Hamro-Mobile-APP

पढ्नलाई उमेर छेकेन, ४७ बर्षीया हजुरआमा नातीसँगै पढ्दै

 शनिबार, अशोज ३०, २०७८ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ८ जखनीटारस्थित विद्या सदन विद्यालयको कक्षा ६ मा विद्यार्थी पङ्तिमा एउटी महिला मिसिएर बसेकी हुन्छिन् । पुग्ने र देख्नेहरुले सहजै अनुमान गर्छन्– पाको उमेरकी यी महिला शिक्षिका होलिन् । तर, जब यथार्थ थाहा पाउँछन् जोकोही छक्क पर्छन् । कारण हो– अधवैशे ती महिला शिक्षिका होइनन्, कक्षा ६ की विद्यार्थी हुन्, हर्कमाया माझी ४७ ।
यो उमेरमा दैनिक झोला बोकेर विद्यालय र कलिला केटाकेटीसँग बसेर पढ्नुपर्ने के आइलाग्यो त ? यसका पछाडि अमिलो तर प्रेरक घटना छ । गाउँ र गाउँलेका पक्षमा केही गर्नुपर्छ भन्ने भावना बोकेकी हर्कमाया गाउँ र जिल्लास्तरका विभिन्न छलफल, बैठक र कार्याक्रममा बाक्लै बोलाइने मध्येमा पर्थिन् । तर, कार्यक्रममा दिइने कापी–कलममा सहभागीहरु के–के टिप्थे÷लेख्थे तर हर्कमाया कलमको बिर्काे नखोली र कापी नपल्टाई घरमा लान्थिन् । कार्यक्रमको सूचि र उद्देश्य पढेर कार्यक्रमका बारेमा थाहा पाउनेहरु फटाफट सोही अनुसार चल्थे, तर हर्कमाया कार्यक्रमभरि अन्योलमा पर्थिन्– अब के हुन्छ ? अरु त अरु टाँगिएको ब्यानरमा के लेखिएको छ भन्ने सम्म थाहा नपाउँदा भित्रैबाट अमिलो भएर आएपछि ४ सन्तानकी आमा हर्कमायाले निर्णय गरिन्– यसरी अन्धकारमा बस्दिन, पढ्छु ।
४५ बर्षको उमेरमा उनी विद्यार्थी बनिन्– हर्कमाया माझी, कक्षा १, रोल नं. ३८ । आमा–हजुरआमा सरहकी महिला आफूहरुसँग पढ्न बस्दा कलिला बालबालिका छक्क परे । धेरै गाउँलेले खिस्ट्याए– ‘के देख्नुपरेको ? मर्नेबेलामा …’ । केटाकेटी र गाउँलेको कुरा त पर भयो, शिक्षकहरु पनि छक्क परे– यो उमेरमा …? हातमा किताब बोकेर हिँड्न अप्ठेरो पनि लाग्यो । तर पढाइप्रतिको प्यासले ज्ञानको कुवामा जाने खुट्टा गलेनन् । कक्षा एककै विद्यार्थी बनेर घुँडा धसेर पढिन् । कखरा र ३ कक्षासम्मको पाठ छिचोलेपछि विद्यालयले उनलाई ४ कक्षामा भर्ना गरिदियो ।
४ सन्तानकी आमा हर्कमायाकी कान्छी छोरी नै अहिले शिक्षामा स्नातक गर्दैछिन् । जेठो छोरा दिलसिंह माझी २८ बर्षमा लागे । छोराले बीचैमा पढाइ छाडेकोमा उनलाई दुःख लागेको छ ।
हरेक दिन बिहान १० बजे नै हातमा किताब–कापी च्यापेर विद्यालय जान थालेपछि सुरुमा अचम्म मानेका वालवालिकाहरु अहिले हर्कमायालाई दिदीसाथी भन्छन् । हर्कमायाले पनि निर्दाेष नातिनातिना साथी पाएकी छिन् । नजानेको कुरा लाज नमानी तिनै कलिला साथीहरुसँग सोध्छिन् र आएको सिकाउँछिन् । अर्थात् विद्यालय परिवारले हर्कमायालाई अनुशासित, लगनशील र मायालु विद्यार्थीका रुपमा स्वीकार गरेको छ ।
तर, विद्यालय र ज्ञानको यात्राले हर्कमायाको दैनिक जीवनमा अर्काे समस्या उब्जाएको छ– बेफुर्सद । स्कूल जाँदा विद्यार्थी, चेली र साथी बनेकी हर्कमाया घरमा श्रीमती र आमा हुन् । गाई–बाख्राकी संरक्षक, खेतबारीकी किसान, समाजकी अगुवा, कतै ऋणी र कतै धनी । ढोका पोत्नेदेखि भान्सा पोल्नेसम्मको दायित्व कसैले लिइदिएको छैन । बूढ्यौलीको आभास पनि छ, तर मनमा भीष्मप्रतिज्ञा छ– जीवन व्यवहार यस्तै हो, अन्धकारमा त कुनै हालतमा बाँच्दिन अब ।
आमा नियमित विद्यालयमा गएर पढ्न थालेपछि छोराछोरी भने दङ्ग छन् । छोरा मानबहादुर माझी भन्छन्, सुरुमा त पत्याएका थिएनौँ, अहिले आमाले फरर्र पढेको देख्दा मजा लाग्छ ।
हर्कमायाका २३ बर्षीय छोरा मानबहादुर भन्छन्, आमाले हामीलाई जसरी पनि पढाउनुपर्छ भनेको रहस्य अहिले बुझ्यौँ । आमाको पढाइको रुचिले नै आफूहरुले पढाइको वातावरण पाएको एसएलसी उत्तीर्ण मानबहादुरको ठम्याई छ । यस्तै अनुभव छ हर्कमायाकी स्नातक उत्तीर्ण माइली छोरी लक्ष्मीको पनि ।
विद्याको आँखा उघ्रिएपछि हर्कमायाका दिनहरु अहिले सरल हुँदै गएका छन् । उनी कार्यक्रममा फरर्र विषय पढ्छिन् र बुझ्छिन् । अक्षर नचिनेकै कारण कसैले झुक्याउने दिन अब कहिल्यै फर्केर नआउने भए । माइनेटिङ पढेर मिटिङमा भएको निर्णय घर र छिमेकमा भन्न थालेकी छिन् । लेनदेनका हिसाब लेखेर राख्छिन् ।
अहिले कस्तो अनुभव गरेकी छिन् त स्वयम् हर्कमायाले ? भनिन्, मलाई त औधी रमाइलो लागेको छ । मुखले भन्नै सक्दिन । छामेर हिँडेकी रै’छु, आज आँखाले हेरेर हिँड्न पाएकी छु ।
आजपनि हर्कमायालाई ३ कक्षामा पढ्ने ७ वर्षको नाती डोहो¥याएर स्कुलतिर गइरहेको देख्न सकिन्छ । गाउँमा कुनै केटाकेटीले पढेन भने हर्कमायाकै उदाहरण दिन थालिएको छ– हेर् त हर्कमाया बज्यैलाई ?
स्कूल नगएको भोलिपल्ट भने हर्कमायालाई दिक्क लाग्छ । किनभने सबै विद्यार्थीले एकस्वरमा शिक्षकशिक्षिकालाई सोधेर हैरान पार्दारहेछन्– बज्यै खोई ? खोई त बज्यै ?
विद्यालयमा सबैभन्दा मिल्ने, सबैभन्दा मायालु बज्यैसाथीलाई अहिले नातिसाथीको नियास्रो मेट्न पनि स्कूल नगई धर छैन । भनिन्, विद्या मात्र होइन, मलाई पर्खेर बस्ने सयौँ साथी पनि पाएँ ।

प्रतिकृया

Add