Hamro-Mobile-APP

एकल पुरुषलाई पनि मासिक भत्ता दिएका छौँः अध्यक्ष लामा

 शुक्रबार, अशोज ८, २०७८ | onlinenews

धावा लामा सरल र विनयी स्वभावका रामेछापेली नेताका रुपमा परिचित छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीयस्तरका नेता लामाले जनमुखी विकासको अभियान गाउँबाटै थाल्नुपर्छ भन्दै आफैँ पालिकातहको नेतृत्वमा रहेका छन् । नागरिकका साना कामलाई पनि ठूलो महत्व दिनुपर्छ भन्ने नीतिमा कटिवद्ध लामासँग सुनापति गाउँपालिको विकास निर्माण अवस्था र पालिकाले प्रवाह गर्दै आएको सेवा सुविधाका बारेमा गरिएका कुराकानीको सम्पादीत अंशः

तपाइँले नेतृत्व समालेपछिको पालिकाको चित्रमा कस्तो परिवर्तन आयो, बताइदिनुस् न ।

सर्वप्रथम त, लामो समयको अन्तरालमा हामी जनप्रतिनिधिका रुपमा पालिकामा आयौं । त्यसैले १ वर्ष हामीले अन्योलतामै बस्नुप¥यो । त्यसपछि तत्कालको आवश्यकता पहिचान गरेर काम सुरु गर्यौँ । चुनावी घोषणा–पत्रलाई नै आधार बनाएर काम अगाडि बढिरहेको छ । जनप्रतिनिधि बिहीनको अवस्थामाभन्दा अहिले तीव्र गतिमा विकास भइरहेको छ ।

चुनावमा नागरिकसँग गरेका वाचा कति पूरा गर्नसकेँ जस्तो लाग्छ ?

चुनावमा नागरिकसँग गरिएका वाचा लगभग ८० प्रतिशत पूरा गरेका छौँ । हामी २२ वर्ष पछाडि जनप्रतिनिधि भएर आएपछि भुकम्प पीडितहरुका लागि काम ग¥यौं । चुनावमा पूर्वाधार विकासको कुरा गरेका थियौं, त्यो लगभग पूरा गरेका छौँ । हिउँदमा मात्र यातायात चल्ने गरेको थियो, अहिले बाह्रै महिना यातायात चल्ने गरी सडक पूर्वाधार बनायौँ । अहिले सुनापती गाउँपालिकाको जुनसुकै वडाबाट काठमाडौं जान सक्नेगरी यातायातको सुविधा दिएका छौँ । टोल–टोलमै बाटो पुगेको छ । शिक्षित र विकसित सुनापती बनाउने वाचा विभिन्न बाधा, अड्चन र कठिनाइसँग जुधेर पनि पूरा गरेका छौँ । विद्युत सुविधा केही वडामा मात्र थियो, अहिले सबै वडामा पुगेको छ । शिक्षा, स्वास्थ्य, कृषिका विषयमा गरेका पूरा गरेका छौँ । शिक्षाको कुरा गर्दा सुनापतीमा मात्रै ३ वटा प्राविधिक क्याम्पस खोलेका छौँ । हामीले १२ वटा माविमा काम गरेका छौँ । स्थानीय पाठ्यक्रम निकालेका छौँ । सामान्य बिरामी पर्दा उपचार गर्न अन्त जानु पर्दैन भनेकोमा पाँचै वडामा स्वास्थ्य केन्द्र स्थापना गरेर नागरिकलाई स्वास्थ्य सेवा दिएका छौँ ।

नागरिकले लाभै लिन थालेको तपाइँका मुख्य कामलाई कसरी चित्रण गर्नुहुन्छ ?

हामी निर्वाचित हुनअघि एउटा खोप लगाउन पनि दोरम्बा जानुपर्ने वाध्यता थियो । अझ भन्ने हो भने खोप लगाउन अघिल्लै दिन जानुपर्ने वाध्यता थियो । अहिले पाँचै वडामा स्वास्थ्य चौकी बनाएर व्यवस्थित बनाएका छौँ । सिटामोल किन्नसम्म आधा÷एक घण्टा हिँड्नुपर्ने अवस्था थियो, अहिले यस्ता समस्या समाधान भएका छन् । १५ शैयाको अस्पताल बनाउँदैछौं । श्रीमती गुमाएर पनि अर्को विवाह नगरेका एकल पुरुषलाई मासिक १ हजार भत्ता दिइरहेका छौँ । परिवार स्वास्थ्यवीमा कार्यक्रममार्फत् पालिकाको तर्फबाट ५० प्रतिशत वीमा रकम अनुदान दिएका छौँ । जसले गर्दा नागरिकले १ लाखसम्मको उपचार निःशुल्क पाउँदै आएका छन् । गाडी चढ्न घण्टौं हिँड्नुपर्ने वाध्यता हटेको छ । समग्रमा भन्दा नागरिकले शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात जस्ता कुरामा सुखानुभूति गरेका छन् ।

तपाइँको पालिका हालसम्म व्यवस्थित भवनमा छैन । पालिका भवन निर्माण कहाँ पुग्यो ? वडाहरुको प्रशासनिक भवन निर्माणको योजना के छ ?

हामीले सुरुमै पालिकाको भवन बनाएर पालिकाको काम गरेका हौँ । अहिले ११ करोड लागतमा प्रशासनिक भवनको रङरोगन भइरहेको छ । सबै वडामा कतै २ तला, कतै साँढे २ तलाको प्रशासनिक भवन धमाधम बनाउँदै छौँ । लगभग चाँडै नै सबै भवन बनाइसक्छौँ ।

अघि सडकको कुरा गर्नुभयो तर सबैतिर कच्ची माटे सडक छ । व्यवस्थित र पक्की सडकमा पालिकाले ध्यान नदिनुको कारण के हो ?

पहिलो कुरा त सुनापती गाउँपलिका छिर्ने नाकामा पक्की पुल नै थिएन । झोलुङ्गे पुलबाट वारपार गर्नुपर्ने वाध्यता थियो । अहिले ४ वटा पक्की पुलबाट सुनापती गाउँपालिका प्रवेश गर्न सकिन्छ । कतैपनि राम्रोसँग बाटो खुलेका थिएनन् । जहाँसम्म पक्की र कालोपत्र सडकको कुरा छ, कालोपत्र गर्न धेरै महँगो पर्छ । पालिकासँग सीमित स्रोतसाधन छ, जसले गर्दा हामीले सडक सुरुदेखि नै राम्रो बनाउन सकेनौँ । गाउँपालिकाको बजेटले त कालोपत्रे सडक निर्माणको त सम्भावना नै नहुने रै’छ । सडक कालोपत्रे गर्न संघीय र प्रदेश सरकारसँग आग्रह गरिरहेका छौँ । बजेट विनियोजन हुनासाथ गर्छाै । वागमती प्रदेश सरकारबाट लुभु–खनियापानी–साँधी हुँदै गाल्पा भञ्ज्याङ निस्किने बाटोमा बजेट विनियोजन भएर काम भएको थियो तर, करोडौँ रुपियाँ खर्चिएको काम पनि राम्रो भएन । अहिले एडिबीको सहयोगमा लुभुदेखि दोरम्बा गाउँपालिकाको सीमानासम्म कालोपत्रे गर्ने योजना छ । डिपिआर चाहिँ सकिसकेका छौँ ।

तपाइँले भोग्नुपरेका समस्या र चुनौती चाहिँ के कस्ता छन् ?

पहिलो कुरा त नेपाल नयाँ संरचनामा प्रवेश गरेपछि ३ वटा सरकार हुने व्यवस्था भयो । ३ वटै सरकारले आफ्नो नीति तथा ऐन बनाउनुपर्ने थियो । पहिला संघीय र प्रदेश सरकारको चुनाव भएको भए हामीलाई कामगर्न सजिलो हुने थियो । तर सुरुमै स्थानीय निकायको चुनाव भयो । आफैँले कार्यविधि बनाएर ऐन–नियम बनाएर कामगर्दा समस्या भयो । १ वर्ष हामी पूरै अन्योलमा प¥यौं । विकास निर्माणका काम गर्न कानूनी समस्या रह्यो । स्थानीय सरकार स्वायत्त हुने भनेर ३२–३३ वटा अधिकार दिने भनिए पनि त्यसलाई लागू गर्न नसक्दा समस्या भयो । अरु चुनौती र समस्या त खासै भएन, कानूनी अड्चनले चुनौती दिएको हो । आफैँले आवधिक योजना बनाउनु पर्ने, ऐन–नियम र कार्यविधि बनाउनु पर्ने नै समस्या भोग्यौँ । त्यो १ वर्ष हामीले भूकम्पबाट पीडित भएकाहरुको पुनर्वासको कार्यक्रम गर्यौँ

ऐन–नियमको कुरा गर्नुभयो । यो ४ वर्षमा कति ऐन–नियम बनाउनुभयो ?

आवश्यकताका आधारमा ऐन तथा कानून बनाएका छौँ । हामीले हालसम्म ४० वटा जति ऐन–कानून बनाएका छौँ । आवश्यकता हेरेर अझै ऐन–नियम र कार्यविधि बनाउँदै छौँ । विनियम पनि त्यतिकै बनाउनु पर्नेछ । अर्को समस्या के छ भने संघीय र प्रदेशको कानूनसँग नबाझिए मात्र स्थानीय निकायका ऐन–कानून लागू हुने भनिएको छ, संघ र प्रदेश भन्दा पहिला हामीले ऐन कानून बनाउनुपर्यो, त्यसले गर्दा पनि समस्या आइरहेको छ । यति हुँदाहुँदै पनि हामीले जनभवना समेट्ने र पालिकाको व्यवहार खुल्ने कानून बनाएकै छौँ ।

थोरै कृषिक्षेत्रको कुरा गरौँ, सुनापतीका अधिकाङ्श नागरिक कृषिपेशामा आवद्ध छन्, किसानका पक्षमा के कस्ता काम गर्दै हुनुहुन्छ ?

पहिलो कुरा त किसानको मुख्य समस्या भनेकै रासायनिक मल हो । मलको समस्या त देशभरकै समस्या हो । स्थानीय सरकारले रासायनिक मलको कम्पनी खोल्नसक्ने कुरा पनि भएन । त्यसका लागि संघीय र प्रदेश सरकार जिम्मेवार हुनुपर्छ । स्थानीय सरकारले दिने सेवा सुविधा दिएकै छौँ । सहकारी मार्फत् किसालाई रासायनिक मल आपूर्तिमा सहजिकरण गरेका छौँ । अर्को महत्वपूर्ण कुरा के छ भने ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर, कुटानी–पिसानी मेसिन उपलब्ध गराएका छौँ । हामी किसानलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर सबै किसिमका प्रयोग अपनाइरहेका छौँ । स्थानीयस्तरमै बीउ–बिजन उत्पादन तथा भण्डारण गर्ने काम गरिरहेका छौँ । प्राङ्गारिक मल उत्पादन बढाउन सर्बै वडाका किसानलाई गड्यौला–पालनमा आकर्षित गर्ने प्रयास ग¥यौँ । तरपनि कोरोनाका कारण समयमै बीउ मल किसानले नपाउँदा समस्या भइरहेको छ ।

पालिकाको बजेट विनियोजन चाहिँ कसरी गर्नुभएको छ ?

बजेट विनियोजन गर्नुभन्दा पहिला संघ र प्रदेश सरकारले पठाएको सिलिङ हेर्छौँ । अनि कुन–कुन शीर्षकमा कसरी गर्ने भन्ने तय गरेर आवधिक कार्ययोजना बनाउँछौँ । त्यसमा कुनै योजना २ बर्ष, कुनै ३ बर्ष, कुनै ५ बर्ष भन्ने योजनाको प्रकृति हेरेर विनियोजन गर्दछौं । हामीले १५ बर्षसम्मको आवधिक कार्ययोजना बनाएका छौँ । त्यही कार्ययोजनामा टेकेर महत्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने गरेका छौँ । शिक्षा, स्वास्थ्य, कृषि अनि भौतिक पूर्वाधार विकासमा वडा तहदेखि आएका योजनालाई कार्यपालिकाद्वारा अनुमोदन गराएर मात्र बजेट विनियोजन गर्ने गरेका छौँ । हाम्रो लक्ष्य भनेकै सबै वडामा तोकिएको बजेट पु¥याउनु हो । भौतिक विकास, लक्षित वर्ग, महिला, वालवालिकाका साथै आवश्यकताका आधारमा बजेट विनियोजन गर्छौं ।

धार्मिक पर्यटन विकासलाई पालिकाले कत्तिको महत्व दिएको छ ? केही काम पनि भएका छन् कि ?

सुनापती गाउँपालिका बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुआयामिक पालिका हो । त्यसैले यहाँ धेरै मठ–मन्दिर र गुम्बा छन् । त्यसमा पालिकाले छुट्टै बजेट विनियोजन गरेको छ । यसपटक मात्रै ११ करोड रुपियाँ पर्यटन विकास बोर्डबाट प्राप्त भएको छ । धार्मिक पर्यटनका लागि गाल्पा भञ्ज्याङ् र लुभुमा पूर्वाधार निर्माण गर्न ५ करोड रुपियाँ विनियोजन गरेका छौँ । त्यसले सुनापती मन्दिर, मन्दिर जाने सिंढी निर्माण गर्छाैँ । त्यसपछि लहरे माने, गुम्बा र मठ–मन्दिर सबैको काम अगाडि बढाएका छौँ । दोभानटारदेखि अग्लेश्वरीसम्म सिंढी बनाउन ५ करोड रुपियाँ छुट्टयाइएको छ । धार्मिक तथा पर्यटन प्रवर्धनमा धेरै काम गर्ने लक्ष्य छ ।

पालिकावासीलाई केही भन्नुहुन्छ कि ?

सुनापती गाउँपालिकालाई समृद्ध र सुखी बनाउन सबै नागरिक, राजनीतिक दल, सरोकारवाला निकाय सबैको उत्तिकै भूमिका हुन्छ । सबैको साथ र सहयोगले नै यी सबै काम सम्पन्न गर्न सकिन्छ । अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाले सबैलाई असर पारेको छ, यसबाट सुनापती पनि अछुतो रहन सकेन । त्यसैले सबै नागरिकले एकढिक्का भएर पालिकालाई समृद्ध बनाउन सहयोग गरौं । हामीले गर्नुपर्ने काम हाम्रै कार्यकालभित्र गरिसक्ने छौँ ।

प्रतिकृया

Add