Hamro-Mobile-APP

जनतासँग गरेका बाचा पूरा गर्दै लगेका छौँ : तामाङ

 शनिबार, अशोज ३०, २०७८ | onlinenews

रामेछाप जिल्लामा रहेका ८ पालिकामध्ये खाँडादेवी गाउँपालिकाले पूर्वाधार विकासमा निकै फड्को मारेको छ । सडक कालोपत्रेदेखि विद्युतीकरणमा पालिका आकर्षक किसिमले लम्केको देखिन्छ । प्रदेश सरकारबाट आउने बजेटमा पनि खाँडादेवी प्राथमिकतामा परेको देखिन्छ । विकास निर्माण तथा समसामयिक विषयमा केन्द्रित रही खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङसँग गरिएको कुराकानीको सम्पादीत अंश ।

गाउँपालिकाको विकास कुन गतिमा अगाडि बढिरहेको छ ?

 २० वर्षपछि जनप्रतिनिधिको व्यवस्था भयो । हाम्रो पहिलो काम ऐन–कानून बनाउनु नै थियो । स्थानीयतह बनेपछि ऐन–कानून र कार्यविधि निर्माणलाई पहिलो प्राथमिकतादिनुपर्यो ।

निर्वाचित भएर आएको पहिलो वर्ष अलमल नै भयौँ । दोस्रो वर्षसम्म आइपुग्दा हामीले ५ वर्षे कार्यकाललाई ध्यानमा राखेर वार्षिक, आवधिक र दीर्घकालीन गरी ३ क्याटोगोरीका कार्यक्रम बनाएर अघि बढ्यौँ । पहिलो प्राथमिकता भौतिक संरचना निर्माणमा दियौँ, त्यसमा पनि सडकलाई १ नम्बरमा राख्यौँ । हाम्रो कार्यकाल सङ्कटपूर्ण पनि रह्यो । हामी निर्वाचिच भएर आउँदा भूकम्पले ठूलो क्षति पुर्याएको अवस्था थियो । भूकम्पले क्षति पुर्याएको निजी आवास, सरकारी कार्यालयहरु र विद्यालय भवनहरु निर्माणको कामलाई हामीले प्रथामिकतामा राखेर काम गर्यौँ । स्थानीयतहमा हामी पहिलो जनप्रतिनिधि भएकाले गाउँपालिकादेखि वडासम्म कार्यालय भवन बनाउनुपर्ने, स्वास्थ्य संस्थाहरुको स्तरउन्नति गर्नुपर्ने लगायतका सेवा तथा सङ्रचनाहरु निर्माण गरी अगाडि बढ्नुपर्ने अवस्था थियो । हामीले चौथो वर्षमा आइपुग्दा जनतासँग गरेका बाचा पूरा गर्दै लगेका छौँ । सबै वडामा हिउँदे–बर्खे सडक बनाउने लगायका प्रतिबद्धता गरेका थियौँ, त्यो पूरा भएको छ ।

४ वर्षमा कति ऐन–कानून र कार्यविधि बनाउनुभयो ?

 हामीले ऐन र नियम गरेर ६४ वटा बनायौँ । कानूनले स्थानीय तहलाई दिएको २२ वटा कानूनमा टेकेर कार्यविधि र निर्देशिकाहरु बनाएका छौं ।

 तपाइँ निर्वाचित भएर आउनु अघि र अहिलेको अवस्थालाई कसरी तुलना गर्नुहुन्छ ?

  स्थानीय तह निर्माण हुनुअघि एकात्मक व्यवस्था थियो । खाँडादेवी गाउँपालिकामा हिउँद–बर्खा नै चल्ने कुनैपनि सडक थिएन । स्वास्थ्य संस्थाहरुमा निःशुल्क औषधी वितरण हुन्थ्यो तर जनतालाई थाहा थिएन । शिक्षाक्षेत्रमा शिक्षकहरु हाजिर हुन्छन् कि हुँदैनन् ? विद्यार्थी कति छन् ? पढ्छन् कि पढ्दैनन् ? पढाई कसरी हुन्छ ? केही थाहा थिएन । हामी निर्वाचित भएर आउँदासम्म शिक्षकहरुले पालो गरेर पढाएको अवस्था थियो । समग्रमा विकासले गति लिन सकेको थिएन । हामी आएपछि ५ सय मिटर सडक ट्रयाक खोल्यौँ । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा २३ किलोमिटर सडक कालोपत्रे भएको छ । विकास निर्माणको क्षेत्रमा हामी आएपछि धेरै नै परिवर्तन आएको छ ।

 विकास निर्माणका क्रममा केही अवरोधको सामान गर्नुपरेको अनुभव छ ?

 विकास निर्माणमा हामीलाई खासै बाधा–अवरोध आएन । तर अवसर सँगसँगै चुनौती चाहिँ थियो । स्थानीयतहमा पहिलो निर्वाचित जनप्रतिनिधि भएकाले हामीलाई अवसर थियो । ऐन–कानून निर्माण, भौतिक पूर्वाधार निर्माण जस्ता विकास निर्माणको काम हाम्रा लागि चुनौती थियो । त्यसलाई सहज बनाउँदै हामी अगाडि बढ्याँै । जनताबाट पनि सहयोग पाएँ । हामीले जस्तो भिजन बनाएका थियौँ, जनतासँग जे प्रतिबद्धता गरेका थियाँै, त्यो काम गर्न जनताको सहयोग पाएकाले नै सहजतापूर्वक काम सम्पन्न गर्न सफल भयौँ ।

खाँडादेवी गाउँपालिका सुख्खाग्रस्त क्षेत्र मानिन्छ । खानेपानीको समस्यालाई तपाइँले कसरी हेर्नुभएको छ ?

जिल्लामा साविकका २६ वटा गाविस सुख्खाग्रस्त क्षेत्रमा पर्छ । २६ मध्ये ६ वटा गाविस खाँडादेवी गाउँपालिकामा पर्छ । यस हिसाबले यो पालिका अति सुख्खाग्रस्त क्षेत्र हो । यो पालिका हुँदै सुनकोसी र तामाकोसी बग्छ तर माथिल्लो भाग सुख्खा छ । खानेपानीको अभावका कारण कतिपय ठाउँबाट बस्ती नै विस्थापित हुने क्रम बढिरहेको थियो । तर, हामी आइसकेपछि खानेपानीको लागि १ घर १ धाराको अवधारणा अनुरुप अभियान नै सञ्चालन गर्यौँ । हामी आउनु अघि पकरवास, भीरपानी वृहत्त खानेपानी आयोजना निर्माणाधीन अवस्थामा थियो । अव्यस्थित रुपमा रहेको त्यो आयोजना सम्पन्न भएर अहिले १ हजार २ सय घरपरिवारमा धारा वितरण गरी खानेपानी व्यवस्थित पारिएको छ । सुख्खाग्रस्त क्षेत्र खानेपानी आयोजना अन्तर्गत राकाथुम लगायतका ठाउँमा ट्याङ्की बनाएर धारा वितरण गरिएको छ । स्रोत भएको ठाउँबाट पानी ल्याएर खानेपानी वितरण गरेका छौँ । गाउँपालिका रहेको स्थानमा पनि चोप्राङ खोलाबाट पानी ल्याएर २ लाख लिटरको ट्याङ्की निर्माण गरी बस्तीमा खानेपानी वितरण गरेका छौँ । खानेपानीको स्रोत सुकेकाले समस्या भने अझै छ । सुख्खाग्रस्त क्षेत्रमा स्थानीयको ५० प्रतिशत र पालिकाको ५० प्रतिशत लगानीमा १ घर १ ट्याङ्की कार्यक्रम अन्तर्गत ४ सय ट्याङ्की वितरण गरेका छौँ । आकाशे पानी जम्मा गर्ने विधि करेसाबारी–तरकारी सिँचाई, सरसफाई र बस्तुलाई खुवाउन प्रयोग हुने भएकाले त्यो कार्यक्रम प्रभावकारी भएको छ । महत्वाकाङ्क्षी योजना अन्तर्गत खानेपानी र सिँचाइको लागि डिपीआर गरेर अगाडि बढेका छौँ । गाउँपालिकाको आवधिक योजना अन्तर्गत भटौली खोलाको सिरमा रहेको चोप्राङखोलाको पानी ड्याममार्फत् ४ वटा वडामा खानेपानी र सिँचाइका लागि वितरण गर्नेगरी यो वर्ष डिपीआर हुँदैछ । त्यो आयोजनाबाट पालिकाको वडा नंं ४, ५, ६ र ७ नम्बर लाभान्वित हुनेछन् । यी आयोजना सम्पन्न गर्नसके गाउँपालिकाको समृद्धिको आधार तयार हुन्छ भन्ने हामीलाई लागेको छ ।

  युवा उद्यमशिलता र कृषिक्षेत्रमा चाहिँ के काम गर्नुभएको छ ?

कृषि चुनौतीपूर्ण विषय हो । जमिनको वर्गीकरण गलत छ । त्यसकारण पनि कृषि निर्वाहमुखी मात्रै छ । हामी सबै आफूलाई कृषक भन्छौं, पेशा कृषि लेख्छौं । तर, जमिन सबै बाँझै राख्छौँ । हामी निर्वाचित भएर आएपछि खाली जमिन राख्न पाइँदैन भनेका छौँ । भू–वर्गीकरण गर्न हामीले सुरु गरेका छौँ । मालपोत मूल्यको हिसाबले यहाँको जमिनको मूल्य एकदमै न्यून छ । धितो राखेर बैंकबाट ऋण लिनुपर्यो वा कृषि कार्यक्रम सञ्चालन गर्नुपर्यो भने यहाँको जमिन राखेर पाइँदैन । अनुत्पादक क्षेत्रमा लगानी भइरहेको छ । वर्गीकरणको आधारले गर्दा त्यो स्थिति सिर्जना भएको हो । हामीले कृषकलाई उत्पादनमा लगाउन र व्यावसायिक बन्न प्रोत्साहित गरिरहेका छौँ । विदेश जानुभन्दा यहीँ फर्म दर्ता गर्नुस्, उत्पादनमा लाग्नुस् भनेका छौँ । पालिकाको ९ वटै वडाको माटो परीक्षण गरेर व्यावसायिक खेतीका लागि विपन्न कृषकको ५० प्रतिशत लगानी र पालिकाको ५० प्रतिशत अनुदानमा कृषि फार्म सञ्चालन गरिएको छ । पालिकाले ठूलो परिमाणमा लगानी गर्नसक्ने अवस्था नभएकाले बिपन्न किसान पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको छ । अनुदान र ब्याज अनुदान गरी २ किसिमको अनुदानको कार्यक्रम सञ्चालन गरेका छौँ । कार्यक्रम सञ्चालन गरिएको ठाउँमा किसानको जीवनस्तरमा सुधार आएको छ । किसानले उत्पादन गरेका वस्तु काठमाडौँको कालिमाटी बजारसम्म लान थालेका छौं । वार्षिक कार्यक्रम अन्तर्गत कृषिबाट ऋण लिने किसानलाई १ वर्षको ब्याज पालिकाले तिरिदिने कार्यक्रम ल्याएका छौँ । खाँडादेवी गाउँपालिका पशुपालको क्षेत्रमा आत्मनिर्भर छ । बंगुर, कालिज, कुखुरा हामीले निर्यात गरिरहेका छौँ । बाँझो जमिन व्यवस्थापन चुनौतीका रुपमा रहेको छ । त्यसमा पनि बाँझो जमिन राख्न पाइँदैन भन्ने कार्यक्रम ल्याएका छौँ । जमिन बाँझो नराख्ने हो भने खाँडादेवीमा राम्रो उत्पादन बढाउन सकिन्छ । रोजगारीको कुरा गर्दा भूकम्पपछिको पुनर्निर्माणका क्रममा भारतबाट ४ सय ९० जना कामदार पालिकामा आए । हाम्रा मान्छे बेरोजगार भयौँ भन्दै मलेसिया, कतार जस्ता देशमा गइरहेका छन् । तर, हामीसँग सीप भएका मजदुर नै रहेनछन् । सडक कालोपत्रे गर्ने मानिस नेपालमा छैनन्, बेरोजगारको कुरा धेरै गर्यौँ तर सीपयुक्त कामदार उत्पादन गर्नेतिर ध्यान गएन कि भन्ने लागिरहेको छ ।

खाँडादेवी रामेछापकै प्रसिद्ध धार्मिकस्थल हो । धार्मिक र पर्यटन प्रवर्धनका के काम गर्नुभयो ?

गाउँपालिकाको नाम नै खाँडादेवी मन्दिरोै नामबाट नामकरण भएको हो । पर्यटकीय क्षेत्रमा पनि विकास गर्न सकिने सम्भावना भएको पालिका हो खाँडादेवी । खाँडादेवी मन्दिर, नर्वदेश्वर, त्रिवेणी, विश्वामित्र गुफा, सोलीथुम्का जस्ता महत्वपूर्ण पर्यटकीय स्थल यहाँ छन् । सोलीथुम्कामा अहिले भ्यूटावर निर्माण भइरहेको छ । ङान्योर साम्दालीङ गुम्बा ५ करोड लागतमा बनिरहेको छ । खाँडादेवी मन्दिर प्रवर्धनका लागि १० वर्षको गुरुयोजना बनाएका छौँ । गुरुयोजना सम्पन्न गर्दा १० करोड लाग्ने अनुमान छ । पुरातात्विक विभागबाट पनि २ करोड रुपियाँ आएर काम भइरहेको छ । प्रदेश सरकार र स्थानीय सरकारले पनि काम गरिरहेको छ । त्यसकारण ४ वर्षअघि र अहिलेको खाँडादेवी मन्दिरमा धेरै फरक देखिन्छ ।

गाउँपालिका र वडा कार्यालयहरुको प्रशासनिक भवन बन्न ढिलो भएन ?

 गाउँपालिकाको स्थायी प्रशासनिक भवन निर्माणका लागि स्थानीयले १५ रोपनी जग्गा दिने भनेर प्रतिवद्धता जनाएका थिए । त्यसमध्ये ९ रोपनी आइसक्यो । अरु पाउन बाँकी छ । जग्गा अभावकै कारण पालिकाको प्रशासनिक भवन बन्न नसकेको हो । अहिले अस्थायी भवनबाट प्रशासनिक काम भइरहेको छ ।

निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता पुरा गरेँ त भन्नुभयो ? कति पूरा गर्नुभयो ?

चुनावमा गरिएका वाचा केही बाहेक पूरा गरेका छौँ । प्रतिवद्धता अनुसार भटौली खोलाको ड्याम निर्माण गर्ने काम बाँकी छ । प्रदेश सरकार र संघीय सरकारसँग डिपीआर गरेर बुझाउन मात्रै बाँकी छ । अरु कुरामा चाँहि हामीले वाचा गरेभन्दा बढी नै काम भएको छ । यातायातको हकमा सबै वडा कार्यालयसम्म पुग्ने सडक हिउँद–बर्खा नै चल्ने गरी बनाउँछौँ भनेका थियौँ । कालोपत्रे गछौँ भनेका थिएनौँ तर हामीले सडक कालोपत्रे नै गरेका छौँ । २० किलोमिटर सडक ग्राबेल र २३ किलोमिटर सडक कलोपत्रे भएको छ । प्रदेश सरकारको सयोगमा हाम्रो कार्यक्रममा ५९ किलोमिटर सडक कालोपत्रे भएको छ । खानेपानीको क्षेत्रमा प्रतिवद्धता गरेअनुसारकै काम भएको छ । स्थास्थ्यमा सुधार ल्याएका छौँ । आधारभूत तहको शिक्षा स्थानीय तहको जिम्मामा आएपछि विद्यालय र अभिभावक र सरोकारवालाहरु बीच गोष्ठी सञ्चालन गरी २५ बुँदे घोषणा–पत्र जारी गरेर आगाडि बढ्यौँ । घोषणा–पत्र अनुसार नै काम भएको हुनाले शिक्षामा पनि गुणात्मक सुधार आएको छ । हामी निर्वाचित भएर आउँदा गाउँपालिकाको एउटा वडामा मात्रै विद्युत थियो । अहिले ९ वटै वडामा विद्युत विस्तार गरी उज्यालो खाँडादेवी घोषणा गरिसकेका छौँ ।

गाउँपालिको बजेट विनियोजनको कार्यविधि कस्तो छ ?

 वजेट विनियोजनका सातौँ चरण छन् । ७ चरण पार गर्दै अन्तिममा गाउँसभामा लगेर पास गर्ने हो । पुस मसान्तभित्र पछिल्लो आर्थिक वर्षको वजेट प्रक्षेपण गर्नुपर्छ । फागुन १५ गतेभित्र सङ्घीय सरकारले सिलिङ पठाउँछ । सिलिङको विषयमा पालिकाको तर्जुमा समितिको वैठक बसेर बस्तीस्तरमा पठाउँछौँ । बस्तीस्तरको योजना पहिचान भएर वडामा पेश हुन्छ । वडाबाट योजनाको प्राथमिकीकरण गर्दै उपाध्यक्षको अध्यक्षतामा रहेको तर्जुमा समितिमा पेश हुन्छ । तर्जुमा समितिमा स्रोत निर्धारण गरेर स्रोत निर्धारण समितिमा पेश हुन्छ । स्रोत निर्माण समितिले स्रोत सुनिश्चित गरिसकेपछि कार्यपालिकामा पेश हुन्छ र कार्यपालिकामार्फत् सभामा गएर पास गरेपछि कार्यान्वयन प्रक्रियामा जान्छ ।

खाँडादेवी गाउँपालिकामा बेरुजुको अवस्था अहलिे कस्तो छ ?

खाँडादेवी गाउँपालिकामा १२ लाख रुपियाँ असुल–उपर गर्नुपर्ने बेरुजु देखिन्छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट सर्शत बजेट आउँछ । कतिपय बजेट त्यो बेलामा फिर्ता भएको हुँदैन । कतिपय बजेट टेण्डर भएर बाँकी रहेको हुन्छ । गतवर्ष गाउँपालिकामा बढी बेरुजु देखिनुको कारण साँढे ४ करोड फिर्ता गर्न बाँकी थियो । म्याद थप भएकाले बजेट फिर्ता गर्न बाँकी थियो । समपुरक र विशेष कोषबाट पनि १० करोड बजेट आएको हुनाले हामीले टेण्डर निकाल्यौँ । टेण्डर भएपछि लकडाउन भयो र अर्थ मन्त्रालयले हामीलाई ६ महिना म्याद थप गरिएको पत्र पठायो । समपुरक कोष र विशेष कोषको बजेट रहेका कारण धेरै बेरुजु देखिएको हो ।

अन्त्यमा गाउँपालिकावासीलाई के भन्न चाहानुहुन्छ ?

 हामी दीर्घकालीन सोचकासाथ सुन्दर, सभ्य, समृद्ध खाँडादेवी निर्माण प्रक्रियामा छौँ । हाम्रो कार्यकाल जति बाँकी छ, आम जनमुदायले सुन्दर, सभ्य, समृद्ध खाँडादेबी बनाउने अभियानमा अहिलेसम्म सहयोग गर्नुभएको छ, पछिसम्म पनि सहयोग गर्नुहुन म अनुरोध गर्न चाहन्छु ।

प्रतिकृया

Add