Hamro-Mobile-APP

कसले बुझ्ने मजदुरको पीडा ?

 आइतवार, चैत्र ३०, २०७६ | onlinenews

सन्तोष ढुङ्गेल


बिश्वभर महामारीको रुपमा फैलिएको (कोभिड १९) अर्थात कोरोना भाइरसले आज बिश्वभर सन्नाटा छाएको छ । मान्छेलाई पैसा सबथोक हो भन्ने मानसिकताबाट टाढा बनाएको छ । विश्वको ध्यान अहिले कोरोनाको रोकथाम कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रीत छ ।
यहाँ उठाउनको खोजिएको प्रसंग ज्यालादारी मजदुरको हो । दशनग्रा खियाएर श्रीमतिलाई साडी किनिदिने र छोराछोरीको उज्ज्वल भविष्य बनाउने महान अभिलाषा बोकेर मजदुरी गर्न हिडेका ती मजदुरको समस्या कसले बुझिदिने ? दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरुको न बिहान बेलुका के खाने टुङ्गो छ न बासको नै । उनीहरुको उद्देश्य यति छ कि नखाई, नसुती पनि आफ्नो परिवारसँग भेट्न पुग्ने । सयौं किलोमीटरको दुरि हिड्न बाध्य छन् नेपाल भित्रै । तर उनीहरुको पीडामा मल्हम लगाउने कोही पनि छैनन् यहाँ । कता गए ती मजदुरका नाममा खोलिएका ट्रेड युनियन ? कता छन आपूmलाई मालिक सम्झने ठेकेदार ? काम छउन्जेल भाँडो काम सकिएपछि ठाँडो भन्ने उखान मजदुरहरुको लागि अहिले चरितार्थ भएको छ । लकडाउनको पूर्ण पालना सबैले गर्नु पर्छ तर अलपत्र नागरिको उद्दार गर्ने काम पनि राज्यको हो । सात दसक अघिको झल्को दिने गरि हातमा लौरो र पिठ्यूमा झोला भिरेर चैत्रको टन्टलापुर घाममा पसिनाले नुहाउँदै हिडेका मजदुर के उनीहरुको रहर हो यो ?
सरकारले ल्याएको सामाजिक सुरक्षा कोष -Social security found ) यसको औचित्य यहि हो । विश्वब्यापी मान्यता अनुसार मे १ तारिक मजदुर दिवस मनाउदै ठूला ठूला भाषण गर्ने कता हुनुहुन्छ ? आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन पाए यी मजदुरले । श्रममन्त्री ज्यू कहाँको क्वारेन्टाइनमा हुनुहुन्छ ? कतै आफ्नो जिम्मेवारी त भुल्नु भएको छैन ?
मानवीय मूल्य र मान्यतामा आधारमा यी मजदुरको दैनिकीको ग्यारेन्टी सरकारले गर्नुपर्छ । दैनिक सयौं किलोमिटर हिड्न के सजिलो छ ? न खाना खाने ठाउँ छ न बास बस्ने ठाँउ छ यस्तो अवस्थामा ती मजदुरले के सोचेर हिडेका होलान् मर्म कसले बुझिदिने ? संविधानमा उल्लेखित मानिसको नैसर्गिक अधिकार भित्र पर्छ बाच्न पाउने अधिकार । के त्यो अधिकार भित्र यी मजदुर पर्छन कि पर्दैनन् ? बिहान मात्र एक मजदुरलाई सोधे कहाँबाट आउनु भयो ? उत्तर आयो सोलुदेखि । फेरि सोधे कहाँ हो घर ? दाङ हो बाबू काठमाडौं हुँदै जाने । मनमा सहन नसकिने पीडा भयो । झन्डै एक दर्जनको संख्याका मान्छेलाई मैले के नै गर्न सक्थे र ? सुनेर र सुरक्षित हुँदै जानु होला भन्ने बाहेक मसँग अर्को विकल्प थिएन ।
यदि तपाईं राहत नै दिनु छ भने यस्तो पीडामा रहेकालाई दिनु । लाज पचाएर दुई वटा फ्रुटी, दुई कोसा केरा अनि दुई किलो चामल बाढेको फोटो पोस्ट गर्नु भन्दा रातदिन भनई भोकै पेट हिडिरहेका पैदल यात्रीलाई एक छाक खुवाउनुस् । एक रात सुरक्ष्ीित बास दिनु होला । त्यसमा जति पुण्य अरु कुनै कर्ममा मिल्दैन । तपाईंहरुले अहिले दिएको राहतले मान्छेलाई आहत बनाएको छ । कोरोना भाइरसले निम्त्याएको त्राससँगै नियन्त्रण कोषमा करोडौं रुपैयाँ जम्मा भएको बुझिएको छ । त्यो रकम केमा खर्च गर्ने ? न उपकरण आएको छ न अन्य केही सुबिधा ? त्यसबाट केही रकम सुरक्षित बासस्थानमा खर्च गरेर दिन दुःखी मजदुरको दाल रोटीको जोहो गरिदिदा के बिग्रन्छ ?

मजदुरको नाममा राजनीति गर्नेहरु अहिले कहाँ छन् ?

संसार भरिका मजदुर एक हौं भन्दै नारा घन्काउदै मजदुरको नाममा राजनीति गर्ने पार्टी र संस्था धेरै जन्मिए । तर ती संघसंस्था र पार्टी आज यो संकटको घडीमा मजदुरको पीडामा मलम लगाउन तयार छन् ? छन् भने किन चुँ बोल्दैनन् ? मजदुर आपतविपदमा परेको बेलामा सुरक्षा र सहयोग गर्न सक्दैनन् भने किन चाहियो मजदुरको हित गर्ने नाममा च्याउसरी खुलेका संघसंस्था ट्रेड युनियन ? मजदुर हक अधिकारको लागि भन्दै मजदुरसँग उठाएको लेबिले देश बिदेश घुम्न लाज लागेन है तपाईंहरुलाई ? आजको यो दुर्दशा भोग्न तपाईंहरुलाई समर्थन गरेका हुन यी मजदुरले ? सोच्नु त तपाईंहरु त आफ्नो परिवारसँग रमाएर रातो बङ्लामा हुनुहुन्छ । यी ज्यालादारी मजदुरलाई आफ्नो परिवार भेट्न र सगै बस्न मन थिएन होला र ? बिहान बेलुकाको छाक टार्न र परिवारको भविष्य उज्यालो पार्न हातका नङ्ग्रा खियाउने यी मजदुरको उद्दारको लागि सम्बन्धित निकायको ध्यानाकषर्ण गराउन चाहन्छु ।
अन्त्यमा मजदुरको पसिनाको कर सदुपयोग होस् । भोकभोकै अहोरात्र पैदल यात्रारत यी मजदुरको कसरी हुन्छ ब्यबस्थापन गरियोस् । सुरक्षित तवरले सम्बन्धित ठाउँमा पु¥याएर क्वारेन्टाइनमा राख्ने हो कि कुनै परीक्षण गरेर यिनीहरुको पैदल यात्रा अन्त्य गर्ने सम्बन्धित निकायको ध्यान जाओस् । रोग, भोक र शोकले कोहि मर्नु नपरोस् । संकटको बेला आफ्नो परिवारलाई सम्झदै बाँचे भेटौला भन्दै हिडेका श्रमिकको न्यायको लागि सबैले सुरक्षित भएर सेवा गरौँ । दैनिक यात्रारत पैदल यात्रीको सुरक्षित यात्राको कामना । कोहि कसैले अनाहकमा पीडा भोग्नु नपरोस् । कसरी हुन्छ श्रमिकको गाँसको ग्यारेन्टी गरियास् र बाससम्म पुग्ने ब्यबस्था गरियोस् यो माग गर्दछु ।

प्रतिकृया

Add