Hamro-Mobile-APP

विश्वकर्मा जातिमा पर्ने सेन्चुरी थर ब्राह्मण जातिमा पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले दलित प्रमाणित गर्न मानेन

 शनिबार, मंसिर १३, २०७७ | onlinenews

रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले कामी जातकी एक महिलालाई थरको आधारमा दलित प्रमाणित गर्न अस्वीकार गरेको छ ।
रामेछापको मन्थली नगरपालिका–९ की कामी जातका इन्द्रे सेञ्चुरी र टीकामाया सेन्चुरीको छोरी मीनकुमारी सेन्चुरीले दलित प्रमाणित गरिदिन जिल्ला प्रशासन कार्यालय रामेछापमा निवेदन दिएकी थिइन ।
सम्बन्धित वडा कार्यालयको सिफारिस सहित आवश्यक कागजात पेश गर्दा पनि जिल्ला प्रशासन कार्यालय रामेछाफले दलित जाति प्रमाणित गर्न अस्वीकार गरेको हो । जात प्रमाणितको लागि २ पटकसम्म जिल्ला प्रशासन कार्यालयमा जाँदा पनि सेन्चुरी थरको आधारमा दलित प्रमाणित गर्न मिल्दैन भनि प्रशासनले फर्काई दिएको मीनकुमारी सेन्चुरीले बताइत । सेन्चुरी भन्ने थर दलित जातिमा नभई ब्राह्मण जातिमा पर्ने र सेन्चुरी थरको आधारमा दलित प्रमाणित गर्न नमिल्ने भन्दै जिल्ला प्रशासन कार्यालयले फर्कादिएको मिनकुमारी सेन्चुरीले बताइन । राष्ट्रिय दलित आयोगले दलित जाति भनि प्रमाणित गरेको सूचीमा सेन्चरी विश्वकर्मा जातिको थरमा उल्लेख छ ।


सोही अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहहरुलाई जानकारी पठाएको पाइन्छ । तर जिल्ला प्रशास कार्यालय रामेछापले सेन्चुरी थर राष्ट्रिय दलित आयोगले तयार पारेको दलित वर्गमा सूचीकृत जात–जातिहरुको वर्णानुक्रम अनुसारको जातीय अनुसूचिमा समेत नभएकोले मिल्दैन भनेर दलित प्रमाणित गर्न अस्वीकार गरेको सेन्चुरीको भनाई छ । राष्ट्रिय दलित आयोगले सूचीकृत गरेको विश्वकर्मा जातिको थरहरुमा सेन्चुरी उल्लेख रहेको कागज पेश गर्दा समेत जिल्ला प्रशासन कार्यालयले सेन्चुरी जाति दलित समुदायमा नपर्ने भनि प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले फिर्ता पठाइदिएको सेन्चुरीले गुनासो गरिन ।
मीनकुमारीले भनिन, ‘वडा कार्यालयले दलित प्रमाणि गर्नका लागि सिफारिस दियो, सिफारिस लिएर दिदी बहिनी नै एकैसाथ आएका थियौँ, बहिनीको नागरिकतामा चाहिँ बुबाको थर कामी थियो, बहिनीको सेन्चुरी थियो, बहिनीलाई चाहिँ त्यही दिन प्रशासनले दलित प्रमाणित गरिदियो । मेरो नागरिकतामा बुबाको नाम पनि सेन्चुरी थियो । बुबा र मेरो दुवै जनाको थर सेन्चुरी भएको कारण देखाउँदै प्रशासन कार्यालयका कर्मचारीले दलित प्रमाणित गर्न मिल्दैन भनेर फर्काइदियो उनले भनिन् ।
सेन्चुरी थरलाई दलित भनि प्रमाणित गर्न नमिल्ने प्रशासनले बताएपछि आफूले कुन जाति भनेर प्रमाणित गर्न मिल्छ त ? भनेर सोध्दा जिल्ला प्रशासन कार्यालय रामेछापका कर्मचारीले सेन्चुरी ब्राह्मण जातिमा पर्छ भन्नुभयो मीनकुमारीले भनिन् । त्यसो भए कुन जाति भनेर प्रमाणित गर्न मिल्छ त भन्दा केही भनेर पनि प्रमाणित गर्न मिल्दैन र केही पनि सेवा सुविधा पाइँदैन भनेर प्रशासनको सम्बन्धित फाटका कर्मचारीले जवाफ दिएको उनले बताइन ।
मीनकुमार सेन्चुरीले २०६३ सालमा गाउँमा गएको धुम्ती शिविरबाट नागरिकता लिएकी थिइन । उनले ०६३ सालमा बनेको नागरिकता हराएपछि पुनः नागरिकताको प्रतिलिपी लिएका थिइन । नागरिकता बनाउने क्रममा सेन्चुरी थर राख्न मिल्छ कि मिल्दैन भनि सोध्दा शिविरमा गएका कर्मचारीले सेन्चुरी विश्वकर्मा जातिको थर भएकाले राख्न मिल्छ भनेपछि आपूmले थर सेन्चुरी राखेको मीनकुमारीले बताइन । उनले भनिन् नागरिकता बनाउँदै सेन्चुरी थर राख्दा पछि समस्या हुन्छ भनेको भए सेन्चुरी थर राख्ने थिइन । मेरो विद्यालयको सर्टिफकेटमा पनि बुबाको थर सेन्चुरी नै छ त्यसैको आधारमा मेरो नागरिकतामा पनि बुबाको थर सेन्चुरी हुन गयो उनले भनिन् । त्यसमा पनि हामीले शिविरमा गएका कर्मचारीसँग सोधेर नै थर सेन्चुरी रोखका हौं, हुदैन थियो भने उहाँहरुले त्यतिबेलै हुदैन भन्नु पथ्र्यो नि, त्यतिबेला चाँहि हुन्छ भन्नुभयो अहिले हुँदैन भन्दा म त अन्याय परेनी मीनकुमारीले भनिन् । नागरिकता बनाउँदा बुबाको थर सेन्चुरी राख्न मिल्छ कि मिल्दैन भन्दा प्रशानको ढड्डामा चाँहि बुबाको थर कामी नै हुन्छ तिम्रो नागरिकतामा मात्रै बुबाको नाम सेन्चुर हुन्छ भन्नु भएको थियो मीनकुमारी भनिन् ।
दलित जाति प्रमाणितका लागि जिल्ला प्रशासन कार्यालय पुगेकी मीनकुमारीसँगै रहेका राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष लेखबहादुर बिकले पनि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सेन्चुरी थरको आधारमा दलित प्रमाणित गर्नका लागि मन्त्रालयको सिफारिस लिएर आउनु भनेको बताए ।
“प्रमुख जिल्ला अधिकारी शर्माले सेन्चुरी थरका आधारमा हामी दलित प्रमाणित गर्न सक्दैनौँ, हाम्रा कर्मचारीमार्फत मन्त्रालय पठाउनु प¥यो भने १५÷२० दिन लाग्न सक्छ, बरु तपाइँहरु फुर्सदिलो हुनुहुन्छ भने मन्त्रालयबाट सिफारिस लिएर आउनुस् मिल्ने रहेछ भने गरौँला ।” भन्नु भयो अध्यक्ष विकले भने ।
अध्यक्ष विकले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको परिपत्रसमेत लिएर जाँदा पनि प्रजिअ शर्माले अहिले मिल्दैन भनेर फिर्ता पठाइदिएको बताए । म र सिडिओ साहेबको बीचमा संवाद भइसकेपछि सिडिओ साहेवले भोली तपाइँ मात्रै आउनुस् सल्लाह गरेर दिउँला भन्नुभयो ।” अध्यक्ष विकले भने ।
तर, गृहमन्त्रालयका प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले भने सिडिओले मन्त्रालयको सिफारिस लिएर आउनु भन्नु बेकारको कुरा भएको बताए । कुनै पनि कुराको भेरिफाई गर्नु प्रमुख जिल्ला अधिकारीको क्षेत्राअधिकारभित्र पर्ने भएकोले भेरीभाई गर्दा कहिलेकाही स्थानीय तहलाई विश्वास गर्दिन, प्रहरी मार्फत बुझ्छु भन्न पाउनुहुन्छ तर मन्त्रालयको सिफारिस लिएर आउनु भन्नुचाहिँ बेकारको कुरा हो प्रवक्ता बुढाले भने ।
मन्त्रालयले सिडिओलाई सिफारिस गर्ने त कुरै हुँदैन उनले भने । प्रमुख जिल्ला अधिकारीलाई दुविधा नहोस् भनेर नै स्थानीय तहको सिफारि माग गरिएको भन्दै प्रवक्ता बुढाले उ कुन जातको हो, के हो, भन्ने कुरा स्थानीय तहलाई जानकारी हुने भएकाले स्थानीय तहले सिफारिस दिएपछि प्रमाणित गर्न गाह्रो नहुने बताए । सिडिओले सिफारिसको आधारमा दलित प्रमाणित गर्नैपर्ने उहाँको भनाई छ । मिल्दैन भने यसको जवाफ लिखित रुपमा माग गर्न समेत प्रवक्ता बुढाले सम्बन्धित पक्षलाई सुझाव दिएका छन् ।
यसैगरी, मन्थली नगरपालिका–९ का अध्यक्ष बुद्धिबहादुर पुलामी मगरले पनि मीनकुमारी सेन्चुरी दलित नै भएकोले आफूले सिफारिस दिइसकेको उल्लेख गर्दै दलित प्रमाणित गर्नुपर्ने बताएका छन् । अध्यक्ष मगरले मीनकुमारीको भाउजु दलित महिला सदस्य भएकाले मीनकुमारीलाई प्रशासनले दलित प्रमाणित गराउनुपर्ने भन्दै यसरी वडाले दिएको सिफारिसको आधारमा दलित प्रमाणित नगर्नु मिनकुमारीमाथि अन्याय भएको बताए ।
रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले भने आयोगले दिएको दलित जातिको सूचीमा दलित जातिको बारेमा खुलाएर दलित प्रयोग गर्न पाउने थरको बारेमा समेत उल्लेख गरेको हुनाले थरहरु सबै परिवर्तन हुुँदै जाँदा वंशमा भोलीका दिनहरुमा कुन जाति हो भनेर प्रमाण खोज्न पनि गाह्रो हुने भएकोले प्रशासनले मीनकुमारीलाई दलित प्रमाणित नगरिदिएको बताइन ।
तर, दलित आयोगले दलित जातीय अनुसूची विवरणमा दलित वर्ग सूचीकृत जातजातीहरुको वर्णानुक्रम अनुसार पनि विश्वकर्मा जातिभित्र पर्ने थरमा सेन्चुरी भन्ने उल्लेख छ ।

प्रतिकृया

Add