Hamro-Mobile-APP

जसको सपना नै समाजसेवा छ

 आइतवार, साउन १७, २०७८ | onlinenews

प्रकाश न्याैपाने
रामेछाप – श्याम सुवेदी उनको चल्तीको नाम हो । सबैले उनलाई यसै नामले चिन्छन् । उनले धेरै वर्ष सुनारपानी स्थित तत्कालिन भैरवी निमाविमा पढाए । अहिले उनी अवकाश प्राप्त शिक्षकका रुपमा आफ्नो अवकाशीय जीवन बिताइरेका छन् ।
अवकाशीय जीवनमा पनि उनी धेरै क्रियाशील छन् । करिब २० वर्षअघिदेखि उनले मन्थली बजारमा अनमिका खाद्य उद्योग खोलेर फरक प्रकारका अर्गेनिक खाद्यान्नको बेपार गरे । अहिले त्यो बेपार पनि आफ्ना सन्तानलाई जिम्मा लगाएर उनी गाउँ फर्केका छन् ।
उनको गाउँ धेरै टाढा छैन । त्यही सानीमदौ हो । जहाँ उनले बेपारबाट पनि आफूलाई निवृत्त बनाएर बस्नका लागि करिब पाँच वर्षअघि सुविधा सम्पन्न घर बनाए । जहाँ उनले तरकारी खेती, किराना पसल र नयाँनयाँ कामहरु गरिरहेका छन् ।
धेरैलाई थाहा नहुन सक्छ श्याम सुवेदीको लेखापढीको नाम तेजप्रसाद सुवेदी हो । उनलाई यो नामले गाउँमा मात्र कसैकसैले चिन्छन् । खासमा उनलाई श्याम सुवेदी नामले नै चिन्छन् । तेजप्रसाद सुवेदी उर्फ श्याम सुवेदी मन्थली नगरपालिका वडा नं.–१ सानीमदौ निवासी हुन् । उमेरले सुवेदी ५८ वर्षका भए । उनले लामो समय शिक्षण गरे । त्यसपछि बेपार । यी दुवै पेसा गर्दा उनको जीवन राम्ररी नै चलेको थियो । अझ जागिर भन्दा बेपारमा उनले तरक्की गरेका हुन् । बजारमा उनको जस्तो नयाँ बेपारको चलन थिएन । उनले मसला मिल, तेल, चामल र अन्य खाद्यान्न तथा किरानाको पसल गरेपछि धेरै साहूहरु बजारबाट विस्थापित भए । तर उनले सोचेका र व्यवहारमा ल्याएका नयाँनयाँ तरकिबका कारण बेपारमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।


अहिले उनी आराम चाहिरहेका छन् । उनका पाँचजना छोरीहरु सबै कुनै न कुनै पेसा वा व्यवसायमा स्थापित भैसकेका छन् । उनले आफूलाई दीनदुखी र गरिबहरुका लागि केही न केही गर्न सकौं भनेर आफ्ना परिवारका सदस्यहरुसँगकै सल्लाहमा मन्थली मावि, सेतीदेवी मावि, सालु र तामाकोसी जनजागृति मावि, खिम्तीबेसी र निलकण्ठेश्वर मावि. कठजोरमा अध्ययनरत माध्यमिक कक्षा र क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा गरिब विद्यार्थीहरुका लागि छात्रवृत्ति कार्यक्रमको व्यवस्थापन गरेका छन् । छात्रवृत्ति पाउने कूल विद्यार्थी संख्या ५७ जना रहेका छन् ।
सो छात्रवृत्ति यिनी मन्थलीमा एक कार्यक्रम गरेर वर्षेनी वितरण गर्दछन् । सो कार्यक्रममा यिनले भरसक व्यवहारले दिँदाका अवस्थामा आफ्ना सबै सन्तानहरुलाई भेलाजम्मा पारेर दिने गरेका छन् । यसो किन गर्नु भएको भनेर प्रश्न सोध्दा उनी भन्छन् –‘अभावको कारणले शिक्षाको अभाव कसैले व्यहोर्नु नपरोस् भनेर यो कार्य थालनी गरेको हूँ । जुन कुराले मलाई आत्मिक आनन्द मिल्छ । मेरा सन्तानले पनि भोलिका दिनमा अर्काको दुःखमा थोरै भएपनि मल्हम लगाउन सिकुन् भन्ने ध्येयले सबै सन्तानलाई भेला गर्न थालेको हूँ ।’ सुवेदीले छात्रवृत्ति प्रदान गर्न लागेको यो पाँचौं वर्ष हो ।
यस वर्षको छात्रवृत्तिमा पनि सुवेदीले चारवटै स्कुलमा अध्ययनरत छात्रछात्राहरुलाई स्टेशनरी सामग्री, झोला, कपडाका साथसाथै नगद समेत गरी जम्मा ५ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेका छन् । यिनको छात्रवृत्ति पाएर घर परिवार गरिब भएका कारण आफ्नो अध्ययनलाई अघि बढाउन नसकेका धेरै छोरीचेलीहरुले आफ्नो अध्ययनलाई अघि बढाई समाजमा स्थापित समेत भएका छन् ।
समाजमा आफ्नो कामको सकारात्मक प्रभाव परेकाले यिनी भित्रबाट धेरै खुसी छन् । मास्टरी जीवनका कुराहरु सम्झँदा गहभरि आँसु पारेर आफूले दुःखले आफ्ना छोरीहरुलाई अध्ययन गराएका सुवेदी आफूले दुःख भोगेकैले अहिले अरु दीनदुःखीहरुका सन्तानलाई सहयोगको हात बढाएर जीवनमा सफल बन्न सहयोग गरिरहेका छन् ।
‘सबै प्रकारको पछौटेपनको औषधि नै शिक्षा हो । शिक्षा विना व्यक्ति, समाज र राष्ट्रको सबैको पनि भलो हुँदैन ।’ कुनै न कुनै समयमा आफ्नो व्यवहारिक जीवनको पोको खोल्दा उनी यही वाक्य दोहोर्याउँछन् । शिक्षाको महत्व र व्यवहारिकता भित्र हुने शैक्षिक÷आर्थिक सङ्कट– यो कुरा यिनलाई भलिभाँती थाहा छ । आफूले मास्टरी गर्दा अहिलेको जमानाको शिक्षणमा आकासपातालको अन्तर देख्ने सुवेदीले आफ्ना छोरीहरुलाई कि त व्यवसायमा स्थापित गरेका छन् कि त प्राविधिक शिक्षा दिलाएका छन् । यो कुराले अझै यिनलाई बेलाबेलाा चिमोटी रहन्छ ।
शिक्षाका बारेमा गरिएको एक प्रश्नमा उनले अघि भने –‘मैले बिराटनर र जनकपुरमा दुईदुईपटक भर्ना गरेर पनि आइए पूरा गर्न नपाएको दुःख मलाई अझै छ । त्यही भएर मैले मेरा सन्तान सबैलाई उनीहरुले पढ्न सकेजति र मनले मागेजति पढाएँ । अहिले आएर सबै सन्तानहरु योग्य भैसकेका हुनाले मैले मेरो पूर्ण ध्यान गरिब, निमुखा र जेहेन्दार विद्यार्थीहरुको शैक्षिक भविष्यका लागि एकोहो¥याएको हूँ । यो समाजबाट प्रतिभा हुनेहरुले कहिल्यै पछि पर्नु नपरोस् भन्न मेरो सोचाइले नै मलाई समाजसेवा गर्न हुट्हुटी दिएको हो । हुन त मैले मेरो यो कार्यलाई समाजसेवा नै भनिहालेको छैन । तर मेरो समाजमा यति गर्नु पनि ठूलो कार्य हुने रहेछ । मानिसहरुले मलाई र मेरो कार्यलाई नै समाजसेवा भनेका हुनाले मैले पनि सो शब्दको प्रयोग गरेको हूँ ।’
छात्रवृत्ति वितरण कार्यका साथै यसवर्ष सुवेदीले आफ्ना दिवंगत बाबुआमाको स्मृतिमा पितृ स्मृति प्रतीक्षलय समेत बनाएका छन् । मन्थलीको सानीमदौ, जहाँ उनको घर समेत रहेको छ । सो स्थानमा आफ्ना बाबु हीतप्रसाद उपाध्याय र जूनमाया सुवेदीको नाममा ३ लाखको लगानीमा सो प्रतीक्षालय बनाएको सुवेदीले बताए ।
परोपकारको क्षेत्रमा सुवेदीको योगदान यतिले पुग्दैन । उनले आफ्नो घर भएको स्थान सानीमदौमा आफ्नै लगानीमा एक परिवारका लागि दोकानको प्रबन्ध समेत गरिदिएका छन् । जुन परिवारलाई उनले व्यापारको प्रबन्ध गरिदिए, जसको लगानी सुवेदी आफैंले गर्छन् भने नाफाको कुनै हिसाब गर्र्दैनन् उनी ।
आफ्ना कुरा खुलस्त राख्ने सुवेदी रसिक पाराका छन् । उनलाई गाउँठाउँको राजनीति, जिल्ला र देशको राजनीति प्रायः कण्ठै हुन्छ । विदेशी राजनीतिमा पनि उनी हाल चासो राख्न थालेका छन् । उनको फेसबुक स्टाटसमा देशीविदेशी राजनीतिका बारेमा लेखिएको हुन्छ । कतिले उनका फेसबुकका स्टाटसबाट पुनः साभार गरेर फेरि लेखेका हुन्छन् ।


आफ्ना अनुभवका कुराहरुलाई उनी यसरी प्रस्तुत गर्न पाउँदा खुसी नै हुन्छन् । उनले आफूले हासिल गरेको अनुभव र अनुभव निःसृत ज्ञानलाई समाजका नयाँ पुस्तामा प्रस्तुत गर्न पाएकोमा उनलाई जागिर, बेपार र अहिलेको जीवनलाई तुलना गर्दा अहिलेको जीवननै आनन्ददायक भएको कुरा बताएका छन् ।
‘रमाइलो कुरा त के भने जसरी उनको सोच नयाँ नयाँ काम गर्नमा जान्छ त्यसैगरी उनले बजारको घरमा बस्दा र बेपार गर्दा पनि घरमाथि कौसी खेतीका विभिन्न प्रयोगहरु गरेका थिए । मन्थली बजारमा यसरी कौसी खेतीगर्ने पहिलो व्यक्ति श्याम सुवेदी नै भएको र अहिले आएर बल्ल बजारबासीले सो कुराको सिको गरेका छन्’ भन्ने कुरा बजारमै स्टेशनरी पसल गरेर बस्ने चिसापनी निवासी महेश्वर कर्माचार्य बताउँछन् ।
चिन्नेहरुले श्याम सुवेदीलाई प्रगतिशील, कम्युनिष्ट विचारधाराका पूर्व शिक्षक र एक मिहिनेती राजनीतिक कार्यकर्ताका रुपमा समेत चिनेका छन् । तर उनका जीवनका फरकफरक पाटाहरुलाई केलाउने हो भने उनले केही कथाहरु, गीतहरु, नाटकहरु र निबन्धहरु समेत लेखेका छन् । आफ्ना छरिएर रहेका ती साहित्यिक सम्पत्तिको जगेर्ना गर्ने विचारले अहिले उनी ती कृतिहरु सँगाल्ने मनशायमा रहेका बताउँछन् । जीवनको उत्तरार्धमा आएकाले अब आफूले यो जीवनमा भोगेका सबै प्रकारका भुक्तमानहरु, अनुभव र जीवनका केही आदर्श पुरुषहरुलाई सम्झेर उनले एउटा आफ्नो अटो बायोग्राफी समेत लेखेका छन् । त्यो अबका केही महिनामै प्रकाशित गर्ने कुरा उनले हामीलाई समाचार तयार पार्ने सिलसिलामा सोधिएको एक प्रश्नको उत्तरमा बताएका छन् ।
उनी मितभाषी, मृदुभाषी र चिन्तनशील पनि छन् । कसैलाई भनी नबिझाउने र गरी नदुखाउने स्वभाव उनको रहेको छ । उनका छिमेकीहरु पनि सुवेदीलाई गाउँमा हुने मरौपरौ, बिहेवर्तुन र तिथिश्राद्धमा हुने नहुने सबैकामा बराबरीसँग उठबस गरेको पाउँछन् । जीवन दिनका लागि हो लिनका लागि होइन भन्ने मान्यता राख्ने सुवेदीले यो जीवनमा आफूले गर्न सकेजति धेरै गरेको र आफूलाई आफूले गरेका केही साना, नयाँ र रमाइला कामहरुले मानिसहरुले सम्ँिझदिउन भन्ने मात्र लागेको छ । आफूले गरेको काम र सो कामहरुका लागि समाजले कुनै पुरस्कार दिइरहनु पर्दैन भन्ने समेत सोच राखेका सुवेदी अहिलेको यो राजनीतिक गजमौरोबाट सन्तोष छैनन् । राजनीति दर्शनबाट चिप्लेर अहिले विक्रीवितरणको जिनीश भैसकेकोमा उनको ठूलो विमत्ति रहेको छ ।


धेरैले भन्छन् उनले पहिले एमालेलाई दिलो ज्यानले सघाए । पछि माओवादी भए । अहिले ती दुवै पार्टीबाट उनी आफैँ विस्तारी साइड लागिदिएका छन् । उनका विचारमा नेपालका राजनीतिक पार्टी भनेका उनीजस्ताका लागि होइन रहेछ । राजनीतिमा आउन, टिक्न र बिक्नका लागि धेरै झुटको बेपार गर्नु पर्ने रहेछ । त्यो मबाट भएन त्यसैले म बिस्तारी साइड लागिदिएको हूँ । उनी सहर्ष स्वीकार्छन् । मैले जिल्लामा सहयोग नगरेका मेरो आस्था भएका नेता र कार्यकर्ताहरु नै छैनन् । हिसाब किताबै त मैले गरेको छैन तर धेरै लगानी गरको हुनाले मलाई कम्युनिष्ट पार्टीहरुको यसरी अहिले भएको क्षयीकरणमा धेरै दुःख लाग्छ ।
शिक्षामा यसरी वर्षेनी सहयोग गर्नु पर्छ भनेर यहाँलाई कसले या कुन घटनाले प्रेरणा दिएको हो भन्ने प्रश्नका उत्तरमा सुवेदी अघि भन्दछन् –‘ मैले त एकखाले कालखण्डमा अति नै अभावको जीवन भोगें । त्यो भोगाईले मलाई जिन्दगीको स्वाद मज्जैले चखायो । आफूले हिजोको दिनमा भोगेका दुःखहरु आजका पुस्ताले पनि त्यस्तै भोग्नु परेको छ । हिजो पो मसँग थिएन, मैले दुःख भोगें आजका पुस्ताले त्यस्तै दुःख भोग्नु किन परोस् ? म सँग जे छ त्यो दिएर उनीहरुको मुहारमा खुशी थप्ने सानो प्रयास मात्रै हो यो ।’
उनको छात्रवृत्ति कार्यक्रमलाई उनकी पत्नी गीता सुवेदीले यसरी लिएकी छिन् –‘हिजोका दिनमा उहाँका हरेक दुःख र सुखमा साथ मैले नै दिएको हो । आज हामीले दुःखीको दुःखलाई अलिकति भएपनि मल्हम लाउने प्रयास गरेको हो । उहाँले चालेका हरेक पाइलामा जीवनभरि साथ दिन म अलिकति पनि सोच्दिन ।’ उनका सन्तानहरुले पनि सुवेदीले गरेको उदारबादी व्यवहार र वास्तविक जीवनशैलीलाई फरक फरक ढंगले लिएका होलान् ।
यसै क्रममा सुवेदीका पाँच मध्ये अहिले बाबुको विराशत थामेर मन्थली मै बेपार गरेर बसेकी छोरी जया सुवेदी भन्छिन् –‘हामीले के पायौं र के पाएनौ भन्ने गुनासो कहिल्यै बुबासँग गरेनौं । उहाँहरुले जति हामीलाई दिनुभयो त्यो सबै सिकाईको सम्पत्ति दिनुभयो । ज्ञानको सम्पत्तिले हामी सबै दिदीबहिनी धनधान्य भएका छौं । हुन त कुनै पनि बाबुआमाले आफ्ना सन्तानलाई गलत ज्ञान सिकाउने भन्ने त कुरा भएन नै तर पनि मेरो बुबाले हामीलाई दिनुभएको सत्मार्गले नै मेरो जीवन उज्यालो हुन्छ । उहाँ नै हो मेरो जीवनको आदर्श पुरुष । उहाँले गरेका हर कर्ममा मेरो निसर्त साथ र समन्वय अनि सहयोग रहन्छ ।’
उनी अहिले आफ्ना पत्नी गीता सुवेदीका साथ नयाँ र साना केही सिर्जनात्मक कामहरु गरेर मन्थलीको सानीमदौ गाउँमै बसेका छन् ।

प्रतिकृया

Add