त्यसमा त फरक पर्छ नै । तर रचनात्मक आलोचना चाहिँ जहाँ, विश्वास छ, माया छ, प्रेम छ त्यहाँ केन्द्रीत भएर आउँछ । रचनात्मक आलोचनालाई सबैले सकारात्मक ढंगले लिनुपर्छ जस्तो मलाई लाग्छ ।

नेताहरुको अभिब्यक्ति देख्दाखेरी त पार्टी एकता नभएको छुट्टछुट्टै पार्टी भएकोजस्तो आभाष हुन्छ नि ?

त्यस्तो छैन, यो दुई वटा पार्टीबीचको बहस होइन । स्थायी कमिटी नेताहरु र सचिवालयका नेताहरुको कुरा सुन्दा प्रष्ट हुन्छ कि यो पार्टी एकताका विषयको बहस होइन । माधव नेपाल, झलनाथ खनाल बामदेव गौतल लगायतका नेताहरुले बोलिरहनु भएको छ । उहाँहरुले के पार्टीले उचालेर बोलेको हो त मलाई त्यस्तो लाग्दैन । त्यो कुरा हुँदा पनि होइन । पार्टीलाई विधिमा चलाउनुपर्छ भन्ने बहस हो । पार्टी एकताको कारणले नै यो भाडभैलो चलेको हो त ? के हिजो कुनै पार्टीमा बहस चलेको थिएन । यो भन्दा अगाडि भाडभैलो भएर पार्टी विभाजन कसैको भएको थिएन त ? पूर्व माओवादीको पनि थियो र पूर्व एमालेको पनि थियो । नेताहरुले आफ्नो स्वार्थलाई केन्द्रमा राखेर भन्दा पनि पार्टी, जनता राष्ट्रको स्वार्थलाई केन्द्रमा राखेर जनताले दिएको अभिमतलाई सम्मान गर्नुपर्छ पहिलो कुरा । दोश्रो कुरा पार्टीभित्र बहसलाई ब्यवस्थित र मर्यादित गरे लाने कुरामा सबैले त्याग गर्नुपर्छ मैले देखेको कुरा यही हो ।

केन्द्रीय स्तरका नेताहरुले सामाजिक सञ्जाल र मिडियामा दिएको अभिब्यक्तिमा उनीहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भनेर पार्टीको नाम उच्चारण गर्ननै तयार छैनन, पूर्व एमाले र माओवादी भनिरहेका छन् । यसले पार्टी एकता भएको जस्तो त देखिएन नि ?

हो प्रश्न यही छ । कुन तहको नेताले कुन ढंगले जिम्मेवार वा गैरजिम्मेवार बनेर लेख्छ, भन्छ, प्रतिक्रिया जनाउछ । उसको क्षमताको मूल्यांकन गर्ने बेला पनि हो यो । त्यसरी लेख्न, बोल्न त पाइदैन नि । हो बहस चलेको छ तर बहसलाई संयमित ढंगले चलाउने कि बझाउने दिसाबाट लाने । ल पार्टी एकता गलत भएछ रे, पूर्व एमालेजति एक हुनुपर्छ, पूर्व माओवादी जति एक हुनुपर्छ यही हो त बहस गर्ने तरिका । यो मुखिया जिमुवाल बन्ने हैन नोकर र दाश बन्ने तरिका हो । यो पक्ष र विपक्षको बहस होइन र विषय बस्तु त्यसरी उठान भएको पनि छैन । तर केही मान्छेले त्यसरी कुरा उठाएका छन् । त्यो पार्टी एकता विरोधी हो । पार्टीलाई बलियो बनाउनेतिर हैन, विभाजन र विखण्ड गर्दै सिंगो जनताको भावनामाथि बमबाड गर्ने तरिका मात्रै हो यो । केही नेताहरुले त्यसरी बोलेको मैले देखेको छु । सुनेको छु, हेरेको पनि छु । त्यसरी बोल्ने अधिकार कसैलाई छजस्तो मलाई लाग्दैन किनभने पार्टी अहिले एउटा छ । पार्टी केही ब्यक्तिको चाहनामा एकता भएको होइन, नेताको रहरले मात्रै भएको पनि होइन, आम जनताको चाहनामा भएको हो । कसैले कसैलाई अपमान गर्ने कुरा हुन सक्दैन । त्यो भनेको सही नियतबाट आएको छलफल र बहस होइन र त्यसले ठीक ठाउँमा पनि पु¥याउदैन । केही मान्छेले त्यसो भन्दैमा पार्टी फुट्छ भन्ने कुरामा त म सयमा एक प्रतिशत पनि विश्वास गर्दिन । त्यसरी फुट्ने कुरा पनि हुँदै र फुटाउने कुरा पनि हुँदैन । पार्टी फुटाउने कुरा सोच्न पनि सकिन्छ र सोच्नु पनि हुँदैन कसैले । पार्टीभित्र यस्ता समस्या आउछन्, आइरहन्छन् । हामीले घर बिहान, दिउसो, भोली बिहान र पर्सि पनि बढार्छौ । एक पटक बढारेर घर सँधै सफा त भइरहँदैन । पार्टीभित्र पनि हरेक प्रबृत्ति र चिन्तनहरु हुन्छन्, कार्यशैलीहरु हुन्छन् ती बीचमा टकराब भइरहन्छ । त्यसलाई आवश्यकता अनुसार बैठक, मिटिङ र हरेक तहमा छलफल गरेर अन्तरसंघर्ष, आत्मआलोचना, आत्मआलोचनाको बिधि अललम्बन गरेर सुदृढिकरण गर्दै जाने कुरा हुन्छ । त्यो कुराले मात्रै ठीक ठाउँमा पु¥याउ छ र हाम्रो पद्दति त्यही हो ।

विवाद प्रधानमन्त्रीले पार्टी विघटन सम्बन्धि विधेक ल्याएपछि मात्रै सुरु भएको हो वा पहिलेदेखि नै थियो र अहिले सतहमा आएको मात्र हो, के हो ?

पार्टीभित्र अन्तरविरोध नै थिएन त भन्नु हुँदै, पार्टीमा अन्तरविरोध रहिरहन्छ । कुन स्तरको भन्ने कुरा चाहिँ फरक हो । मैले अघि नै पनि भने गुठि विधेकमा धेरै कुरा राम्रो हुदाहुँदै पनि जनतालाई स्पष्ट पार्न नसक्दा पछि हट्नु प¥यो । यो अध्यादेशको पनि आफ्ना मर्महरु थिए होलान् । थिएन भन्न मिल्दैन तर बेमौसमा आयो । हामीलाई नेताहरुले प्रशिक्षण दिंदा भनिरहनु भएको छ, चिनीया कम्युनिष्ट पार्टी किन अजय किल्लाको रुपमा रहिरहेको छ र नेपालका कम्युनिष्ट पार्टीहरु किन विभाजन र फुटतिर गइरहेका छन् । हामीले चिनीया कम्युनिष्ट पार्टीबाट सिक्नु पर्छ । राम्रो कुरा काँग्रेसबाट सिके पनि हुन्छ, चिनबाट सिके पनि हुन्छ र अमेरिकाबाट सिके पनि हुन्छ । राम्रो कुरा सिक्नलाई अन्यथा मान्नु पर्दैन । चिनीया कम्युनिष्ट पार्टी किन अजय किल्लाको रुपमा छ त भन्दा त्यहाँ विधि, पद्दती र अनुशासनमा पार्टी चलेको छ । पहिलो कुरा पार्टीलाई विधिमा चलाउने, दोश्रो कुरा पार्टीको अधिनस्तमा सत्ता रहने, तेश्रो कुरा सत्ता र पार्टीको सम्बन्धलाई स्पष्ट गरेर जाने । चौथो कुरा भनेको अनुशासनलाई सबैले आत्मसात गरेर जाने । जसले अनुशासनको उल्लंघन गर्छ त्यसलाई दण्ड सजाय गर्ने र अनशासन पालना गर्नेलाई पुरस्कृत गर्दै अगाडि लिएर जाने चिनीया कम्युनिष्ट पार्टीको मोडालिटी छ । नेताहरुले प्रशिक्ष दिंदा हामीलाई चिनीया कम्युनिष्ट पार्टीको मोडालिटीको बारेमा सिकाउने अनि बहसलाई चाहिँ बेथितिको ढंगले अगाडि बढाउनाले यो स्थिति पैदा भएको हो । २० गते पार्टी सचिवालयको बैठक बस्दै छ । त्यो बैठकले पार्टी एकताबद्ध ढंगले अगाडि बढाउने निष्कर्ष निकाल्छ भन्नेमा म विश्वस्त छु ।

यहाँले भनेको जस्तो बहस त सैदान्तिक रुपमा हुनुपर्ने हो तर अहिले त भागबण्डाको किचलो जस्तो देखियो नि ?

यो सैदान्तिक बहस गर्ने बेला पनि होइन । सैदान्तिक बहस हुनको लागि त महाधिवेशन हुनुप¥यो, सम्मेलन हुनुप¥यो । त्यो बेलामा पो बहस गर्ने त । मिडियामा यस्तोसम्म कुरा आएको छ कि आपूm–आपूm एक हुनुपर्छ । एक त हिजो पनि थिदैथियो नि । त्यही एक भएर हिजो अर्काले दिएको भाग खाएर बस्नु परेको होइन । जनताले वामपन्थलीलाई ६३ प्रतिशत मत दिइरहने, अनि काँग्रेसले छुट्याएको भाग खाएर बस्नु पर्ने । कहिले एमालेलाई नजिक पारेर, कहिले माओवादीलाई नजिक पारेर, कहिले राप्रपालाई नजिक पारेर काँग्रेसले दिएको भाग थापेर खाएको हैन कम्युनिष्ट पार्टीले छुट्टाभिन्न रहँदा । अहिले पार्टी एक भएको छ । दम्भ र घमण्ड कसैले नगरोस, हिजोका दुई वटै पार्टीका गौरवपूर्ण इतिहास छ । नेताहरुको ठूला–ठूला त्याग छ, जेलनेल भोगेर आउनु भएको छ । हजारौं मानिसले रगत बगाएका छन् । पसिना र आँशू बगाएका छन् । अहिले पनि हजारौं मान्छेहरु अंगभङ्ग अवस्थामा छन् । त्यही जगमा कम्युनिष्ट पार्टी यहाँसम्म खडा भएको छ । दुई वटा पार्टी एक हुँदा मात्रै अहिले यो तागत पैदा भएको हो । भिन्न हुँदा हिजो अर्काले छुट्याएको जुठोपुरो कसरी खाएर बस्नु परेको थियो, त्यो पनि इतिहासमा साक्षी छ । हामीले त्यो पनि भुल्नु हुदैन । टुटफुट र विखण्ड गरेर केही मान्छेलाई मजा आउला, त्यही मजा आएरै बोलेका होलान् केही नेताहरुले बोलिरहेको सुनेका छौं । यो अवस्थमा पार्टीलाई जसरी पनि ब्यवस्थित बनाउनुपर्छ । अहिले नयाँ राजनीतिक प्रणाली आएको छ । नयाँ राजनीतिक प्रणालीभित्र स्थायी सरकार भनिएको छ । बुर्जुवा प्रणालीको स्थायी सरकार भएर मात्रै पनि हुँदैन । हामीले समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य बोकेर पार्टी एक भएर अगाडि बढेको सन्दर्भमा स्थायी भनेर बुर्जुवा प्रणालीमै रहेर स्थायी हुन सक्दैन । समृद्ध, अग्रगामी र सामाजिक न्याय सहितको नयाँ राजनीतिक प्रणालीलाई समृद्ध र विकशीत गर्दै अग्रगामी कदम चाल्दै अगाडि जानु पर्दछ । मान्छेले पार्टीलाई भ्रष्टाचारको ठूलो आरोप लगाएको छ, त्यो देखिन्छ । अहिले जति भोट आएको छ नेताले मैले माथि बोलिदिएर भोट आएको भनेर बुझ्नु पनि हुँदैन । जनताले खेतला गइगई भोट मागेर पार्टीलाई ठूलो बनाएको छ । दम्भ र घमण्ड सबैले त्याग्नु पर्छ र पार्टीलाई बलियो र एकतावद्ध गरेर लैजाने कुरामा सबैले सहयोग गर्नुपर्छ ।

अहिले नयाँ चुनाव गरेर संसद भंग गर्ने कुराहरु पनि उठिरहेको छ अहिले यो कुरा सम्भव छ ?

यो कुरा नबुझ्ने मानिसहरुले भनिरहेका छन् । टाप लगाएको घोडा जस्तो, पहिले संविधानमा के थियो, अन्तरिम संविधानमा के थियो, अहिले बनेको नयाँ संविधानमा के छ भन्ने कुरा नबुझ्नेहरुले भनिरहेका छन् । केही मान्छेहरुले अड्कलबाजी के गरिरहेका छन् भने प्रधानमन्त्रीले संसद भंग गरेर नयाँ चुनावमा जान्छ । अहिले नयाँ चुनावमा जानसक्ने अवस्था नै छैन । किनभने अहिलेको संविधानमा भिन्न तरिकाले ब्याख्या गरिएको छ । त्यो ब्याख्या भनेको के हो भने पहिलो कुरा स्पष्ट बहुमत ल्याएको पार्टीले सरकार गठन गर्ने । कुनै दलको बुहमत आएन भने बहुमत पु¥याएर राष्ट्रपति समक्ष लाने । दुई वा सो भन्दा बढी दल मिलेर पनि स्पष्ट बहुमत पु¥याउन सकेन भने संसदमा सबैभन्दा बढी मत ल्याउने दलले एकल सरकार गठन गर्न जाने । एकल सरकार गठन गरिसकेपछि निश्चित समयावधिभित्र उसले स्पष्ट बहुमत सिद्ध गर्न सकेन भने मात्रै प्रधानमन्त्रीले संसद विघटन गरेर अर्को चुनावमा जानसक्ने ब्यवस्था छ । मलाई अर्को चुनावमा जान्छ भन्ने त लाग्दैलाग्दैन । दुई तिहाइको नजिकमा आफ्नै पार्टीभित्र बहुमत छ । केपी ओली जस्तो जिवनभर दुःख गरेर आएको, पार्टीलाई हुर्काएको परिपक्को मान्छेले त्यस्तो गर्नुहुन्छ भन्ने त मलाई लाग्दैन । अब मान्छेहरुले तर्क त गरिरहेका छन् । तर्कहरु यथार्थमा परिणत हुँदैन भन्न त सकिदैन तर अहिलेको संविधानले त्यसरी जाने अधिकार दिएको छैन ।

प्रधानमन्त्रीको सचिवालयले वामदेव गौतमलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई तेश्रो अध्यक्ष बनाएर जाने भन्ने प्रस्ताव पेश गरेको छ नि के यो कुरा चाहिँ सम्भव हुन्छ ?

अध्यक्षले विषय बस्तु राख्नु भएको भन्ने कुरा मिडियामा मैले पनि सुनेको छु । यो कुराले मात्रै समस्याको हल गर्छ भन्ने मलाई लाग्दैन । दुई जना अध्यक्ष हुँदाहुँदै माधव नेपालले तेश्रो अध्यक्ष लिनुहुन्छ जस्तो पनि मलाई लाग्दैन । बामदेव गौतमलाई उपचुनाव गराएर निर्वाचित गरेर प्रधानमन्त्री बनाउँछ जस्तो पनि मलाई लाग्दैन, यो मेरो निजी विचार हो । यस्तो प्रस्ताव प्रधानमन्त्रीले राख्नुभयो भन्ने विश्वास त मलाई लाग्दैन तर मिडियामा बाक्लै आएको हुनाले हुन पनि सक्छ । तर प्राविधिक कुराले समस्या समाधान हुँदैन । त्यो तरिकाले समास्या समाधान हुन्छ भने पनि स्थायी कमिटीको कुरा हो । हाम्रो ल्याकत भन्दा माथिको कुरा हो । त्यो भयो नै भने पनि हामीले अचम्म मान्नुपर्ने हुँदैन तर मूल कुरा पद दिएर, गर्जो दिएर पार्टीभित्र समस्याको समाधान खोजेर दीर्घकालीन रुपमा पार्टी बलियो हुँदैन । आज तेश्रो अध्यक्ष बनाउने, अनि भोला चौथो पाँचौ हुँदै १० औ अध्यक्ष बनाउने कुरा हुन्छ त ? यसरी पार्टी बलियो हुँदैन । ९ करोड पार्टी सदस्य भएको चिनीया कम्युनिष्ट पार्टीको चाहिँ ९ जनाले पार्टी हाक्न सक्ने अनि हाम्रो त दुई जना अध्यक्ष त अहिले नै हुनुहुन्छ । तैपनि मैले हुनैसक्दै भन्ने कुरा त हुँदैन । तर यो ढंगले कुरा उठान भएको हो भन्ने मलाई लाग्दैन । मूल नेतृत्वमा दुई जना अध्यक्षहरु हुनुहुन्छ । दुई जना अध्यक्षहरु मध्य पनि सरकारमा रहेका अध्यक्षले अलि बढी पार्टीलाई विधिमा लान खोज्ने, पद्दतिमा लान खोज्ने, पार्टीभित्र छलफल गर्ने र सामूहिक धारणा बनाएर हरेक ठाउँमा पाइला चाल्नु पर्छ । त्यसो गर्दा मात्रै पार्टी बलियो हुन्छ र बलियो पार्नुपर्छ भन्ने कोणबाट बहस भएको हो भन्ने मलाई लाग्छ ।

अब नेकपाको भविष्य के हो त ?

नेकपाको भविष्य राम्रो छ, सुन्दर छ । पार्टीभित्र जति ठूलो संघर्षहरु हुन्छन्, पार्टीलाई विधिमा ढालेर लिएर गयो भने त्यतिनै पार्टीभित्र ठूलो उपलब्धि हुन्छ । यो चुनौतीलाई अवसरको रुपमा बदल्नु पर्छ । नेकपा एउटा सम्भावना नै सम्भावना बोकेको पार्टी हो । नेकपा ठूलो त्याग गरेर आउनु भएका नेताहरुको पार्टी हो । यहाँभित्र धेरै फुटको अनुभव पनि छ, जुटको अनुभव पनि छ । जुटले पार्टीलाई दुईतिहाइको नजिक पु¥यायो । फुटले हिजो हामीलाई कहाँ पु¥याएको थियो । पूर्व एमालेको फुटले कहाँ पु¥याएको थियो । पूर्व माओवादीको फुटले कहाँ पु¥याएको थियो । जनताले मत दिएर ठूलो बनाउदा पनि थेगिनसक्नु र उफर्मौलो हुने अनि मत नदिदा पनि पुर्पुरोमा हात राखेर पार्टीलाई कहिले जनताको सागरमा एकीकृत र केन्द्रीकृत गर्न सकिन्छ भनेर सँधै लागि रहने । नेतृत्वले पार्टीलाई ब्यवस्थित ढंगले लान सकेन भने पार्टीमा ठूलो क्षति हुन्छ । गलत प्रबृत्ति हावि भयो भने धेरै राजनीतिक कार्यकर्ताहरुले निराश भएर हात झिक्ने छन् । मलाई लाग्छ पार्टीका नेताहरु जिम्मेवार हुनुहुन्छ । म भित्रैदेखि विश्वस्त छु पार्टी एकताबद्ध हुन्छ । पार्टी मिल्नु र एकतावद्ध हुनुको विकल्प छैन । मिलेर र एकताबद्ध भएर मात्रै नेपाली जनता, वर्ग, कम्युनिष्ट आन्दोलन र राष्ट्रको सेवा गर्न सकिन्छ । दाँया र बाँया कोणबाट अगाडि बढ्दा हिजो कस्तो भयो, इतिहासबाट पाठ सिक्नुपर्छ । नेताहरुले पाठ सिकिसक्नु भएको छ । त्यसकारण पार्टी एकतावद्ध भएर अगाडि जान्छ र जानुपर्छ, हामी त्यही पक्षमा छौं । अन्तरविरोधहरु उठान भइसकेपछि यसलाई संगेलेर विधिमा रहेर विचारको विकास गरेर जानुपर्छ । यसरी जाने कुराले मात्रै सिंगो जनाता, कार्यकर्ता र शुभचिन्तकको भवनाको कदर गरेको ठहरिन्छ । यदि त्यो हुन सकेन भने सबैभन्दा बढी तिरस्कृत र अपमानित नेताहरु नै हुनपर्छ । नेताहरु इतिहासमा नामै नलेखिने गरि नामेट हुन पनि सक्छन् । त्यसैले विचारको विकास गरेर अगाडि बढुनु पर्छ । पार्टी संगठनलाई विधिमा चलाउनु पर्छ । पार्टी एकढिक्का भएर अगाडि बढ्ने कुरामा म विश्वस्त छु ।

प्रतिकृया

Add