Hamro-Mobile-APP

गाडी गुड्नै नपाई भत्कियो कालोपत्रे सडक, गुणस्तहिन काम गर्ने निर्माण कम्पनीलाई नै पुनः ठेक्का

 शनिबार, अशोज २४, २०७७ | onlinenews

२४ असोज, रामेछाप– रामेछापको सुनापति गाउँपालिकामा निर्माण गरिएको कालोपत्रे सडक गाडी नगुड्दै भत्किएको छ । गाउँपालिकाको लुभुघाटबाट खनियापानी, बेथान हुँदै हिलेदेवि जाने सडक कालोपत्रे भएर गाडी गुड्न नपाउँदै भत्किएको हो ।
रामेछाप जिल्लामा वागमति प्रदेश सरकारको लगानी निर्माण गरिएका विकास निर्माणका कामहरुको गुणस्तरमा सरोकारवालाहरुले प्रश्न उठाइरहेको बेला प्रदेश सरकारले निर्माण गरेको सुनापति गाउँपालिकाको कालोपत्रे सडक पनि गाडी गुड्न नपाउँदै भत्किएको छ ।
गत आर्थिक वर्षमा सुनापति गाउँपालिकाको लुभुघाटबाट १ हजार २ सय मिटर सडक कालोपत्रे भएको थियो । तर गाडी नगुड्दै भत्किसकेको छ । सडकको छेउ र भित्तामा सडक सुरक्षाको लागि पर्खाल नलगाई कालोपत्रे गरिनुका साथै गुणस्तरहिन निर्माण सामग्रीको प्रयोगका कारण गाडी नगुड्दै सडक भत्किएको स्थानीयको भनाई छ । निर्माण ब्यवसायि र प्राविधिकको मिलेमतोमा गुणस्तरहिन काम गरिएको स्थानीय बद्रीबहादुर खड्काले आरोप आरोप लगाए ।


अपुरो काम गरेर सडक विगर्दै हिड्ने निर्माण ब्यवसायिलाई अरु पनि काम गर्न दिए हुने, बाँकी सडक कालोपत्रेको जिम्मेवारी पनि उसैलाई दिएको छ भन्ने सुनेको छु, बाँकी सडक पनि एकदमै राम्रो बन्छ, उनले ब्याङ्गे गर्दै भने ।
काम पूरा नगर्ने, गणुस्तरहिन काम गर्ने निर्माण ब्यवसायिलाई कारबाही गर्नुपर्नेमा थप कालोपत्रे गर्ने जिम्मेवारी पनि उसैलाई दिएर प्रदेश सरकारले कामै नगर्ने ठेकेदारलाई सम्मान गरेको खड्काको भनाई छ ।
कलोपत्रे गरिएको सडकको अधिकांश भागमा माथिबाट पहिरो झरेर पुरिएको छ भने कतिपय छेउको भाग पहिरो गएर सडक धाँजाधाँजा भएको छ । सडक कालोपत्रे भएपछि यात्रा गर्न र सामान ढुवानीमा सहज हुने स्थानीयबासीले आशा गरेका थिए तर सडकमा गाडी नगुड्दै भत्किएको छ ।
सडक कालोपत्रे हुने भयो भन्दा हामीलाई एकदमै खुसी लागेको थियो तर कालपत्रे भएर गाडी नै नगुड्दै सडक भत्कियो अर्को स्थानीय शिवराज खड्काले भने । पहिला गोरेटो बाटो थियो, सडक बनेपछि गाडी चढ्न पाइएला भनेको हामीलाई जस्ताकोजस्तै, पहिला साँघुरो बाटो हिडिन्थ्यो अहिले अलि फराकिलो बाटो हिड्न पाइएको छ पहिले र अहिलेमा फरक त्यत्ति हो, सडक बन्नु अघिको अवस्था जे थियो अहिले पनि हाम्रा लागि त्यस्तै नै छ खड्काले भने ।


सुनापति गाउँपालिकाको लुभुघाट, खनियापानी, बेथान, हिलेदेवि सडक खण्ड अन्तर्गत गत आर्थिक वर्षमा वागमति प्रदेश सरकारको भौतिक पूर्वाधार कार्यक्रम अन्तर्गत बन्दना भगवती निर्माण कम्पनीले ३ करोड ४६ लाखमा १ हजार २ सय मिटर सडक कालोपत्रे गरेको थियो । प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय नगरि काम गर्दा गुणस्तरीय विकास हुन नसकेको सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले बताए ।
बजेट कति आउँछ, ठेक्का कहिले लाग्छ, काम कस्ले गर्छ र कसरी गर्छ स्थानीय सरकारलाई पत्तै हुँदैन, सिधै प्रदेश सरकारले गर्छ, स्थानीय सरकारसँग समन्वय गरेर काम गरेको भए कामको रेखदेख, अनुमगमन स्थानीय सरकारले ग¥थ्यो । प्रदेशले स्थानीय सरकारसँग समन्वय गरेको भए गुणस्तरीय काम गराउँने जिम्मा स्थानीय सरकारको हुनेथियो र हामी त्यो काम थर्थ्यौ । स्थानीय सरकारसँग समन्वय नगरि प्रदेश सरकारले आफ्नै ढंगले काम गर्दा गुणस्तरीय र दीगो विकास हुन सकेको छैन अध्यक्ष लामाले भने ।
सडकको अनुगमन गरेर भत्किएको सडक, निर्माण ब्यवसायिलाई तत्कालै पुनर्निर्माण गर्न लगाउने पूर्वाधार विकास कार्यालय रामेछापको कार्यालय प्रमुख सोमराज तिमल्सिनाले बताएका छन् ।
सोही सडक अन्तर्गत चालू आर्थिक वर्षमा थप ३ किलोमिटर सडक कालोपत्रेको लागि बोलपत्र निकालेर ५ करोडको ठेक्का स्वीकृत भइसकेको पनि तिमल्सिनाले जानकारी दिए । चालू आर्थिक वर्षको लागि पनि बन्दना भगवती निर्माण कम्पनीले नै ठेक्का पाएको छ ।

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

1 COMMENTS
  • डीके पौडेल

    बनाऊ ! बनाउने नाममा बजेट खन्याऊ ! म निर्माता भनेर सबैलाई चिनाऊ ! किन बिगारेको भने यस्सो टाउको कन्याऊ ! ठूलै स्वर गरे भने तिनीहरूलाई नि बनाऊ । नयाँ नेपालको राम कहानी मजाले सुनाऊ ! ५/१० करोडको के कुरा ५/१० अर्व नै खन्याऊ ! बिग्रेको भनेर गुनासो होइन , फेरि बनाउन पाइयो भनेर खुसी मनाऊ ! नयाँ नेपाल हो , बिगार्दै गर अनि त्यहींँ पुनः बजेट भर फेरि बानाऊ !! बनाउँदा बनाउँदै आफू डुङडुङ्तति गनाऊ !! हार्दिक सफलताको चरणबद्ध शुभकामना !!!

    Reply