Hamro-Mobile-APP

शैलुङ्गमा दोलखाले मिचाहा प्रबृत्ति देखायोः कमान सिं मोक्तान

 शनिबार, अशोज २, २०७८ | onlinenews

सामाजिक रुपान्तरण र आमूल परिवर्तनको सपना बोकेर तत्कालीन माओवादी क्रान्तिमा होमिनुभएका कमानसिं लामा अहिले दोरम्बा शैलुङ गाउँपालिकाको नेतृत्वमा हुनुहुन्छ । ‘छलाङ मार्ने’ शब्द प्रशस्त प्रयोग हुने दलका नेता लामाले स्थानीय सरकारको प्रमुखको जिम्मेवारी पाएपछि हिजोको रुपान्तरण र आमूल परिवर्तनको सपना कसरी साकार पार्दै हुनुहुन्छ ? गति ‘नेपाली पन’ कै छ कि ‘छलाङ मार्ने’ स्तरको छ ?दोरम्बा शैलुङ्ग गाउँपालिकाको समग्र विकास निर्माणसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादीत अंशः

 गाउँपालिकाको विकास कसरी अगाडि बढिरहेको छ ?

 जनप्रतिनिधि नै नभएको स्थानीय निकायमा हामी निर्वाचित भएर आएपछि बिकासको गति तीव्ररुपमा अगाडि बढिरहेको छ । शिक्षाक्षेत्रमा आधुनिक भवनहरु निर्माण गरेर अध्यापन गराइरहेका छौँ । स्वास्थ्यक्षेत्रमा पनि १५ शैय्याको अस्पताल निर्माण थालेका छौँ । पूर्वाधार विकास अन्तर्गत सडक निर्माणलाई जोड गरेर बाह्रै महिना यातायात सञ्चालन गराएका छौँ । किसानलाई अनुदान दिएर उत्पादनमा हौसला दिने काम भएको छ । नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी विकासको गति अगाडि बढाइरहेका छौँ ।

 गाउँपालिकाको बजेट कसरी विनियोजन गर्नुभएको छ ?

 पालिकाको आवश्यकताको आधारमा बजेट बिनियोजन गरिरहेका छौँ । नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट बनाउँछौँ । हरेक वडालाई आवश्यकताका आधारमा नागरिकको पहुँचसम्म पुग्नेगरी वजेट विनियोजन गर्ने गरेका छौँ । तल्लो तह भनौं वडाबाट प्राप्त कार्यक्रम कार्यपालिकामा प्रस्तुत गरेर बजेट विनियोजन गरिन्छ । कार्यपालिकाले अनुमोदन गरेपछि मात्र बजेट विनियोजन हुने गरेको छ । आम नागरिकले अनुभूति गर्नसक्ने र हित हुने काममा पालिकाले बजेट विनियोजन गर्छ ।

 कृषिक्षेत्रमा पालिकाले कस्ता योजना बनाएको छ, बताइदिनुस् न ?

 कृषिक्षेत्रको विकासका लागि विभिन्न फलफूल तथा तरकारीको बिउ–बिजन उपलब्ध गराउनुका साथै पकेटक्षेत्र बनाएर काम गरिरहेका छौँ । किसानलाई फलफूलमा सुन्तला, कागती, किबी लगायतका बिरुवा उपलब्ध गराएका छौँ । आलुको कुरा गर्नुहुन्छ भने हामीले आलुखेती गर्ने किसानलाई ८५ प्रतिशत अनुदानमा बोरा दिएका छौँ । उन्नतजातका आलुको बीउ अनि रासायनिक मलमा पनि अनुदानको ब्यवस्था गरेका छौँ । पालिकाको वार्षिक नीति तथा कार्यक्रममा नै किसानको माग सम्बोधन हुनेगरी कार्यक्रम बनाएर काम गरिरहेका छौँ । गाउँपालिकामै आलुको बीउ उत्पादन गरेर किसानको आयस्रोत बढाउन लागिपरेका छौँ । आलु उत्पादन हुने क्षेत्र पहिचान गरेर कुनैपनि जमिन बाँझो नराख्ने नीति लिएका छौँ । दोरम्बा–शैलुङ गाउँपालिकालाई आलुको पकेटक्षेत्र घोषणा गरेर काम गरिरहेका छौँ । पालिकाको वडा नं– ४ गौश्वारा, वडा नं– २ दोरम्बा, वडा नं– ३ को मेग्रे, साल्मी र वडा नं– १ को डडुवामा आलुको ब्लक र जोन घोषणा गरेर किसानको आयस्रोत बढाउने र गाउँपालिकाको पनि स्रोत बढाउने काम गरिरहेका छौँ ।

 पालिकाको बजेट तल्लो तहसम्म कसरी लाने गर्नुभएको छ ?

गाउँपालिकाको बजेट नै तल्लो तहसम्मै पुग्ने हो । बजेटको उपल्लो जात र उपल्लो वर्ग भन्ने कुरै हुँदैन । बजेट तल्लो वर्गसम्म अर्थात् जनस्तरसम्म जाने कुरा हो । चाहे त्यो संरचना निर्माण होस् वा कृषि, शिक्षा, स्वास्थ्य जस्ता लक्षित वर्गसम्म पुग्नेगरी विनियोजन गरेका छौँ । विभिन्न जातजाति तथा पेशा गर्दै आएका वर्गलाई छुट्याइएको बजेट उनीहरुले नै पाउने गरी विनियोजन गरिएको छ । कपडा सिलाउनेदेखि आरन चलाउनेसम्म अनि युवाहरुलाई प्रोत्साहन गर्नेगरी बजेट ल्याइएको छ । बजेटमा महिला तथा बालबालिकाको क्षेत्रमा पनि विशेष जोड दिइएको छ । अहिलेको महामारीका कारण हामीले कृषि र स्वास्थ्यक्षेत्रमै लक्षित गरेर बजेट विनियोजन गरेका छौँ ।

लामो समय शून्य रहेको स्थानीयतहमा अहिले जनप्रतिनिधि आएपछि नागरिक अनुभूति कस्तो रहेको पाउनुभयो ?

नागरिकले धेरै फरक महसुस गरेका छन् । गाउँगाउँमा सिंहदरबारको नारा दिएपनि कतिपय ठाँउमा केही समस्या पनि देखिएका छन् । हामीले गर्नुपर्ने काम, योजना हाम्रै कार्यकालमा सक्छौं भन्ने त हैन, हामीहरुले पनि केही कमीकमजोरी गरेकै छौँ, त्यो स्वीकार्नै पर्छ । तरपनि नागरिकले हिजोको तुलनामा धेरै फरक अनुभूति गरेका छन् । पहिला एकजना कर्मचारीले गाविस चलाएका थिए । जनताको काम समयमै गर्न र नागरिकले अनुभूति हुनेगरी खासै काम भएका थिएनन् । हिजोको गाविस र अहिलेको गाउँपालिकामा धेरै अन्तर छ । पहिलाको ठूलो गाविसलाई दुईवटा वडा बनाएर जनताको कामलाई छिटो छरितो र पारदर्शी ढङ्गले काम भइरहेको छ । पहिला एउटा वडाले २÷३ लाख बजेट पाउँथ्यो, त्यसले नागरिकको न्यूनतम आवश्यकता पनि पूरा हुन सकेको थिएन । तर अहिले एउटा वडामा २÷३ करोडसम्म बजेट पुग्ने गरेको छ । यसले पनि के देखाउँछ भने नागरिकले आफ्नो प्रत्यक्ष प्रतिनिधि पाएको महसुस गरेको छ । निर्माणको परिणाम पनि धेरै फरक छ, जनसेवामा पनि हिजोको भन्दा धेरै फरक छ । पहिला वृद्धभत्ता लिन गाविस जानुपथ्र्याे भने अहिले घरघरमै पु¥याउने गरेका छौँ । आर्थिक, सामाजिक, भौतिक लगायतका विकासका कारण पनि नागरिकले पहिलाभन्दा अहिले धेरै फरक महसुस गरिरहेका छन् ।

दोरम्बा–शैलुङ्ग चौंरीको उर्बर भूमि मानिन्छ, चौँरी व्यवसायी प्रवर्धनमा तपाइँका योजना के कस्ता छन् ?

 तपाइँले भनेको एकदम सही हो । दोरम्बा–शैलुङ्गको या रामेछापकै गहनाका रुपमा पहिचान बनेको र पर्यटनलाई आकर्षित गर्ने महत्वपूर्ण माध्यमकारुपमा चौंरीपालन रहेको छ । तर चरिचरनका लागि घाँसको अभाव छ, चउरकै पनि अभाव छ । हामीले यस पटकदेखि घाँसको बीउ छर्ने काम गरेका छौँ । चौँरीका लागि निश्चित क्षेत्र (बाउण्ड्री) बनाएर चरिचरन गराइरहेका छौँ । चौंरीका लागि गतवर्ष पनि दानाको ब्यवस्थापन गरेका थियौं, यो वर्ष पनि निरन्तरता दिएका छौंंँ । शैलुङ्गक्षेत्रमा चौंँरी बस्ने गोठ र पानी खान ३५ लाख रुपियाँको लगानीमा पानीपोखरी निर्माण गरेका छौँ । चौंरीगाईको संख्या बढाउन र चरनक्षेत्रको व्यवस्थापन गर्न पालिका लागिपरेको छ । त्यसका लागि स्थान निर्धारण गरेर घाँस रोप्न किसानलाई सहयोग गरिरहेका छौंंँ । चौंरीपालक किसानको समूह बनाएरै त्यसको प्रबन्ध मिलाएका छौँ ।

 तपाइँले ४ वर्षे कार्यकालमा कति ऐन, विधेयक बनाउनुभयो ?

हामीले अहिले लगभग २३ वटा ऐन बनायौँ । आवश्यक कार्यविधि बनाएर त्यसैका आधारमा कार्य सञ्चालन गरिरहेका छौँ । हामीलाई तत्काल ऐन बनाउनुपर्ने समस्या पनि आएका छन् । अझैपनि धेरै ऐन बनाएर जानुपर्ने अवस्था छ । अहिले हामीले भएका ऐनमा टेकेर काम गरिरहेका छौँ ।

 शैलुङ्गक्षेत्रमा सीमा विवाद निकै चर्चामा थियो । अहिले के भइरहेको छ ?

 शैलुङ्ग हाम्रो महत्वपूर्ण पर्यटकीय र धार्मिक स्थल हो । त्यतिमात्र होइन अग्लेश्वरी, सानो शैलुङ्ग पनि उत्तिकै महत्वपूर्ण सम्पदा हुन् । दोरम्बा शैलुङ्ग गाउँपालिकाको मुख्य स्रोत नै कृषि र त्यसपछि पर्यटन हो । पर्यटन क्षेत्रमा पनि हामीले महत्वकासाथ काम गरिरहेका छौँ । पर्यटकीय क्षेत्र शैलुङ्गमा आउने पर्यटकका लागि स्तरीय खाने–बस्ने व्यवस्था छैन । त्यसका लागि होमस्टे बनाउनु पर्नेछ । त्यसमा काम भइरहेको छ । धेरै ठाँउमा होमस्टे बनाउने तयारी भइरहेको छ । मुख्यमुख्य ठाउँमा पर्यटनका लागि पूर्वाधार तयार गर्दैछौँ । अब कुरा रह्यो शैलुङ्ग विवादको, यो ठाँउ देशकै नमुना स्थान हो । खासगरी यो भूमि रामेछाप र दोलखाको सीमानामा छ । दुबै जिल्ला मिलेर यसलाई साझा सम्पदाको रुपमा बिकास गर्नुपर्छ भन्ने हाम्रो प्रस्ताव थियो । हामीले अहिले शैलुङ्गबाट लिने हैन शैलुङ्ग्लाई दिनु पर्छ भनेका थियौँ । त्यसबाट भोलिका दिनमा आउने आयस्रोत दुबै जिल्लाको हुनुपर्छ भन्ने नै हो । अहिले अन्य देशसँग सीमाका विषयमा लडिरहेका बेला आफ्नै छिमेकी जिल्ला सँग सीमाविवाद गर्नु उचित हैन । तर दोलखाको शैलुङ्ग गाउँपलिकाले मिचाहा र हेपाहा प्रवृत्ति देखायो । शैलुङ्ग हाम्रो मात्र हो भनेर दोलखाको पालिकाले मिचाहा व्यवहार गरिरहेको छ । दोलखाले मूर्ख प्रवृत्ति देखाउने र राजनीतिक सहमति गरौं भन्दा नगर्ने गरिरहेका छन् । खासमा भन्ने हो भने नक्सामा गूगल म्यापमा शैलुङ्ग ६० प्रतिशत रामेछापको भूगोलमा पर्छ । सीमा विवादमा हामी सबै प्रष्ट हुनुपर्छ भनेका छौँ । त्यही भएर हामीले दोरम्बा गाउँपलिकाको नाम परिवर्तन गरेर दोरम्बा शैलुङ्ग राखेका छौँ । शैलुङ्गक्षेत्रमा जति विकास भएको छ त्यो दोरम्बा शैलुङ्ग गाउँपलिकाकै पहलमा भइरहेको छ । यसका लागि हामीले संघीय, प्रदेश सरकारका साथै नापी बिभागको समेत ध्यानाकर्षण गराएका छौँ ।

अन्त्यमा पालिकाबासीलाई के भन्नुहुन्छ ?

समग्र शैलुङ्ग दोरम्बाबासी आम नागरिकलाई हाम्रो गाउँपालिकाको विकास र समृद्धिको निम्ति हामीले ४ वर्षमा जे ग¥यौं त्यो राम्रै ग¥यौं जस्तो लाग्छ । हामीले सबैको हुबहु चित्त बुझाउन सकेनौँ होला तैपनि गाउँपालिकाले जुन योजना बनाएको छ त्यसमा सम्पूर्ण नागरिकको सहयोग आवश्यक छ । जनप्रतिनिधिहरुले गरेको कामलाई बिरोधको नाममा बिरोध गरेर हैन गाउँपालिकाले गरेको कामलाई रचनात्मक ढङ्गले समर्थन र खबरदारी गर्नु आमनागरिकको कर्तव्य हो । राम्रो काम गरेको भए समर्थन र नराम्रो काम गरेको भए खबरदारी गर्न आम नागरिकलाई आग्रह गर्दछु ।

प्रतिकृया

Add