Hamro-Mobile-APP

जनतासँग गरिएका बाचामा कोराना बाधक : थापामगर

 शुक्रबार, भदौ २५, २०७८ | onlinenews

रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरसँग नगरपालिकाको विकास निर्माणसँग सम्बन्धित रहेर सन्तोष ढुङ्गेलले गरेको कुराकानीको सम्पादीत अंशः

सर्वप्रथम यहाँलाई बधाई छ ! बागमती प्रदेशकै सबै भन्दा कम बेरुजू आउने पालिका बनाउन सफल हुनुभयो, यो कसरी सम्भव भयो ?

धन्यवाद ! विगतका अभ्यासबाट हामीले पाठ सिक्दै भावि योजना तथा कार्यक्रम बनाएर काम सुरु गर्यौँ । हामीले काम गर्न कहिल्यै भोली भनेनौँ । हामी पारदर्शीता, जावाफदेहिता, इमान्दारिता र जनउत्तरदायि बनेर काम गर्यौँ । बेरुजू कम आउनुमा हामी सबै, सँधै सँगै मिलेर काम गर्यौँ । हामीले बनाएको राणनीति अनुसार काम गरेकै कारण बेरुजू ०.३० प्रतिशतमा झार्न सफल भयौँ ।

 तपाइँ नगरप्रमुखका रुपमा प्रवेश गर्दाको चित्र कसरी सम्झनुहुन्छ ?

नगरपालिका भएपनि लामो समयदेखि जनप्रतिनिधि बिहीन रहेको र एकजना सरकारी कर्मचारीको भरमा विकास निर्माण लगायतका कामहरु गर्नुपर्ने वाध्यता थियो । जनउत्तरदायी जनप्रतिनिधि नहुँदा नागरिकले गुनासो गर्ने र माग राख्ने कुरा कठिन थियो । त्यसैले म निर्वाचित भएर आउँदा निकै चुनौति थिए । पहिलाको तुलनामा अहिले नागरिकले नगरपालिकाप्रति अपनत्व महसुस गर्न पाएका छन् ।

नगरपालिकाको विकासको गति अहिले चाँहि कस्तो छ ? कसरी अघि बढिरहेको छ ?

 नगरपालिकाको विकास नीतिगत रुपमा अघि बढिरहेको छ । पहिलो १ वर्ष ऐन–नियम बनाउनै लाग्यो । स्थानीय सरकार सञ्चालनको कुनैपनि ऐन, नियम नभएकाले स्थानीय सरकार आफैँले नीति तथा ऐन बनाएर काम अगाडि बढाइरहेका छौं । त्यसपछि ५ वर्षे कार्यकालको रणनीतिक योजना बनाएर काम गरिरहेका छौंँ । नगरपालिकामा विभिन्न विभाग बनेको छ, त्यसै अनुसार काम अघि बढिरहेको छ ।
 चुनावका बेला नगरबासीसँग कस्ता वाचा गर्नुभएको थियो ? कति पूरा गरेँ जस्तो लाग्छ ?

मैले अघि पनि भनेँ । हामी चुनौति स्वीकारेरै आएको हो । तर चुनौतिका बावजुद पनि विकासका, पूर्वाधारका कार्यक्रम गरिरहेकै छौँ । निर्वाचनका बेला जनतासँग गरेका बाचाहरु केही हदसम्म पूरा भएको छ जस्तो लाग्छ । तर लक्ष्यमा पुग्न सकिएको छैन । दुर्भाग्य भनौँ, विकासको क्षेत्रमा बामे सर्दै गर्दा कोरोना महामारीले विश्व नै आक्रान्त भयो, हामीलाई पनि अस्तब्यस्त बनायो । नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा पनि हाम्रै काँधमा आयो । कोरोनाबाट डेढ वर्ष हामी रुमलिनुपर्यो । त्यसैका कारण हामीले सन्तोष मान्ने गरी र जनतालाई आश्वासन दिएका वाचा पूरा गर्न सकेनौंँ । तर शतप्रतिशत नसके पनि जनतासँग गरिएका वाचा पूरा हुने क्रममा छन् । हामी कोसिसमा छौँ ।

 नागरिकले सुखानुभूति गर्नेगरी यो ४ वर्षमा के काम गरेँ भन्नुहुन्छ ?

 हामी निर्वाचित भएर आउनु अघि प्रशासनिक काम सदरमुकाममा सीमित थियो । नगरपालिकाको आफ्नो प्रशासनिक भवनसम्म थिएन । घर भाडामा लिएर प्रशासनिक काम चलाउनुपर्ने अवस्था थियो । एउटा गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्था थियो । वडा कार्यालय जाने सडक थिएन । हामीले सबैभन्दा पहिला पालिकाबाट हरेक वडा जोड्ने सडक बनायौँ । नगरपालिका र सबै वडाको प्रशासनिक भवन बनाएका छौँ । गाउँमै सिंहदरबार आएको जनताले अनुभव गर्न पाएका छन्, खास कामबाहेक नागरिकले सदरमुकाम धाउनु नपर्ने भएको छ । हामी निर्वाचित भएपछिको अवधिमा गरिएका यी काम नागरिकले राम्रै अनुभूति गर्ने काम हुन् जस्तो मलाई लाग्छ ।

 नगरपालिका र वडा जोड्ने सडक बनाएँ त भन्नुभयो, तर परम्परागत र विकासे सडक मात्र बनाएको, सडक पूर्वाधारमा दूरदर्शिता नदेखाएको भन्ने जनगुनासो छ नि ? के भन्नुहुन्छ ?
हो, प्रारम्भिक अवस्थामै सडक भनेजस्तो बनाउन नसकेकै हो । किनभने धेरै बजेट लाग्ने भएकाले सडक कालोपत्रे गर्न सकिएको छैन ।सबै वडा कार्यालय जोडिने सडक कच्ची छन् । सडक नै नभएको अवस्थामा सडकमात्र हुनुपनि उपलब्धि मानियो । तर मापदण्ड बनाएर सडक बनेकाले कच्ची नै भएपनि सबै वडामा सहज यातायात सञ्चालन भइरहेको छ । कालोपत्रेका लागि नगरपालिकाको आन्तरिक स्रोतले सम्भव नै छैन । त्यसैले प्रदेश र संघीय सरकारसँग माग गरिरहेको छु । आवश्यक बजेट आए नगरक्षेत्रका सबै मुख्यसडक कालोपत्रे गर्ने योजना अघि सारेकाछौँ ।
अलिकति प्रसङ्ग बदलौँ, स्थानीय तहले दबाव–तनाव अवरोध खेप्नुपरेको पालिका प्रमुखहरुले गुनासो गरेको सुनिन्छ । तपाइँको अनुभव कस्तो छ ?
म दबाव र तनाव भन्दापनि केही कानूनी जटिलता खेप्नुपर्यो भन्ने ठान्छु । स्थानीय तह बनेपछिका हामी पहिलो जनप्रतिनिधि हौँ । नयाँ ऐन, कानून र कार्यविधि बनाएर अगाडि बढुनुपर्ने हामीसँग चुनौती थियो । प्रदेश र संघीय सरकारका ऐन–कानूनहरु ढिलो बन्दा हामीलाई स्थानीय कानून बनाउन समस्या भयो । प्रदेश र संघसँग ऐन नियम बाझिने हुन् कि भन्ने चुनौती पनि थियो । नयाँ नीति र कानून बनाउनै सकस भयो । फेरि नयाँ कानून र नीतिका बारेमा नागरिकलाई बुझाउन पनि समय लाग्यो । जसका कारण विकास निर्माणमै धेरै चुनौती खेप्नु प¥यो ।
 ऐन नियमको कुरा गर्नुभयो । हालसम्म कति ऐन–कानून बनाउनुभयो ?
दर्जनौंँ बने । नगरपालिकालाई आवश्यक पर्ने सबै ऐन, कानून बनाएका छौं । कार्यविधि बनाएर अगाडि बढिरहेका छौं । कार्यविधि त आवश्यकता अनुसार बनाउँदै जाने कुरा पनि हो ।
 रामेछाप नगरक्षेत्रमा खानेपानीको विकराल समस्या छ । खानेपानी समस्या समाधानका लागि नगरपालिकाको योजना के छ ?
तपाइँले कुरामा सत्यता छ । नगरपालिकाको स्रोतले धान्न सक्ने समस्या हामीले समाधान गरेका छौं । खानेपानीको कुरा गर्दा नगरपालिकाले ३ वटा डिपबोरिङ्ग खानेपानी सञ्चालन गरेको छ । मुहानहरु सबैतिर सुकेका बेला डिपबोरिङ्गबाट वितरण गरेर खानेपानीको समस्या समाधान गर्ने प्रयास गरिएको छ । ५ वर्षभित्र नगरभित्रका ७ हजार ७ सय ७१ घर परिवारमा एकघर एकधाराको नीति बनाएका थियौं । तर लक्ष्य प्राप्तगर्न सकेका छैनौँ । हाम्रै कार्यकालमा खानेपानीको समस्या समाधान गर्न नीति, कार्यक्रम बनाएर काम गरिरहेका छौँ ।
नगरपालिकाको बजेट विनयोजन विधि कस्तो अपनाउनुभएको छ नि ?
बजेट विनियोजन गर्दा आवश्यकताका आधारमा गरिएको छ । बस्ती हुँदै वडाभेलाबाट प्राथमिकीकरण भएर आएका योजनाका आधारमा बजेट विनियोजन गरेका छौँ । विषयगत शाखा हुँदै नीतिगतरुपमा कार्यपालिकामा पठाएर, आवश्यकता, उठ्ने राजस्व, जनसंख्या र भूलोललाई आधार मानेर बिनियोजन गर्ने नीति लिएका छौं ।
रामेछाप धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण छ । पर्यटन र धार्मिक क्षेत्र सुधार विकासमा गरेका कामहरु बारे बताइदिनुहुन्छ कि ?
हो, नगरकासबै वडामा पिकनिक स्पट बनाएका छौंँ । वडामा रहेका मठ–मन्दिरहरु ब्यवस्थित गरेका छौं । रामेछाप नगरपालिकाकै अग्लो स्थान भालुखोप डाँडामा भ्यूटावर सम्पन्न हुने चरणमा छ । ताराखसे, पोखरी, वडा नं. ९ मा रहेको भीमसेनस्थान मन्दिर लगायत पुरातत्व विभागमा सूचीकृत भएका मन्दिर र देवालयहरुलाई व्यवस्थित गरेका छौं । पर्यटन प्रवद्र्धनका लागि उपयुक्त स्थानको पहिचान गरी काम भइरहेको छ ।
 रामेछापको पहिचानका रुपमा रहेको जुनार खेतीको प्रवर्धनका लागि विशेष कार्यक्रम केही बनाउनुभएको छ कि ?
जुनार खेतीलाई व्यावसायिक र व्यवस्थित गर्ने कुरामा हामी सचेत छौँ । जुनार पकेटक्षेत्रका किसानको आवश्यकता के हो भनेर बृहत्त छलफल गर्यौँ । औशाकीराले जुनार सखाप पारेको किसानको गुनासो आएपछि रोग नियन्त्रणका लागि बजेट विनियोजन ग¥यौँ । जसका कारण जुनारमा लाग्ने रोग निर्मूल गर्न हामी सफल भएका छौंँ । भविष्यमा पनि जुनार पकेटक्षेत्रका किसानहरुसँग समन्वय गरेर किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाउँछौँ । जुनार, फलपूmल तथा तरकारीको बजारीकरणका लागि पालिकाले व्यवस्थापन मिलाएको छ । स्थानीय कृषकका उत्पादन बिक्री वितरणमा सजिलो होस् भनेर रामेछाप डाँडामा लाग्ने बिहीबारे हाटलाई पनि व्यवस्थित गरेका छौंँ । बाह्य बजारीकरणका लागि पनि पालिकाले सहजीकरण गरिरहेकै छ ।
यो त जुनारको मात्र कुरा भयो, अन्य किसानका लागि कस्ता कार्यक्रम ल्याउनुभएको छ ?
नगरसभाले एक गाउँ एक उद्योग, एक गाउँ एक पकेट एरियाको नीति पास गरेको छ । जुनार, मसला, बाख्रापालन, बिऊ–बिजन जस्ता पकेटएरिया घोषणा गरी नीति तथा कार्यक्रम नै बनाएका छौँ । एक घर एक पशु वीमा, करेसाबारी सिँचाइका लागि एक घर एक पानीट्यांकी वितरण गरेका छौंँ । जसले गर्दा स्थानीय उत्पादनमा बृद्धि हुनुका साथै नागरिकलाई तरकारी तथा फलपूmलमा आत्मनिर्भर बनाउन टेवा पुगेको छ ।
नगरबासीलाई थप केही भन्न मन लागेका कुरा छन् कि ?
हाम्राबीचमा धेरै चुनौती आए, लक्ष्यअनुसारको काम गर्न सकेनौँ । अहिले पनि कोरोना जोखिमका कारण सोचे अनुरुपको विकास निर्माणको काम हुन सकेको छैन । नगरपालिकाले कोरोना नियन्त्रण र रोकथाम कार्यक्रम अन्तर्गत ७ हजार नागरिकलाई कोरोना खोप दिएको छ । नगरका सबैलाई खोप लगाउने लक्ष्यका साथ अगाडि बढेका छौं । कोरोना संक्रमणबाट नआत्तिइकन आपूm र अरुलाई सुरक्षित राख्न आम नगरबासीमा अपिल गर्न चाहन्छु ।

प्रतिकृया

Add