Hamro-Mobile-APP

स्वास्थ्य सेवामा ब्यबहार परिवर्तन

 बुधबार, असार ३, २०७७ | onlinenews

डा.सुमन कर्माचार्य


एक महिला विरामीले भनिन्, रातको समय थियो । म बिरामी लिएर कुनै अस्पताल गएको थिएँ । मेरो चाँहि समस्या ठूलो त थिएन तर छालाको समस्या थियो । अस्पतालमा बस्दा सोधी हालौ भनेर मैले चिकित्सकलाई भेटे । मलाई चिकित्सकको ब्यबहार अनौठो लाग्यो । प्रश्नहरु धेरै सोधिए । उत्तर दिएँ । त्यो सोध्नुपर्ने थियो थिएन मलाइ थाहा छैन । तर मलाइ उत्तर दिन अप्ठेरो भइरहेको थियो । अलिअलि रक्सीको गन्ध आएजस्तो लाग्दथ्यो । सम्वेदनशिल अङ्गमा घुरेर हेरिरहेका थिए । म चाँडो औषधी लेखाएर त्यहाँबाट निस्किए ।

यस्ता धेरै प्रकृतिका घटनाहरु दिनानुदिन घटिरहेका हुन्छन् । जसमा कहिलेकही बिरामीलाई, कहिले उसका आफन्तलाई, कहिले चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई यस्ता घटनाहरुले मानसिक पीडाहरु दिइरहेका हुन्छन् । जसले गर्दा बिरामी र आफन्तलाई कहिले त्यो अस्पतालबाट छुटकारा पाउँ जस्तो हुन्छ भने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई पनि बिरामी र आफन्तले मानसिक पीडा दिएको छ भने त्यो पीडाले काममा पूmर्ति नआउने, काम बिग्रन सक्ने, र ती बिरामी र आफन्तबाट कति चाँडो छुटन पाए हुन्थ्यो जस्तो हुन्छ । यी सबै प्रतिनिधि कुराहरुले स्वास्थ्य संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, बिरामी र बिरामीका आफन्तहरुलाई आफ्नो आचारसंहितामा बस्न अप्ठेरो महसुस हुन्छ ।
चिकित्सक र स्वास्थ्य कर्मीहरु भगवान होइनन् । गल्ति नगर्ने पनि होइनन् । बिरामीका बारेमा शतप्रतिशत किटान गरेर निको हुने नहुने बताउन सक्दैनन् । साना साना कुराहरु जसमा जीउ ज्यानलाई हानी पुर्याउदैन, र सच्याउन सकिने हुन्छ भने र अञ्जानमा भएको रहेछ भने माफी पनि दिनुपर्दछ । तर त्यस बिषयमा प्राबिधिक ज्ञान नभएकाहरुले अर्ति उपदेश दिनु चाहिँ एक किसिमको मुर्खता नै हुन जान्छ ।
चिकित्सकहरु र स्वास्थ्यकर्मीहरुले पहिलेका तथ्यांक, खोजहरु हेरेर, पढेर, आपूmले अनुभव गरेर बिरामी र उनका आफन्तलाई कुराहरु बताइरहेका हुन्छन् । त्यस्ता कुरामा चिकित्सकलाई अप्ठेरोमा पर्ने गरि बिरामीहरुले ग्यारेन्टी खोज्छन् तर सतप्रतिशत उत्तर पाउन गाह्रो हुन्छ किनभने त्यो चिकित्सकलाइ नै पनि थाहा हुदैन ।
यस बीचमा बिरामी, आफन्त, चिकित्सक र स्वास्थ्यकर्मीहरु सबैको लक्ष्य बिरामी निको पार्न नभएर अरु पनि केही चाहना लुकेको छ भने चाही सत्य उत्तरहरु प्राप्त लाउन धेरै गाह्रो हुन्छ । धेरैका धेरै स्वार्थहरु हुन्छन् ।
कुटिएर बिरामीहरु आए भने कुटने पक्षकालाइ धेरै खर्च गराउनु पर्यो भनेर धेरै दवाव लाउछन् चिकित्सकलाइ । आफ्नो आचारसंहितामा बस्न सक्ने चिकित्सक भए त सम्झाउलान्, अड्डि लेलान्, नभए उसलाई इन्कार गर्न गाह्रो हुन्छ । यस्तोमा चिकित्सक यति कठोर हुनुपर्दछ कि ज्यान मार्ने धम्की आए या अन्य कारणले झुठो लान्छना आएर जेल जान परे पनि सहजै जान्छु भन्ने मानसिकतामा रहनु पर्दछ । लोकतन्त्रमा सत्य देख्न सुन्न र पत्ता लगाउन डर मनबाट हटाउनु पर्दछ र जतिबेला पनि जेल जाने आँट हुनुपर्दछ । तव सत्यको नजिक पुगिने सम्भावना रहन्छ ।
सामान्य चोेटपटक हुन्छ, तर सिटी स्कानका लागि पठाइदे भनेर दवाव आउछ । कहिलेकाही राजनीतिक दवाव र सबैखाले प्रशासनिक दवाव पनि चौपट खालको हुन्छ । बिरामीका आफन्तको त हुन नै भयो । चिकित्सकको प्राबिधिक कुराले एक थरि गर्नु पर्ने भन्छ तर यस्ता दवावहरु अर्काथरि गर्न सुझाउछन् या उनीहरुनै चिकित्सक भइदिन्छन् ।
कुनै समय धुम्रपान र मद्यपान गरेर चिकित्सक, स्वास्थ्यकर्मी, रोगी उनका आफन्त आएका हुन्छन् । समाचारहरुमा आउने गर्दछन्, बिरामीहरुलाई चिकित्सक र स्वास्थ्यकर्मीहरुबाट र आफन्तहरुले चिकित्सकहरुलाइ बिभिन्न खालको दुव्र्यबहार भयो भनेर । यसका पनि धेरै कारणहरु छन् ।
यसै गरि चिकित्सक र स्वास्थ्यकर्मीहरु अलि लोभी छन् भने र कुनै फर्माक्युटिकल्स कम्पनी या अस्पतालले कमिशनको ब्यबस्था गरेको छ भने धेरै औषधीहरु लेख्ने, धेरै जाँच पडलात गर्न लगाएर बिरामीको गोजी टकटक्याउने, अस्पतालमा धेरै समय राख्ने र आपूmले भनेको महंगा अस्पतालमा पठाउने जस्ता घटनाहरु पनि दिनानुदिन घटिरहेका हुन्छन् ।
यी केही सुधार्नुपर्ने प्रतिनिधि कुराहरु हुन् । यी समस्याहरुमा दोषी सावित गर्नु भन्दा पनि दोषनै हुन नदिने सावधानी अपनाउनु बुद्धिमानी हुन्छ । यसका लागि बिभिन्न उपायहरु हुन सक्दछन्

१. स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा बिरामीको उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी, सहयोगी टिम, बिरामी, बिरामीका आफन्त, संस्था प्रशासन, स्थानीय प्रशासन, प्रहरी, पत्रकार, उपभाक्ता समितिहरु आदिको के–के भूमिकाहरु छन्, के–के कुराको पालना गरिनुपर्दछ भन्ने कुरा किटान गरेर सबैले बुझ्ने भाषामा लेखेर जानकारी गराउनु पर्दछ । यी सबै पक्षको मुख्य लक्ष्य नै बिरामी निको हुनु हो । त्यसैले बिरामी मुख्य पात्र हो, अरु सबै गौण । गौण पात्रहरु हिरो हुनु खोज्नु मुर्खता हो ।
२. रोग, बिरामी र यसका प्राबिधिक पक्षहरुमा सम्पूर्ण रुपमा चिकित्सा, नसिंग, जनस्वास्थ्य, र स्वास्थ्य ब्यबस्थापनका वैज्ञानिक आधारहरुमा टेकेर स्वतन्त्र बिचार गर्ने, निर्णय गर्ने अधिकार सम्वन्धित प्राविधिकहरुलाई उपलब्ध गराइनु पर्दछ । जुन निर्णय त्यस्तै बैज्ञानिक आधारका कसिमा घोटदा अन्य प्राविधिकहरुबाट पनि त्यहीसंग मिल्ने उत्तर आउने खालको हुनुपर्दछ । यदि नभएमा यसलाई आचारसंहिताको उलघंन मानिनु पर्दछ ।
३. हाल हरेक मिनेट सम्वन्धित बिषयमा फेदटुप्पो ज्ञान नभएका बिरामी, आफन्त, ब्यबस्थापन, राजनीति, प्रशासन जस्ताहरुबाट दवाव आउने र दिने कार्यहरुलाई निरुत्साहित गर्नुपर्दछ । जति अप्राबिधिकहरुको दवावलाइ निरुत्साहित गर्न सकिन्छ त्यति नै सत्य र सही निर्णय प्राबिधिकहरुले प्रदान गर्ने सम्भावनाको प्रतिशत बृद्धि हुनेछ र रोगको सही निदान र उपचार प्रक्रिया सहज हुनेछ ।
यदि यस्ता दवाव र टिप्पणीहरु आएमा यसका बारेमा उजुरी गर्ने र सुनुवाइ गर्ने स्वतन्त्र प्राविधिकहरुको ब्यबस्था राज्यले गर्नु पर्दछ । किनभने कुनै एक पक्षलाई बसमा पारेर अर्को पक्षलाई फाइदा पुर्याउने हो भने आखिर राज्यको नजरमा एक पक्षका नागरिकहरुलाई अन्याय परिरहेको हुन्छ । त्यसपछि सुसाशन कागजको नारा मात्र हुन पुग्छ ।
४. बिरामी र बिरामीका आफन्तहरुलाई उनीहरुले बुझ्ने भाषामा सम्भव भएसम्म बैज्ञानिक प्राविधिक कुराहरुलाई सरल लवजमा बुझाउन कोसिस गर्नुपर्दछ । तर अहिले समस्या भनेको एक जना चिकित्सक र स्वास्थ्यकर्मीले बैज्ञानिक हिसाबले कम्तीमा १० मिनेट समय खर्चिनु पर्ने हुन्छ । बिरामीहरु धेरै र चिकित्सकको संख्या थोरै हुन्छन् । एउटै चिकित्सकले दिनमा ५० भन्दा बढी बिरामी हेर्नुपर्ने नेपालमा धेरै अस्पतालहरु छन् । त्यसैले धेरै समय दिन सक्दैनन् । सरकारी अस्पताल भए त केही छैन, तर निजी या सामुदायिक अस्पतालहरु हो भने आम्दानीले खर्च धान्नु पर्ने अर्को चुनौती बोकेको छ र बिरामीहरुको संख्या बढाउनु पर्ने हुन्छ । यो दवाव हरेक स्वास्थ्यकर्मीहरुलाई हुन्छ । यस्तो हुदा चिकित्सकले समय दिन भ्याउदैन । अनि राम्रो परामर्श नभएपछि बिरामी र आफन्तको बीचको सम्वन्धमा दरार पैदा हुन्छ, त्यसले दुब्र्यबहार र तोडफोडको घटना निम्त्याउछ । त्यसैले बिरामी र चिकित्सकको अनुपात तोकिनु पर्दछ । एक घण्टामा ६ जना भन्दा बढी बिरामी हेर्न नपर्ने अवस्थाको सृजना गर्नुपर्दछ । वास्तवमा बिरामीको रोग पत्ता लगाउनु र उपचार गर्नु भनेको कागजमा नाम लेखेर औषधी किनाएर घर पठाउनु होइन । बिरामीको उपचार भनेको उसको शारीरिक समस्याहरुसँग हालको उसको मानसिक अवस्था, उसको घरको वातावरण, आनीबानी, लत कुलत, छिमेकी र नातेदारहरुसँगको सम्वन्ध, आदिले प्रभाव पारिरहेको हुन्छ । ती कुराहरु न रगतको जाँच, न त एक्सरे, नत भिडियो एक्सरे आदिमा देखिन्छन् । त्यसका लागि बिरामीलाई पढनु पर्छ । त्यसैले त भनिन्छ, बिरामी गतिलो पुस्तक हो । बिरामी र उनका आफन्तहरुले पनि के कुरा प्रष्ट हुनुपर्दछ भने जाँचहरुमा पैसा खर्च गर्दैमा रोग पत्ता लाग्छ भन्ने छैन, बरु यसमा भन्दा बढी खर्च चिकित्सक र स्वास्थ्यकर्मीसँग गरिने परामर्श, छलफल, कुराकानीको धेरै महत्व हुन्छ ।
५. चिकित्सक, स्वास्थ्यकर्मी, बिरामी र बिरामीका आफन्तहरु मद्यपान र धुम्रपानका कुलतमा छन् भने धेरै अप्रिय घटनाहरु घटन सक्दछन् । यस्ता पदार्थहरुले मानिसलाई उत्तेजक अवस्थामा पुर्याएको हुनसक्दछ । जसका कारण अप्रिय बचनसँगै दुब्र्यबहार निम्तिन्छ । यसबाट जोगिन धेरै सजगता जरुरी छ ।
सर्बप्रथम सेवाप्रदायक, बिरामी या आफन्तहरुले यो सेवन गरेको छ भन्ने थाहा पाउनासाथ प्रहरी प्रशासन, पत्रकारहरु र उपभोक्ता संरक्षण समितिमा उजुरी गर्ने सजिलो माध्यम हुन जरुरी छ । पैसा नलाग्ने मोवाइल नम्वरहरु सबैको लागि सर्बसुलभ हुनुपर्दछ । यो उजुरीपछि ती दुब्र्यसनी पक्षहरुलाई सेवन गरे नगरेको पत्ता लगाउन एउटा स्वतन्त्र छानविन समितिको ब्यबस्था हुनुपर्दछ । जसमा प्रहरी प्रशासन, पत्रकार, चिकित्सक र उपभोक्ता संरक्षण समितिको संलग्नता हुनुपर्दछ । यो समितिसँग बैज्ञानिक ढंगले जाँच गर्न सकिने अल्कोहल डिटेक्टर मेसिन चाहिन्छ । यसमा अल्कोहलको मात्रा पत्ता लगाउन गाह्रो काम छैन । समितिमा रहेकाहरु सबैलाई यसको बैज्ञानिक आधार सहितको नतिजा कसरी थाहा हुन्छ भन्ने तालिम दिनुपर्दछ । यस्ता उजुरीहरुको तदारुकताका साथ छानविन भएमा अस्पतालमा घटने दुब्यबहारहरु न्यून गर्न सकिन्छ ।
लोकतन्त्रमा को के भन्दा पनि उसले के गर्दैछ भन्ने कुरा महत्वपूर्ण कुरा हो । कानून भन्दा माथि कोही हुन्नन् ।
यसरी स्वास्थ्य सेवाका क्षेत्रमा संलग्न प्राबिधिक तथा अप्राबिधिक र त्यसका सरोकारहरुले आफ्नो आचारसंहिताको उल्लंघन नगरि देशको प्रचलित कानूनमा रहेर आ–आफ्नो लक्ष्मण रेखालाई शक्ति र पैसाका आधारमा दुरुपयोग नगरि अपनाएमा हाल स्वास्थ्य क्षेत्रमा हरेक पल घटिरहने दुब्र्यबहार, मानसिक पीडाहरु, बिरामीको नचाहिदो खर्चहरु सबै कुराहरुलाई न्यूनिकरण गर्न सकिन्छ । तर, सर्बप्रथम सबैले आफ्नो बेहोरा सच्याऔं । चेतना भया ।

(लेखकः तामाकोसी अस्पताल मन्थली, रामेछापको निर्देशक हुनुहुन्छ)

sumankarmacharya2005@gmail.com   9841400271

प्रतिकृया

Add