Hamro-Mobile-APP

सुख्खाग्रस्त क्षेत्र भएकाले कृषिमा पछाडि परेका छौंः बस्नेत

 बुधबार, भदौ १६, २०७८ | onlinenews

संघीयता पछि रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थलीको जीवनमा केही न केही प्राण थपिएकै छ । तर अपेक्षित विकास, निर्माण र सुधार हुन नसकेको गुनासो छ । नगरको अघिल्लो चुनावमा नगरबासीलाई नगरप्रुमखका प्रत्याशीहरुले कस्तो सपना देखाएका थिए र कस्तो प्रतिवद्धता जनाएका थिए रु जित्नेले कति पूरा गरे रु कति लक्ष्यउन्मुख छन् रु नगरका समग्र काम र योजनामा केन्द्रित रही मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतसँग सहकर्मी सन्तोष ढुङ्गेलले गरेको कुराकानीको सम्पादीत अंशः

 चुनावताका जनतासँग के–के वाचा गर्नुुभएको थियो ? कति पूरा भए ?
चुनावमा अलि बढी राजनीतिक प्रतिवद्धताहरु गरिए तर हामीले स्रोतको विश्लेषण गर्न सकेनाँैं । यति नै पूरा भयो भनेर ठ्याक्कै प्रतिशतमा भन्नसक्ने अवस्था त छैन तर पनि नगरपालिकाको हेडक्वाटरदेखि सबै वडा कार्यालयसम्म सडक पु¥याउने र बाह्रै महिना गाडी चलाउने प्रतिवद्धता गरेका थियौं । अहिलेसम्म सबै वडामा सडक पुगिसकेको । सुनारपानी–सालु सडक पूर्ण भएको छ, अन्य सडक सकिने क्रममा छन् । शैक्षिक गुणस्तर सुधार्ने वाचा गरे अनुसार केही काम अगाडि बढाएका थियौँ तर कोरोनाले अधुरै भयो । स्वास्थ्यमा भने अनुसारका काम गरेका छौँ । हामीले शुसाशन र पारदर्शीताको क्षेत्रमा महत्वपूर्ण काम गरेका छौं । वाचा गरे अनुसार काम गर्न कोरोना वाधक बन्यो । ८० प्रतिशत प्रतिबद्धता चाहिँ पूरा भएको छ ।
यी त स्थानीय तहका नियमित काम भए । जनताले प्रत्यक्ष अनुभूति गर्ने काम के के गरेँे जस्तो लाग्छ ?
वर्षौसम्म स्थानीय तह जनप्रतिनिधि बिहीन थियो तर अहिले नागरिकले आफ्ना समस्या जनप्रतिनिधिलाई तत्कालै राख्नसक्ने र सम्भव भएसम्म हल गर्ने काम भएको छ । आफ्ना समस्या जनप्रतिनिधिलाई सुनाएर तुरुन्तै सम्बोेधन भइरहेको छ । यो जनताले अनुभूति गरेको सबैभन्दा महत्वपूर्ण कुरा हो । जनतालाई परेका कुनैपनि समस्या हामी तुरुन्तै सम्बोधन गरिरहेका छौँ ।
मन्थली नगरपालिकाको समग्र विकासको गतिलाई कसरी विश्लेषण गर्नुभएको छ ?
मन्थली नगरपालिकाको आवधिक योजना नभए पनि वार्षिक कार्यक्रम गर्दै आएका छौँ । यो ४ वर्षमा मन्थली नगरले रणनीतिक योजना गर्न पाएन । हाम्रो कार्यकालको पहिलो बजेट नगरका १४ वटै वडामा बराबरि (१ करोड २६ लाखका दरले) विनियोजन भयो त्यो राजनीतिक कारण थियो । दोस्रो वर्षदेखि हामीले नगर स्तरीय योजनामा ध्यान दियौं । त्यसमा सडक कालोपत्रेको लागि बजेट विनियोजन गरियो । त्यसैगरी वडा नं. २, १० र १४ का लागि भवन निर्माणको लागि बजेट विनियोजन भयो । ३ वटा सडकलाई हामीले बहुवर्षीय आयोजनाको रुपमा अघि सा¥यौँ । अहिले नीतिगत निर्णय गरेर कार्यक्रम गरिरहेका छौंँ । मन्थलीमा १५ शैयाको अस्पताल बनाएर सेवा सुचारु गर्ने तयारीमा छौंँ । मन्थली नगरपालिका दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ । दूध अब बाहिरी बजारमा निर्यात गर्ने तयारी भइरहेको छ । रामेछाप सुख्खाग्रस्त क्षेत्र भएकाले कृषिमा भने केही पछाडि परेका छौं ।
सडक पूर्वाधारलाई विकासको मुख्य पूर्वाधार मानिन्छ । तर जताततै सडक देखिए पनि वैज्ञानिक र व्यवस्थित सडक बनाउने कुरामा अल्छी गरेजस्तो देखिन्छ । सुव्यवस्थित र कालोपत्र सडक निर्माणमा नगरले ध्यान नदिएको हो कि ?
तपाइँको कुरामा मेरो बिमति छैन । तर यसमा केही तीतो वास्तविकताले काम गरेको छ । पहिलो कुरा हिजो हामीले इन्जीनियरिङ्ग डिजाइन नगरी सडक खन्यौंँ । सडक आवश्यक थियो, सडक गयो गाडी गुड्यो । पछि नागरिकले सडक भनेको यही नै हो भनेर बुझे । सरकारले तय गरेका सडक निर्माण मापदण्ड पालना नहुँदा समस्या देखा पर्दै गए । सडकको चौडाई विस्तारका लागि अहिले सबैभन्दा बढी कठिनाई परेको छ । बस गुडेपछि सडक भैहाल्यो नि भन्ने नागरिक बुझाई छ, जमिन जाने भएकाले नागरिकले सडक चौडाई गर्न दिंँदैनन् । सडक फराकिलो होस् तर आफ्नो घर–जमिन नपरोस् भन्ने भावना सडक विस्तारमा मुख्य समस्या बनेको छ । विपदका कारण पनि विकास निर्माणमा समस्या परेको छ । प्राकृतिक विपद्ले समग्र विकास निर्माण महँगो बनाएको छ ।
अब तपाइँको अर्काे प्रश्नको कुरा गर्दा मूलकुरा स्रोत–साधनको कमी नै हो । २ करोड रुपियाँले १ मिलोमिटर सडक कालोपत्रे हुन्छ । पहाडीक्षेत्रमा कालोपत्रे अभियान आसाध्यै महँगो छ । सीमित स्रोतका कारण पनि सडकमा अपेक्षाकृत केही पछि परेको सत्य हो । तरपनि सडक पूर्वाधारको विकासमा नगरपालिका लागिरहेको छ । मन्थली नगरपालिकाले ८ वटा सडकलाई रणनीतिक सडकको रुपमा लिएको छ । मन्थलीका १४ वटा वडालाई समेट्न हामीले पहिलो र दोस्रो वर्ष ३–३ वटा सडक लिएका थियौँ । तीमध्य मन्थली–सुनारपानी–सालु सडक सकियो । मन्थली–कठजोर ३ किलोमिटर सडक कालोपत्रे गरेका छौं । कठजोर–धोबि सडक एडीबीले जिम्मा लिएको छ । देविटार–फुलासीको ४ किलोमिटर कालोपत्रे भइसकेको छ । चालू आर्थिक वर्षमा ७ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ । संघीय सरकार, प्रदेश सरकार र मन्थली नगरपालिकाको संयोजनमा गेलुको ४ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । २ नं. वडा कार्यालयसम्म सडक पुगिसकेको छ । ३ नं. वडासम्म पु¥याउन ठूलीमदौबाट कालोपत्रे गर्ने तयारी भइरहेको छ ।
नगरबासी काकाकूल बन्नुपरेको गुनासो बाक्लै सुनिन्छ । खानेपानीमा अपेक्षित काम गर्न किन सकिएन होला ?
मैले अघि पनि भनेँ । सुख्खाग्रस्त क्षेत्र भएकाले २ वटा वडा बाहेक अन्य वडामा प्राकृतिक स्रोत नै छैन । खानेपानीको स्रोत भनेकै तामाकोसी नदी बनेको छ । नदीबाट पानी लिफ्ट गरेर (मोटरले तानेर) माथिल्लो भेगमा लानेकुरा निकै खर्चिलो छ, नगरपालिकाको मात्रै स्रोतले नभ्याउने अवस्था छ, त्यसैले खानेपानीमा हामी प्रदेश र संघीय सरकारको भरपर्न वाध्य छौँ । सदरमुकाममै कत्ति खर्चगर्दा पनि खानेपानी पुग्दो दिन सकिएको छैन । वडा नं. ६ भलुवाजोरमा ४ वर्ष भयो खानेपानीको काम गरेको तर पूरा हुनसकेको छैन । साना बजेटले हुने काम त हामीले गरेकै छौँ, करोडौं–अरबौं लागतका परियोजनामा केन्द्र सरकारकै भर पर्नुपरेको छ । मन्थली–सुनारपानी–सालु लिफ्ट खानेपानी आयोजना १ अर्ब ५ करोडको आयोजना टेन्डरको प्रक्रियामा छ । उपभोक्ताले १ प्रतिशत (एक करोड) तिर्नुपर्ने भएकाले पैसा बुझाउन नसक्दा टेण्डर प्रक्रिया नै लम्बिएको छ । वडा नं. २ र ३ कठजोरमा खानेपानी आयोजनामा ८५ करोड बजेट लाग्ने भएकाले त्यो पनि ढिलो भइरहेको छ । तरपनि आफ्नो तर्फबाट हामी चुप लागेर बसेका छैनौँ । वडा न. ११ र १२ गेलुमा केन्द्र सरकारले ७ करोड रुपियाँ पठाएको छ । वडा नं. १३ मा सरकारले ३ करोड रुपियाँ विनियोजन गरेको छ । वडा न. ४ मा च्याउँकेठाँटीमा ५२ घर परिवारमा धारा बनाएर खुवाउन थालेका छौंँ । वडा नं. ७ भटौलीमा लिफ्ट खानेपानी आयोजना सञ्चालन गरिरहेका छौं । तर ठूला र खर्चिलो क्षेत्र भएकाले स्थानीय सरकार एक्लैले गर्न सक्दैन, प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर अघि बढिरहेका छौँ ।
नगरपालिकाले कस्ता जनमुखी योजना आयोजना निर्धारण गरेको छ ? बजेट विनियोजन कसरी गर्नुभएको छ ?
बस्तीस्तरदेखि नगरसभासम्म आइपुग्दा बजेट विनियोजनका ७ चरण छन् । सोही अनुसार बजेट निर्माण गरिन्छ । तर यो वर्ष कोरोनाका कारण बस्तीमा भेला गर्न सकिएन । प्रतिनिधिमूलक भेला र छलफलबाट बजेट निर्माण गरिएको छ । ठूला आयोजनाहरु बहु वर्षीय आयोजना थिए । ३ वर्षअघिको तीनलाल पार्क यो वर्ष सकिँदैै छ । २–२ करोडका ४ वटा आयोजना पनि छन् । ती योजनालाई प्राथमिकीकरण गरेका छौँ । जस्तो, मदौं–ठाँटी सडक ३ करोड, देविटार–फुलासी सडक २ करोड, फुलासी वडा नं. १४ जोड्ने सडक २ करोड र वडा नं. १२ को सावाडाँडा फुलासी सडक २ करोडका छन् । स्रोतको पहिचान गरि आयोजना कार्यपालिकामा प्रस्तुत गर्छाै । बस्ती र वडा हुँदै आएका योजना एकीकृत योजना तर्जुमा कार्यक्रम मार्फत् कार्यपालिकामा पेश हुन्छ र कार्यपालिकाबाट बजेट विनियोजन प्रक्रियामा जान्छ ।
ऐन, कानूनका बारेमा पनि कुरा गरौँ ? पालिकाले आवश्यक कानून–कार्यविधि सबै बनाइसकेको हो ?
हजुर, हालसम्म ऐन, नियमावली र कार्यविधि गरी ३९ वटा ऐन तथा विधेयक पास गर्यौँ । २ वटा ऐन संगालो र कार्यविधि, नियम संगोलो पनि प्रकाशन गरेर हातहातमै पु¥याएका छौंँ ।
 नगरक्षेत्रमा मठमन्दिर, सम्पदाको संरक्षणलाई नगरपालिकाले कत्तिको ध्यान दिएको छ ?
मन्थली नगरक्षेत्रमा स्थानापति महादेवलाई पूर्वको पशुपतिनाथ भनेर चिनिन्छ । स्थानापति महादेवका लागि बस्र्याैनि लगानी गरिरहेका छौँ । पहिलो वर्ष १० लाख, दोस्रो वर्ष २० लाख र तेस्रो वर्ष ३० लाख रुपियाँ बजेट विनियोजन गरेर काम ग¥यौं । अहिले पनि ३० लाख रुपियाँ विनियोजन गरेका छौं । मन्दिर जान अप्ठेरो थियो, राम्रो सिढी बनाएकाले अहिले त्यहाँ जान सजिलो भएको छ । मोटर बाटोले जोडिएको छ । पुरातत्व विभागमा सूचीकृत गर्न प्रयासरत छौँ । त्यस्तै अङ्ग्रेजी फौजलाई सिन्धुली गढीले छेक्न नसकेको अवस्थामा अघि बढ्न नदिन बनाइएको तिल्केस्थान गढीलाई पर्यटक क्षेत्रका रुपमा विकास गर्न लागिपरेका छौँ ।
त्यसैगरी धार्मिक पर्यटकीय स्थलका रुपमा चिसापानी भिमसेनथान र त्यसमाथिको चिसापानी गढीलाई जोड्न गाइखुरा–भीमसेनथान पैदल मार्गका लागि सिढी निर्माणको काम यसैवर्ष सक्नेगरी काम भइरहेको छ । वडा न. ३ को ऐरमबासको प्रवद्र्धनका लागि बजेट विनियोजन गरेका छौं । यसरी मठमन्दिरहरुको संरक्षण र पूर्वाधार निर्माण गर्दै पर्यटकीय र धार्मिक पर्यटनको विकासको काम गरिरहेका छौं ।

मन्थली नगरबासीलाई थप के भन्न चाहानुहुन्छ ?
जनआकाङ्क्षा अत्यधिक छ तर स्रोतसाधन सीमित छ । सीमित स्रोत–साधनले जनचाहना ब्यवस्थापन गर्नुपर्ने चुनौति छ । कोरोनाले नियमित गतिविधि रोकिएको अवस्थामा छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न आर्थिक, सामाजिक र साँस्कृतिक रुपमान्तरण गर्नैपर्छ । विकास त एक दिन हुन्छ तर हामी उत्पादनसँग जोडिन सकेनौं भने हाम्रो अस्तित्व सकिनेछ । त्यसकारण नागरिकले उत्पादनसँग जोडिनै पर्छ । म आम नगरबासीलाई उत्पादनसँग जोडिन अनुरोध गर्दछु ।

प्रतिकृया

Add