Hamro-Mobile-APP

रामेछापले एक वैचारिक र संघर्षले खारिएको अभिभावक गुमाएको छ

 बुधबार, जेष्ठ ७, २०७७ | onlinenews

रत्नहरि ढुङ्गेल


नेपाली काँग्रेसका नेता निर्दलीय पञ्चायती व्यवस्था विरुद्धको सशस्त्र क्रान्तिका सेनानी रुद्रप्रसाद ढुङ्गेलको ०७७ जेठ ५ गते सोमबार दिनको १ः३० बजे निधन भएको छ । उहाँ विगत ७ वर्षदेखि मुटुरोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधनले समग्र लोकतान्त्रिक आन्दोलन र नेपाली काँग्रेसले एक मुर्धन्य नेता गुमाएको चर्चा केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा छ । उहाँ बि.स. १९९६ साल जेठ २९ गते रामेछापको खाँडादेवी गाउँपालिका–५ (साबिकको पकरबास गाविस) मा पिता पुण्यप्रसाद र माता शारदादेवीको माइलो सन्तानको रुपमा जन्मनुभएको थियो ।
सत्ता लोलुपता तथा पदीय आशक्तिबाट टाढा रहनु र राजनीतिक निष्ठा आदर्शमा अविचलित भई प्रजातान्त्रिक संघर्षमा दृढतापूर्वक उभिनु नै उहाँको स्वभाव बनेको थियो । तत्कालिन समयका शैक्षिक र सामाजिक सुधारक ढुङ्गेलको निधनले रामेछाप जिल्लाले विचार र संघर्षले खारिएको एक राजनीतिक अभिभावक गुमाएको छ । सामाजिक अगुवा तथा राजनीतिक नेताहरुको केही टिप्पणीले उहाँको निधनबाट हामीले एक अनुकरणीय व्यक्तित्व गुमाएको प्रष्ट हुन्छ । मैलेभने पारिवारिक सम्बन्धले, पारिवारिक अभिभावक र राजनीतिक विचारले, उत्पेरित मार्गदर्शक गुनाएको छु । आफ्नो नजिकको समन्धि गुमाउनुको पीडा सबैलाई हुन्छ । तेही पीडाले उद्धेलित मेरो मन उहाँको स्मरणमा केही शब्दहरु व्यक्त गर्दै शान्त हुने प्रयत्न गर्दै छ ।
आफ्नो सिङ्गो जीवन राजनीतिक संघर्षमा बिताउनु भएका प्रात स्मरणीय रुद्रप्रसाद ढुङ्गेलले जुन समयमा नेपाली काँग्रेसको सदस्यता लिनुभयो । त्यो समय झेल्न सजिलो थिएन । आजिवन काराबास वा प्रवास खेदिन तयार छु भन्ने दस्तावेजलाई स्विकार्नु थियो, काँग्रेस सदस्यता । जननायक बीपी कोइराला नेतृत्वको दुइतिहाई प्राप्त काँग्रेस सरकारलाई राजा महेन्द्रले २०१७ पौष १ को शाही ‘क’ू मार्फत अपदस्थ गरि आपूmलाई शक्तिशाली बनाएका थिए । निर्दलीय पञ्चायती ब्यबस्था लादेसँगै कलिलो प्रजातन्त्रको घाँटी निमोठेका थिए । फ्रान्सेली राजा लुइ चौधौंको ‘म नै राज्य हुँ’ भन्ने भनाइलाई महेन्द्रले चरितार्थ गरेका थिए । तत्कालीन निवर्तमान प्रधानमन्त्री बीपी कोइरालादेखि काँग्रेसका प्रायः सबै नेताहरु कठोर यातना सहँदै जेलको दिवारभित्र कैद थिए । यसरी काँग्रेस नेतृत्वको २००७ सालको क्रान्तिले नेपाली जनताको घर आँगनमा उदाएको प्रजातन्त्रको सूर्य अनिश्चितकालका लागि अस्ताएको थियो । मुलुक पञ्चायती कालरात्रीको चिसोले कठ्याग्रिन थालेको थियो । यस्तो कठिन प्रतिकुलतका बाबजुद बिद्रोहको मशाल उठाउनु, आवश्यकता अनुसार बम बारुदसँग खेल्नु ठट्टा थिएन । जुन कार्य गर्न उहाँले सपथ लिनुभएको थियो कांग्रेस सदस्यता मार्फत । आँटि र जोशिला ढुङ्गेलको जीवन राजाले दलहरुमाथि लगायको प्रतिबन्धका कारण भूमिगत बन्यो । भूमिगत कालमा प्रजातन्त्रको पैरवी गर्दै उहाँले दोलखा, रामेछाप ओखलढुङ्ग, सिन्धुली जस्ता जिल्लाहरुमा नेपाली काँग्रेसको संगठन गर्नुभएको थियो । यहि क्रममा एकपटक स्व. नेता भिम बहादुर तामाङ र स्व. नेता पद्यशंकर अधिकारसँगै हुँदा सिन्धुलीमा सरकारी सेनाले घेरेछन् । यो चाल पाएर लुकिछिपी भाग्दै–भाग्दै कमलाखोज झरेर कमला नदीमा डुंगाबाट बहँदै तीन दिनमा भारत पुगि प्रवास रहेका नेताहरुको सम्पर्कमा पुगेको जस्ता आफ्नो जीवनका रोचक कहानीहरु बेलाबेला सुनाउनुहुन्थ्यो ।
उहाँ एक निडर, निर्भिक र साहसिलो क्रान्ति योद्धा हुनुहुन्थ्यो । उहाँले बि.स. २०१८ सालमा रामेछापको बडाहाकीम कार्यलयमा बम विस्फोट गर्ने कार्यको नेतृत्व गरि पञ्चायती ब्यबस्था बिरुद्ध पर्चा छर्नुभएको थियो । यो घटनाले उहाँको जीवनलाई प्रवासको मोड दिन्छ र ७ वर्ष भारतमा प्रवासी जीवन बिताउन बाध्य हुनुपर्छ । उहाँको राजनीति इमान्दारिताले तत्कालीन शिर्ष नेता खासगरि बीपी, गिरिजाप्रसाद र सरोज कोइरालाको विश्वास जितेको थियो । उहाँ धेरै नेताहरुको विश्वास पात्रको रुपमा चिनिनुहुन्थ्यो । प्रजातान्त्रिक आन्दोलनमा लागे वापत उहाँले विभिन्न यातना सहँदै ८ वर्ष जेलजीवन पनि विताउनुपरेको थियो । कहिले प्रवास त कहिले जेल घरपरिवारसँग बिताउने समय एकदमै नगन्य भएता पनि राजनीतिक रुपमा चेतनशील घरपरिवारले देशको लागि लड्दै गरेको एक योद्धालाई साथ समर्थन भने दिएका थिए । यो नै उहाँको भाग्य थियो ।
राजनीतिक जीवनका धेरै आरोह अवरोहहरु छिचोल्दै केवल प्रजातान्त्रिक व्यवस्था प्राप्तिको लडाइँका अविचलित उहाँले बि.स.२०४९ सालमा जिल्ला विकास समिति रामेछापको सभापति बन्ने स्वंय गिरिजाप्रसाद कोइरालाको प्रस्तावलाई अस्वीकार गर्दै भन्नुभएको थियो । ‘गिरिजाबाबु म भन्दा योग्य साथी फलानो हुनुहुन्छ उहाँलाई बनाउनुहोस ।’ यसरी पदीय चुम्बकले विकर्षित उहाँ आफ्नो इच्छाले भन्दा पनि साथीहरुको आग्रहमा नेपाली काँग्रेस रामेछापको उपसभापति बन्नुभयो । पार्टीको महासमिति सदस्य र प्रजातान्त्रिक सेनानी संघको केन्द्रीय सदस्य चै आफैंले चाहेर बन्नुभएको थियो । न कहिल्यै सांसदको टिकट माग्नुभयो न मन्त्री बन्ने इच्छा आकांक्षा नै व्यक्त गर्नुभयो । उहाँकोजस्तो गौरवपूर्ण इतिहास भएको नेताका लागि सांसद हुनु मन्त्री बन्नु त्यसबेला प्रायः सामान्य हुन्थ्यो तर उहाँ बन्न चाहनु भएन । सधैं योग्य साथीहरुको सिफारिस गरेर बस्नुभयो । साथीहरुलाई सघाएर बस्नुभयो । जीवनको उत्तरार्धमा पनि कालिमाटीमा व्यवसाय गरेर गुजारा चलाउनु भयो । आफ्नो उपचार गर्नुभयो तर कहिल्यै कसैलाई दुःख दिनुभएन । अहिलेको खिचातानीको वर्तमान राजनीतिमा उहाँजस्तो प्रतिकूल परिस्थितिमा आफू अग्रमोर्चामा लड्ने सबै खालका अफ्ठ्याराहरु झेल्ने र सजिला दिनहरुमा पार्टीभित्रका अन्य साथीहरुलाई अगाडि बढाउने महान् स्वभावको नेता कहाँ भेटिन्छ र ? उहाँको सरल स्वभावभित्र लुकेका धेरै महानताहरु सदैव अनुसरण लायक छन् । राजनीतिमा निस्वार्थ भावले खुट्टा तान्ने प्रवृत्तिको अन्त्य गर्दै हात तान्ने प्रवृत्तिको प्रारम्भ गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
लेखकः नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रतिकृया

Add