Hamro-Mobile-APP

युवा, अन्तर्राट्रिय युवा दिवस र परिवेश

 मङ्लबार, साउन २७, २०७७ | onlinenews

–तिलक कार्की


“स्वस्थ, कर्मठ युवा जाग, ब्युँझ, उठ, देशको मुहार फेर्न,
सक्रिय, उर्जावान, गतिशील छौ, राष्ट्र खोज्छ तागत हेर्न ।”

युवाको उमेर अधिकांश देशमा १५ देखि ३५ वर्षका बीचमा कायम गरिएको पाइन्छ भने संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्क जस्ता अन्तर्राष्ट्रियसंस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको छ । नेपालको सन्दर्भमा नेपालको अन्तरिमसंविधानले १५ देखि २९ वर्षको उमेर समुहलाई युवा भनेर परिभाषित गरेको थियो । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । ‘युथभिजन– २०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ । वि.सं. २०६८ को जनगणना अनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत रहेको पाइन्छ ।

संयुक्त राष्ट्र संघको १७ डिसेम्वर १९९९ मा सम्पन्न ५४ औं साधारण सभाले अगष्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । युवा दिवस मूल रुपमा युवाका मुद्धाका पक्षमा आवाज मुखरित गर्नु, बनेका राष्ट्रिय अन्तर्राष्ट्रिय संवैधानिक व्यवस्था, ऐन, कानुन तथा घोषणा पत्रका कार्यान्वय गर्नु, नभएकालाई बनाउनु र आवश्यकता अनुसार समय सापेक्षसंशोधन गर्न वकालत गर्नु नै मुख्य उद्देश्य हो ।यसका अतिरिक्त युवा लक्षित मुद्धा तथा सवालहरु कार्यान्वयन गर्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकरात्मक दवाव सृजना गर्नु पनि हो । युवाका सवालहरुमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरुक गराउन दिवसको घोषणा गरिएको हो । यस वर्षको अन्तर्राष्ट्रिय नारा Youth Engagement for Global Action रहेको छ भने राष्ट्रिय नारा “विश्व अभियानका लागि युवा सहभागिताः रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता” रहेको छ ।

संयुक्त राष्ट्र संघको घोषणासँगै सन् २००० देखि नियमित रुपमा विश्वभर युवा सम्वन्धि विभिन्न चेतनामूलक तथा मनोरञ्जात्मक कार्यक्रमहरुको आयोजना गरी मनाइदै आइरहेको छ । नेपालमा भने सन् २००४ देखि मनाउन थालिएको हो । प्राप्त उपलब्धिको रक्षा, सवाल तथा मुद्धाहरुको यथोचित सम्वोधन तथा चुनौतिहरुको सामाना गरी विश्व परिवेश तथा नेपाल अनुकूल हुने गरी युवालाई राष्ट्रिय तथा सामाजिक अभियानहरुमा स्वयंसेवकीय रुपमा व्यापक परिचालन गर्नु पर्दछ । युवाहरुलाई अधिकार मात्र हैन कर्तव्य प्रति पनि उत्तिकै सचेत र जिम्मेवार बनाउनु पर्दछ । दिवस मनाउन मात्रका निमित्त नभै राष्ट्र, राष्ट्रियता प्रति सजक तथा समर्पित भइ सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय हितको रक्षा गर्नमा तन, मन र वचनले लाग्न प्रेरित गर्नु नै दिवसको सार्थकता हुनेछ ।

यस युगमा उर्जाशील र प्रतिभावान युवाहरु आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक परिवर्तनमा अग्र दस्तामा रहीसबल, प्रतिस्पर्धी र आत्मानिर्भता तिर अघि बढिरहेका छन् । देशमा राजनैतिक अनुकूलता र स्थिरता रहेको अवस्थामा युवाको सक्षम नेतृत्वको आवश्यकता रहेको छ । राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाईआधुनिक, न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउन अर्थपूर्ण र क्रियाशील रुपमा लाग्नु पर्ने जिम्मेवारी आएको छ । युवाहरु वौद्धिक, सृजनशील, सीपयुक्त उद्यमी र जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी अध्ययन, रोजगार, जीविकोपार्जन र अवसरका निमित्त लाग्नु टड्कारो आवश्यकता छ ।
निर्वाचन आयोगको तथ्यांक अनुसार स्थानीय तहमा निर्वाचित (१६ देखि ४० वर्ष उमेर समुह) का युवाहरुको संख्या १३ हजार ८ सय ९३ अर्थात ३९.६५ प्रतिशत रहेको छ । प्रदेश तहमा २३.६३ प्रतिशत, प्रतिनिधी सभामा १३.९ प्रतिशत र राष्ट्रिय सभामा ६.७७ प्रतिशत रहेको पाइन्छ । आ.व. २०७७÷७८ को बजेट वक्तव्यमा युवा लक्षित कार्यक्रमका लागि कूल रु. ६४ अर्व ४९ करोड वजेटको व्यवस्था गरिएको छ । युवा परिषद्को उपस्थिति सबै प्रदेश र जिल्ला तथा स्थानीय तहमा पुगिसकेको छ । यसरी राज्य संचालनका तह र तप्कामा युवाको उपस्थिति तथा कार्यक्रमले अझ थप बल, ताकत, ऊर्जा र कृयाशीलता अभिवृद्धि भएको छ । जसबाट युवाहरु नीति निर्माणमा सार्थक सहभागिता, आर्थिक, सामाजिक, राजनैतिक र साँस्कृतिक जीवनमा सहभागिता वृद्धि भएको छ ।
यसका अलावा अझ आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, भौतिक, वौद्धिक विकासका लागि केही थप कार्य गर्नुपर्ने अनुभुति भइरहेको छ । युवामा नैतिकता, चारित्रिक गुण तथा अनुशासन विकास गरी परिवर्तित विश्व श्रमबजारमा खरो प्रतिष्पर्धा गर्नसक्ने सभ्य, सुशील तथा स्वाभिमानी देशभक्त, पौरखी, सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साहि, ऊर्जाशील युवा बनाउनका निमित्त अन्तर्राष्ट्रिय जगत र राज्य थप बलपूर्वक लाग्नु पर्दछ । समय परिवेश, परिस्थिति र परिवर्तन अनुसारको आवश्यक क्षमता विकास गरी ज्ञान, सीप, क्षमता, अनुभव तथा सृजनशीलतालाई मुलधारमा प्रवाहीकरण गर्न राज्यका नीति तथा कार्यक्रम निर्देशित हुनु जरुरी छ । युवालाई स्वदेशमा नै रमाउने, कमाउने र जमाउने वातावरण सृजना गर्नुपर्दछ । विदेशिएका युवाहरुको संरक्षण, ज्ञान, सीप, पूँजीको प्रवद्र्धन एवं उपयोगका लागि ठोस नीति तय गर्नु पर्दछ । राजनैतिक नियुक्ति गर्दा युवाद्वारा युवाका लागि गरिनु पर्दछ । आ.व. ०७४÷७५ मा ३ लाख ५४ हजारको हाराहारीमा विदेशिएका युवाहरु प्रतिदिन १ हजार ५ सय युवाहरुको संख्या घटाउनका निम्ति लाग्नु पर्दछ । श्रमशक्ति सर्वेक्षण २०७४÷७५ अनुसार नेपालमा वेरोजगारीको दर ११.४ प्रतिशतलाई तथ्यांकमा हैन अवस्थामा देखिने खालका कार्यक्रम तय गर्नु पर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी, गैह्र सरकारी संघसंस्थाहरुका कार्यक्रमहरु एकद्वार प्रणालीमा तल्लो तह र वास्तविक लक्षित वर्गमा पुग्नु र पु¥याउनु पर्दछ । नीति तथा कार्यक्रमहरु प्रगति विवरण र तथ्यांकमा प्रस्तुतिकरणका लागि मात्र नभई लाभान्वित वर्गको गुणस्तरीय जीवनका लागि हुनु पर्दछ । विज्ञान तथा प्रविधि, खोज, अनुसन्धान तथा अन्वेषणमा युवा शक्तिलाई प्रोत्साहन गरिनु पर्दछ । बौद्धिक तथा दक्ष युवाहरुको पलायनलाई देशमै अवसर र महत्व दिइनु पर्दछ । खेलकुद तथा मनोरञ्जन मार्फत शारीरिक र मानसिक विकासको अवसर, युवा नेतृत्व विकास, सहभागिता र परिचालन गरिनु पर्दछ ।

(लेखक महिला, बालबालिका र युवा सशक्तिकरणका क्षेत्रमा कार्यरत छन् ।)

प्रतिकृया

Add