गाउँको ब्यथा

 सोमवार, साउन १२, २०७७ | onlinenews

डा.सुमन कर्माचार्य


रामेछाप जिल्लाको नामाडी गाउँबाट तामाकोशी अस्पताल आइपुग्न कच्ची बाटो डेढ घण्टासम्म लाग्दछ । नामाडीकी एक गर्भवती महिलाले स्वास्थ्य चौकीमा गर्भ जाँच गराइन । उनलाइ बच्चा कम चलेको जस्तो लागेको थियो । अनमीले जाँच गरिन् । मुटुको धडकन नभेटिएको बताइन । उनको बिचारमा अल्ट्रासाउण्डको जरुरी थियो । उनले तामाकोशी अस्पतालमा पठाइन । कोरोनाका लकडाउनका कारण यातायात सजिलो थिएन । मोटर खोज्नु भयो । एउटा टाटासुमो फेला पर्यो । यसको भाडा रु ६००० थियो । रु ५०० को अल्ट्रासाउण्डका लागि उनी अव खाना सहित ७००० जति खर्च गर्ने स्थितिमा पुगिन् ।
यो घटना एक प्रतिनिधि घटना हो । हामीले जति स्वर सुक्ने गरि र कलमको मसि सकिने गरि राहतका कार्यक्रम सर्वसुलभ छ भनेर घोषणा गरेपनि ती सब सतही हावामा उडिरहेका छन् र वास्तविक राहत पाउन पर्ने जनताहरु यसबाट बञ्चित छन् ।
यसले धेरै प्रश्नहरु जन्मायो । एउटा महिला आफ्नो गर्भमा भएको भ्रुणलाई जाँच गराउन चाहन्छिन् । नेपालको संबिधान र राज्य भन्छ, आधारभूत स्वास्थ्य सेवाहरु घर आँगनमा पुर्याइन्छ र निःशूल्क प्रदान गरिनेछ ।
तर ती महिलाको परिवारले कसरी यो खर्च धान्न सक्छ ? मैले उनको आर्थिक अवस्थाका बारेमा कुरा गर्दा थाहा लाग्यो कि उनीहरुको खेतीको कमाइले ६ महिना पनि खान पुग्दैन । अरुको मजदुरी गरेर खानुपर्छ । मजदुरी गर्न बाहिर जान सकेका छैनन् । गाउँमा साधारण पर्म जस्तो काम बाहेक अर्को काम पाइदैन । अब यो परिवारले यो खर्चलाइ कसरी धान्नेछ? यो गम्भिर प्रश्न हो ।
महिलाको गर्भमा भ्रुण आउनासाथ त्यस भ्रुणको उचित विकासका लागि पालनपोषण राज्यको दायित्व भित्र पर्दछ । त्यो भ्रुणलाई देशको असल नागरिकका रुपमा विकास गर्न हरसम्भव आमा र भ्रुणको स्वास्थ्यका लागि राज्यले लगानी गर्नुपर्दछ । राज्य ती दुई ज्यानहरुका अभिभावक हो । अझ यी गरिबीका रेखामुनिका जनताहरु त राज्यको प्रत्यक्ष दृष्टिमा पर्नुपर्दछ । तर ती महिलाका परिवार जस्तै कति परिवारहरु होलान जसले यी दुःखहरु दिनैपिच्छे भोग्दै रहनेछन् ? के ती राहतका थैलाहरुमा यस्ता नागरिकहरुका दर्दहरु पनि अटाएका छन् ?
हामी स्वास्थ्य क्षेत्रमा लाग्ने स्वास्थ्य सेवकहरु पनि यस्ता कुराहरुमा अलि गम्भिर हुन जरुरी देखिन्छ । ती महिलाको जाँच हुदा भ्रुणको मुटुको धडकन थाहा नपाइएको भनिएको थियो । फिटोस्कोपमात्र प्रयोेग गरिदा कहिलेकाही यो पत्ता नलाग्न सक्छ । यसका लागि स्वचालित भ्रुणको मुटु जाँच गर्ने मेशिन पाइन्छ, त्यस्ता मेशिनहरुको प्रयोग गरेर आफ्नो स्वास्थ्य संस्थामा राख्न जरुरी छ र सकेसम्म त्यसता महिलाहरुलाई सहायता पुर्याउनु पर्दछ । यो मेशिन गाउँमा बोकेर हिडन पनि सजिलो छ ।
हामी स्वास्थ्यकर्मीहरुले कुनै बिरामीहरुको समस्याका गम्भिरतालाई हलुको ढंगले सोच्नु हुन्न । हामीले राम्रो जाँचबुझपछि मात्र निर्णय गर्नु उत्तम हुन्छ । हाम्रो सानो निर्णयले बिरामीहरुको समय, पैसा र जिवनमा नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ । आफ्नो अध्ययन, ज्ञान, जानकारी र सीप भन्दा बाहिरका कुराहरु जसमा आपूmलाई यकिन छैन, त्यस्ता कुराहरुमा अध्ययन गरेर या आपूm भन्दा जान्ने डाक्टर र स्वास्थ्यकर्मीहरुसँग सोधपुछ गर्दा सानो भइदैन । बरु आफ्नो दिमाग पनि बढछ र बिरामीले सही सल्लाह पाउँछन् ।
नजानेका कुराहरु मलाइ आउदैन भन्न हिच्किचाउनु हुदैन । सबै कुरा सबै बेला सबैलाई थाहा हुन्न भन्ने ध्रुबसत्य कुरालाई मनन गर्नु नै बेश हुन्छ । आफ्नो जानकारी, पढाइ र सीप बाहिरका कुराहरु बारे सबै जानकारी भएजस्तो गरि नाटक गरिएमा भविष्यमा दुर्घटना निम्तने डर रहन्छ । यस्ता नाटकहरुमा चाहिने भन्दा बढी जाँच पडताल गर्न लगाएर बिरामीको गोजी टकटकयाउने परम्परा पनि पर्दछन् । यो धेरै खतरनाक सिद्ध हुन्छ ।
भएभरका जाँच पडताल पनि लेख्ने अनि त्यस जाँचमा कुनै रोग नदेखिदा पनि परामर्श बिना झोलाभरि औषधी बोकाएर पठाएर औषधीहरुबाट अनावश्यक नचाहिने असरहरु बढाइदिने कर्म पनि पाप कर्म नै ठहरिन्छ । अझ यसमा अनावश्यक महगां एन्टिबायोटिक्सहरुको प्रयोग त बिरामी, आफन्त, समाज, गाउँ, स्वास्थ्यकर्मी, र संसारको वातावरणका लागि नै प्रत्युपादक सिद्ध हुन्छ । त्यसैले रोग र औषधी बारे कम ज्ञान भएका बिरामी र उनका आफन्तहरुबाट उनीहरुको अज्ञानताको फाइदा उठाएर अनुचित दोहन पनि तर्कसंगत हुदैन र पापको भारी नै बोकिनेछ ।
कुनै एक बिशेषज्ञतासँग त्यही बिषयको बिशेषज्ञता रहन्छ र अरु बिषयहरुमा सामान्य ज्ञान हुन्छ । बिशेषज्ञतामा दख्खल राख्न पनि मेडिकल काउन्सिलको तत् बिषयको प्रमाणपत्र हात लागि सकेपछि पनि त्यस बिषयका धेरै बर्ष काम गरिसकेका बिशेषज्ञ चिकित्सकहरु सँगसंगै काम गर्दै केही बर्षको कठोर मेहनतको जरुरी हुन्छ । एकै ब्यक्तिसँग धेरै बिषयको बिशेषज्ञताको चाहना राख्नु हुदैन । धेरै बिशेषज्ञता एकै ब्यक्तिबाट पाउन सेवाग्राही र सेवाप्रदायकमा इच्छा छ भने यो दुबैको मनबाट हटाउनु नै उत्तम हुन्छ । नभए दुर्घटनामा परिन सक्छ ।
स्वास्थ्य संस्थामा आएका र आर्थिक रुपमा या कुनै कारणले आकस्मिक सहयोग चाहिने बिरामीहरु, उसका आफन्त र स्वास्थ्य संस्थाहरुले राज्यको आपतकालिन र बिपद ब्यबस्थापनका समितिहरुमा सिधै सम्पर्क गर्न सकिने हटलाइन टेलिफोनहरुको बन्दोबस्त गर्न सके कसो होला ? राहत र बिपद ब्यबस्थापनका सामग्री र समिति एकातिर र आपत र बिपदमा पर्ने ब्यक्तिहरु अस्पतालको शै्ययामा भएर बिरामीहरुले समयमा नै सेवा नपाउनु भनेको सुबिधा नपाउनु बराबर नै हो । यदि स्वास्थ्यका कारणले आपद र बिपदमा परेकाहरुलाई तुरुन्त सहायता गर्ने हटलाइन र टोलीहरुको ब्यबस्था छ भने पनि सबै स्वास्थ्य संस्थाहरु, सेवाप्रदायक र सेवाग्राहीहरुलाई जानकारी हुनु पहिलो आवश्यकता हो ।
गाउँका प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुको क्षमता भनेको आकस्मिक घटनाबाट ज्यान जोखिममा रहेका बिरामीहरुको भेटिएको अवस्थामा भन्दा अवस्था बिग्रन नदिए सकेसम्म चाँडो सो बिषयका बिशेषज्ञसम्म पुर्याउन सहायता गर्ने हो । यसका लागि आकस्मिक उपचारमा दख्खल राख्ने स्वास्थ्यकर्मीहरुको जरुरी त छ नै यो सँगसंगै तुरुन्त बिशेषज्ञ अस्पतालहरुमा पुर्याउन एम्वुलेन्स हेलिकोप्टर र एम्बुलेन्स गाडीहरुको उतिकै भुमिका रहन्छ ।
नागरिकहरुका स्वास्थ्य समस्याहरुलाई घटाउन अस्पतालका पसलहरु र दरबन्दि भरिएर मात्र पर्याप्त हुदैन । ती पसलहरुमा चाहिने जति औषधीहरु, उपकरणहरु, उपकरणहरुलाई चलाउन सक्ने स्वास्थ्यकर्मीहरु, स्वास्थ्यकर्मीहरुको सौहाद्र ब्यबहार, आफ्नो ड्यूटी समयमा मन लगाएर नागरिकहरुलाई सहायता गर्न इच्छुक स्वास्थ्यकर्मीहरु र संलग्न ब्यक्तिहरु, उपकरणहरुको बेलाबेलामा मर्मत र रेखदेख, खरावी देखिनासाथ बायोमेडिकल इन्जिनियरहरुको सहायता, इत्यादि धेरै कुराहरु गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न अति आवश्यक तत्वहरु हुन् । यी सबैको प्रबन्ध र सबैको सहयोगी सकारात्मक धारणा पहिलो आवश्यकता हो ।
समग्रमा भन्दा हरेक मानिसहरुका ब्यथाहरुलाइ आत्मासात गरेर यसलाइ घटाउन चुनौतीपूर्ण हुन्छ । तर यदि यसलाइ घटाउन सक्ने क्षमता भएकाहरुले सकारात्मक सोचका साथ सहायता पुर्याए मात्रै पनि समाजका र गाउँका ब्यथाहरु क्रमशः कम गर्दै जान सकिन्छ । यस तर्फ सबैको ध्यान जान जरुरी छ ।
(लेखकः जनरल फिजिसियन तथा स्वास्थ्य सेवा ब्यबस्थापन बिशेषज्ञ हुनुहुन्छ ।)

skarma_2005@yahoo.com

प्रतिकृया

Add