Hamro-Mobile-APP

देशले मागेको छ, त्यागी पुस्ता

 शुक्रबार, पुस २४, २०७७ | onlinenews

डा.सुमन कर्माचार्य


पद पैसा, प्रतिष्ठा, शक्ति तथा ब्यक्तिगत स्वार्थ भएका मानिसहरुले देश, समाज र संघ संस्थाहरुको नेतृत्व गरुन्जेल र त्यस्ता मानिसहरुलाई नेता बनाउनुन्जेल संसारका कुनै पनि देश र समाज गुणात्मक विकास र समृद्धिको बाटोमा जान सक्दैनन् । यी स्वार्थहरुले परिवारवादको पृष्टपोषण गर्दछन् । जसले निष्पक्षता तथा ठीक बेठीक छुटयाउन प्रयोग हुने दिमागको तन्तुलाई निष्कृय बनाउछ र ती मानिसहरुका हरेक निर्णयहरु देश र नागरिकहरुलाई पच्ने खालका हुदैनन् । नेपालको एकिकरण पछिको राजनीति र सामाजिक ब्यवस्थालाइ नियाल्यौ भने यो कुराको पुष्टि हुन्छ ।
कुनै बेला देशको शक्ति हत्याउन भएका कोतपर्ब, भण्डारखाल पर्व र राजा महाराजाहरुको काशीबासलाई नियाल्यौ भने त्यही शक्ति हत्याउन र आफ्नो मनमौजी शासन गर्नका लागि ती विभत्स घटनाहरु भएका थिए । जहानिया राणाशासनसम्म यही क्रमहरुबाट पारिवारिक शासन र गाउँ गाउँमा मुखिया र जिम्मवालबादले निरकुंशताको जाँतोमा पिसेका थिए ।
जब नेपाली काँग्रेसको नेतृत्वमा भएको बि.सं २००७ सालको क्रान्तिले देशलाइ सामन्ती युगबाट आधुनिक युगमा पदार्पण गरायो, तव पनि निस्वार्थ समाज र देश जनताको हीतमा लाग्ने ब्यक्तिहरु र आफ्नो परिवारबाद र स्वार्थका लागि राजनीति गर्नेहरु बिचमा सम्बन्धको दरार पैदा भइरहयो, बिचार र कार्यपद्धतिको द्वन्द चलिरहयो ।
पहिलो घटना चिनियाँकाजीको हत्याबाट सुरु भयो । गृहमन्त्री वी.पी कोइराला हुनुहुँदा यो घटना घटयो । वी.पीले नैतिकताका आधारमा राजीनामा दिनु पर्यो । यसको पछि सरकार दुई खालका सामन्तीहरु, शक्ति खोसिएको राणा र शक्ति पुन चाहने राजाले चलखेलबाट बन्यो । उनीहरुले काँग्रेस बिचमा केही स्वार्थ भएका काँग्रेसी जनलाई हात लियो र त्यसैको सहारामा निस्वार्थ काम गर्ने काँग्रेसलाई निस्तेज पार्दै स्वार्थी काँग्रेसको हातमा सरकार थमायो ।
त्यहीबाट नेपालको राजनीतिको दुरदिन सुरु भयो । त्यस्तै वी.पी कोइराला र गणेशमान सिंहलाई थापाथली निवासमा गोर्खादलले गरेका सांघातिक आक्रमण अर्को घटना थियो । देशलाई सामन्तीका पञ्जाबाट मुक्त गराएर रैतीलाई नागरिक बनाउन हिडेका ब्यक्तिहरुलाई आक्रमण भनेको तिनै परिवारबाद र पदका लोलुपहरुले सामन्तीहरुको बिरुद्धमा लागेको सिंगो संस्था नेपाली कांग्रेसप्रतिको आक्रमण थियो । यो बिचार बिचको टकरावले जनताको हातमा आएको देशको राजनीतिको बागडोर पुन राजाको दरवारमा फर्कायो । तब २००७ सालदेखि २०१५ सालसम्म राणाको परिवारबादबाट राजाको परिवारबादमा लगेर शक्ति बुझायो ।
यही बिच पनि सामन्तवाद र समाज कल्याणवाद बिच टकराव चलिरहयो । नेपाली काँग्रेसले जमिनको राष्ट्रियकरण, भुमिसुधार, राजारजौटा उन्मुलन, नागरिकलाई सम्पूर्ण नागरिक अधिकार, स्वास्थ्य, शिक्षा, बस्ने बास, खाने गाँस हरेक नागरिकको पहिलो आवश्यकता भएको कुरा दोहोर्याई रहयो । बि.सं २०१५ सालको निर्वाचनमा जनताले दिएको दुई तिहाइको अभिमत नेपाली काँग्रेसका लागि यही कुराहरुको समर्थनमा थियो । वी.पी कोइरालाको नेतृत्वको सरकारको १७ महिना पूरा नहुदै त्यही सामन्तीहरुले सरकारलाई अपदस्त गर्यो । जनअधिकार अपहरण गर्यो । उनीरुका लाखौ बिगाहा र रोपनी जग्गा थिए, बनजंगलमा उनीहरुको राज थियो । तर राष्ट्रिय ढुकुटी अरुको हातमा गएको कुराले तिल्मिलाएका थिए । उनीहरुले संसदीय ब्यबस्था नै खारेज गरेर नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुलाइ मार्ने, जेल हाल्ने, सर्बस्वहरण गर्नेजस्ता कुकृत्य गरेर देश मानव कल्याण, मानव अधिकार र आधुनिक युगतिर हिडन लागेको बेला अकस्मात बाटो छेकेर राजाको हुकुमी युगमा धकेल्यो ।
त्यो दिन नेपालको इतिहासलाई अँधेरोतिर धेकेलेको दिन थियो तर त्यसबेलाको १०७ सिटको संसदमा ४ सिट मात्र जितेको कम्युनिष्ट पार्टीले दिपावली गरेर त्यसको स्वागत गरेको थियो । तत्कालिन कम्युनिष्ट पार्टीका महासचिव दरबार पसेर केही स्वार्थी काँग्रेसहरुले राजालाई सहयोग गरेका थिए । राजाको पञ्चायती शासनमा रेडबुक यत्रतत्र पढन पाइन्थ्यो, मानौ त्यो युग कम्युनिष्ट उत्पादनको स्वर्णयुग थियो । तर वी.पीको बिचार पढिने तरुण पत्रिका कसैसँग भेटिए त्यो ६ बर्ष जेल चलान हुन्थ्यो । यसरी इतिहासले कित्ता छुटयाएको थियो, सामन्ती र समाजवादीहरुको ।
यो कित्ताकाट आजसम्म कायम छ । तर वी.पी र गणेशमानको पार्टी नेपाली काँग्रेस भित्र पनि त्यो समान्तबादको केही अवशेषहरु देखिएको छ । जुन समान्तबादको हारमा मिल्न जान लागेको छ । जो बि.सं २०४६ सालको प्रजातन्त्र पुन स्थापनापछि पद, पैसा, प्रतिष्ठा र शक्तिका लागि मरिमेटेर वी.पी, गणेशमान र नेपाली काँग्रेसको नाम बेचेर स्थापित भएका छन् । तर नेपाली काँग्रेसको जन्म यही सामन्तबाद र चाकडीबादको जरादेखि उन्मुलनका लागि भएको थियो । दुर्भाग्यवश यो संस्थाभित्र पनि कित्ताकाट सुरु भएको छ । यो ंसंस्था भित्र सामन्तबाद र समाजकल्याणबाद बिचमा टकराव छ, यो तितो सत्य हो । एकाथरि त्यागी, दुख पाएका, देश र जनताका लागि समर्पितका कित्ता पनि त्यही भित्र समाहित हुन बाध्य छ । के नेपाली काँग्रेसले आफ्नो त्यो जन्म बेलाको आदर्शलाई पुन जगाउन सक्नेछ र त्यसका स्वार्थी र परिवारबाद पे्ररित तत्वहरुलाई निरुत्साहित गर्न सक्नेछ ?
इतिहासको यस्ता घटनाहरुको बिश्लेषण गर्दै आउदा आज २००७ देखि २०७७ सालको ७० बर्षको इतिहासले पुन यही ल्याएर हामीलाई आफली दिएको छ । पुन पद, प्रतिष्ठा, पैसा र शक्तिका लागि दुई गुट र बिचारहरुको निर्माण भएका छन् । तर दुःखको कुरा अब सामन्तबादको बिरोधका पक्षमा उभिने पंक्ति कतै पनि देखिन छोडेको छ । अहिलेका टकराव स्वार्थीहरु विच कसले कसलाइ उछिन्ने भन्ने नै हो ।
२०४७ को इतिहास पछि के देखिएको छ भने नियम कानून र देशले बेहोर्ने क्षतिहरु केहीको नै परवाह नगरि यदि आफ्नो शक्ति कसैको हात जाँदैछ भने देशलाई अधोगतिको बाटोमा हालेर आफ्नो शक्ति बनाइरहने खेलतिर डोरिएकोछ । तर अपवादमा बि.सं २०५६ सालमा कृष्णप्रसाद भट्टाराइले प्रधानमन्त्रीको पदबाट दिनु भएको राजीनामा नेपालको इतिहासले मूल्यांकन गरेर स्वर्ण अक्षरले लेख्ने नै छ ।
अहिले सरकारको कदम कानून बिपरित भयो भन्नेहरु सडकमा छन् । स्वार्थको अंकगणितबाट बनेको समिकरणले यही परिणाम दिन्छ भन्ने कुरा सामान्य राजनीतिका विद्यार्थीहरुले पहिले नै अडकल गरिसकेका थिए । तर जो अहिले सडकमा बसेका छन्, उनीहरुले नै प्रधानमन्त्रीलाई कानून विपरित काम गर्नलाई अधिकार दिएको छ । तर जुहारी चलेको छ । बिचार दुई थरि छ, पार्टी एउटै छ । कति दिन झुक्किने नेपाली नागरिक ?
कानुन विपरित भयो भन्नेहरु यदि शक्तिमा भएका भए यसैगरि केही आरोप लगाएर या राष्ट्रबादको हौवा पिटाएर संसद विघटन गरेर शक्तिमा बसिरहने थिए र शक्तिमा बसिरहेकाहरु सडकमा हुनेथिए भन्ने अनुमान लगाउन सकिन्छ । यसो भन्न शंकाको फाइदा मात्रै उठाइएको हो किनभने इतिहासमा सबैले यही पद, पैसा, प्रतिष्ठा र शक्तिका लागि सयौ पल्ट आफ्ना आदर्श, त्याग, तपस्या, नैतिकता, इमान्दारिता र अनुशासनलाई तिलाञ्जली दिएका थिए, घटना घटाएका थिए, घटाउन कोसिस गरेका थिए ।
त्यसैले अब नेपाली नागरिकहरु बिच यक्ष प्रश्न उभिएको छ, नागरिकहरु उभिने कित्ता कुन हो ? २०१७ पछि २०४७ सम्म त सामन्तबाद र समाजकल्याणबादको स्पष्ट कित्ता थियो । सामन्तबाद बिरोधीको कित्ता नेपाली काँग्रेसले सम्हालेको थियो । समाज कल्याणबादको कित्तामा बाममोर्चा उभिएर संसदीय ब्यबस्था स्थापित भएको थियो । तर आजको देशको हालबाट के प्रमाणित भएको छ भने पञ्चायतकालको रेडबुक घोकाइले गरेको उत्पादनहरु कतै उही सामन्तबाद र एकतन्त्रबादलाई भरोसा प्रदान गर्ने बिचारमा गएर अडिएको हो त ? किन पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारबाद आज ओझेलमा परेको छ ? जसरी वी.पी, गणेशमान, कृष्णप्रसाद बादको हालत उही हुन पुगेको छ । नेपाली इतिहासको बिडम्वना नै त्यही हो ।
तर आजसम्म आइपुग्दा पनि नागरिकहरुलाई नेपाली काँग्रेसको आदर्श र यसको योगदानप्रति भरोसा छ । यसको इतिहासमा गरेको योगदान हेरेर । तर ४७ सालपछि यो ३० बर्षको घटना क्रमहरुले यो आशामा धुमिलपन ल्याएको छ । वी.पी, गणेशमान, पुष्पलाल, कृष्णप्रसाद, मनमोहन, भीम बहादुर र शुसिलको स्पिरिट सम्हाल्ने जिउँदो नेता र नेतृत्व नेपालको राजनीतिक आकाशमा के अब उदाउदैनन् ? के पद, प्रतिष्ठा, पैसा र शक्तिको पछाडि नलागेर इमान्दारिता र नैतिकताको बाटो हिड्ने वी.पी, गणेशमान, पुष्पलाल, कृष्णप्रसाद, मनमोहन, भिम बहादुर, शुशिलको राजमार्ग पछयाउने र आपूmलाई देश र जनतामा समर्पित गर्ने नेता, नेतृत्व र कार्यकर्ताहरु पाउन सकिएला ?
आज देशलाइ खाँचो तिनै गुणहरु भएका नेता, नेतृत्व, कार्यकर्ता र कर्मयोगीहरुको खाँचो छ । इतिहासले त्यही माग गरिरहेको छ । हुनसक्छ, के आफ्नो धर्मसंस्कृति र नेपालीको स्वाभिमानको ख्याल गर्ने खालको, देशहीत सोच्ने, जनता र देशको प्रश्न आउँदा ती नेताहरुको मार्ग अपनाउने नागरिकको नैसर्गिक अधिकारको संरक्षक एक सशक्त नयाँ पुस्ताले देशको बागडोर लिन सक्लान् ? सकेमात्र हाम्रो देशको र नागरिकहरुको भविष्य सुरक्षित हुने देखिन्छ । यसमा नयाँ पुस्ताको ध्यान जाओस् ।
चुनाब गराएर नेता छान्ने संस्थाले नागरिकहरुलाई नेगेटिभ भोट गरेर असक्षमहरुलाई किनारा लगाउने नागरिक अधिकार दिनु पर्दछ । असक्षमहरु बिच सक्षमको चुनाव हुन सक्दैन । त्यसैले असल नेता पार्टीहरुले चुनावमा उठाउदैनन भने नागरिकहरुलाइ मत हाल्न कर गर्नु हुन्न । यसतर्फ कानुन बनाउन पनि संसदमा त्यो साहस भएका नेताहरु चाहिन्छ, आपूmलाई घाटा सहने खालका नेता । त्यसैले पनि नयाँ पुस्ताले अब बेलैमा यस्ता कानुन बनाउने नेताहरु छान्नुपर्दछ ।

skarma_2005@yahoo.com

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *