Hamro-Mobile-APP

गाउँको अस्पतालको स्वनिर्भरता

 आइतवार, भदौ ७, २०७७ | onlinenews

डा.सुमन कर्माचार्य


झण्डै चार दशकको इतिहास बोकेको तामाकोशी सेवा समिति (तासेस) ले सामुदायिक विकासका कामहरु गर्दा स्वास्थ्य सेवालाई प्रमुख कार्यक्रमको रुपमा राखेको थियो । गाउँ गाउँमा हरेक महिना स्वास्थ्य र बचतका टोलीहरु पठाएर प्रजनन स्वास्थ्य, गर्भवती जाँच, आइरन र जुगाको औषधी वितरण, परिवार नियोजनको साधन वितरण, प्राथमिक उपचार सेवा गाउँ गाउँको टोल टोलमा १२० भन्दा बढी स्थानहरुमा पुर्याउदै आएको थियो । महिला र बच्चाहरुको मृत्युदर ज्यादै भएको अवस्थामा यो सेवा अपर्याप्त थियो । सबै स्थानहरुबाट जिल्लाका स्वास्थ्य केन्द्रहरुमा पुग्न पैदल हिडनु पर्दथ्यो । कति गर्भवती र बच्चाहरु बाटोमा नै मृत्यु बरण गर्नु पर्दथ्यो ।
त्यो सताब्दीमा मानिस चन्द्रमामा पाइला हालिसकेका थिए तर हामी आधारभूत स्वास्थ्य सेवा पुर्याउन नसकेर आमा र बच्चाहरुको मृत्यु टुलुटुलु हेर्नुपर्ने धेरै दर्दनाक अवस्थामा थियौं । जसले काम गर्ने उर्जा प्रदान गर्दथ्यो ।
यसका लागि कुनै उपायको जरुरी थियो । यसका लागि गाउँमै उपलब्ध र काम गरिरहेका गैरसरकारी संस्थाहरु र बचत संस्थाहरुको अगुवाइमा तासेसले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराएर आमा र बच्चाहरु केन्द्रीत स्वास्थ्य केन्द्रहरु बि.सं २०५७ पछि स्थापना गरियो । झण्डै ३ घण्टा हिडनु पर्ने दुरीमा १२ वटा जति केन्द्रहरु एक अनमी र एक उनको सहायक राखेर स्थापना भयो । ब्यबस्थापनका सम्पूर्ण कार्यभर स्थानीय संस्थाले नै जिम्मा लियो । तत्कालिन समयको राजनीतिक अवस्थाले ती स्वास्थ्य केन्द्रहरु चलिराख्न असम्भव जस्तै भयो । ती सबैको कार्यभार अन्ततः मन्थलीमा रहेको सानो स्वास्थ्य चौकीले बोक्नु पर्ने भयो ।
यो हाम्रो बाध्यता थियो, गाउँमा अस्पताल चलाउने धृष्टता गर्ने । गाउँमा स्वास्थ्यका जागरण फैलिरहेको थियो । ग्रामिण जनताहरु भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाका खोजीमा थिए । उनीहरुको आकांक्षा अनुसार सरकारी स्वास्थ्य संस्थाहरुको बिकास भएको थिएन । हामी जनताहरुको सन्निकट भएर सामुदायिक बिकासका कामहरु गरिरहेका थियौं, उनीहरुको आकांक्षा बुझ्दथ्यौ तर भनेजति श्रोत र पैसा हामीसँग थिएन । यदि बि.सं २०५७ मा तासेसका संस्थापक र संरक्षक जगदीश घिमिरे वल्र्ड नेवर्स यु एसको दक्षिण एशियाका प्रतिनिधि नहुनु भएको भए सायद हामीलाई मन्थलीमा अस्पताल बनाउन श्रोतको अझै अभाव हुन्थ्यो होला ।
ती १२ स्वास्थ्य केन्द्रहरुमा काम गर्ने अनमी र अहेवहरु तासेसको स्वास्थ्य केन्द्र मन्थलीमा झिकाइयो । तर गाउँको समस्या जियुका का तिउ रहयो । हिलेदबीदेखि पोल्टामा कोदोको रोटी बोकेर महिलाहरु एउटा डिपो सुई लाउन डेढ दिन हिडेर मन्थली आइपुग्नु हुन्थ्यो । यस्ता कथाहरुको फेहरिस्त अर्कै छ । जो जति लेखेर पनि सकिन्न ।
तामाकोशी सेवा समितिको प्राथमिक स्वास्थ्य सेवा केन्द्र अस्तित्वमा बि.सं २०५७ सालमा हालको नयाँ भवन बनेपछि आएको हो । जसमा ६ बेडहरु र केही जाँचबुझ गर्ने उपकरणहरु थिए । त्यसअघि जगदीश घिमिरेको घरको कोठाको सानो बाकसको औषधीबाट तामाकोशी अस्पताल प्रारम्भ भएको कथा संस्थापक मध्येका एक ध्रुवप्रसाद सुबेदी बताइरहनु हुन्छ । तामाकोशी अस्पताल हाल अस्पताल भएकै अगाडि भुइतले कच्ची घरमा स्वास्थ्य चौकीको रुपमा सञ्चालित हँुदै तासेसको प्राथमिक स्वास्थ्य केन्द्रको रुपबाट बि.सं २०६३ सालमा तामाकोशी अस्पतालको रुपमा बिकसित भएको छ ।
हालको भवनमा ६ वटा बेडहरुबाट संचालित भइरहदा बि.सं २०६० सम्ममा गाउँहरुका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु मन्थलीमा आइसकेका थिए । मन्थलीमा स्वास्थ्य सेवाका मागहरु बढिरहेका थिए, तर दाताहरुले अस्पताल चलाउन पैसा दिदैन थिए । गाउँमा काम गर्न जाने स्वास्थ्यकर्मीहरु आलोपालो बसेर अस्पताललाई पनि स्वास्थ्यकर्मी पुर्याइन्थ्यो । तर मेसिनहरु किन्न, चिकित्सकलाई पैसा कहाबाट ल्याउने त्यो ठूलो संकट थियो ।
संयोग नै भन्नुपर्छ, मन्थली बचत तथा ऋण सहकारी संस्थाको स्थापना बि.सं २०५४ मा भएको थियो । यसले करिव ३ हजार सदस्यहरु माझ आर्थिक कारोवार गरिरहेको थियो । अस्पताललाई सघाउन इच्छा ब्यक्त गर्यो । तासेसको निःशूल्क भवनमा मन्थली बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोग सुनमा सुगन्ध थियो, ठूलो अवसर थियो । अस्पतालको रुप लिनलाई ।
भिडियो एक्सरे, एक्सरे मेशिन, भाइटल मोनिटर र इसिजी जस्ता मेशिनहरु सर्वप्रथम मन्थली बचत तथा ऋण सहकारी संस्थाले खरिद गरिदियो । यसबापत बचतका सदस्यहरुलाई सेवा शूल्कमा केही प्रतिशत छुट प्रदान गरियो । यति हुँदा पनि दुई रुपैयाँ र पाँच रुपैयाँ टिकट शूल्क राखेर गाउँको अस्पताल सञ्चालन गरि स्वनिर्भर हुन खोज्नु भनेको फलामको चिउरा चपाए बराबर नै थियो । तैपनि बि.सं २०६३ मा यसले तामाकोशी सहकारी अस्पतालको रुप लियो । यहासम्म आइपुग्दा तासेस, मन्थली साकोसको सम्पूर्ण सहयोग र केही पैसा अस्पताल आफै कमाउदै रामेछाप जिल्लामा स्वास्थ्य समस्याहरुको गम्भिरता हेर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तल्लिन रहिरहयो । बि.सं २०६८ सम्म आइपुग्दा पनि मन्थली साकोसले बर्षेनी ३० लाख हाराहारी आर्थिक अनुदान प्रदान गर्दथ्यो । त्यही समयमा नै मन्थली साकोसका झण्डै १३ हजार सदस्यहरुको स्वास्थ्य बिमा कार्यक्रम सुरु भइसकेको थियो ।
बि.सं २०६३ छेक मन्थलीमा प्राइभेट तथा सामुदायिक अन्य अस्पताल र क्लिनिकहरु मन्थलीमा स्थापना हुन थाले । त्यसबखतसम्म बिरामी दर्ता र सेवाका शूल्क धेरै न्यून थियो, हाम्रो अस्पतालमा । हाम्रो अस्पतालमा लिइने दर्ता शूल्क प्राइभेट क्लिनिक र सामुदायिक अस्पतालहरुको हाराहारीमा पुर्याउदा मात्रै पनि झण्डै अस्पताललाई लाग्ने घाटालाइ धेरै सहयोग पुग्दथ्यो । बर्षेनी ३० हजार हाराहारीमा बिरामी आउने भएकाले हरेक बिरामीको थोरै दान पनि धेरै बन्दथ्यो ।
बचत तथा ऋण सहकारी संस्थाले अस्पताललाई यसरी अनुदान दिन नमिल्ने रहेछ भन्ने कुरा बि.सं २०६८ तिर आएर थाहा लाग्यो । यसो हुदा सहकारी संस्थाका सदस्यहरुको स्वास्थ्य बिमाले मात्र पनि अस्पताल धान्न सजिलो थिएन । सेवा शूल्कहरु हाम्रो गाउँघरका बिरामीहरुको आर्थिक अवस्थाले धान्ने हुनुपर्ने जरुरी थियो । बिरामीको संख्या १५ बर्षदेखि नै ६० देखि १०० हाराहारी थिए । अहिले आएर दाँत, आँखा र सबै जोडदा १०० देखि १५० हुन आउछ । झण्डै उतिनै बिरामी संख्याबाट अस्पताल आफै धानिने बनाउन चुनौती थियो ।
बि.सं २०६७ तिर आएपछि जर्मन रोटरी भोलेन्टियर डाक्टर्सहरुको संलग्नता र बि.सं २०६९ देखि रुरल एसिस्टेण्ट नेपालको संलग्नताले अस्पतालमा यन्त्र उपकरण, साधनहरु, नयाँ प्राबिधिक ज्ञान र सीपहरुलाई अस्पतालमा ब्यबस्था गर्न सकियो । नयाँ डेण्टल युनिटको स्थापना र दिगोपनाका लागि हाम्रो रोटरी क्लव काभ्रे बनेपा र रोटरी फाउण्डेशन जर्मनले सहायता गर्यो । यसका लागि हाम्रा रोटरियन मित्रहरु डा. इल्मार मायर, डा जोन एडर्सन, डा क्लाउस प्रिन्ज, डा बुडखार्ड, डा किन्ले आदिले अथक प्रयत्न गर्नुभयो र डेन्टल क्लिनिक आजको रुपमा आउन सफल भएको छ । जुन नेपालका गाउँमा भएको डेण्टल क्लिनिकहरुमा पहिलो नम्वरमा आउनेछ ।
यस्तै सोही फाउण्डेशन र ती जर्मन मित्रहरुको सहायताले इमर्जेन्सी कोठामा भाइटल मोनिटर र डिफिब्रिलेटर जस्ता उपकरणहरु र खाटहरु, डेलिभरी बेड, फोटोथोरापी मसिन आदि पनि उपलब्ध छ । यसै गरि एउटा एम्बुलेन्स र मेडिकल टीमलाइ गाउँमा जान सजिलोको लागि जीप पनि जर्मनका रोटरियन मित्रहरुको प्रयासबाट प्राप्त भएको हो ।
डा जोन एडर्सनले यसपाली साँघुटारमा बिद्यालय भित्र डेण्टल क्लिनिक बनाउनु भएर नेपालमा एउटा नमूना परियोजना सुरु गर्नु भएको छ ।
यस्तै तिलगंगा आँखा प्रतिष्ठानले बि.स २०५८ देखि सामुदायिक आँखा केन्द्र संचालित गरेको थियो तर बि.सं २०६८ सम्म आइपुग्दा पनि स्वनिर्भरता तिर जान सकेको थिएन । तर बि.सं २०६९ देखि हाम्रा काम गर्ने मोडल र नीतिलाइ सुधारेपछि जिल्ला सामुदायिक आँखा केन्द्र पनि करिव ७५ प्रतिशत स्वनिर्भरतातिर यो ८ बर्ष भित्रै जान सफल भएको छ ।
द लिटिल थिंग्स युके, हेक्सेन नेपाल र रुरल एसिष्टेण्ट नेपालको सहयोगमा ग्याष्टोइण्डोष्कोपी, इको, टिएमटि मशिनहरु, भोलेन्टियरहरु, उनीहरुले पनि साना साना यन्त्र उपकरणहरु ल्याउने, उनीहरुको सहयोगमा गाउँ गाउँमा ९० भन्दा बढी स्वास्थ्य शिविरहरु सञ्चालिन भए ।
यस्तै अष्टेलियन एम्बेसीबाट ल्यावमा स्वचालित जाच गर्ने मेशिन, माइक्रोष्कोप, जेनेरेटर जस्ता उपकरणहरु प्राप्त भएपछि अस्पतालले अझ आधुनिक स्वास्थ्य सेवा प्रदान गर्न सकेको हो । यसलाइ बिस्तार पनि गरिदैछ ।
यी सबै कार्यहरुको योग जोडले अस्पतालको आयमा पनि बृद्धि हुदै गयो भने रामेछाप जिल्लाका जनताहरुको इच्छा आकांक्षा, उहाँहरुको खर्च गर्न सक्ने क्षमता बृद्धि हुदै जानाले पनि अस्पताल स्वनिर्भर तिर लाग्न सजिलो भएको छ । अधिकांश गाउँका युवा युवतीहरु मध्ये केही बिदेशी रोजगारीमा गएर उहाँहरुको सेवालाइ किन्ने सामर्थ बढेका कारणले पनि अस्पतालको आयलाई टेवा पुगेको छ ।
यसरी हेर्दा गाउँमा सिमित क्षेत्रमा सिमित सेवाहरु प्रदान गरेर आधुनिक स्वास्थ्य सेवा प्रदान गर्नु धेरै चुनौतीपूर्ण छ । यति धेरै मानिसहरु र संस्थाहरु संलग्न भएर योगदान गरिरहदा पनि ग्रामिण भेकको अस्पताललाई स्वनिर्भरतिर लान धेरै कठिनाइ बेहोर्नुपर्ने हुन्छ । यदि धेरै पैसा पर्ने भवन, यन्त्र उपकरणहरु कुनै दाताले प्रदान गरिरहयो भने गाउँका अस्पतालहरुलाई पनि स्वनिर्भर रुपमा संचालन गर्न सकिन्छ । यो एक पटकको इभेष्मेण्ट दाताहरु या सरकारले गरिदिदा सम्भव हुन जाने हाम्रो अनुभवले बताउछ ।
कतिले बिचार गलान कि भएजति यन्त्र उपकरण जाच पडताल गराएर पैसा जम्मा गरेर स्वनिर्भर गराए भइ हाल्छनि तर यो स्वास्थ्य सेवाको नैतिकता भित्र पर्दैन ।
स्वास्थ्य सेवाको नैतिकताले भन्दछ, सकेसम्म कम भन्दा कम खर्चमा कम भन्दा कम दुखमा, बिरामी र उनका आफन्तहरुले रोग र चिन्ताबाट मुक्ति पाउनु पर्दछ । जाँच पडताल र औषधीको भारी बोकाएर स्वास्थ्यकर्मीहरुले पेट पाल्नु कम्तीमा पनि स्वास्थ्य सेवाको नैतिकता भित्र पर्दैन । यो अपराध कर्म भित्र पर्दछ ।
यसरी केही दाता या सरकार, नैतिकवान स्वास्थ्यकर्मीहरु र सहयोगी सेवाग्राही जनताहरुको संलग्नताबाट ग्रामिण भेकमा पनि प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने र बेलाबेलामा बिशेषज्ञ स्वास्थ्य सेवा दिलाउने स्वास्थ्य संस्था स्वनिर्भर ढंगले चलाउन सकिने कुरा हाम्रो अनुभवले बताउछ । यदि कोही कसैलाई यसका बारे परामर्श चाहिएमा हामी आफ्नो अनुभवहरु र बिशेषज्ञता समेतको मद्दतले सहायता गर्न तयार छौ ।
लेखक बरिष्ठ जनरल फिजिसियन र स्वास्थ्य सेवा ब्यबस्थापन बिशेषज्ञ हुनुहुन्छ ।

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • काेमल शंकर घिमिरे , पुर्व सचिव मन्थली साकाेस तथा तामाकाेशि सहकारी अस्पताल

    सर्र पढ्दा कथा जस्ताे लागे पनि यहि यथार्थ र सत्यता थियाे र छ पनि । सबै परिश्रमी र सहयाेगि हात हरूलाई सलाम ।